विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै

  Sampatti News

October 17, 2023

काठमाडाैं ।  विश्वकप फुटबलको एसिया छनोटमा आज नेपालले दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ ।

वियनतियानेस्थित लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । बौनफाचन बोनकोन्गले खेलको ३३ औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तेस्रो मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काएका थिए ।

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह एचमा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ । पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लाओसले दोस्रो लेगमा घरेलु मैदानमा पाहुना टोली नेपाललाई दबाबमा राख्न खोज्नेछ । पहिलो खेलमा गोल गरेका कप्तानसमेत रहेका फरवार्ड बोनकोन्गले लाओसको टिमको नेतृत्व गर्नेछन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् । अहिलेसम्म लाओससँग नहारेको नेपालले पुरानै विरासतलाई कायम राख्दै दोस्रो चरण पुग्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:October 17, 2023