सूर्यदर्शन सहकारीपीडितले सभापति खतिवडालाई बुझाए ज्ञापनपत्र

  Sampatti News

March 21, 2024

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी पीडितले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठलगायतले सभापति खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् । 

संयोजक श्रेष्ठले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रभावित पीडित निक्षेपकर्ताहरूको बचत फिर्ता गराउने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् । उक्त ज्ञापनपत्रमा १८ हजार ७०० वचतकर्ताको लगभग १ अर्ब ४० करोड रुपैयाँ हिनामिना भएको र विगत २ वर्षदेखि कुनै पनि निक्षेपकर्ताले १ रुपैयाँ पनि फिर्ता पाउन नसकेको उल्लेख छ ।

’विगत लामो समय लगाएर, आफ्नो अमूल्य समय खर्चेर, आफ्ना परिवारका इच्छा–आकांक्षालाई निमोठेर छोराछोरीको उज्वल भविष्य र बिरामीको औषधि उपचार र बूढाबूढी भएका बा–आमाको खानपिन, औषधिमुलोका साथै मृत्युपश्चात् काजकिरियाका लागि यस सहकारीमा बचत जम्मा गरिएको थियो,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा लाखौँ जनताको घरमा चुल्हो नबालेको, छोराछोरीको शुल्क तिर्ने नसक्दा विद्यालय जान र परीक्षाबाट बन्चित हुन परेको लगायतका विषय पनि उल्लेख छन् । ज्ञापनपत्रसँगै गत माघ २२ गते कास्की जिल्ला प्रहरी कार्यालयमा हालिएको पूरक जाहेरी पनि समावेश गरिएको छ । उक्त जाहेरीमा पनि पहिलो नाम गृहमन्त्री लामिछानेकै छ ।

’काठमाडौं जिल्ला वडा नम्बर ६ बस्ने लालचन्द्र लामिछानेको छोरा वर्ष ४८ को रवि लामिछाने, गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक’ पूरक जाहेरीको १ नम्बरमै लामिछानेको नाम यसरी उल्लेख गरिएको छ । त्यसपछि उक्त पूरक जाहेरीमा पूर्वसञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर बम्जन, नेत्रपाणि बाँस्तोला, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायतको नाम उल्लेख छ ।

सभापति खतिवडाले सो निवेदनउपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका निम्ति पहल गर्न सरकारलाई आग्रह गरिने पनि बताए । 

प्रकाशित मिति:March 21, 2024