विभागले गर्‍यो २५ वटा मुद्दा दायर बिगोसहित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा राजस्व अनुसन्धान विभागले डेढ अर्ब बढीको बिगोसहित २५ वटा मुद्दा दायर गरेकाे छ । विभागका महानिर्देशक नवराज ढुंगानाले राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै गरिएको बताएका छन् ।

ढुंगानाले बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी दिएका हुन् । ती मुद्दामा ४५ प्रतिवादीलाई एक अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ ।

विभागले ४५ मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादी रहेका छन्। विभिन्न प्रकृतिका राजस्व छलीका घटनाहरू रहेका छन्। डिडिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबार गरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ।

कुटपिट आरोपमा पक्राउ परेकी शर्मिलालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कुटपिटको आरोपमा पक्राउ पर्नुभएकी युट्युवर शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आफू लाई सामाजिक अभियान बताउने शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । हिजो सिन्धुपाल्चोकबाट पक्राउ पर्नुभएकी वाइवालाई काठमाडौं जिल्ला अदालतले हिजोबाट लागू हुने गरी हिरासतमा राख्न अनुमति दिएको हो ।

हास्यकलाकार पवन खतिवडा म्याकुरीले वाइवासहितले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उहाँ बाह्रबिसेबाट पक्राउ पर्नुभएको हो ।

उहाँलाई हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

संघीय निजामती ऐन संसदमा दर्ता गर्ने तयारीमा छौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् । सरकारले प्रत्येक मन्त्रालय संवद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र सेवा प्रवाहका विषयहरुमा तत्काल सुधार गरी आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको  उनले  बताए ।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका संवद्ध सचिवहरुले सोको कार्यप्रगति अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको अध्यक्षतामा रहेको आयोजना सहजीकरण समितिमार्फत राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको समस्या समाधान गर्न पनि पहल गर्न जरुरी रहेको  उनले  बताए ।

प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरु रुपान्तरणकारी तथा प्राथमिकता प्राप्त आयोजनाहरुको प्रभावकारी रुपमा अनुगमन गरी आयोजनालाई समयमा नै सम्पन्न गर्ने व्यवस्था मिलाउन जरुरी रहेको बताए ।

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले पाए सफाई

काठमाडौं । विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो। 

डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ माघ २०७९ सालमा नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो।

उक्त मुद्दाका विषयमा बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिएको हो। सफाई पछि प्राडा कार्कीले अदालतले आफूमाथि न्याय गरेको प्रतिक्रिया दिए।

अदालतले डा गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्राध्यापक पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको हो। विशेषको यो आदेशसँगै डा गिरी प्रतिष्ठानमा उपकुलपतिका रुपमा काम गर्न जाने भएका छन्।

डा गिरी निलम्बित भएपछि प्रतिष्ठानमा डा प्रह्लाद कार्कीले कामु उपकुलपतिको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

बित्त आयोगमा नियुक्त सदस्यद्वयको नियुक्ति बदरको माग गर्दैै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । वित्त आयोगमा नियुक्त भएका आयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दिपकराज जोशी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गरेका हुन् ।

सदस्यद्वयको व्यक्तिक विबरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरु शंकास्पद देखिएपछि सूचना माग गर्दा सूचना समेत नदिइएकोले सार्वजनिक सरोकारको विषय भएकोले रिट दर्ता गरेको उल्लेख गरिएको छ ।

 राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संवैधानिक परिषद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलालाई विपक्षी बनाइ दायर रिटमा गुरुङ र निरौलाको नियुक्ती नै गैह्रकानूनी, गैह्रसंवैधानि भएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम यो मुद्दाको अन्तिम निर्णय नभएसम्म निजहरुलाई विपक्षी आयोगको सदस्यको रुपमा कार्य गर्न नदिन तथा नलगाउनु भनि विपक्षीहरुका नाममा अन्तरिम आदेश समेत जारी गर्न माग गरिएको छ । दायर रिट निवेदनको सुनवाइको लागि फागुन १८ गते शुक्रबार को लागि पेशी तोकिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै दायर रिटमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी प्राकृतिक श्रोत वा वित्त व्यवस्थापन, अर्थशास्त्र, कानून, व्यवस्थापनको क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशेषज्ञता हासिल गरेको भन्ने स्पष्ट व्यवस्था गरिएको छ । तर जुद्धबहादुरले परिषदमा पेश गरेको बायोडाटा र निजले प्रकाशित गरेको किताबको पानामा देखिएको बायोडाटामा योग्यता समेत फरक परेको देखिन्छ । यसरी नियुक्तिका लागि शैक्षिक योग्यता नपुगेको दावी सहित निजले एमएस्सी तथा विएडको योग्यतामै आयोगको नियुक्ति लिएको उल्लेख गरिएको छ ।

साथै रिटमा जुन प्रयोजनको लागि आयोग स्थापना भएको हो सोही प्रयोजन पुरा हुन नसक्ने भएको कारणल योग्यता पुगेको व्यक्तिलाई मात्र आयोग तथा अन्य संवैधानिक आयोगमा समेत नियुक्त गर्नु गराउनु भनि विपक्षीहरुका नाममा अधिकारपृच्छा सहितको परमादेशको आदेश लगायत अन्य जो चाहिने उपयुक्त आज्ञा आदेश समेत जारि गरी पाउँ भनिएको छ ।

रिट उपर भोलि (शुक्रवार)को लागि पेशी तोकिएको छ ।

आमा बन्दै दीपिका पादुकोण

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्।

लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच दीपिका आफैँले सामाजिक सञ्जालमार्फत् आफू गर्भवती भएको जनाएकी हुन्।

दीपिकाले पति रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन्। जहाँ शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ।  ‘बेबी सेप्टेम्बर २०२४’ उनले लेखेकी छन्।

दीपिका र रणवीरले सन् २०१८ का नोभेम्बर १४ मा विवाह गरेका थिए।

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पूँजीबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४८ हजार ३४९ पटकको कारोबारमा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।

पछिल्लो समय मनोवैज्ञानिक विन्दु भनिएको २००० बिन्दुबाट नेप्से स्वाट्टै तल झरेको हो । हिजो ०.८७ अंकले घट्दा नेप्से २०००.७७ बिन्दुमा अडिएको थियो । २२० कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ । बिहीबार भएको कारोबारमा जम्मा १७ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा क्रमशः १० र ९.८६ प्रतिशत सर्वाधिक वृद्धि भएको छ । आजको कारोबारमा जोशी हाइड्रोपावर र अपर अपर स्याङ्गे हाइड्रोपावरका शेयरधनीले क्रमशः १० र ८‍.६२ प्रतिशत मूल्य गुमाएका छन्‌ । 

बिहीबार सर्वाधिक बढी शेयर कारोबारमूल्य सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रहेको छ, जुन कम्पनीको ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बजारमा गिरावट आए पनि अघिल्लो दिनको भन्दा कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

काठमाडौँ महानगरपालिकामा १ सय ४० स्वयमसेवकमा आवेदन खुल्यो

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ । २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयंसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको हो ।

महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।

यसबाट शहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नु पर्ने झाको भनाइ छ । यो फाराम आउँदो आइतबार फागुन २० गतेसम्म भर्न सकिनेछ। स्वयंसेवकका निम्ति आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा माग गरिएका विवरण भर्नुपर्छ ।

पण्डितलाई प्रशासन महाशाखाकाे जिम्मा

काठमाडौं । गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्रप्रसाद पण्डितलाई दिएको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा यस अघि फाजिलमा रहेका सहसचिव पण्डितलाई रिक्त रहेको महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

यस अघि ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका पण्डित कोरियन भाषा परीक्षाको विषयलाई लिएर विवाद सृजना हुदाँ बालकुमारीमा दुई जना युवाको निधन भएपछि त्यहाँबाट गृह मन्त्रालय तानिएका थिए ।

