एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  Sampatti News

March 26, 2024

जनकपुरधाम । एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुर तर्फबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो ।

एम्बुलेन्स र मोटरसाइकल तीव्र गतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । त्यस क्रममा मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए । जितेको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे चिकित्सकले मृत घोषणा गरेको थियाे । एम्बुलेन्स चालक फरार रहेको र खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति:March 26, 2024