उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

  Sampatti News

January 19, 2021

काठमाडौँ । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।

“मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उनले ट्वीटरमा लेखेकि छन् ।

अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बनेकी हुन् ।

सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उनले बताए ।

अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०–५० जना सदस्य रहेका छन् ।

ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकि हुन् । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेकी हुन् ।

प्रकाशित मिति:January 19, 2021