क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

  Sampatti News Online

February 12, 2024

काठमाडौं । नेपालविरुद्ध क्यानडाले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको हो । नवनित धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो । नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिए ।

ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरिरहेको हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५-२ मा पुगेको थियो ।

निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१-४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे ।

हर्ष ठाकर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।

विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए ।

डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए । हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाललाई ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ। नेपालले सिरिजको पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले जित हात पारेको थियो। 

प्रकाशित मिति:February 12, 2024