‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

दाङ / पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिनुभयो । “स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउनु हुन्छ । भत्तारकम दुई हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

गत असार १० गते आयोजना गरिएको नवौँ नगरसभामा उपाध्यक्ष विश्वकर्माले आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गर्नुभएको रु ५१ करोड ६४ लाखको बजेट सर्वसम्मतिले पारित भएको छ । कोरोना रोकथाम, कृषि, सिँचाइ, रोजगार तथा विकासका कामलाई उच्च प्राथमिकताका साथ नीति तथा बजेटमा समावेश गरिएको छ । “ हाम्रो बबइ राम्रो बबइ, खुसी जनता समृद्ध बबई गाउँपालिका” नाराका साथ ल्याइएको कार्यक्रम तथा बजेटमा गाउँपालिका क्षेत्रमा स्वच्छ र सहज रुपमा खानेपानीको व्यवस्था गर्नका लागि एक घर एक धारा समावेश गरिएको छ ।

त्यस्तै सस्कृति र सम्पदा संरक्षण, दलित संग्रहालय निर्माण, अन्य चाडपर्व, महोत्सव सञ्चालनका लागि आवश्यक नीतिसहित रकम छुट्टयाइएको छ । त्यस्तै बङ्गलाचुली गाउँपालिकाले शहिद तथा बेपत्ता परिवार, द्धन्दका घाइते, अपाङ्गता भएकालाई मासिक रु पाँच सय वृत्ति विकासको व्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले जानकारी दिनुभयो ।
सो गाउँपालिकाको गत असार ९ गते आयोजना गरिएको नवौ नगरसभामा उपाध्यक्ष घर्तीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित भएको छ ।

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

म्याग्दी । मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्वाधार विकास कार्यक्रमको रु.२५ लाख बजेटबाट पदमार्ग र पर्यटन पुर्वाधार कार्यक्रमको रु। दश लाख बजेटले आश्रयस्थल निर्माण भएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो ।

“ओझेलमा परेको दुरलेकको पर्यटन विकासका लागि पुर्वाधार बनाएका हौ,” उहाँले भन्नुभयो “पुर्वाधार बनेपछि पर्यटकलाई सुविधा पुग्ने र चहलपहल बढ्ने अपेक्षा गरेका छौ ।” दुरलेकको झण्डी देखि मन्दिरसम्मको दुई किलोमिटर पदमार्ग निर्माण भएको छ ।

उकालो र भिरालोमा ढुङ्गाको सिँढी चिनेर र बिछ्याएर पदमार्ग बनाएको उपभोक्ता समितिका अध्यक्ष लालु पुनले बताउनुभयो । पदमार्गको चौडाई १।५ मिटर छ । पदमार्ग बनेपछि चिप्लो बाटोमा लडेर दुर्घटना हुने र बाटो बिराउने समस्या हटेको स्थानीय भक्तबहादुर पुनले बताउनुभयो ।

बस्तीदेखि टाढा रहेको दुरलेकमा पदमार्ग बनाउन रुमका ६५ जना मजदुर करिब ४५ दिन जङ्गलमै बास बसेका थिए । जङ्गलमै अस्थाइ टहरा बनाएर खानेबस्ने ब्यवस्था मिलाएर मजदुरलाई राखिएको थियो ।

यसैगरी प्रदेश सरकारकै दश लाख सहयोगमा दुरलेक नजिकै पाहुनाहरुको सुविधाका लागि आश्रयस्थल निर्माण भएको छ । दश मिटर लम्बाई र पाँच मिटर चौडाई भएको एक तले आश्रयस्थलको भवन बनाइएको छ । दुरलेक घुम्न जाने पर्यटकलाई रातको समयमा बास बस्न सहज होस भनेर आश्रयस्थल बनाइएको हो ।

समुद्री सतहदेखि तीन हजार छ मिटर उचाइमा रहेको दुरलेक डाँडो पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । दुरलेकले बागलुङको ताराखोला, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ ।

अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, चुरेनलगायतका हिमश्रृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न त्यहाँ आन्तरिक पर्यटक जाने गरेका छन् । दुरलेकमा पाँचऔले, सतुवालगायतका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । अनौठा आकृतिका आकर्षक ढुङ्गाहरु छन् ।

हिउँदमा सडकमार्ग भएर रुम हुँदै घ्याङ्लेपानी तथा त्यहाँबाट झण्डै चारदेखि पाँच घण्टाको पैदल यात्रापछि दुरलेक पुग्न सकिन्छ । सो क्षेत्रमा स्थानीयवासीले वर्षामा गोठ राख्ने गरेका छन् । दुरलेकमा खानेपानीको ब्यवस्थापन र मन्दिर निर्माण गरेर हिउँमा खेलिने स्कि खेलको सम्भाव्यता अध्ययन गर्न पहल गरेको वडा अध्यक्ष पुनले बताउनुभयो ।

