विमानस्थलमा अनावश्यक हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस् : गृह मन्त्रीको निर्देशन

  Sampatti News

March 26, 2024

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गरेका गृह मन्त्री लामिछानेले उनीहरू जाँदा–आउँदा मर्यादित व्यवहार गर्न भनेका हुन् ।

गृहमन्त्रीले विदेशीका लागि अध्यायमन देशको मुहार रहेको बताउँदै त्यसमा ख्याल राख्न भनेका छन्। ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन’, उनले भने, ‘अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’

कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको उनले बताए। ‘केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ’, उनले अगाडि भने। गृहमन्त्रीले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु आवश्यक रहेको बताए। ‘अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ’, उनले भने, ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ।’

उनले विगतमा भएका घटनामा आफूले कसैलाई दोष नदिने बताउँदै अब त्यस्ता गल्ती दोहोरिन नहुने उल्लेख गरे। ‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न। भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न,’ उनले भने, ‘दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए।विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति:March 26, 2024