निरन्तर मकवानपुरे जनताको साथमा सांसद दाहाल, ४२ वटा बसमार्फत दुई हजार फर्किए घर

  Sampatti News

April 24, 2020

काठमाडौं । लकडाउनको कारणले काठमाडौं उपत्यकामा बेखर्ची भएर बसेका २ हजार मकवानपुर वासीलाई संघीय सांसद तथा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले घर फर्काउन पहल लिएका छन् । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दाहालको पहलमा विभिन्न पेशा व्यवसाय गर्दै आएका र जारी लकडाउनका कारण समस्यामा परेका २ हजार १ सय ५० जनालाई ४२ वटा बसको व्यवस्था गरि उद्धार गरेका हुन ।

उनले पहलकदमी लिएसंगै अर्का सांसद बिरोध खतिवडा, प्रदेश सभा सांसदद्वय प्रेम पुलामी, कुमारी मोक्तान तथा मकवानपुर गढी गाउँपालीकाका अध्यक्ष विधुर हुमागाइ बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बकैयाका गाउँपालिका अध्यक्ष दामोदर खनाल र उपाध्यक्ष सरला बोलखेले समेत आआफ्नो ठाउँबाट पहलकदमी लिए र सहयोग गरेका थिए ।

‘लकडाउनको कारणले खान, बस्न समस्या परेका, मकवानपुरका जनताहरुको बिचल्ली नहोस्, सबै आफ्नो परिवारसगँ बस्न पाउन भनेर ४२ वटा बसको व्यवस्थापन गरेर २ हजार १ सय ५० जनालाई घर पठायौं,’ दाहालले भने ।

गत मंगलबार ७ वटा बसमा ३ सय ५० जना, बुधबार २० वटा बसमा ११ सय २० जना र बिहिबार १५ वटा बसमा ६ सय ८०जनाको उद्धार गरिएको र बाँकी रहेकाहरुको पुनःउद्धार गरिने अर्थसमितिका सभापति दाहालले बताए ।

मकवानपुरेहरुको उद्धारका लागि नारायणी यातायात व्यवसायिक कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीको सहयोगमा १२ वटा बसको व्यवस्थापन भएको थियो । अझै पनि बिच्ली परेकाहरुका लागि बस व्यवस्थापन गर्न तयार रहेको कम्पनीका महासचिव खोमराज काफ्लेले जानकारी दिए । गत बुधबार बकैया र गढी गाँउपालिकाले लकडाउनको कारण अलपत्रहरुको ११ र २ वटा बस व्यवस्थापन गरेको थियो ।

हिजो बागमती गाउँपालिकाले १० वटा र हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १८ र ३ ले दुईवटा बस व्यवस्थापन गरेको सांसद दाहालले जानकारी दिए । नारायणी यातायात व्यावसायि कम्पनी प्रालिले सांसद दाहालकै पहलमा १२ वटा बस पठाएको थियो । अन्य बसहरुलाई गाउँपालिका र वडाहरुले खर्च व्यवस्थापन गरेका थिए ।

काठमाडौंबाट जिल्ला भित्रीएका मानिसहरूलाई स्वास्थ्य परिक्षण गरिएको तथा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए । राती गएका यात्रुहरुको समेत स्वास्थ्य परिक्षणका साथै तथ्यांक संकलन गरि होम क्वारेन्टाइनमा राखिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताइन् ।

काठमाडौं उपत्यकामा रहेका मकवानपुरेहरु अझै छुटेका भए सम्पर्कमा आउन अनेरास्वायु केन्द्रीय सदस्य दीपक न्यौपाने अग्रह समेत गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पनि गाडी आवात जावतमा सहयोग गरेका थिए ।

काठमाडौँबाट मकवानपुरेहरुको उद्धारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मकवानपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जगत थिङ, बागमती प्रदेश युवा तथा खेलकुद सदस्य नारायण सापकोटा, अनेरास्वायु केन्द्रीय सदस्य दीपक न्यौपाने र दामोदर फुयाल, प्रेस संगठन नेपाल काठमाडौँका सदस्य राजाराम न्यौपाने र युवा समाजसेवी उज्ज्वल दाहाल, मकवानपुरका हरिशरण तिमल्सिना र प्रवेस दाहाल र विद्रोह दाहालले समन्वकारी भूमिका खेलेका थिए ।

प्रकाशित मिति:April 24, 2020