मिटरब्याजपीडितको गुनासो सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना

  Sampatti News

March 20, 2024

काठमाडौं । गृह मन्त्रालयले गृह मन्त्रालयले मिटरब्याजपीडितका गुनासाको तत्काल सम्बोधन गर्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

यसअघि गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गत फागुन २८ मा ४ बुँदे सहमति भएको थियो। 

त्यसअघि सरकारले गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पनि गृह मन्त्रालयमा मिटरब्याजपीडितका समस्या समाधानका लागि छुट्टै डेस्क स्थापना गर्न सुझाव दिएको थियो। 

मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सोसम्बन्धी विषय हेर्ने सहजीकरण डेस्कसमेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ।

साथै मिटरब्याजसम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको उनले जानकारी दिए।

मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासोका लागि मोबाइल नम्बर : ९८५१३६०६०३ (भाइवर, ह्वाट्स एप म्यासेजका लागि), इमेल meterbyaj@gmail.com तथा टोल फ्रि नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:March 20, 2024