९० प्रतिशत आम व्यवसायीहरूको साथ र सहयोग मलाई छ: ध्रुव थापा

  Sampatti News

December 7, 2021

नेपाल अटोमोबाइल ब्यबसायीको छाता संगठन नेपाल अटोमोबाइल डिलर एशोसिएशन (नाडा) अहिले चुनावमा होमिएको छ ।

२०३२ सालमा स्थापित नाडाले आफ्नो ४५ औं राष्ट्रिय वार्षिक साधारण सभा यही मंसिर २२ र २३ गते आयोजना गर्दैछ ।

नाडाको यस बर्षको चुनाब निकै रोचक हुने देखिएको छ । चुनाबमा ठुलो ब्यापारिक घराना चौधरी परिवारकाअरुण चौधरीका छोरा करण चौधरी र ध्रुव थापासहितको दुई प्यानलले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

‘अब बनाउनु छ नाडा, सबै अटोमोबाइल्स व्यवसायको साझा’ भन्ने नारासहित फोर्स मोटरको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापा चुनाबमा होमिएका छन्।

चौधरी परिवारलाई टार्ग्रेट गर्दै थापाले नाडामा परिवारवादको दवदवा अन्त्य गर्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी दिएको बताउदै आएका छन् ।

यसै नाडाको ४५ औँ राष्ट्रिय वार्षिक साधारण सभा तथा नयाँ नेतृत्वको चयन सन्दर्भमा थापासँग सम्पति न्युजले गरेको कुराकानीको अंश

अटो व्यवसायीको नाताले नाडाको अहिलेको अवस्था कस्तो छ ?

नाडामा अहिले परिवारवादको समस्या देखा परेको छ । आफूले चाहेको मान्छेहरू ल्याएर अध्यक्ष बनाउने परम्परा छ । बाहिरको मान्छे आउनुहुँदैन भन्ने खालको प्रवृत्ति छ ।

यो प्रवृत्तिलाई हामीले परिवर्तन गर्न खोजेका छौँ । त्यसमा हाम्रो टिम पनि सक्रिय भएर लागिरहेको छ । हामीले पहिला भन्दा केही फरक ल्याउन कोसिस गरिरहेका छौँ ।

अध्यक्षमा तपाईंको उम्मेदवारी घोषणा किन ?

म विगत लामो समयदेखि नाडामा सक्रिय छु । मैले नेपालभरका व्यवसायीहरूसँग नजिक भएर काम गरिरहेका कारण व्यवसायीहरूसँग पनि मेरो राम्रो सम्बन्ध छ।

देश अहिले प्रादेशिक संरचनामा गएपछि नाडाको प्रदेश कमिटीहरू बनेका छन् । भोलि प्रदेश स्तरीय समितिलाई मजबुत बनाउनुपर्ने दायित्व पनि छ ।

योसँगै नाडामा धेरै परिवर्तन गर्नुपर्ने छ । त्यस्तै प्रदेशअनुसार सवारी साधनमा लगाइएको कर अटोमोबाइल व्यवसाय र राज्यको लागि पनि चुनौती बन्दै गएको छ ।

यी चुनौतीहरूलाई समेटेर सबै साथीहरूलाई मिलाएर अघि बढ्न सक्ने क्षमता ममा छ । त्यसैको लागि पनि अध्यक्षमा मेरो उम्मेदवारी घोषणा हो ।

नाडाको अध्यक्षमा उम्मेदवारी दिनु भएको छ, तपाईंले जित्ने आधार के हो त ?

नाडामा परिवर्तन ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । यसमा मलाई सबै जनाको राम्रो साथ छ । ९० प्रतिशत आम व्यवसायीहरूको साथ र सहयोग छ ।

कर्पोरेट व्यवसायीहरूले पनि साथ दिएका छन् । योसँगै सातै प्रदेशका सबै पूर्वअध्यक्षहरूको पनि समर्थन छ । साथ र समर्थनको हिसाबले पनि मैले जित्ने सम्भावना धेरै देख्छु।

तपाईंको नेतृत्व आएपछि नाडामा फरक चाहिँ के हुन्छ ?

हामी समूहमा एकजुट छौं । हाम्रे समूहमा म मात्रै अध्यक्ष हैन, यहाँ रहेका अरु १७ जना नै अध्यक्ष हुन् ।

अहिले हामीले सबै क्षेत्रलाई समेटेर एउटा प्यानल बनाएका छौँ ।

यो टिममा महिलादेखि लिएर सबै क्षेत्रहरू जस्तै रिकन्डिसन, टीभीएस, पार्टसलगायतका व्यवसायीहरू समेटिएका छन् ।

त्यस्तैगरी कर्पोरेट व्यवसायीहरू पनि हुनुहुन्छ । नाडामा अहिलेसम्म महिला सहभागिता थिएन ।

हामीले अहिले प्यानलमा महिलाको सहभागितालाई पनि समेटेका छौँ ।

नाडामा पहिलोपटक महिला भन्नुभयो, के अब नाडा महिलाले नेतृत्व गरेको देख्न पाईन्छ त ?

