प्रा गोपालप्रसाद सिग्देल राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा

प्रा गोपालप्रसाद सिग्देल राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णयसमेत गरेको बताए।

उनले सरकारले इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको जानकारी दिए।

कानुनमन्त्री कार्कीले भने, ‘आजको मन्त्रिपरिषद्ले जेनेभामा आयोजना हुने डब्ल्युटीओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई, इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने, सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने, विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।’

सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

प्रा गोपालप्रसाद सिग्देल राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा

सार्वजानिक यातायातको भाडादर समायोजन हुने

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ ।

नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली र प्रदेशमन्त्रिपरिषद्को निर्णयका आधारमा अब भाडा समायोजन हुने बताउनुभएको हो ।

यसका लागि प्रदेश सरकारले कार्यदल नै बनाएर काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अब भाडा समायोजनको अन्तिम निष्कर्ष आउन मात्र बाँकी रहेको जनाउँदै उक्त निर्णयपश्चात मात्र सवारी साधनको नयाँ भाडा निर्धारण हुने बताउनुभयो ।

सार्वजनिक यातायात महासङ्घका अध्यक्ष डोलनाथ खनालले विसं २०७० बाट भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको जानकारीदिनुभयो ।

उहाँले विसं २०६५ मा सरकारले छ महिनासम्म अनुसन्धान गरेर वैज्ञानिक भाडा नीति ल्याएको भए पनि उक्त कार्य पाँच वर्षसम्म लागू भएर स्थिर बनेको बताउनुभयो ।

पेट्रोलियम पदार्थका कारण भाडा बढ्ने वा घट्ने सम्भावना ३५ प्रतिशत मात्र भएको र ६५ प्रतिशत अन्य कारण रहेको उहाँको भनाइ छ ।

भाडा समायोजनमा विभिन्न पक्ष अध्ययन गरिने अध्यक्ष खनालको भनाइ छ । अध्ययन गरिने विषयमा गाडीको मूल्य, ब्याज, चालकको पारिश्रमिक, गाडीका विभिन्न भागको मूल्यलगायत छन् ।

सङ्घीय सरकारले अन्तरप्रदेशको भाडा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशभित्र समायोजन हुन नसकेको अध्यक्ष खनालले बताउनुभयो ।

छिट्टै भाडादर बढ्ने र राहत पाउने हेटैँडाका यातायात व्यवसायी राजु पौडेलको भनाइ छ ।

यातायातका साधनमा निर्भर आफ्नो व्यवसायमा अब भने थोरै मुनाफा हुनसक्ने अनुमान उहाँको छ ।

नौ वर्षदेखि भाडादर स्थिर रहेको जनाइएको छ ।पुरानो भाडा दरमा ढुवानी गर्न नसक्ने पुरानो नारायणी यातायात व्यवसायी सङ्घका प्रबन्धक सरोज खनालले बताउनुभयो ।

अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा हुनुहुन्छ ।

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थाल्नुभएको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

इपिएलमा चितवनको दोस्रो जित

चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमलसिंह ऐरी २३ रनमा अविजित रहे ।

यस्तै दिलीप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी भने शून्य रनमा आउट भए ।

काठमाडौँका जीतेन्द्र मुखिया र रायन बर्लले २÷२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाउदा राजु रिजालले २८ रन जोडे ।

त्यसैगरी जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे ।

चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए ।
चितवनले २ खेलमा ४ अङ्क जोडेको छ ।

काठमाडौँको २ खेलमा २ अङ्क छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

२९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरिरहेको हिमालयन बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो ।

बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ ।

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको छ ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको थियो ।

एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

आजको बैठकमा पनि एमालेले निरन्तर अवरोध कायमै राखेको थियो। संसदको गतिरोध हटाउने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले बोलाएको आजैको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन ।

सर्वदलीय बैठकमा शीर्ष नेताहरूले एमाले संवादबाट पनि भाग्‍न खोजेको हो कि भन्दै निष्कर्षसहितको वार्तामा बस्‍नुपर्ने बेला आएको बताएका थिए ।

साथै सर्वदलीय बैठकमा नेताहरूले एमालेले जिम्मेवार बन्‍नुपर्ने र संसदको गतिरोध हटाउनमा सहयोग गर्नुपर्ने उनीहरूको एकमत थियो ।

प्रदेश २ अख्तियार छापा प्रकरण: के प्रदेश सरकार संबिधान भन्दा माथि हो ?

