वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए । उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोधसमेत गरेको छ ।

पूर्णखोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकोले सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयको आग्रह छ ।

म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकारमा परेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् ।

‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून् । सबै कुरा ईश्वरमा छोडिदिन्छु । समयले सत्य बताउँनेछ ‘ उनले लेखेका छन् ।

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ४४ पैसा र बिक्री दर ८ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा

पाटन । आगामी वैशाख २४ गतेदेखि बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते बागमती प्रदेशसभाबाट पारित भएको थियो ।


बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा संविधानमा गरिएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ऐन यही वैशाख २४गतेदेखि कार्यान्वयनमा आउने जानकारी दिइयो ।

वसन्तपुरको हनुमानढोका दरबार परिसरमा विशेष समारोह आयोजना गर्न लागिएको मन्त्रालयका सचिव हरिशरण पुडासैनीले जानकारी गराए । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले मातृभाषामा अध्ययन गर्न नपाउँदा नेवार र तामाङ समुदायको जनसङ्ख्या शिक्षाबाट बञ्चित हुनुपरेको बताए ।

“हाम्रो भाषा नमिल्दा धेरै मानिस शिक्षाबाट बञ्चित हुनुभएको छ । अशिक्षितका कारण नेवार र तामाङ समुदाय समृद्ध हुन नपाएको अवस्था छ । तसर्थ यो कार्यबाट महत्वपूर्ण उपलब्धि हासिल हुनेछ । भाषा ऐन सङ्घीयताको मेरुदण्ड हो ।” उनले भने ।

उनले भाषिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका ज्ञातअज्ञात योद्धाहरुको योगदानका कारण मातृभाषालाई सरकारी भाषाका रुपमा स्थापित गराउन पाउँदा खुसी लागेको बताए । बागमती प्रदेशका पूर्वसंस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले नेवार र तामाङ समुदायका बहुसङ्ख्यक जनसङ्ख्या रहेका क्षेत्रमा मातृभाषालाई सरकारी भाषाका रुपमा कार्यान्वयनमा ल्याउनु अत्यन्तै गौरवको विषय भएको बताए । उनले बृहत् छलफलबाट ऐन पारित भई कार्यान्वयनमा आएको बताउँदै यसलाई कार्यान्वयन गर्ने क्रममा आउने समस्यालाई समाधान गर्दै जानुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय सचिव हरिशरण पुडासैनीले ऐन कार्यान्वयनमा आएपछि नियमावली बनाएर कार्यान्वयनमा सहजीकरण गर्ने बताए । उनले सरोकारवालाहरुको सल्लाह र सुझावमा परम्परागत जात्रा, पर्व र संस्कृति सञ्चालन गर्न नीति तथा कार्यक्रममा समावेश गरेर बजेट व्यवस्थापन गर्ने बताए ।

नेवाः देय दवूः का अध्यक्ष पवित्र बज्राचार्यले पञ्चायतकालमा नेपाली भाषालाई मात्रै सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिएका कारण आदिवासी जनजातिको भाषा लोप हुने अवस्था सिर्जना भएको बताए । उनले आफ्नै देशभित्रका विभिन्न जातजातिमा मातृभाषालाई बेवास्ता गरिँदा कलासंस्कृति र बौद्धिक सम्पत्तिको लोप हुँदै गएकामा दुःख व्यक्त गरे ।

उनले मातृभाषामा अध्ययन गर्न पाउने संस्कृतिको विकास हुन नसक्दा नयाँपुस्ताले विदेशबाट आयातीत संस्कृतिलाई अनुशरण गर्न पुगेको भन्दै बहुसङ्ख्यक जनताले बोल्ने मातृभाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिनुपर्ने मागअनुरुप बागमती प्रदेशले लागू गरेको यो कार्य सकारात्मक भएको बताए ।

नेपाल तामाङ घेदुङकी उपाध्यक्ष तथा पत्रकार सञ्चु ब्लोनले यो घोषणाले नेवार र तामाङ समुदायको आत्मसम्मानमा सहयोग पुर्याउँदै समुदायलाई समृद्धि लाग्न सहयोग पुर्याउने बताए ।

देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ ।

आज राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् । उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताइन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री हुन् । 

मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैसँग राखेका छन् ।

सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा (एमाले)ले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ ,नेकपा (माओवादी केन्द्र)का सभामुख समेत ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।
राजधानीमा बिहीबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उल्लेख गरे ।

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले भने, ‘विश्व बै.कले ३.३ एडिबीले ३.६ र हिजो मात्रै राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ । यो नौ महिनाका प्रक्षेपण हुन् । आर्थिक वर्ष अझै तीन महिना बाँकी छ । केही पुँजीगत खर्चहरु हुन्छ । हामीले केही सकारात्मक प्रयत्नहरु गरेका छौं । अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो ।’ यद्यपि अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनको भनाइ थियो । मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए ।

नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्तीहरु भरत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नमा सरकार रहेको उल्लेख गरे । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए ।


आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको बताए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे । ‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ ।

यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन’, मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र वौद्धिक व्यक्तित्वहरु मिलेर चिनुपर्छ ।’ उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए । वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरुले घाटा ब्यहोरोको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।

श्रमिकको समस्या समाधानका लागि श्रमाधान योजना घोषणा

काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच श्रमाधान योजनाको घोषणा गर्दे श्रम मन्त्री डोल प्रसाद आयलले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा प्रणालीबाट समाधान गर्ने बताए । ‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरेको छ । तर, यसको काम सिमित भयो । त्यसैले वृहत रुपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने ।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरुलाई एक विशेष रगंसँग जोडिएको छ । जसले प्रत्येक कार्यक्रमको उद्धेश्य र महत्वलई प्रतिविम्बित पनि गर्छ ।

श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङग’ कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकास भएपछि आफूसंग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने बिषयमा काम गर्ने मन्त्री अर्यालले बताए । दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानतको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिइने छ ।

चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रम मार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रम सम्बन्धी कानुन सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिक लाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य रहेको छ । अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पुराएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याईनेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए ।

श्रमाधान योजनाका सात क्षेत्र कार्यक्रम :

सेकेन्ड इनिङग
‘अवकाश पछिको आरम्भ’

श्रमाधान सेकेण्ड इनिङगमा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरुको सीप, श्रम र अनुभवलाई पुन ः सक्रिय बनाउन मद्धत गर्ने एक विशेष पहल हो । यस कार्यक्रमले सेनानिवृत व्यक्तिहरुलाई आफनो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरुमा संलग्न हुन सहयोग पुयाउने छ ।

रोजगार बैक
‘पेशागत यात्राको सहयात्री’
श्रमाधान रोजगार बैंकको उद्धेश्य रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयतात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र वृहत प्रतिनिधित्व गर्दे रोजगारीका अवसरहरुलाई व्यापक बनाउनु हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेशागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्छ ।

समता
‘विविधताको एकता श्रममा समता’
श्रम क्षेत्रमा लैगिंक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मुलधारमा आउन नसकेको नागरिकहरुको पहिचान गर्दे श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्धेश्य श्रमाधान समता कार्यक्रमको छ । यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्छ ।


‘श्रम सम्बन्धी कानुन सबैले जानुन’
श्रमाधान ल श्रमिकहरुलाई उनीहरुका कानुनी अधिकारहरु र कर्तब्यहरु बुझाएर श्रमको यात्रामा कानुनी रुपमा सुरक्षित बनाउने कार्यक्रम हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम कानुनका विभिन्न पक्षहरुमा सुसुचित गराई भविश्यमा हुन सक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ । यो कार्यक्रम विशेष गरी श्रमिकहरुको कानुनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरुलाई सहजतापूर्व समाधान गर्न मद्धत पुराउने ध्ययेका साथ ल्याईएको हो ।

कनेक्ट
‘भोलिको तयारी, आजैबाट’
विश्व श्रम बजारको हरेक दिन बदलिँदो छ । यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प छैन । ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधितासँग जोड्न श्रमाधान कनेक्ट कार्यक्रमको उद्धेश्य हो । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरि रहेका नेपाली श्रमिक र गैर आवसीय नेपालीहरुलाई एउटै धागोमा जोडेर नेपालीहरुको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ ।