नाडामा महिला नेतृत्वको प्रवल सम्भावना छ । विभिन्न क्षेत्रमा महिलाले नेतृत्व हाँकेर सफलतापूर्वक भूमिका निर्वाह गरेका इतिहास पनि छन् ।

नाडाको ४६ वर्षको इतिहासमा कोही पनि महिला कार्यसमितिमा समेत पुग्नुभएको छैन, नेतृत्वको कुरा त धेरै परको कुरा हो ।

अब हामीले त्यो बाटो तय गरेका छौं । अहिलेको हाम्रो प्रयासले भोलि महिलाहरूलाई नेतृत्वमा आउन सहज हुन्छ ।

त्यसैले नाडामा महिलाले पक्कै नेतृत्व पाउने छन् । त्यो वातावारण हाम्रो टिमले बनाउँछ ।

सर्मथन छ भनेर मात्र त भएन, चुनावको तयारी चै कस्तो छ नि ?

चुनाव अन्तिम चरणमा भएकाले तयारी एकदमै राम्रो छ । सबै साथीहरूको व्यस्तताबाट पनि यो झल्किन्छ ।

विभिन्न ठाउँमा पुग्ने काम भइरहेको छ । अहिले पनि हामी छलफल, कार्यक्रममै व्यस्त छौँ ।

चुनाव जितिसकेपछि तपाईको अगाडी अबसर र चुनौतीहरूको चाङ्ग पक्कै हुनेछ जिम्मेवारी पनि थपिने छ । यी दुबैलाई मिलाएर कसरी अगाडि बढ्नुहुन्छ ?

मैले अघि नै भनिसकें, म मात्र अध्यक्ष हैन मेरो समूहका सबै साथीहरू अध्यक्ष नै हुन् ।

मेरो जति काम हो, अरू साथीहरूको पनि त्यति नै काम हुन्छ । त्यसैले मेरो जति जिम्मेवारी अन्य साथीहरूको पनि हुने भएपछि हाम्रो नेतृत्व थप बलियो हुन्छ ।

सबै प्रदेशका अटोमोबाइल एशोसिएशनहरूको अगुवाइमा काम अगाडि बढाइनेछ । हामी प्रविधिमैत्री नाडा निर्माण गरेरै छोड्छौँ ।

देश भरका व्यवसायी र सरकारबीचको तालमेल कसरी मिलाउनुहुन्छ ?

नाडाको अहिलेसम्मको नेतृत्वमा सीमित व्यवसायीहरूको मात्र माग सरकारमा पुगेको तर साधारण व्यवसायीहरूको आवाज नपुगेको गुनासो छ ।

यसले गर्दा सीमित व्यवसायीको मात्रै माग पूरा भएको गुनासो पनि उत्तिकै छ । मैले यही विषयलाई प्राथामिकतामा राखेको छु ।

म आफू पनि साधारण व्यवसायीबाट अहिले आयातकर्ताको रूपमा छु ।

हिजोसम्म त म साधारण व्यवसायी नैै थिएँ । त्यसैले मसँग सबैलाई समेटेर लैजाने क्षमता छ ।

मैले अरू संघसंस्थामा पनि नेतृत्व गरिसकेको राम्रो अनुभव छ । त्यसैले भोलि सरकारसँग लबिङ गर्न जाँदा पनि मेरोे अनुभवले काम गर्छ ।

नेतृत्व तहमा पुगिसकेपछिका योजना के छ ?

मैले हाम्रो प्यानल सार्वजनिक गर्दा मेरो प्रतिवद्धताहरू सार्वजनिक गरिसकेको छु ।

नाडाको सचिवालय सुधारदेखि, नीति निर्माणको कुराहरूमा सरकारलाई सघाउ पुर्‍याउने, नाडा अटो सो लाई व्यवस्थित र प्याटेन्ट लिनेदेखि अन्र्तराष्ट्रिय स्तरको बनाउने, सामाजिक उत्तरदायित्व अन्तर्गत नाडाले गर्नुपर्ने उत्तरदायित्वभित्र पर्ने थप काम गर्ने, प्रदेशस्तरलाई मजबुत बनाउने जस्ता अवधारणाहरू छन् ।

त्यो बाहेक नाडाले वातावारणीय अवस्थालाई हेरेर, मान्छेको स्वास्थ्यलाई मध्यनजर गरी वातावारण अनुकुल सवारी साधनको आयातमा बढी जोड दिन प्रेरित गर्नेलगायतका कामलाई पनि जोड दिनेछु ।

प्रकाशित मिति:December 7, 2021