भारतमा कोरोनाबाट दैनिक मृतकको सङ्ख्यामा वृद्धि

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १।४८ प्रतिशत रहेको छ ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा थपिएका सङ्क्रमितहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ ।
भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ९७.२० प्रतिशत रहेको छ ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ ।

शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमशः १०० रूपैँया ९१ पैसा र ८९रूपैँया ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ ।

अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैँया ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैँया ४६ पैसा पुगेको छ ।

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले शुक्रबार भन्नुभयो, “पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ‘ठूलो मन’ बनाउनुपर्ने र ईन्धनको करलाई घटाउनु पर्ने देखिएको छ ।”

मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ । यहाँ पेट्रोल प्रति लिटर १०९ रूपैँया २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रूपैँया ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रूपैयाँ ९७ पैसा कायम भएको छ ।

उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीबार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिनुभएको थियो । मन्त्रीको जिम्मेवारी सम्हालेसँगै उहाँले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “हाम्रो ध्यान कच्चा तेल र प्राकृतिक ग्यासको बढ्दो घरेलु उत्पादनमा केन्द्रित हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीको एक आत्मानिरभर भारतको अवधारणा अनुरुप हामी मुलुकमा प्राकृतिक ग्यास आधारित अर्थतन्त्रको विकासतर्फ काम गर्ने छौं ।”

‘हैटीमा अस्थिरताको खतरा भएको भन्दै हैटीको सरकारद्वारा सहयोगका लागि राष्ट्रसंघसँग आग्रह’

काठमाडौँ । राष्ट्रपति जोभेनल मोइजको हत्यापछि सङ्कटबाट प्रभावित क्यारिबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थलहरू सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।

हैटीका राष्ट्रपति मोइजलाई गत बुधबार गोली हानी हत्या गरिएको थियो । मोइसलाई उहाँको घरमा गोली हानी हत्या गरिएको दुई दिन पछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्टहरू पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ ।

निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भन्नुभयो, “हैटीका राष्ट्रपति मोइजको हत्याकाण्डपछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र संघीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।”

अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ को लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।

संयुक्त राष्ट्र संघले यसबारे प्रतिक्रियाको लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका कूटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीहरूले भनेको जस्तै गर्न आवश्यक भएको सङ्केत गरेको थियो ।

वाशिङ्टनले हैटीको अनुसन्धानमा मद्दत गर्ने आफ्नो इच्छाप्रति सङ्केत गरिसकेको छ र व्हाइट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबीआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्यारेबियन मुलुक हैटीतर्फ लाग्ने शुक्रबार बताउनुभएको छ ।

क्रुर हत्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । हत्यामा सक्लग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिहरूलाई हिरासतमा लिइएको छ वा कारबाहीमा मारियो भन्ने सार्वजनिक गरिएको छैन । हत्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सुरक्षा नियन्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमहरूले बाहिर ल्याएका थिए ।

अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसङ्ख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद छैन ।

राष्ट्रपतिको हत्यापछि सुनसान राजधानीमा षड्यन्त्रको अनसमानबीच सडक तथा पसलहरूमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात पुनः सुरु भएको छ ।

अस्थिरताको सङ्केतहरू देखिँदा नागरिकहरू सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान खरीद गर्न र भण्डारण गर्न खाना पकाउन ग्यास किन्न लामवद्ध हुन थालेका छन् ।

भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकहरूले आफ्नो छाक टार्ने तयारी गरिरहेका छन्, एक स्थानीयले पोर्ट–ओ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।

विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहहरूबीच शुक्रबार पनि झडपहरू भएका थिए । यसका कारण राजमार्गहरूसमेत प्रभावित बनेका थिए ।

यस हत्याको दिन बित्दै जाँदा अफ्रिकाको सबभन्दा गरीब देशका धेरै मानिसहरूले न्यायको माग गरिरहेका छन् ।

राजधानीका बासिन्दाले एएफपीलाई भने, “विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीबासी यसबाट विचलित भएका छौ । घटनाको पछाडि कसको हात छ हामी यो जान्न चाहन्छौँ ।”
प्रहरीले २८ जना कोलम्वियाली तथा अमेरिकी समूहले आक्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । छानवीनका लागि मोइजको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

हैटीका राष्ट्रपति मोइजको उहाँकै सुरक्षा सहयोगीद्वारा हत्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताउनुभएको छ । उहाँले हत्यारा विदेशी नभएको दावी पनि गर्नुभयो ।