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार प्रदेश २ स्थित मुख्यमन्त्रीको कार्यलयमा छापा मारेको छ ।

अख्तियारको छापा नेपालमा संघियता जारी भएर प्रदेश सरकार गठन भएपछीको प्रदेश माथीको पहिलो तथा अहिले सम्मकै ठुलो कारवाही हो सुसासन चाहनेहरुका लागी यो कारवाहीले आशा जगाएको छ ।

बुधबार बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।

त्यसको केहीघण्टामा नै अख्तियारको केन्द्रीय कार्यालय र बर्दिबासस्थित कार्यालयको टोलीले जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको थियो ।

प्रदेश प्रमुखको कार्यलयमा छापा मारेको बारे २ न प्रदेश प्रमुख लालबावु राउतले चर्को आलोचना गरेका छन् ।

उनले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताएका छन् ।

यसबारे आफूले अख्तियार प्रमुख राईसँग टेलिफोनमा कुराकानी गरेको उनले सुनाए ।

अख्तियारको शैलीप्रति आफूले आपत्ति जनाएको र राईले पनि कमजोरी स्वीकार गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री राउतले भने, ‘यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षड्यन्त्र हो ।’

प्रदेशमा मुख्यमन्त्री राउतले राईले गल्ती स्विकार गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । तर प्रमुख आयूक्त राईले गल्ती स्विकानु पर्ने गल्तीनै गरेका छैनन् । भष्टाचार गर्ने मुख्यमन्त्री अनी राईले गल्ती स्विकारे भन्नु आफैमा हस्यास्पद अभिब्यक्ती भएको सुसासन चाहनेहरुले प्रतिक्रिया दिन थालेका छन् ।

प्रदेश न २ माथी अख्तियारको निशानाले जनमानसमा सुसासन कायम हुने तर्फ आशाको सञ्चार भएको छ । लामो समय प्रशासन क्षेत्रमा रहेर सुसासन कायम गराउन पहल कदमी लिदै आएका प्रमुख आयुक्त राईसँग जनताले ठुलो आशा तथा भरोसा गरेका छन् ।

प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाएका छन् ।

नविराउनु नडराउनु भन्ने नेपाली आख्यानलाई चरितार्थ यदी बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भ्रष्टाचार भएको छैन र भएता पनि त्यसमा मुख्यमन्त्री लालवाबु राउतको संलग्नता छैन भने उनले अख्तियारको छानविनलाई स्वागत गर्नु पर्दथ्यो । भ्रष्टाचारै भएको छैन भने छानविनबाट डराउन नपर्ने होइन र ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारे पछी मुख्यमन्त्री राउतको अभिब्यक्तीले प्रदेश सरकारले आफुलाई संबिधान भन्दा माथी रहेको भन्ने भानका साथ मनमौजी कार्यगरी अधिक आर्थिक अनियमितता गरेको बुझन गार्हो छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग एउटा स्वत्रन्त संबैधानिक निकाय हो ।

उसले उजुरीको आधारमा अथवा आफ्नै अनुसन्धानका आधारमा राष्ट्रपति कार्यलय लगायत संबिधानले तोकेको कार्यक्षेत्र भित्र रहेर अनुसन्धान तथा कारवाही गर्ने अधिकार राख्दछ । र यसमा यो अथवा कहि कसैले अनुसन्धान गर्यो छानविन गर्यो भनेर रोइलो गर्नुको कुनै तुक छैन । ।

प्रदेश २ स्थित मुख्यमन्त्रीको कार्यलयमा छापा मारेको बिषयलाई राजनीतिक बिषय बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बिवादमा तान्न कदापी उचित छैन । आयोगलाई विवादमा तान्न खोज्नु भनेको आर्थिक अनियमितताको चरम रुपलाई ढाकछोप गर्न गरिने रोइलो हो भन्ने एक सामान्य मानिसले समेत बुझने कुरो हो ।

प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्ने तर्कनै संकास्पद देखिन्छ किनकी नेपालको संबिधानलेनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रको ब्याख्या गरेको छ । जस्ले छानविन गरेपनी गल्ती गर्या छैन भने आफ्नो गोजीको लोकपाललाई किन अगाडी सार्नु पर्यो ।

जस अनुसार संबिधानले आयोगले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार कार्यगर्ने भनेको छ ।

२०४८ को ऐन अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेका कार्यमाथी छानविन गर्न सक्दछ ।

तर प्रदेश सरकारले भने आफैंले जनलोकपाल आयोग गठन गरेको र अख्तियार दुरूपयोग अनुसन्धानले गर्न नपाउने दावी गरेको छ ।

प्रदेश सरकारले जे जस्तो दावी गरेता पनि अब अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार भित्र रहेर देसको स्थानिय तथा प्रदेश प्रशासनमा भएको ब्यापक आर्थिक अनियमितता छानविन गर्न अत्यन्त आवश्यक देखिन्छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राजनीति हावी हुने र अख्तियारले करोडलाई छोएनन् हजारलाई छोडेनन् भन्ने आरोप जनस्तरबाट लाग्दै गर्दा त्यसलाई चिर्न अख्तियारले आफ्नो कार्यमा युद्ध स्तरमा लाग्नु पर्ने अहिलेको टड्कारो आबश्यक्ता देखिन्छ ।

अब अख्तियारले आफ्नो इज्जत जोगाउन समेत उच्च पदमा रहेर कार्य गर्नेलाई पनि आफ्नो अनुसन्धानको दायरामा ल्याउन आबश्य छ ।

