विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News

March 26, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन भन्सार अधिकृत सापकोटा,भन्सार अधिकृत नवकुल शर्मा,भन्सार एजेण्टका प्रतिनिधि सरन कुमार खरेल र देव इन्टरनेसनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरिएको छ ।

चीनबाट आयात गरेको सामानको प्रज्ञानपत्र नम्बर एम ७२६ दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको उनीहरुमाथि आरोप छ।  तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र शर्माले विराटनगर भन्सार कार्यालयमा जाचँपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको सामानको जाचपाँस गर्ने क्रममा अनियमितता गरेका आयोगको दाबी छ । आयोगका प्रवक्ता घिमिरेका अनुसार उनीहरूले न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानून बमोजिम लिनुपर्ने राजस्व रकम समेत नलिई तथा छोड्ने कोशिश गरेका थिए ।

पैठारीकर्तालाई  ८४  लाख ५५ हजार ६०५ रुपैयाँ गैरकानुनी लाभ र नेपाल सरकारको राजश्व चुहावट भइ नोक्सान भएको पुष्टि हुन आएकाले सापकोटा र शर्मालाई सोही रकम बराबरको बिगो कायम गरी आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।

यसैगरी भन्सार एजेण्टाका प्रतिनिधि खरेल र बस्नेतको संलग्नतामा विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव  इन्टरनेसनल प्रालिले ल्याएको सामान जाँचपास गर्ने कार्यमा कानुन अनुसार  वस्तुको मूल्यांकन गर्दा पेश भएको प्रज्ञापन पत्रको वस्तुको गुणस्तर फरक पारी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बराबरको हानीनोक्सानी गरेको अख्तियारको ठहर छ। 

उनीहरूबिरुद्ध पनि सोही रकम बराबरको बिगो र  चुहावट रकमको दोब्बर जरिवाना माग गरिएको आरोप पत्रमा उल्लेख छ। वस्नेत र खरेलले मुख्य तत्काली भन्सार अधिकृत सापकोटा र भन्सार अधिकृत शर्मा मतियारको रुपमा काम गरेको अख्तियारको ठहर छ।

प्रकाशित मिति:March 26, 2024