प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रोपटक विश्वासको मतः पक्षमा १५७, विपक्षमा ११०

  Sampatti News

March 13, 2024

काठमाडौं । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनामा तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री दाहालले तेस्रोपटक विश्वासको मत पाएपछि पत्रकारहरूसँग उनले यस्तो बताएका हुन् । “तेस्रोपटक विश्वासको मत पाएँ,” उनले भने, “तीनपटक फरकफरक अनुभवसमेत प्राप्त गरेँ ।

एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनको बलमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाको बुधबार‍‍‍‍‍‍‍‍‍ उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिए । ११० जनाले विपक्षमा मत दिए । मत दिन्नँ भन्ने एक जना थिए ।

कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिए । उनले आफूलाई मत नदिने दलहरूलाई पनि धन्यवाद भने । “जुन-जुन दलहरूले मलाई विश्वासको मत दिनुभएन, उहाँहरूलाई पनि म धन्यवाद दिन्छु । उहाँहरूले पनि सरकारले राम्रो काम गरोस् भनेर शुभकामना दिनुभएको छ,” उनले भने ।

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलोपटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए ।

त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेसलेसमेत दाहाललाई विश्वासको मत दिएको थियो । विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले दाहालको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै विपक्षमा मत राखेका थिए । राष्ट्रपति निर्वाचनसँगै दाहालले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गरेका थिए । परिणामस्वरुप कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलको शीतल निवास यात्रा सुरु भएको थियो ।

एमालेसँगको गठबन्धन तोडिएपछि दाहालले दोस्रोपटक २०७९ चैत ६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिएका थिए ।

गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन भत्केपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिएका हुन् ।कांग्रेसले समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार दाहालले विश्वासको मत लिएका हुन् । संविधानको धारा १००(२) मा समर्थन गर्ने दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति:March 13, 2024