तीव्र उतारचढावबीच सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार पनि शेयर बजार नकारात्मक देखिएको छ। यस दिन नेप्से सूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ।

नेप्से सूचक मात्रै होइन कारोबार रकम पनि घट्दो दरमा देखिएको छ। बुधबार २३ लाख ५५ हजार ८४५ कित्ता शेयर ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा शेयर कारोबार भएको छ। अघिल्लो दिन ९५ करोड रुपैयाँमा शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम झनै घटेको छ।

चुनावपछि बजार बढ्ने अपेक्षा गरिएपनि सोअनुसार बजार बढ्न सकेको छैन। पछिल्लो समय बजार सामान्य अंकको उतारचढावमा नै चलिरहेको छ। मौद्रिक नीतिको समीक्षामा ब्याजदर नबढ्ने व्यवस्था गर्ने भनिएपनि त्यसले समेत बजारमा खासै प्रभाव पार्न सकेको छैन्। यद्यपि बजारमा बिक्री चाप कम हुँदा नेप्से सूचकमा ठुलो गिरावट पनि देखिदैन।

यस दिन त ग्रिन लाइफ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ४ प्रतिशत, रुरु जलविद्युतको ३।३१ प्रतिशत र बुद्धभुमी हाइड्रोपावरको २.८४ प्रतिशतले बढेको छ।

यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४० प्रतिशतले घटेको छ भने गुहेश्वरी फाइनान्सको ३.२७ प्रतिशत, युनाइटेड इन्स्योरेन्स २.९४ प्रतिशत र युनाइटेड मोदीको २.८९ प्रतिशतले घटेको छ।

बुधबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड १४ लाख, नेश्डो लघुवित्तको ३ करोड ८२ लाख र शिवम् सिमेन्टको ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने

बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने भएको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्वाचन आयोगले पुनः मतदान नगरेर मतगणना गर्ने बताएको छ। आयोगले मंसिर ४ गते भएको निर्वाचनको मतगणना सुरु गर्न समेत निर्देशन दिएको छ।

बाजुरा र स्याङ्जा २ मा एमालेले धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेको थियो। त्यसपश्चात मतगणना स्थगित भएको थियो।

विश्वकप फुटबल प्रतियोगिता : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सय थियो । त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु पाँचले बढेर रु एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

भरतपुर । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएका छन् । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो ।
महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ ।

संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी र्‍याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ ।

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताउनुभएको हो ।

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

उहाँले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताउनुभयो । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताउनुभयो । उहाँले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गर्नुभयो । निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको बताउनुभयो । अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर रु ३४ अर्ब खर्च गरेको सरकारले अब करिब रु ३१ करोड खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालले बताउनुभयो ।

निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताउनुभयो । उहाँले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिनुभयो । निर्देशक श्रेष्ठले बाढीले क्षति पु¥याएका संरचना पुनःनिर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताउनुभयो ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ ।

कानुन बमोजिम काम नगर्ने एक दर्जन ठेकेदार कालो सूचीमा

काठमाडौँ । कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखेको हो ।

कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

एकीकृत समाजवादीको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत नेकपा (एकीकृत समाजवादी)को बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मंसिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउनेगरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न संघर्षरत छ ।

यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्ष नेता पराजित भएका छन् । आफू पराजित हुनुमा कांग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।

नेप्सेमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य सुधार, कारोबार रकम भने घटेकाे छ । आज नेप्से २.९९ अंकले बढेर एक हजार ९ सय ५३ दशमलब ३५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १५.६१ अंकले घटेर एक हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको । आज नेप्सेमा ९५ करोड ७० लाख रुपैयाँ बराबरको करोबार भएको छ । सोमबार नेप्सेमा नेप्सेमा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएका भएको थियो । 

कारोबारमा आएका कम्पनीहरुमध्ये १२० वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता २६६ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार एनआइसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।  

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङगो लागेको हो ।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्यसमेत रहनुभएका मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिनुभयो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४.४३ अर्ब हुनेछ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । 

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेका छन् ।

सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो । 

सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको छ । गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ ।

मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस्

१८ भदौ, भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा पुगेको छ ।

उनले एमाले नेता महेश बस्नेतले भक्तपुरमा आफूसँग चुनाव लड्न आउन दिएको चुनौतीको जवाफ समेत दिएको छ ।

देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन बस्नेतलाई चुनौती दिएका छन् । उनले भने, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव जित्छु भन्छन् । पहिले दुलर्भ थापालाई हराएर देखाउनुस् ।’

देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरे । कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै उनले महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

भ्रष्ट र चरित्रहीन साह सचिव बढुवाको लाइन मिलाउँदै

काठमाडौ । नेपाल सरकारका सहसचिव राम आधार साह सचिवमा बढुवाका लागि थैली बोकेर शक्ति केन्द्र धाइरहेका छन् । यद्यपि उनको विगत भने निकै घिनलाग्दो रहेको बुझिएको छ ।
केही समय अघि गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका साहले आफ्नो पदीय मर्यादा भुलेर भ्रष्टाचार लिप्त भएका थिए । नापतौलको महानिर्देशक रहँदा उनले देशभरका पेट्रोलपम्पलगायतका ठुला उद्योगीहरुबाट ढक तराजुहरुमा गढबढ गरेर अतिरिक्त रुपमा करोडौं असुल्ने महानिर्देशकका रुपमा चिनिएका थिए । उनी सोही अभियोगमा जेलजीवन समेत विताएका थिए ।
कार्यशैली र चरित्र हेर्दा आजिवन जेल बस्नुपर्ने सहसचिव साह यतिबेला नीतिगत तहमा जानकार हुँदै अतिरिक्त क्षमता राख्ने व्यक्तित्व सचिव पदको निम्ति अस्वाभाविक दौडधुप गरेको देख्दा स्वाभिमानी कर्मचारीहरु छक्क परेका छन् ।
नापतौल विभागमा रहँदा व्यापारी तथा व्यावसायीसँग चर्को असुली गरेका साह त्यतिबेला भने एक चौहान थरकी युवतीलाई जागिर लगाइदिन्छु भन्दै लामो समय यौनशोषण गरेको बुझिएको छ । साहले ती युवतीलाई यौन शोषण गरेको विभिन्न सञ्चारमाध्यममा उनको वास्तविक रुप छरपष्ट भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जगेडामा थन्किएका सहसचिव यतिबेला सचिव बढुवाका लागि थैली बोकेर शक्तिकेन्द्रमा धाउनुलाई उपल्लो तहका प्रशासकहरु आश्चर्यमा परेका छन् । जनताले नयाँ जनप्रतिनिधि छानिसकेका छन् ।
राजनीतिक तहले गरेका कतिपय काम र कार्यशैली व्यापक असन्तुष्टि जनमतबाट प्रकट भईरहेको छ । यस्तो मति भ्रष्ट व्यक्तिलाई सचिवको बढुवाका निम्ति कसले बोक्छ त्यो भने नागरिक समाजको बीचमा पनि खोजिको विषय हुने भएको छ ।

सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनको मूल्य १०० रुपैयाँले घटेका छन् ।

छापावाल सुनको मूल्य १ सयले घटेर प्रतितोला ९७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम छ ।