एमालेसँगको तालमेलप्रति राप्रपाका नेताहरुको आपत्ति

काठमाडौं, ३ कात्तिक । राप्रपाका नेताहरुले एमालेसँगको तालमेलप्रति आपत्ति जनाएका छन्।

एमालेसँगको तालमेलले पार्टीको आदर्श र सिद्धान्तलाई असर पारेको भन्दै उनीहरुले त्यसलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई उक्त निर्णयलाई तत्काल सच्याउनका लागि बुधबार सचेतना पत्र पठाएका छन् ।

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्यसमाचार/ सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

ब्रोकर लाइसेन्स लिनका लागि बैंक तथा वित्तीय संस्थाहरुको लर्को

काठमाडौं । ब्रोकर लाइसेन्सका लागि कुल ४६ वटा कम्पनीले आवेदन दिएकामा बैंक तथा वित्तीय संस्थामात्रै १४ वटा रहेका छन् । ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम मिति असोज ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज मार्फत धितोपत्र बोर्डमा ब्रोकर लाइसेन्स पाउँ भन्दै १४ वटा बैंक तथा वित्तीय संस्थासहित ४६ कम्पनीले आवेदन दिएका हुन् ।

यसरी आवेदन दिने वाणिज्य बैंकहरुमा एनएमबि बैंकको तर्फबाट एनएमबी सेक्युरिटिज, माछापुच्छ्रे बैंकको तर्फबाट माछापुच्छ्रे सेक्युरिटिज र एनआईसी एशियाको तर्फबाट एनआईसी एशिया सेक्युरिटिजले आवेदन दिएका छन् । यस्तै मेगाबाट मेगा स्टक मार्केट्स, प्रभु बैंकबाट प्रभु स्टक मार्केट क्यापिटलको नाममा आवेदन परेको छ ।

यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाट आरबीबी सेक्युरिटिज, नबिल बैंकबाट नबिल सेक्युरिटिज, सानिमा बैंकबाट सानिमा सेक्युरिटिज, हिमालयनबाट हिमालयन सेक्युरिटिज, सनराइज बैंकबाट सनराइज सेक्युरिटिज र सेन्चुरी बैंकको तर्फबाट सेन्चुरी सेक्युरिटिजको नाममा आवेदन परेको छ । यस्तै विकास बैंकतर्फ गरिमा विकास बैंकको तर्फबाट गरिमा सेक्युरिटीजको आवेदन परेको छ ।

बैंकहरुको ब्रोकर कम्पनीमध्ये नबिल बैंकले धितोपत्र कारोबारको डिलरकै लाइसेन्स माग गरेको छ । उसो त सबै आवेदकहरु मध्येबाटै डिलर लाइसेन्सको अनुमति माग गर्ने एक मात्र कम्पनी नबिल बैंक मात्र हो । बैंकले कुल १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीसहित डिलर लाइसेन्सको माग गरेको हो ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै धितोपत्र बोर्डले बनाएको मापदण्ड अनुसार स्टक डिलरका लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने बताइएको छ । सोही व्यवस्था बमोजिम बैंकले न्युनतम चुक्ता पुँजीसहित डिलरको लाइसेन्सका लागि असोज २८ गते नेपाल स्टक एक्सचेन्जमार्फत बोर्डसँग अनुमति माग गरेको हो ।

यस्तै, यता मर्चेन्टसहितको पूर्णकालिन ब्रोकर लाइसेन्सका लागि ३ वटा वाणिज्य बैंकको आवेदन परेको छ । नेप्सेका अनुसार हिमालयन बैंक, मेगा बैंक र सेन्चुरी बैंकले समान ६०÷६० करोड रुपैयाँ चुक्ता पुँजीसहित मर्चेन्टसहितको पूर्णकालिन ब्रोकरका लागि आवेदन दिएका हुन् ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीले यस्तो कारोबारका लागि न्यूनतम चुक्ता पुँजी ६० करोड रुपैयाँ तोकेको छ ।

कुन कम्पनीले कति चुक्ता पुँजीसहित आवेदन दिएका छन् ।
बैंकतर्फ
एनएमबि सेक्युरिटिज – २० करोड रुपैयाँ
माछापुच्छ्रे सेक्युरिटिज – २१ करोड रुपैयाँ
एनआईसी एशिया सेक्युरिटिज – २० करोड रुपैयाँ
प्रभु स्टक मार्केट क्यापिटल – २० करोड रुपैयाँ
आर।बी।बी सेक्युरिटिज – २० करोड रुपैयाँ
सानिमा सेक्युरिटिज – २० करोड रुपैयाँ
सनराईज सेक्युरिटिज– २० करोड रुपैयाँ

