काठमाडौं युरो स्कुलले पायो ब्रिटिस काउन्सिलको ‘आइएसए’ अवार्ड

काठमाडौं । काठमाडौँ युरो स्कुलले ब्रिटिस काउन्सिलले प्रदान गरेको ‘आईएसए’ अवार्ड प्राप्त गरेको छ । स्कुल काठमाडौं गोङबु बानियाँटारस्थित स्थापित रहेको छ । स्कुलका अध्यक्ष प्रमोद पाण्डेले आफ्नो विद्यालयले आईएसए अवार्ड प्राप्त गरेकोमा आफ्नो टीम सहित सम्पूर्ण विद्यालय परिवारलाई बधाई ज्ञापन गरेका छन् ।

उनले यो उपलब्धि स्कुलका सम्पूर्ण शिक्षक,शिक्षिका, अभिभाभक,विद्यार्थी लगायतको निरन्तरको कडा मेहनतबाट प्राप्त भएको बताए ।

यसैगरी काठमाडौं युरो स्कुल आईएसए कोर्डिनेटर सुस्मा घिमिरेले देश तथा बिदेशमा रहेर विभिन्न विद्यालयहरुले काठमाडौं युरो स्कुलसँग मितेरी सम्बन्ध जोडेकोमा नेपाल, पाकिस्तान, बङगलादेश , भारत र अमेरिकी देशमा रहेर सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

विद्यालयका एकेडेमी डाइरेक्टर दिपक गुप्ताले काठमाडौं युरो स्कुलले ब्रिटिस काउन्सिल आईएसए अवार्डमा विभिन्न देशमा रहेका विद्यालयहरु मार्फत हाम्रो कला , सस्कृतिलाइ उनीहरुको घर आगनम पुराउन सफल भयकोमा ब्रिटिस काउन्सिल र विद्यालय परिवारलाई धन्यवाद दिए ।

आगामी दिनहरूमा आफुले जानेको ज्ञान र सिपहरु नेपाली विद्यालयहरुमा पुर्याउने र बिदेशी बिद्यालयहरुबाट तालिम , शैक्षिक भ्रमण गरि गुणस्तरिय शिक्षा प्रदान गर्नु काठमाडौं युरो स्कुलको प्रमुख उदेश्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेले यो अवार्डले आगामी दिनमा थप मिहिनेत गर्न उर्जा मिलेको समेत बताए ।

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन गरिएको छ ।

पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएको थियो । सो पहिरोमा परेर आठ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए ।

घरबास गुमाएकामध्ये एक जनाको काठमाडौँमा घर छ । २० जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारको घर निर्माणका लागि पाँच रोपनी जग्गा पहिचान गरिएको वडाध्यक्ष रेशम जुग्जालीले बताउए ।

बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान परिसरमा विस्थापितको घर बनाउन रु २० लाखमा जग्गा खरिद गर्ने तयारी भएको छ । “स्वदेश तथा विदेशमा भएका बिमवासीहरुको पहलमा सङ्कलित रकमबाट जग्गा खरिद गरेर दशैँलगत्तै पहिरोपीडितका लागि घर निर्माण शुरु गर्ने योजनामा छौँ”, वडाध्यक्ष जुग्जालीले भने, “जतिसक्दो छिटो पुनःबासको व्यवस्था मिलाउन पालिका, प्रदेश र सङ्घ सरकारलाई कार्यविधि र बजेटको ब्यवस्थापन गर्न माग गरेका छौँ।”

उनीहरुको पुनःबासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ । घरबास गुमाएकाहरुलाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ । पहिरोबाट क्षतिग्रस्त दरवाङ–खारा–बिम तल्लोगाउँ जोड्ने सडक रु ५८ लाखमा मर्मत भइसकेको छ । वडा कार्यालय रहेको तल्लोगाउँबाट बाइन्दफाँट हुँदै मालिका जोड्ने सडक पनि पालिकाले विनियोजन गरेको रु २५ लाख बजेटबाट मर्मत भइरहेको छ ।

