रुपन्देही प्रशासनमा मिटरव्याज पीडितका यति धेरै निवेदन, दुई सय ५० निवेदनसंग मिलापत्र

  Sampatti News Online

April 17, 2024

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरव्याज सम्बन्धी मिलापत्र तथा सहमति हुन बाँकी निवेदनहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । जिल्ला प्रशासन कार्यालयमा मिटरव्याज सम्बन्धी छ सय १९ वटा निवेदन दर्ता भएकोमा करिब दुई सय ५० निवेदनमाथि छलफल भई मिलापत्र सहमति भएको थियो । सहमति हुन बाँकी निवेदनहरू जिल्ला प्रहरीमा पठाइएको रुपन्देही प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी र सरकारी वकिलको सहभागितामा निवेदनसँग सम्बन्धित दुवै पक्षको उपस्थितिमा छलफल गराइएको थियो । छलफलमा कागजात अध्ययन र दुवै पक्षका कुरा सुनुवाइ गरी मिलापत्ररसहमति गरिएको थियो । पीडक र पीडित दुवै पक्षको चित्त बुझाएर सहमति गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार मिटरव्याज सम्बन्धी उजुरी तथा निवेदन दिन र पीडितका गुनासा सुन्नका लागि गुनासो सुनुवाइ तथा सहजीकरण डेस्क सञ्चालन गरिएको थियो । फोकल अधिकृत (गुनासो सुनुवाइ तथा सहजीकरण अधिकृत) नै तोकेर डेस्क सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासनमा निवेदन दर्ता गरेकाहरू आफ्नो निवेदनबारे बुझ्न आउने भएकाले त्यसबारे जानकारी दिन अहिले पनि तोकिएका फोकल अधिकारी कायम नै राखिएको अर्यालले जानकारी दिए । निवेदन दर्ता गराउन छुटेकाहरूलाई प्रहरीमा पठाउने गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:April 17, 2024