आर्थिक अनियमितताका साथै नीतिगत भ्रष्टाचार गर्नेप्रति पनि अख्तियार कठोर हुन अत्यन्त आबश्यक देखिन्छ ।

मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने

काठमाडौं- गठबन्धन सरकारको मन्त्रालयको भागवण्डा आजभोलि नै टुंगिने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् ।

सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ ।’

उनले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको समेत जानकारी दिए ।

“एमाले सम्वाद र वार्ताबाट भाग्न खोज्यो”

काठमाडौं-प्रमुख विपक्षी नेकपा एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको सरकारले बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संसदको अवरोध हटाउन विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु अनुपस्थित भएका थिए ।

२३ भदौमा सुरु भएको संसद अधिवेशनमा एमालेले नाराबाजी गर्दै आएको छ ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ ।

संसदमा अवरुद्ध गरेको दल नै सर्वदलीय बैठकमा नआएको भन्दै सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘उहाँहरु सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन मुलुकको आवश्यकता भन्दा भिन्न छ ।’

सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा-एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहनुभएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखका केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव भेटियो

काठमाडौं-काठमाडौंको नयाँ बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको हाे ।

शव अर्ध नग्न अवस्थामा रहेकाे प्रहरीले बताएकाे छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ ।

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन् ।

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ ।

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो ।

क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक-एक गोल गर्नुभयो ।

लिगका छ खेल खेलेको क्यासलको १६ अङ्क छ । हालसम्म अङ्क जोड्न नसकेको झरना लिग तालिकाको पुछारमा छ ।

यसैगरी पहिलो खेलमा शङ्खमूल फुटसल लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शङ्खमूलका छ खेलबाट १४ अङ्क छन् ।

शंखमुलको जितमा विवेक पण्डित, कृजल खड्का, सागर तेन्जेले गोल गर्नुभयो । लुम्बिनीका रुपेन बराइली र रेफ्री महर्जनले गोल गरे पनि टोलीलाई विजयी गराउन सक्नुभएन ।

लुम्बिनीका छ खेलबाट चार अङ्क रहेका छन् ।

बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्स प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहन सफल भयो ।

प्रभातफेरी तालिकाको आठौँ स्थानमा छ । यस्तै ढुकु फुटसल हब सातौँ स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा छ ।

लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीको सहभागिता छ ।

असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

म्याग्दीको तातोपानी कुण्डमा बिरामीको भीड

प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ ।

कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर तातोपानी कुण्ड खुला गर्न अनुमति दिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गरेको हो ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाएर कुण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल सुरु भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो ।

समितिका सचिव केसीका अनुसार कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामी कुण्डमा नुहाएर रोग निको गराउन आउने गरेका छन् ।

कोभिडविरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको छ ।

केही दिनयता बिरामीको चाप बढ्दै गएपछि कुण्डमा प्रवेश गर्दा अनिवार्यरुपमा माक्स लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भीडभाड गर्न नहुने नियमलाई कडाइका साथ कार्यान्वयन गरिएको केसीको भनाइ छ ।

अहिले कुण्डमा आउने बिरामीलाई आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

अहिले विशेष गरी म्याग्दी र छिमेकी जिल्लाका बिरामी उपचारका लागि यहाँ आएका छन् ।

टाढाटाढाका बिरामी नआएका भए पनि सङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरामी बढ्ने आकलनका साथ समितिले व्यवस्थापन तथा स्वास्थ्य सावधानीका उपायबारेमा सतर्कता अपनाएको व्यवस्थापन समितिले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ ।

विरेनुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पाइन्छ । त्यस्तो पानी पिउँदै तातोपानी कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास गरिन्छ ।

निजी जीवन बारे सामग्री प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडौँ-प्रहरीले महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबरलाई पक्राउ गरेको छ ।

युट्युब च्यानल सञ्चालन गरी निजी जीवन बारे सामग्री प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ परेका हुन् ।

प्रहरीले तस्बिरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई पक्राउ गरेको छ ।

महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृणा फैलाउने सामग्री प्रसारण गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ ।

पक्राउ पर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेकपलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका-९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीया पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेको ब्युरोले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालका अनुसार पक्राउ परेका उनीहरुमाथि बुधबार नै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पछिल्लो समयमा युट्युब च्यालनका सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेको छ । कतिपय यस्ता च्यानलले प्रसारण गर्ने सामग्रीमा स्रोतको उल्लेख नहुने गरेको, सत्यतथ्यमा आधारित नरहेको तथा मानिसको चरित्रहत्या गर्ने र व्यक्तिगत विषयसमेत सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।

समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि नेता नेपाल अस्पताल भर्ना भएका हुन् ।

अस्वस्थ भएसँगै नेता नेपाल बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । ।

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको निजी सचिवालयले जनाएको छ ।

‘उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा। सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ’ स्वकीय सचिव मोहन गौतमले भनेका छन् ।