नेपाल बिद्युत प्राधिकरणको प्राबिधिक सहयोगमा युवा क्लवको नेतृत्वमा श्रमदान गरेर पहिरोका कारण अवरुद्ध विद्युत् मर्मत गरिएको थियो । पहिरोले दुई बर्षअघि रु। एक करोड ४३ लाख खर्चेर निर्माण भएको बिम लिफ्ट र बाइन्दफाँट खानेपानी आयोजनाको मुहान बगाएपछि बैकल्पिक मुहानबाट पानी आपुर्ति गराइएको छ । लिफ्ट आयोजनाको मुहान नै बगाएकाले नयाँ मुहानबाट पानी ल्याउन पहल गरिएको वडाध्यक्ष जुग्जालीले बताउनुभयो । नौमानेमा रहेको शिव आधारभूत विद्यालयको भवनमा बाढी पसेको र खाराको बाल विकास केन्द्रको भवन भत्किएको छ ।

मङ्गलबार बिम पुग्नुभएका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसमक्ष स्थानीयवासी र जनप्रतिनिधिले पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि थप बजेट र योजनाको व्यवस्था गर्न माग गरेका थिए ।

संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा

बागलुङ । बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् ।

हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको पञ्चधारा संरक्षण नगरिँदा अहिले अस्तित्वविहीन बन्दै गएका हुन् । पाँच पाण्डवले १२ वर्ष वनवासका क्रममा यहाँ आएर तामाको खानी खनेका कारण यो गाउँको नाम पाण्डवखानी रहन गएको किंवदन्ती छ ।

पाण्डवखानीको ग्याथरमा पाँच पाण्डवले नुहाउने गरेको पञ्चधारा, त्यस क्षेत्रमा रेगिश्वरे मन्दिर र पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा कुन्तीमाईको मन्दिर छ । अहिले पञ्चधारासहित ती मन्दिर संरक्षणको अभावमा निकै जीर्ण अवस्थामा छन् । संरक्षणको अभावका कारण पाँच पाण्डवले नुहाएको पञ्चधारा पुरिने अवस्थामा छ भने रेगिश्वरे मन्दिर र कुन्तीमाई मन्दिर जीर्ण अवस्थामा पुगेको छ । धृतराष्ट्रका भाइ पाण्डुका पत्नी कुन्तीबाट युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीबाट नहकुल र सहदेव जन्मिएका थिए । यी पाँच जनालाई पाण्डवका रुपमा व्याख्या गरिएको छ । धृतराष्ट्रका छोराहरू भने पाण्डवलाई देखिसहँदैनथे । उनका सय जना छोरामध्ये दूर्योधन र दुशासन उद्दण्ड थिए ।

कौरवहरू धुर्त, स्वार्थी र घमण्डी थिए । उनीहरू विभिन्न षड्यन्त्र गरेर पाण्डवलाई दुःख दिने योजनानुसार एक दिन कौरवले सल्लाह गरी पाण्डवसँग पासा खेल्ने र हराउने योजना बनाए । पासा खेल्दा पाण्डवले जितेमा कौरवले आफ्नो आधा राज्य उनीहरूलाई दिने भए । पाण्डवले हारेमा उनीहरूले १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास जानुपर्ने शर्त राखियो । जालझेल गरेर कौरवले पासा जितेपछि शर्तानुसार पाण्डवले राज्य छाडेर वनवास लागे । वनवासकै क्रममा बागलुङ जिल्लाको पाण्डवखानीमा केही समय आएर बसेको किंवदन्ती रहेको ७७ वर्षीय स्थानीय पुनराम पुन बताउनुहुन्छ ।

“मैले पनि हजुरबाले भनेको सुनेको हुँ, पाण्डवहरुले आएर तामाखानी खनेको, पञ्चधारामा नुहाएको कुरा”, पुनले भन्नुभयो, “तर यहाँ तामाकोे खानीको अवशेष छ, पञ्चधारा पनि छ र पाण्डवका ठूली बैनी रेगिश्वरेको नाममा र आमा कुन्तीको नाममा मन्दिरसमेत भएकाले विश्वासयोग्य छ ।” पाण्डवकी आमा कुन्ती पनि नुहाएर फर्कने क्रममा सोही स्थानमा मृत्यु भएकाले पाण्डवखानीको झियाथरस्थित पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा उहाँको शव गाडिएकाले कुन्ती माता मन्दिर निर्माण गरिएको बताइन्छ । इतिहास बिर्सदै गएको सन्दर्भमा यसको खोज, संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने उहाँको जोड छ ।

