अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक: स्वास्थ्य मन्त्री यादव

  Sampatti News Online

April 2, 2024

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

स्वास्थ्य मन्त्री यादवले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गर्नुभयो । करोडौँ खर्च गरेर संसद् पुग्ने सांसदबाट समाजवादको आशा गर्न नसकिने उनको भनाइ थियो। स्वास्थ्यमन्त्री यादवले संविधानमा रहेको यो शासकीय स्वरूपबाट समाजवाद आउन नसक्ने धारणा राखे। 

‘यही संविधानबाट नेपाली विशेषतामा आधारित समाजवाद आउन सक्दैन। अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको पूरै बाधक छ,’ उनले भने, ‘यो शासकीय स्वरूपबाट समाजवाद आउँदैन । यो निर्वाचन प्रणालीमा करोडौँ करोड खर्च गरेर एउटा सांसद संसदमा पुग्छन्, तिनबाट समाजवादको आशा गर्न सकिँदैन ।’ 

उनले संविधानमा समाजवादउन्मुख लेखिए पनि उदार पुँजीवादी यात्रामा अहिले हिँडिरहेको बताए। ‘संविधानमा समाजवादउन्मुख लेखिएको छ। तर, हाम्रो यात्रा उदार पुँजीवादतर्फ गइरहेको छ । यो अलमलले समाजवाद आउन सक्दैन,’ उनले बताए। 

उनले समृद्धि नभई समाजवाद नआउने भन्दै नेपालको उर्वर माटो र जलस्रोत समृद्धिको आधार बन्न सक्ने बताए । ‘हामीसँग विश्वको उर्वर भूमि छ, कृषिको आधुनिकीकरण गरौँ समाजवाद आउँछ । जलस्रोतमा पुँजी र प्रविधि लगायौँ भने समाजवाद आउँछ,’ उनले भने। 

प्रकाशित मिति:April 2, 2024