यस अघि प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव केदारनाथ शर्माको कोशी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवमा सरुवा भएपछि उक्त महाशाखा खाली रहेको थियो ।

ग्लोबल आईएमई बैंकद्वारा साथै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले देशभरिका ३५ शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवायुवतीको सहभागिता रहेको थियो ।

कार्यक्रममा ४ हजारभन्दा बढीलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बागमती प्रदेश अन्तर्गत मध्यपुर ठिमी नगरपालिका, रसुवाको गोसाइकुण्ड गाँउपालिका, काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका र ललितपुरको ललितपुर महानगरमा कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, पर्वतको कुस्मा नगरपालिका र कास्कीको पोखरा महानगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ ।

यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाणगंङ्गा नगरपालिका, शिवराज नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, इस्मा गाँउपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, पाल्पाको तानसेन नगरपालिका, प्युठानको प्युठान नगरपालिका, रोल्पाको परिवर्तन गाँउपालिका, सुनिलस्मृति गाँउपालिका, रुपन्देहीको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाँउपालिका, पूर्वीचौकी गाँउपालिका, बाजुराको बढीमालिका नगरपालिका, बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुराको अजयमेरु गाँउपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो ।

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान

काठमाडाैं । लामो समयदेखि विवादस्पद हुँदै आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ ।

आज भरतपुर महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ ।

भरतपुर महानगरपालिकाकाका अनुसार टेण्डरको प्रस्ताव ३१ औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्याललले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिएका छन् । उनले रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यसलाई तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने बताए ।

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । बजेट अभावको कारण उक्त रंगशाला लामो समयदेखि निर्माण हुन सकेको थिएन।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । जसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुने छ । बिहान साढे ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।

मुख्य सचिव अर्याल र भ्रष्टाचार अभियुक्त पौडेलबीच आर्थिक लेनदेनको चर्चाले ल्याएको तरङ्ग

काठमाडौ । सेक्युरिटी प्रिन्टिङका उपकरण खरिदमा ६९ करोड ८ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विकलसहित नौ जनाविरुद्ध दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यस्तै गैरकानुनी आर्जनसहितका दर्जन कसुरमा अनुसन्धान गर्न उनलाई अख्तियारले थुनामा राखेको छ । उनीविरुद्ध नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एकसाथ अनुसन्धान गरिरहेका छन् ।

यस्ता व्यक्तिसँग निजामती प्रशासनको सर्वोच्च पदमा रहेका अर्यालले आर्थिक लेनदेन गरेको भेटिएको हो, त्यसो त अर्याल स्वयम् पनि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियारको अनुसन्धानको दायरामा छन् । पौडेल र अर्यालबीच ‘ह्वाट्सएप’ मा नियमित सन्देश आदानप्रदान हुने गरेको, सरकारी फाइल आदानप्रदान भएको र अर्यालले बैंक खाता नम्बर पठाएपछि विकलले क्रमशः ५ लाख र ९ लाख रुपैयाँ दिलाएको देखिन्छ । दुवै पटक तत्कालीन सञ्चार सचिव अर्यालले तोकेका मानिसको बैंक खातामा रकम जम्मा भएको भौचर प्राप्त भएको छ ।

भ्रष्टाचार अनुसन्धानमा रहेका विभिन्न निकायबाट प्राप्त कागजपत्रअनुसार दुई जनाबीच २०७८ भदौ २१ (सेप्टेम्बर ६, २०२१) देखि ह्वाट्सएपमा संवाद सुरु हुन्छ । साँझ ६:३९ मा अर्यालको ९८५११८८८१३ नम्बरमा म्यासेज आउँछ, ‘नमस्कार हजुर म विकल ।’ भोलिपल्ट सेक्युरिटी प्रिन्टिङ सेन्टरको एउटा डकुमेन्ट पनि यही नम्बरमा ‘फरवार्ड’ हुन्छ ।