निकै गर्विलो इतिहास बोकेको यस क्षेत्रको संरक्षण नहुँदा इतिहास मेटिदै जाने सम्भावना रहेको स्थानीयवासी बताउँछन् । माङ्खोलाको किनारमा अवस्थित पाण्डवले नुहाएको पञ्चधारा, नुहाएपछि पूजा गर्ने शिवलिङ्ग र रेगिश्वरे मन्दिर रहेको स्थानमा वनज¬ङ्गलले ढाकेको मात्रै छैन, त्यहाँ पुग्ने बाटोसमेत अस्तव्यस्त भइसकेको छ ।

एउटै ढुङ्गालाई कुँदिएर पाँचवटा प्वालबाट पानी आउने बनाइएको धारा अहिले पुरिने अवस्थामा पुगेको छ । धारामा लेउ भरिएर पानी खस्नै छोडेको छ । परापूर्वकालमा पाँच पाण्डव वनवास आएको समयमा पाण्डवहरुले त्यस स्थानमा नुहाउने र पूजापाठ गर्ने गर्दै आएको कथन छ । विसं १८१९ सम्म पञ्चधारा पुरानै अवस्थामा रहे पनि सोही वर्ष आएको बाढीले पञ्चधारामा क्षति पुगे पनि विसं २०४८ मा पुनःनिर्माण गरिएको पुनराम बताउनुहुन्छ । पुनका अनुसार त्यसयता संरक्षणमा कसैले पहल र चासो नदेखाउँदा इतिहास मेटिन थालेको छ ।

बाढीले ठूली बहिनी रेगिश्वरीलाई बगाइ रिडीमा लगेको र कान्छी बहिनी पाण्डवखानीमै रहेकाले माघे सङ्क्रान्तिमा रिडी र पाण्डवखानीमा एकसाथ मेला लाग्ने गरेको स्थानीय चुडाबहादुर रानाको भनाइ छ । पुस मसान्तको रातभरि जाग्राम बस्ने, पूजा गर्ने र सङ्क्रान्तिका दिन बिहान फूलहरु माङ्खोलामा विसर्जन गरेमा आँटेको पुग्ने जनविश्वास छ । पञ्चधारासहित अन्य मन्दिरको संरक्षण गर्ने योजना भए पनि बजेटको अभाव भइरहेको गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताउनुभयो । “परापूर्वकालको एउटा इतिहास हाम्रो गाउँमा छ, यसलाई जोगाउने हाम्रो दायित्व पनि हो”, उहाँले भन्नुभयो, “आगामी वर्ष पञ्चधारा संरक्षणको कार्यक्रम ल्याउने योजना छ ।” घर्तीका अनुसार पाण्डवखानीमा तामाखानीको निकै सम्भावना भए पनि सरकारले खानी उत्खननमा रोक लगाएका कारण समस्या भएको बताउनुभयो ।

बागलुङमा इतिहास बोकेको पाण्डवले नुहाएको पञ्चधारालाई संरक्षण र प्रचारप्रसार गर्न सकेमा ऐतिहासिक र धार्मिक हिसाबले पाण्डवखानीलाई अघि बढाउन सहज हुने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । पाण्डवका विषयमा धेरै इतिहास रहेकाले यसका विषयमा स्थानीय सरकारले थप खोज, अनुसन्धान गरेर संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नवदुर्गाको दर्शन गर्नुस, कात्तिक ५ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी,२१ घडी ४७ पला,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा,०५ घडी ४७ पला,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त मूल । योग–शोभन,१८ घडी ४१ पला,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त अतिगण्ड । करण–बालव,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ०२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २८ घडी १८ पला । शारदीय नवरात्र। उपाङ्गललिता व्रत। पचलीभैरव यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिमा मन्दि आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ ।