साथ
‘हामी छौ’
श्रमाधान साथ देश भित्र र विदेशमा काम गर्ने श्रमिकहरु र उनीहरुका परिवारहरुको मानसिक स्वास्थ्यलाई केन्द्रविन्दुमा राखी बनाइएको कार्यक्रम हो । यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र साँस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न केन्द्रित हुनेछ ।

कल सेन्टर
‘समस्याहरुको सम्बोधन तुरुन्तै’
श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो ।

श्रमाधानले श्रमिकको समस्या समाधानको प्रक्रिया ः

कुनै पनि श्रमिकले श्रमाधानमा विभिन्न माध्यमबाट कल गर्नेछन् । कल सेन्टरले समस्याको वर्गीकरण अभिलेखीकरण, सहजीकरण र स्थान्तरण गर्नेछन् । कल सेन्टरले श्रमिकको समस्याको आधारमा सम्बन्धित निकाय जस्तै, वैदेशिक करोजगार विभाग, श्रम विभाग, सामाजिक सुरक्षा कोष, व्यवसायिक प्रशिक्षण केन्द्र लगायतका अन्य निकायका फोकल पर्सनसम्म पुराउने छन् ।

पहिलो चरणमा
श्रमाधान योजना क्रमिक रुपमा कार्यान्वयन हुँदै जानेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर हप्ताको सात दिन नै २४ घण्टा उपलब्ध हुनेछ । समस्या समाधानका लागि कल सेन्टरले सम्बन्धित निकायका फोकल पर्सनसम्म पुराउनेछन् । त्यस्तै कल सेन्टरमा मिसकलमा आएको अवस्थामा पनि कल ब्याक गरिनेछ ।

दोस्रो चरणमा
त्यस्तै गरी दोस्रो चरणमा विदेशमा आधारित एसआईपि लाइन, आईभिआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याईनेछ ।

पाँच टी २० सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपाल र वेस्टइण्डिज ए खेल्दै


काठमाडौं । पाँच टी २० सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपाल र वेस्टइण्डिज ए खेल्दै घन् ।

खेल मध्यान्ह सवा १२ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ । दुई खेलमा नेपाल र वेस्टइण्डिज ए समान १÷१ अंकमा रहेका छन् । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

आजको खेल जित्दै दुबै टोली श्रृंखलामा २–१ को अग्रता लिने तयारीमा छन् । पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ रोस्टन चेजको कप्तानीमा छ । नेपालको कप्तानी रोहित पौडेलले गरिरहेका छन् ।

आसन्न टि–ट्वेन्टी विश्वकप क्रिकेटको तयारीका लागि नेपालको यो अन्तिम श्रृंखला हो । श्रृंखलाको चौथो खेल भोलि हुनेछ भने अन्तिम खेल शनिवार हुनेछ ।

‘मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र संवर्द्धन गर्न काँग्रेस सदैव क्रियाशील छ’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र संवर्द्धन गर्न काँग्रेस सदैव क्रियाशील रहेको बताएका छन् ।

मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न काँग्रेस क्रियाशील रहेको उल्लेख गरेका हुन् ।

सभापति देउवाले विसं २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरूलाई पक्राउ गरेको बताए ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै उनले काँग्रेस र मजदुर सधैँ एक अर्कामा सहयोगी भएको कुरा बताएका छन् ।

विसं २०१६ मा काँग्रेसको जन निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको स्मरण गराएका छन् ।

सभापति देउवाले आज पनि नेपालका श्रमजीवीहरूले अनेक समस्या बेहोरिरहनुपरेको उल्लेख गरेका छन्। यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलनको सफलताको स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।

नेपालमा पनि श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यो दिवस मनाइँदै आइएको छ ।

वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न दूतावासको आग्रह

काठमाडौं । इस्लामावादस्थित नेपाली दूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ ।

दूतावासले मङ्गलबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने गैरकानुनी काममा संलग्न हुने व्यक्ति÷समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ । ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।