४५ को सूचीबाहेक थप शनि सेक्युरिटिजले समेत पूर्णकालिन ब्रोकर लाइसेन्सका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए ।
नियमावली अनुसार डिस्काउन्ट ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ । कुल आवेदकहरु मध्ये अन्य ८ वटा बैंकसहित २३ कम्पनीहरुले सोही बराबरको पुँजी राखि लाइसेन्स माग गरेका छन् ।

अहिले आवेदन उपर बोर्डले अध्ययन गरिरहेको छ । तोकिएको मापदण्ड तथा व्यवस्था बमोजिम योग्य पाइए सबै आवेदक कम्पनीहरुलाई लाइसेन्स प्रदान गर्ने तयारी बोर्डको रहेको केसीको भनाइ छ । उसो त यसअघि नै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कुनैपनि कम्पनीलाई लाइसेन्स लिनबाट बञ्चित नगरिने बताइसकेका छन् । खुला लाइसेन्स नीति अनुसार तोकिएको मापदण्ड तथा क्राइटएरिया पुरा गर्ने सबैलाई लाइसेन्स प्रदान गर्ने उनले बताएका छन् ।

बैंकहरुले ब्रोकर लाइसेन्स पाउनु खुशीकै कुरा हो ः सीईओ कार्की

कतिपयले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनेबारेमा बारेमा प्रश्न उठाइरहँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने बैंकहरु पनि धितोपत्र दलाल तथा व्यापारका लागि सहभागि हुनु उचित भएको तर्क गर्छन् ।

बैंक तथा वित्तीय कम्पनीहरुले ब्रोकरको कारोबार गर्दा अझ बढी पारदर्शी र सुरक्षित हुने उनको दाबी छ । बैंक तथा वित्तीय कम्पनीहरुले ब्रोकरको काम गर्दा इन्साइडर ट्रेटिङको खतरा कम हुनसक्ने सीईओ कार्कीको भनाइ छ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैँसा छ भने बिक्रीदर एक सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अधिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो ।

त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपैयाँ २४ पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृिद्ध हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरु बताउँछन् । नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।

यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातीत बस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।

प्रधानमन्त्री देउवा पोखरामा

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आएका हुन् ।

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन् । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।

काठमाडौं महानगरपालिका अगाडि धर्ना

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि दृष्टिविहिनहरुले धार्ना दिइरहेका छन् । आज (बिहीबार) उक्त पालिकाको अगाडि दृष्टिविहिनहरुले धार्ना दिइरहेका छन् ।

सडकपेटीमा मागेर बसेर गुजारा चलाउँदै आएका दृष्टिविहिनहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै धार्ना दिएका हुन् ।

सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका छन् ।

रोकिएन शेयर बजारको गिराव

काठमाडौं । निरन्तर रुपमा ओरालो लागिरहेको शेयरबजारमा आज सताकाे अन्तिम दिन पनि घटेर बन्द भएको । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको सामान्य अंकले घटेको हो । आज नेप्से १.३८ अंकले घटेर एक हजार ८ सय ४४ दशमलब १४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से १२.८१ अंकले घटेर एक हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाको  भएको छ । यसको आज तीन करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।   

सहकारीका कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे ।

कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए ।

घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले चार जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।

डेङ्गु रोगको जोखिम कायमै

कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेंङ्गुुका बिरामी छन् ।

जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेंङ्गुुका बिरामी छन् । सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन् । घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार÷चार जना छन् ।

लम्किचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिनुभयो । गौरीगङ्गा नगरपालिकामा सात, भजनी नगरपालिकामा पाँच, जोशीपुर गाउँपालिकामा छ डेंङ्गुुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेंङ्गुुका बिरामी शून्य रहेको जनाइएको छ ।

जिल्लामा डेंङ्गुुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ । धनगढी उपमहानगरपालिका –१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्मा उल्लेखित छ ।

असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ ।
कैलालीमा डेंङ्गुुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताउनुभयो । सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंङ्गु नियन्त्रणको उपाय रहेको उहाँले बताउनुभयो । डेंङ्गुु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ ।

यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ । डेंङ्गु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । यो एडिस एजप्टाई÷एलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टको टोकाइबाट मात्रै यो रोग सर्दछ । यो लामखुट्टेलाई टाइगर मसकुइटो पनि भनिन्छ ।

डेंङ्गुु नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान
सञ्चालन गर्न आग्रह

धनगढी उपमहानगरापालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गुको सङ्क्रमण पुनः फैलिन सक्ने भन्दै लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असोज मसान्ततिर लगातार परेको पानीका कारणले गर्दा केही न्यून भएको डेंङ्ग ुरोगको सङ्क्रमण पुनः फैलिनसक्ने खतरा बढेकोले लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको हो । घर, अफिस तथा समुदायका अन्य स्थानमा लामखुट्टे लार्भा उत्पादन गर्न सक्ने सम्भावित स्थान परिचान गरी डेंङ्गु रोग गराउने लामखुट्टेका लार्भा खाज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न धनगढी उपमहानगरपालिकाभित्रका १९ वटै वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।

अभियानमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, आमा समूह, वडा क्लब परिचालन गरी सञ्चालन गर्न पनि भनिएको छ । एक उपमहानगरपालिकाले यसअघि पनि धनगढीका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकासहित वडाका टोलटोलमा डेंङ्गुुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।

गुलाब स्वीट्सलाई २४ घण्टे अल्टिमेटम: खाद्य विभाग

काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा खाद्य तथा गुण नियन्त्रण विभागले अनुगमन तीव्र पारेका छन् ।

बुधवार मात्रै विभागले उपत्यकास्थित विभिन्न फुड तथा स्वीट्स बिक्री तथा उत्पादन स्थलहरूको अनुगमन गरेको छ । विभागको खाद्य तथा दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखाबाट खाद्य निरीक्षक सन्तोष ढकाल र पदम राज भुसालको टोलीले न्यूरोडस्थित स्वस्तिक स्वीट्स, गौतम स्वीट्स र शालिमार हस्पिटालिटीद्वारा सञ्चालित गुलाब स्वीट्समा अनुगमन गर्न पुगेको थियो ।

अनुगमन तथा निरीक्षणको क्रममा शालिमार हस्पिटालिटीको न्यूरोडस्थित शाखालाई उत्पादन स्थलको सफाइमा ध्यान दिँदै पीटीएम अफ फ्राइङ वइल ३१ पाइएको तेल नष्ट गरेको छ भने त्रिपुरेश्वरस्थित शाखाको चौथो तल्लामा रहेको किचन २४ घण्टाका लागि बन्द गर्दै सफाई पछि पुनः निरीक्षण गराएर प्रयोग गर्न निर्देशन दिएको छ । खाद्य निरीक्षक ढकालका अनुसार किचनमा रहेका भाँडावर्तनहरु फोहोर रहेकोले सफाई गरेर मात्र सञ्चालन गर्न भनिएको हो ।

यसैगरी स्वस्तिक स्वीट्स र शालिमार हस्पिटालिटीलाई पनि मेशिनरी तथा उत्पादन स्थलको सरसफाइमा ध्यान दिँदै फ्राईङ वइलको गुणस्तरमा विशेष ध्यान दिँदै फ्राइङ पश्चात् विसर्जन गरिने तेलको अभिलेख राख्न भनिएको छ ।

विशेषगरी चाँडबाँडका बेला मिठाईजन्य तथा खाद्य पदार्थहरूको प्रयोग अरू समय भन्दा बढी हुने भएकोले उपभोक्ताको स्वास्थ्यलाई ख्यालमा राख्दै चल्तीका र ठुला स्टोरहरूमा अनुगमन तीव्र पारिएको विभागकी महानिर्देशक वैद्यले बताइन् ।

‘नियमित अनुगमन त वर्ष भरी नै भई रहन्छ तर चाँडबाँडमा मिसावट हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपलब्ध जनशक्तिलाई अधिकतम खटाएका छौँ’ उनले भनिन् ‘खाद्य पदार्थ उत्पादन तथा विक्रिवितरणलगायत गुणस्तरमा कुनै पनि कैफियत भेटिए अन दि स्पोर्ट कारबाही गर्ने देखि सुधार गरेर मात्रै सञ्चालनमा ल्याउन निर्देशन दिने गरेका छौँ’