सरुवा भएको दोस्रो दिनमै मन्त्रालयका सचिवले मागे दशैं खर्च

काठमाडौ । नेपालीहरुको महान् पर्व विजयादशमी नजिकिईंरहेको भएपनि कोरोना भाइरसका कारण आम मानिसहरु रोग र भोकबाट जोगिने उपाएहरु खोज्दैछन् एकातिर भने अर्कोतिर मुलुक चलाउने उच्च तहका केही प्रशासक दशैं खर्च जोरजाममा लागेका छन् भन्दा पत्याउन गाह्रो पर्ला । पछिल्लो पटक ठुलो संख्यामा सरुवामा परेका सचिवहरुमध्ये एक जना त्यस्ता पात्र परेका छन् ।
भौतिक मन्त्रालयको सचिव सरुवाले विकासको लय भत्कियो
समाचार स्रोतका अनुसार पछिल्लो पटक सरकारले ठुलो संख्यामा गरेको सचिव सरुवाको क्रममा भौतिक पूर्वाधारबाट हटाउने र शहरी विकासमा भित्र्याउने सचिवहरुको विगत हेर्दा माफिया हावी भएको बहस प्रशासन क्षेत्रमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव बैठक देखि धेरै ठाउँमा सचिवहरुले कामको परिणाम दिन नसकेको गुनासा मात्र गर्नुभएन आफू नजिक रहेको नेता र सचिवालयमा समेत पटक पटक यसै विषयमा ध्यान केन्द्रित गराउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले पटक पटक कामको परिणाम देखाउन नसकेकोमा गर्नुभएको चिन्ताप्रति आम जनता प्रधानमन्त्रीले त गर्न खोजेकै हुन् तर प्रशासन क्षेत्रले गर्न नसकेको निष्कर्ष सहित प्रशासन क्षेत्र कै काम कारबाहीलाई लिएर जनमत आक्रोशित भईरहेको थियो । तर एकाएक कामको परिणाम दिँदै लयवद्ध ढँगले कामको रफ्तार अगाडि बढाईरहेका मात्र हैन आम जनताले अनुभूति दिलाउने गरी काम गरिरहेका भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव एकाएक सरुवामा पर्दा मन्त्री बसन्त नेम्वाङ्ग समेत चकित भएका छन् । सचिव कार्कीले मातहतका निकायमा राम्रो कमाण्ड गरी मन्त्रीसँगको सहकार्य र लक्ष्य अनुसार नै काम अगाडि बढाईरहँदा परिणाम दिने सचिवले पुरस्कृत हुनुपर्नेमा नेपाल ट्रष्टमा सरुवा भएपछि धेरै प्रशासकहरुले दण्डस्वरुप थन्काईदिएको रुपमा हेरेका छन् ।

सचिव कार्कीको स्थानमा सिचाईं सचिव रविन्द्रनाथ श्रेष्ठलाई सो स्थानमा जिम्मेवारी दिएको छ । प्राप्त जानकारी अनुसार सचिव श्रेष्ठ विगतमा सडक विभागका महानिर्देशकका रुपमा कार्य गरिसकेका र विगतमा भौतिक मन्त्रालयमा रहँदा निर्णय गर्न नसक्ने कर्मचारीका रुपमा चिनिन्थे । मन्त्रालयमा श्रेष्ठको आगमनसँगै कुनैपनि फाइलमा निर्णय लिन नसक्ने उनको स्वभावलाई विश्लेषण गर्दै भोलिका दिनमा भौतिक मन्त्रालय अनिर्णयको बन्दी बन्ने खतरा बढेर गएको सन्दर्भले भौतिक मन्त्रालयमा खैलाबैला सुरु भएको छ । समाचार श्रोतका अनुसार सचिव श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालय छिराउनका लागि ओम्नी ग्रुपको रविन्द्र श्रेष्ठले भरपुर मेहनत गरेका थिए भने प्रधानमन्त्रीका स्वकीय सचिब राजेश बज्राचार्यले समेत साथ दिएको सन्दर्भले ओम्नी ग्रुपभित्र यतिबेला खुसीयाली छाएको छ ।