पुष्पकमल दाहाल प्रधानमन्त्री र सुरेन्द्र (राम) कार्की सञ्चारमन्त्री भएका बेला तत्कालीन मन्त्रिपरिषद्को अन्तिम बैठकले २०७४ जेठ १९ मा पौडेललाई सेक्युरिटी प्रिन्टिङको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । पछि केपी शर्मा ओली प्रधानमन्त्री र गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा भएको ७० करोडको अडियो प्रकरणको पृष्ठभूमिमा पनि उनै पौडेल थिए । तर त्यो अडियो लाई प्रमाण मान्ने कि नमान्ने सर्वत्र जिज्ञासा उब्जाएको छ।

मुद्दामा जानु अगाडि नै किन प्रमाण छताछुल्ल

अख्तियारले टेरामिक्सको तीव्रताका साथ छानबिन गरिरहेको छ। त्यसमा मुख्यसचिव जोडिएको सन्दर्भ बाहिर आएका छ्न्। केहि दिन अगाडि लेखा समितिले बोलाएको छलफलमा प्रमुख आयुक्त प्रेम कुमार राई ले टेरामेक्सको छानबिनको मुद्दा चाडै अगाडि बढछ भनेका थिए। त्यो सन्दर्भमा एकातिर अख्तियर आफनै सन्यत्र मार्फत मसिनो ढंगले अनुसन्धान गरिरहेको छ तर त्यहाँ भित्र प्राप्त भएका डकुमेन्ट अदालतमा प्रमाणका निम्ति मुद्दालाई आफनो अनुकूल बनाउन पेश गर्नुपर्नेमा कतिपय संचार माध्यमको सहारा लिएर बाहिर ल्याउदा त्यसले पार्ने दीर्घकालीन प्रभावका बारेमासमेत धारणा आउन थालेका छ्न्।

व्यक्ति जोडिएका उजुरीको बारेमा आयोगले अनुसन्धानकै क्रममा रहेका बिषय जसरी बाहिरेका छ्न् त्यसले नत प्रक्रिया अगाडि बढछ नत मुद्दापछि आउने नतिजा आयोगको हितमा रहन्छ, यसतर्फ आयोग सचेत किन हुन सकेन भन्ने प्रश्न उठेको छ। अनुसन्धानको प्रारम्भिक चरणबाटै व्यक्ति च्याप्ने कतिपय विस्तृतमा लैजाने कतिपय तामेलिको ओकालतको वातावरण बनाइनु आयोगको निम्ति दुर्भाग्य बन्न सक्छ । पछिल्ला दिनमा अख्तियारले बढाएको रफतार नियाल्ने बुद्धिजीवी को राय छ। राष्ट्रिय ध्यानाकर्षण भएका यस्ता संवेदनशील विषयमा आयोग सचेत हुनुपर्ने बताइन्छ। प्राप्त उजुरीमा फेला परेका तथ्य प्रमाण जुटाइसकेको अवस्थामा मुद्दा लैजान ढिलाइ गर्नाले पनि कतिपय अवस्था अनावश्यक चलखेलको सामान गर्नुपर्ने देखिन्छ
भुमाफियाको दोहोलो काटदै अगाडि बढेको आयोगले जनताको मन जितेको छ तर आयोग अझै आन्तरिक रुपमा मजबुत भएको अवस्थामा मात्रै जनस्तरबाट गरेको अपेक्षा पुरा हुन सक्ने देखिन्छ ।

हुण्डी कारोबारको अभियोगमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चीनको संघाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रासस जानकारी दिए ।काठमाडौं उपत्यकाभित्र गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौं महानगरपालिका–२ लाजीम्पाटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट आठ लाख रुपैयाँ तथा पाँच सय रुपैयाँ दरको नोट चार लाख रुपैयाँ बरामद गरिएको प्रवक्ता रेग्मीले बताए । उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

डलरको भाउ कति पुग्यो ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा कायम गरेको छ ।

यस्तै विहीबार युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ २० पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ४१ पैसा र बिक्री दर १५१ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०५ पैसा र बिक्री दर ८७ रुपैयाँ ४४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९३ पैसा छ ।

आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७९ पैसा र बिक्री दर ८ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।