क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीका अध्यक्ष ग्रेगको प्रतिबद्धता

  Sampatti News

March 20, 2024

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेबिच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षबिच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सक्ने सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राख्न प्रयासरत रहेको बताए । उनले पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको पनि बताए ।

सदस्य सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको आइसिसी अध्यक्ष बारक्लेलाई अवगत गराए। उनले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी–२० विश्वकपका लागि आइसिसीबाट सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसिसीलाई धन्यवाद दिए।

सदस्य सचिव घिसिङले ‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आइसिसीले राम्रै सहयोग गरेको आफुले जानकारी पाएको उल्लेख गर्दै नेपालले पनि आइसिसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेको बताए। नेपलको तर्फबाट प्रतियोगिता आयोजनाको तयारीमा कुनै कसर बाँकी नराख्ने सदस्य–सचिव घिसिङको भनाइ थियो।

सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहने गरेको स्मरण गराउँदै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइ दिन आइसिसी अध्यक्ष बारक्लेसँग आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गरे।

भेटका अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्कालगायत सहभागी भए।

प्रकाशित मिति:March 20, 2024