१२.८१ अंकले घट्यो: नेप्से

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) आरालो लागेको छ । साताको साताको पहिलो कारोबार दिन ९ दशमलव ६९ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार ६ दशमलब ३८ अंकले घटेको थियो ।
आज १२ दशमलव ८१ अंकले घटेर १ हजार ८ सय ४५ दशमलव ५१ अंकमा झरेको छ

आज दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ६४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज होटल र म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । बैंकिङ २, विकास बैंक ४५, फाइनान्स ३९, जलविद्युत् ३५, जीवन बीमा १८, उत्पादन ४२, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ५५, अन्य १४ र ब्यापार उपसमूहको १६ अंकले घटेको छ भने होटल तथा पर्यटन उपसमूह भने ३९ अंकले बढेको छ ।

बालेनलाई टुकुचा विवाद सल्ट्याउन थपिँदै छ चुनौती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई टुकुचा उत्खननको विवाद सल्ट्याउनको लागी चुनौती थपिएको छ ।

टुकुचा वरपर चार मिटर कायम गर्ने गरी खुला रूपमा बग्न दिने महानगरको योजनामा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा उत्खनन कार्य रोकिएको छ ।

पहिले उत्खनन गरिएको ठाउँ दुर्गन्धित बनेको छ भने जमिन भासिँदै गएको छ ।

महानगरको अभियानअन्तर्गत उत्खननका क्रममा १२ देखि १५ फिट गहिरो खाल्डो खनिएको थियो । उत्खनन गरिएको क्षेत्र आसपास दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ । त्यस्तै फुटपाथमा हिँड्ने पैदल यात्रुका लागि दुर्घटनाको जोखिम समेत बढेको छ ।

अदालतले टुकुचालाई जस्ताको तस्तै छोड्न आदेश जारी गरेकाले तत्काल केही पनि काम गर्न नसकिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

हात्तीसारस्थित जय नेपाल हलको कम्पाउन्डमा करिब १२ फिट गहिरो खाल्डो खनेर टुकुचा उत्खनन गरिएको थियो । सो क्षेत्रको जमिन पनि भासिँदै गएको छ ।

टुकुचामाथि बनेका घरहरूलाई भत्काएर निकास दिने भन्दै महानगरले उत्खनन थाले पनि अदालतको आदेशपछि अभियान स्थगित भएको छ ।

महानगरले विभिन्न क्षेत्रमा टुकुचा उत्खननका लागि डोजर चलाएपछि घरधनीहरूले अदालतमा रिट दायर गरेका थिए । असोज २ गते सो रिटमा अदालतले तत्काल टुकुचामाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

टुकुचामाथि पर्ने २१ घरधनीले महानगरलाई विपक्षी बनाएर अदालत पुगेका थिए । रिट निवेदकहरूले वैध रूपमा नै जग्गाजमिन खरिद गरी संरचना खडा गरेको हुँदा ती संरचनाहरू नभत्काउन माग गरेका थिए ।

प्रारम्भिक सुनुवाइपछि अदालतबाट टुकुचा खोलामाथि रहेका संरचना तत्काल नहटाउन न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

गत बुधवार सुनुवाइ हुने भनिएको रिटमा पेसी स्थगित भएको थियो । मंगलबार पुनः सुनुवाइको लागि पेसी तोकिएतापनि सार्वजनिक बिदा भएको कारणले सुनुवाइ भएन । अर्को पेसी तोकिएपछि मात्र टुकुचाको विवादमाथि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने टुङ्गो लाग्नेछ ।

टुकुचा नक्सामा नदेखिएको र घरधनीले कानुनी प्रक्रिया पुर्‍याएर संरचना निर्माण गरेकाले बालेनलाई विवाद सल्ट्याउन थप चुनौती हो ।

महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले उत्खनन क्षेत्र अझै भासिन नदिन बुधवारदेखि नै पर्खाल लगाउन सुरु गरिने जानकारी दिए । उनले घरमुनि टुकुचा प्रकट भइसकेको अवस्थामा आफूहरूलाई काम गर्न कुनै चुनौती नथपिएको पनि बताए ।

खोलामाथि घर बनाउने कानुन कुनै पनि ठाउँमा नभएको पनि उनले दाबी गरे ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे अदालतले जे भन्छ सोहीबमोजिम काम अगाडि बढाउने बताउँछन् ।

महानगरले निरीक्षण अनुगमनसमेत गरेको छैन । सुनुवाइ अघि बढाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको एउटा प्रतिवेदनको अध्ययन आवश्यक परेको थियो ।