श्रमिकको हितका लागि निर्माण गरिएका नीतिगत व्यवस्थालाई कार्यान्वयन गरिनुपर्ने : राष्ट्रिय सभा अध्यक्ष

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिर्दै अध्यक्ष दाहालले श्रमिकको हितका लागि निर्माण गरिएका नीतिगत व्यवस्थालाई कार्यान्वयन गरिनुपर्ने बताएका हुन् ।

शुभकामना सन्देश दिर्दै उनले भने, ‘श्रमिक वर्गको हितका लागि रोजगारीको ग्यारेन्टी, व्यावसायिक सुरक्षा, स्वास्थ्योपचार, कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नै पर्दछ । मजदुरको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षाका लागि बीमालगायतका लोककल्याणकारी सेवा प्रवाहको क्षेत्रमा राज्यले नीतिगत व्यवस्थाका साथै कार्यान्वयनको तहमा लैजानुपर्दछ ।’

नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको तथा श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले श्रमिकका पक्षमा बनेका कानुन र संविधान प्रदत्त हक कार्यान्वयन भएमा मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने उल्लेख गरे ।

नेपालका राजनीतिक परिवर्तनका लागि श्रमिक तथा मजदुर वर्गले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताएका छन्। “नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन्”, दाहालको शुभकामना सन्देशमा भनिएको छ, “किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।”

अन्तर्राष्ट्रिय श्रमिक दिवसले समस्त श्रमिकहरूलाई पेसागत हक हित र अधिकारका लागि सङ्गठित र एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने मैले विश्वास पनि उनले व्यक्त गरे ।

पहिलो पटक सन् १८८६ मई १ का दिन अमेरिकाको सिकागो सहरका मजदुरले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागसहित आन्दोलन गरेका थिए । त्यही दिनको स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरले १ मे लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

फिक्कल । आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।

भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिनुभयो । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

श्रमिक दिवसलाई एकता, करुणा र दृढ सङ्कल्पको नवीकरण गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गरेका छन् ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिर्दै उनले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति-विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए ।

‘हामीले यस्तो विश्वको परिकल्पना गरौँ, जहाँ प्रत्येक श्रमिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्, उचित पारिश्रमिक, सभ्य कामको अवस्था र सामाजिक सुरक्षाको अधिकार प्रदान गर्ने वातावरण होस्’, उपराष्ट्रपति यादवले भने । उनले कार्यस्थलमा हुने शोषण, भेदभाव र असमानता उन्मूलनका लागि सबैले प्रयास गर्नुपर्ने बताए ।

श्रमिक दिवस श्रमिकको त्याग र समर्पणलाई सम्झिने र उनीहरूलाई सम्मान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यादवले भने, ‘श्रमिकहरू समाजका आधार स्तम्भ हुन्, जसले हाम्रा आवश्यकतालाई पूरा गर्न अथक परिश्रम गर्दछन् । उनीहरूको योगदान हाम्रो अर्थव्यवस्थामा अमूल्य छ ।’

उनले विश्वभरका मजदुरले सामना गरेका सङ्घर्ष र चुनौतीलाई स्वीकार गर्ने र उनीहरूको हित, अधिकारप्रति हाम्रो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने अवसरका रूपमा विश्व श्रमिक दिवस रहेको स्मरण गरे । श्रमिकको अधिकारको रक्षा र उनीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेको औँल्याउँदै उनले श्रमिकका लागि सुरक्षित र स्वस्थ कार्यस्थल उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘श्रमिक दिवसलाई एकता, करुणा र दृढ सङ्कल्पको नवीकरण गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ, श्रमिकको विगतका सङ्घर्ष र बलिदानको सम्मान गर्दै सामाजिक-आर्थिक न्यायका लागि आफूलाई समर्पित गर्न सके मात्र श्रमिक दिवसको सार्थकता र महत्वको पुष्टि हुन्छ’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

उनले समाज, देश र अर्थतन्त्रमा अतुलनीय योगदान पुर्‍याउने सबै परिश्रमी श्रमिकको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।