दबाब र प्रभावमा परेर काम गर्दिनँः प्रजिअ पराजुली

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आफू कुनै दबाब तथा प्रभावमा नपरी काम गर्ने बताउनु भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज शुक्रबार आयोजना गरेको ‘बजार अनुगमनको अवस्था र सुशासन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहेका पराजुलीले निषेधाज्ञाको समयमा भाटभटेनी सुपरमार्केट खुलेकै कारण ४ लाख जरिवाना र सञ्चालकलाई जेलसम्मको कारबाही गरेको घटना स्मरण गर्नुभयो । साथै उहाँले आफू दबाब र प्रभावमा नपरी पाएको जिम्मेवारी पुरा गर्न लागि परेको समेत बताउनुभयो ।

कानुनको परिपालन गरेमा मानिस अनुशासित बन्छ । उहाँले भन्नुभयो–‘गल्ती गर्नेलाई कानुनी कारबाही गर्दा आगामी दिनहरुमा उसले गल्ती सुधार्छ ।’
पछिल्लो समय बजार मूल्य आकासिईरहेको छ । बजारभरी अखाद्य बस्तु देखि गुणस्तरहीन औषधीहरु समेत खुल्लमखुल्ला रुपमा विक्रि वितरण भईरहेको बताउँदै यसलाई नियन्त्रण गर्न लागिपरेको बताउनु भयो ।

यस्तो परिवेशमा सरकारले के कसरी काम गरिरहेको छ भन्ने विषयमा बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले विभागले उपभोक्ता हित विपरितका कार्य गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने कार्य तीव्र गतिमा गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले पछिल्लो समय बजार अनुगमन सुधार गर्नका लागि अत्यन्त जटिल भएको बताउनुभयो । उहाँले व्यापारीहरु नै शक्ति केन्द्रमा पुगेकाले वाणिज्य विभाग लगायतका उपभोक्ता हित विपरितका गतिविधि नियन्त्रण गर्ने थलो निरिह बनेको दाबी गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नेपाल आयल निगमका निर्देशक दिपक बरालले पेट्रोलिमय पदार्थको मूल्य बृद्धिको विकल्प नभएको तर्क गर्नुभयो । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्दासमेत निगमलाई प्रत्येक १५ दिनमा ९१ करोड घाटा लाग्ने गरेको जानकारी गराउनुभयो ।

कोरोना कहरका बाबजूद पनि झण्डै ५० जनाको उपस्थिति रहेको सो कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले नेपाली जनता कुशासनको चक्रमा फसेको बताउनुभयो । प्रत्येक एक आर्थिक वर्षमा झण्डै १० खर्ब राजस्व छली हुने भएकाले राजस्व संकलनमा कडाई गर्दै जनताको हितमा सो रकम खर्चिनुपर्ने विषयलाई उहाँले जोडदार रुपमा उठाउनुभयो ।

बजारमा उपभोक्ता हित विपरितका कार्यहरु भईरहेको तर्फ जानकारी गराउँदैे मौसमी अनुमगन होइन निरन्तर अनुगमनको खाँचो रहेको उनको तर्क थियो ।

आयोगले नियमावली र कार्यविधि संशोधन गरेर ‘स्टिङ अप्रेसन’ को निरन्तरता पाउने

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’ को लागि निरन्तरता पाउने भएको छ । आयोगले नियमावली र कार्यविधि संशोधन गरेर यसलाई परिमार्जन गरी निरन्तरता दिन लागेको हो ।

बैशाख ९ गते सर्वाेच्चले सेवाग्राहीमार्फत आफै घुस दिन लगाएर पक्राउ गर्ने शैलीलाई संविधानविपरीत ठहर गरेको थियो ।

सर्वोच्चले ‘स्टिङ अप्रेसन’ मा आफै घुस दिन नपाउने मात्र फैसला गरेकाले यससम्बन्धी कार्यविधिलाई संशोधन गरेर कायम राख्न लागिएको आयोगले जनाएको छ । अब आयोगले सेवाग्राहीको आफ्नै पैसा घुस दिन लगाएर ‘स्टिङ अप्रेसन’ गर्नेछ । ‘अदालतको फैसलापछि अब हामीले आफ्नै पैसा स्टिङ अप्रेसनमा प्रयोग गर्दैनौं,’ आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने, ‘अब सम्बन्धित सेवाग्राहीकै पैसा प्रयोग हुन्छ । आयोगलाई घुससहित पक्राउ गर्ने संवैधानिक अधिकार छ, त्यो काम परिमार्जनसहित निरन्तर हुन्छ ।’