प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै

  Sampatti News Online

April 23, 2023

काठमाडौं । चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा आज आइतबार उपनिर्वाचन हुँदै छ । राष्ट्रिय स्तरमा चर्चित नेताहरू चुनावी मैदानमा रहेकोले यो उपनिर्वाचनमा सबैको ध्यान तानेको छ । निर्वाचन आयोगले उपनिर्वाचनको लागि व्यवस्थापन, सुरक्षा प्रबन्ध, जनशक्ति व्यवस्थापन लगायत सबै तयारी शनिबार नै पूरा भइसकेको जनाएका छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सुरक्षा व्यवस्थापनको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिसकेको बताउनुभयो ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि तीन वटै क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

तीन वटा क्षेत्रका साढे तीन लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

आयोगले कुनै पनि भय, प्रलोभन वा आग्रहमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको तीन घेराको सुरक्षा लागू गरिने निर्वाचन आयोगले जनाएको छ । आइतबार दिनभर ती निर्वाचत क्षेत्रमा अत्यावश्यक बाहेक अरु सवैखाले यातायात रोकिएको छ ।

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न आयोगले निर्देशन दिएको छ ।

यातायात रोकिँदा पर्यटकीय शहर पोखरा जाने र पोखराबाट मुग्लिनतर्फ आउने सवारी साधन पनि दिनभर रोकिने भएका छन् । यो निर्वाचनलाई परम्परागत पुराना राजनीतिक दल र एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको शक्ति परिक्षणको रुपमा हेरिएको छ ।

प्रकाशित मिति:April 23, 2023