गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान

  Sampatti News

February 29, 2024

काठमाडाैं । लामो समयदेखि विवादस्पद हुँदै आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ ।

आज भरतपुर महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ ।

भरतपुर महानगरपालिकाकाका अनुसार टेण्डरको प्रस्ताव ३१ औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्याललले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिएका छन् । उनले रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यसलाई तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने बताए ।

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । बजेट अभावको कारण उक्त रंगशाला लामो समयदेखि निर्माण हुन सकेको थिएन।

प्रकाशित मिति:February 29, 2024