महानगरले उत्खनन थालेपछि १२५ वर्षअघि नै व्यवस्थित सुरुङ बनाएर टुकुचा जमिनमुनि बग्ने बनाइएको तथ्य खुलेको थियो ।

टुकुचामाथि कसरी घरहरू बने भन्ने विषयमा पनि भूमि व्यवस्था मन्त्रालयले अध्ययनसमेत गरेको थियो ।

त्यस्तै, पुरातत्त्व विभागले पनि अध्ययन गर्दा टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सहरी विकास मन्त्रालयको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनका आधारमा महानगरले टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरू निर्माण भएको खुलाएको थियो ।

साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउन अल्टिमेटम जारी गरेको थियो ।

टुकुचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यू प्लाजा, पुतलीसडक, कमलादी क्षेत्रस्थित काठमाडौँ प्लाजा, प्रदर्शनीमार्ग हुँदै थापाथलीस्थित वाग्मतीमा मिसिन्छ ।

टुकुचा कतै देखिन्छ त कतै जमिनमुनि हुँदै बग्छ । महानगरको टोलीले टुकुचा व्यवस्थापन गर्न थप अनुसन्धान पनि अघि बढाएको जनाएको छ ।

५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको छ ।
भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।

खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ ।

रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का सत्याल र प्लम्बर थापालाई घुससहित अख्तियारले पक्राउ गरेको हो ।

उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरूले रकम लिएको खुलेको अख्तियारको भनाइ छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गरे ।

अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५।२९ सेकेन्डमा पूरा गरिन् ।

स्वर्ण पदक जितेकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भए पनि चोटको कारण पूरा गर्न नसकेको बताइन । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा रहेको १६ मिनेट ४९।५९ सेकेन्डको कीर्तिमानी छ ।

त्यसैगरी यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा रजत पदकमा चित्त बुझाएकी पुलिसकी खेलाडी राजपुराले १७ मिनेट १२।०५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कास्य जितिन । उनले निर्धारित दूरी १८ मिनेट ०३।०० सेकेन्डको समयमा पूरा गरिन ।

यसैगरी आजै भएको एथलेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक हात पारेका छन् । उनले निर्धारित दूरी ५३।५३ सेकेन्ड समय खर्चदै पूरा गरे ।

सोही स्पर्धामा आर्मीकै जीवन चौधरीले ५३।८९ सेकेन्ड समय लगाउँदै रजत पदक जिते । सशस्त्र प्रहरी बल ९एपीएफ० का निरप्रताप महतोले कास्य जिते । उनले ५३।९२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जितेका हुन् ।

त्यस्तै एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितिन । उनले निर्धारित दूरी दुई मिनेट २७।३६ सेकेन्ड समय खर्चदै स्वर्ण जितेकी हुन् । सोही स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७।५० सेकेन्डको समय लगाउँदै रजत पदक जितेकी हुन् । आर्मीकी रेखा लिम्बूले कास्य जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ३०।४८ सेकेन्डको समय लगाउँदै कास्य जितेकी हुन् ।

आजै भएको पुरुष आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । सोमले निर्धारित दूरी एक मिनेट ५४।०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत जिते । उनले एक मिनेट ५५।२१ सेकेन्डसहित रजत जितेका हुन् । त्यस्तै आर्मीका सुनिल सुनारले एक मिनेट ५५।५२ सेकेन्डसहित कास्य जिते ।

ज्याभलिन थ्रोको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण जिते

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा रोहितले ६४।२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।

सोही स्पर्धामा एपीएफका रमेश पोखरेलले ५५।४३ मिटर थ्रो गर्दै रजत पदक हात पारे । एपिएफकै मनोज डगौँराले ५३।३९ मिटर थ्रो गर्दै कास्य पदक हात पारे ।

एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफलाई स्वर्ण

यसैगरी एथ्लेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । महिला रिलेमा आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मलित टोलीले ४९।६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।

मनिषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्ती सम्मिलित गण्डकी प्रदेशले ५२।७५ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् । रजिना दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य सम्मलित बागमती प्रदेशले ५२।७६ सेकेन्डसहित कास्य जितेका छन् ।

सोही स्पर्धाको पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मिलित एपीएफ टोलीले ४२।४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतो सम्मिलित आर्मीले ४२।६० सेकेन्डसहित रजत जित्यो भने सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित लुम्बिनी प्रदेशले ४४।३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन् ।