सरुवा भएको दोस्रो दिनमै मन्त्रालयका सचिवले मागे दशैं खर्च
ठुलो संख्यामा सचिवहरुको सरुवाभित्र परेका शहरी विकास मन्त्रालय आइतबार हाँजिर भएका सचिव रमेश प्रसाद सिंहले दोश्रो दिनमै भवन विभाग र सो अन्र्तगतका परियोजना तथा योजनाका प्रमुखहरुलाई आफूँ लामो समयसम्म आम्दानी नहुने स्थानमा रहेकोले दशैं खर्चको जोहो गरिदिन आदेशात्मक ढँगले प्रस्तुत भएपछि कतिपय योजनाका प्रमुखहरु आतंकित बनेका छन् । सचिव सिंहले कतिपय प्रमुखहरुलाई आफूँले भनेको नमाने तत्काल सरुवा समेत गर्न सक्ने संकेत गरेसँगै शहरी विकास मन्त्रालय अन्र्तगतका कर्मचारीहरु दशैं खर्चको नाममा आतंकित बनेका छन् ।

सचिव सिंहको विगत
शहरी विकास मन्त्रालय अन्र्तगतका निकायहरुमा रकम असुलेर सो रकम खर्चिएर सचिव बन्न सफल भएका रमेशप्रसाद सिंह जलउर्जा आयोगबाट शहरी विकास मन्त्रालय भित्र्याएसँगै देशको पूर्वाधार विकासमा माफियाकरण कतिसम्म हावि भएको छ भन्ने कुरा यस सरुवा सन्दर्भले प्रमाणित गराएको छ । विगतमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक हुँदा विभिन्न परियोजनाका प्रमुखहरु देखि इन्जिनियरसम्मलाई मोलतोलका आधारमा रकम असुलेर चर्चा कमाएका सिंह यतिबेला आफ्नो भ्रष्ट नजर शहरी मन्त्रालयमा लगाउन सफल भएका छन् ।

हरेक फाइलमा कमिसन नलिई स्वीकृत्ति नै नगर्ने सचिव सिंहको सरुवाप्रति नवनियुक्ति मन्त्री कृष्णगोपाल श्रेष्ठ जानकार छन् वा छैनन्, त्या भने हेर्न बाँकी नै छ । नयाँ मन्त्री थपिए लगत्तै भएको सरुवामा कतिपय राम्रा प्रशासकहरु योग्यताका आधारमा सरुवा गरिएको देखिएपनि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयमा राष्ट्रिय माफियालाई सँधै साथ दिने कमिसन मोहमा लाग्ने पात्रहरुको सरुवाका सारथी को रहेछन् । यतिबेला सचेत वर्गबीच खोजीको विषय भएको छ ।

थप ३०९३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३९१२९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २१०८ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९६६०९ जना पुगेको छ।

आजको पीसीआर १३८६१ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४१७५५ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३५५९ जना र होम आइसोलेसनमा २८१९६ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४२२० जना रहेका छन्। 

आईसीयूमा २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चार माध्यम र डा फाउचीप्रति आक्रामक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् ।

अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका हुन् ।

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उहाँले चुनावी अभियानका क्रममा भोगेकामध्ये सवैभन्दा नराम्रो दवाव भोग्नु प¥यो । चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिएका छन् ।

उनले फाउचीलगायतका विज्ञहरुमाथिको उहाँको अभिव्यक्ति सवैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जादै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गरे ।

“फाउची र उनीहरु जस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था विग्रिएको हो,” ट्रम्पले भने ।
त्यसैगरी कोरोनाभाइरसका बारेमा उनले दिए अभिव्यक्ति पनि आलोचित भइरहेको छ ।

“म डराएको आत्तिएको छैन,” टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने ।

“मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुशी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,” उनले भने ।

उनले आफुहरुले जित्ने विश्वास र आधार देखिएको दावी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गरे ।

उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफुहरु ठिक अवस्थामा रहेको पनि बताए ।

