पेरिसले निःशुल्क कन्डम वितरण गरेर ओलम्पिक रोमान्स पूरा गर्ने

  Sampatti News

March 20, 2024

पेरिस । पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् । खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीहरू चाहे भने शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन् । टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसको विपरीत खेलाडीहरूलाई ‘शारीरिक सम्पर्कबाट अनावश्यकरूपमा बच्न’ आग्रह गरिएको थियो ।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि दुई लाख र महिलाका लागि २० हजार कन्डम खेलग्राममा उपलब्ध गराइने पेरिस २०२४ मा प्राथमिक चिकित्सा तथा स्वास्थ्य सेवाका इन्चार्ज लरेन्ट डालार्डले बताए । “कति मानिसले कन्डमको प्रयोग गर्ने सम्भावना छ भन्ने हामीलाई थाहा छैन र स्पष्टरूपमा आवश्यक परेको खण्डमा हामी आवश्यकताअनुरूप हुनेछौँ”, उनले मङ्गलबार पत्रकारहरूसँग भने । सुरक्षित यौन सम्बन्धलाई प्रोत्साहित गर्न र तत्कालीन समयमा विश्वभर फैलिएको एचआइभी–एड्स महामारीका बारेमा चेतना जगाउन सन् १९८८ को सोल ओलम्पिकमा खेलाडीहरूलाई केही हजार कन्डम पहिलोपटक निःशुल्क वितरण गरिएको थियो । त्यस बेलादेखि यो प्रत्येक ओलम्पिक आयोजनाका लागि एउटा परम्परा बनिसकेको छ । पछिल्ला दशकहरूमा वितरित कन्डमको सङ्ख्या नाटकीयरूपमा बढेको छ । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ५० हजार, सन् २००८ मा बेइजिङमा एक लाख र सन् २०१२ मा लन्डनमा एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो ।

सन् २०१६ मा रियो ओलम्पिक खेललाई अहिलेसम्मको सबैभन्दा कामोत्तेजक खेल मानिएको छ । उक्त प्रतियोगितामा चार लाख ५० हजार कन्डम वितरण गरिएको थियो । यो प्रत्येक खेलाडीका लागि ४२ बराबर थियो । डालार्डले फ्रान्समा यौन सञ्चारित रोगहरू बढ्दै गएको उल्लेख गर्दै गाउँमा पोस्टरहरूले खेलाडीहरूलाई खतराका साथै सहमतिको मुद्दाबारे शिक्षित गर्न खोज्ने बताए । युरोपेली सङ्घ (इयु) को स्वास्थ्य एजेन्सीले गत वर्षको तुलनामा सम्पूर्ण महादेशमा यौन सञ्चारित सङ्क्रमण (एसटिआई) मा ‘समस्याजनक वृद्धि’ का बारेमा मार्च ७ मा चेतावनी दिएको थियो । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसिडिसी) का अनुसार सन् २०२२ मा इयुमा गोनोरियाको मामिला ४८ प्रतिशत, सिफलिसमा ३४ प्रतिशत र क्ल्यामिडियामा १६ प्रतिशतले वृद्धि भएको थियो ।

प्रकाशित मिति:March 20, 2024