शेयर बजारमा दोहोरो अंकको सुधार

  Sampatti News

March 26, 2024

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आज नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४९ हजार ५१२ पटकको कारोबारमा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये १६८ वटाको बढेको छ भने ६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.३५ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।     

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा दोल्ती पावर कम्पनी लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।      

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

प्रकाशित मिति:March 26, 2024