दशैंँमा बैंक नखुल्ने

काठमाडौँ, सम्पत्ति न्यूज । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।
बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको निर्णय भएको जानकारी गराए । ‘दशैंँमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भिीभाड हुन सक्छ’, उनले भने, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो ।’
हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन् । दशैैंँका समयमा वाणिज्य बैंक बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नियमन विभागका प्रमुख देवकुमारमा ढकाल बताए ।
सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ । अहिलेको विषम परिस्थितिमा अनिवार्य रुपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको उनको जिकिर छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा बहाली भए एकनारायण अर्याल

काठमाडौं। कात्तिक २, सम्पत्ति न्युज, सरकारले सचिव एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । सरुवा अघि उनी काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । निजामती सेवामा सेवाभाबका साथ काम गर्ने इमान्दार र निर्णय क्षमता भएका अर्यालको बिगतका कार्यकाल जनपक्षीय नै रहयो ।
सरकारी जागिरे जिवनको लामो समय गृह प्रशासनमा बिताएका अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाउने पहिलो कार्यकारी अधिकृतका रुपमा उभ्याउन सफल भए ।

अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महागरपालिकामा छोटो समय त्यस्मा पनि कोरोनाको त्रासका बीचमा गर्न सफल भए। यतिमात्र हैन, काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माणको प्रक्रिया पनि अर्यालले अन्तिम चरणमा पुर्‍याएका थिए ।
सचिव हुनुअघि अर्याल भारतको कोलकत्तामा महावाणिज्यदूत थिए । महावाणिज्यदूत छँदा उनले शुरू गराएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको चौतर्फी प्रशंसा भएको थियो । कोभिड महामारीमा उनले शुरू गराएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम झनै महत्त्वपूर्ण सावित भएको सरोकारवालाहरु बताउँछन् ।

अर्याल गृह मन्त्रालयमातहत रहेर लामो समय सेवा गरेका व्यक्ति हुन् । उनले आफ्नो करियरको धेरै समय गृह प्रशासनमा बिताए । जहाँ–जहाँ सीडीओ भएर गए त्यहाँ अर्यालले केही न केही सुधार र सकारात्मक परिवर्तनका काम गरेको देखिन्छ ।
गृह प्रशासन बुझेको प्रशासकमा पहिलो नम्बरमा पर्ने अर्याललाई अनुभवका हिसाबले गृह मन्त्रालय दिनुपर्ने आवाज उठे पनि सचिब अर्याल जहाँ पुग्छन् त्यहाँ नमुना काम गरेर सन्देश छोड्न सफल हुने विशेषताले नै हुनुपर्छ उनी पदका लागी दौडधुप नगर्ने सचिबका रुपमापरिचित छ्न। सचिब अर्याल जहाँ हुन्छन जहाँ पुग्छन् सकारात्मक परिणाम हात पार्न सफल हुन्छ्न।

२०७२ सालको भूकम्पका बेला उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि दबाबका बाबजुद मुद्दा चलाउन सफल भएका थिए।

कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारवाही अघि बढाएपछि त्यतिबेला अर्यालको प्रशंसा चुलिएको थियो ।

अर्याल अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भिक एवं इमान्दार प्रशासकका रूपमा सबैबीच परिचित छन

दशैँमा शिक्षक–विद्यार्थीलाई ‘कोरोना–चेतना’को जिम्मेवारी

काभ्रेपलाञ्चोक । घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

दशैँमा समुदायमा धेरै व्यक्तिको आउजाउ हुने भएकाले स्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन सहज हुने ठानेर विद्यार्थी–शिक्षकलाई निर्देशन दिइएको नगरप्रमुख महेश खरेलले बताए। “दशैँका अवसरमा १५ दिनको बिदामा शिक्षक–विद्यार्थीले आफ्नो घर तथा व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम र समूहमा भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्ने अपेक्षा गरेका छौँ”, उनले भने ।
उक्त अवधिमा विद्यार्थीले कोरोनाबाट बच्नका लागि खोल्नुपर्ने भूमिकाबारे सचेत गराउनेछन् भने शिक्षकले विद्यार्थीको निगरानी गर्ने नगर शिक्षा शाखाले जनाएको छ । शाखाप्रमुख दीनानाथ पन्थीले दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमण बढ्दै गएकाले दशैँको बिदा अवधिमा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी–शिक्षकले आफ्नो घर र समुदायमा जनचेतना फैलाउन निर्देशन दिइएको बताए ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गत वैशाखदेखि बन्द विद्यालयमा नगरले नै शिक्षक–विद्यार्थीलाई स्वास्थ्य सामग्री उपलब्ध गराई असोज ४ गतेदेखि स्वास्थ्य–सुरक्षा अपनाई प्रत्यक्ष विधिबाट विद्यालय सञ्चालनमा ल्याइएको थियो । नगरमा ५० सामुदायिक र निजी विद्यालय छन् ।

हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ ।

सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको भवन निमार्ण कार्य २०७७ साल असार मसान्तसम्ममा निर्माण गरी सक्नुपर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको थियो ।

हिमाली क्षेत्र भएकाले जिल्ला सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माणस्थलसम्म पु¥याउनुपर्ने र हिउँका कारणले वर्षको ६ महिनामात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताउए । सम्झौता एक वर्ष थप गरी २०७८ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

कञ्चनजङघा संरक्षण क्षेत्रभित्र विश्वको दुर्लभ वन्यजन्तु हिउँचितुवा, हाब्रे (रेडपान्डा) कस्तुरी मृगका साथै विभिन्न जनवार तथा चराचुरुङ्गी र विभिन्न प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालीय अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताए ।

गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।
गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

कृषकलाई आधुनिक हलो वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो मिनीटिलर वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका किसानलाई व्यावसायिक कृषि प्रणालीको शुरुआत गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारी नगर प्रमुख खतिवडाले बताए । किसानलाई राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्ने नगर प्रमुखले खतिवडाले आग्रह गरे ।

प्रतिहलो रु ६३ हजार २५० मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलले जानकारी दिए । नगरले किसानको ५० प्रतिशत लगानीमा नगरभित्रका २८ मिनीटिलर रु एक करोड ७७ लाख एक हजार मूल्य बराबरको वितरण गरेको जनाएको छ । नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई एकएक वटाका दरले टिलर उपलब्ध गराइएको उहाँको भनाइ छ । वडामा दुई–दुई वटाका दरले र कृषि क्षेत्रमा लगाव धेरै भएका ६वटा वडामा एकएक थप गरेर टिलर वितरण गरेको उहाँको भनाइ छ ।नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ ।

सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न

काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशासरणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए ।

कूल रु आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ ।
आयोजनाको विसं। २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरिद सम्झौता ९पिपिए० गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ ।

आयोजनामा नविल बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा बिद्युत खरिद गर्ने (पिपिए) सम्झौता भएको छ ।
यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् ।

शाखा अधिकृतद्धारा आविष्कार केन्द्रलाई २ लाख सहयोग

काठमाडौँ । नेपाल सरकारका शाखा अधिकृतहरूको समूह ब्याच २०७३ ले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७८ हजार तीन सय २१ रुपैयाँ सहयोग गरेको छ । समूह ब्याच २०७३ ले आफ्नो कार्तिक २ गते परेको चौथो वार्षिकोत्सवका अवसरमा सहयोग गरेको हो ।

कोभिड—१९ महामारीको समयमा स्वास्थ्य उपकरण तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्रीहरू बनाई महामारीविरुद्ध जुध्न सहयोग गरेको र आविष्कार केन्द्रमा सृजनात्मकता प्रवर्द्धनका लागि गरेको कार्यको प्रशंसा गर्दै समूहले सोही आर्थिक सहयोग गरेको हो ।

कोभिड–१९ प्रकोपका कारण अरू कार्यक्रम गर्न सम्भव नभएकाले विद्युतीय माध्यमबाट ब्याट समूहभित्रै स्वैच्छिक रूपमा रकम सङ्कलन गरिएको र प्रतिनिधिमूलक छरितो समूह बनाई सहयोग हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा शाखा अधिकृतहरू भिमकुमार बस्नेत, होमनाथ काफ्ले, विष्णु हरी रेग्मी, सुमन अधिकारी र गोविन्द पौडेलले प्रतिनिधित्व गरेका थिए ।