पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडाै । पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ काठमाडौ । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र  कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोे थियो ।

 अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो 

नेपालकाे अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण


काठमाडौ । चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज वार्षिक राष्ट्रिय तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिको प्रक्षेपणबारे जानकारी गराएको हो ।

चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ । आव २०७८/७९ मा अर्थतन्त्रको आकार रु ४९ खर्ब ७६ अर्ब रहेको अन्तिम विवरण सार्वजनिक गरिएको छ ।

चालु आवमा कृषि क्षेत्रको तीन दशमलव शून्य पाँच प्रतिशत र गैरकृषि क्षेत्रको तीन दशमलव ७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आव २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर दुई दशमलव १३ प्रतिशत रहने अनुमान गरिएको छ ।

त्यसैगरी, अन्तिम विवरणअनुसार आव २०७८/७९ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर छ दशमलव ५४ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र  र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गरिएको कार्यालयले जनाएको छ । चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव शून्य तीन प्रतिशत, एक दशमलव २० प्रतिशत र चार दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

संशोधित विवरणअनुसार गत आव २०७९/८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमश : दुई दशमलव ७२ प्रतिशत, एक दशमलव ४० प्रतिशत र दुई दशमलव ३६ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसैगरी, अन्तिम विवरणअनुसार आव २०७८/७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ५० प्रतिशत, १० दशमलव ७९ प्रतिशत र पाँच दशमलव ३२ प्रतिशत कायम हुने तथ्यांक सार्वजनिक गरिएको छ ।

खानी तथा उत्खनन् क्षेत्रको चालु आवको कूल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ३१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा सामान्य गिरावट भएता पनि खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी सङ्कलनमा गत आवको तुलनामा उल्लेख्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर चालु आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार हुने अनुमान गरिएको हो ।

गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर शून्य दशमलव ९८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर आठ दशमलव ८४ प्रतिशत कायम गरिएको छ ।

चालु आवमा उद्योग क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो । साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकूलताले विश्वव्यापी रूपमा अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो ।

चालु आवमा आवास तथा भोजन सेवाको कूल मूल्य अभिवृद्धि वृद्धिदर २१ दशमलव ८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।   विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आवमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो ।

गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १८ दशमलव शून्य तीन प्रतिशत रहने संशोधित अनुमान छ । आव २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १२ दशमलव ५६ प्रतिशत कायम गरिएको छ । सूचना तथा सञ्चारतर्फ चालु आवमा कूल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कूल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ । घरजग्गा कारोबारको सेवा चालु आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

घर जग्गाको कारोबार तुलनात्मक रूपमा कमी भएता पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कूल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर दुई दशमलव १८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर एक दशमलव ७२ प्रतिशत कायम गरिएको छ ।

१५ हजारलाई सीपमूलक तालिम, पाँच हजारलाई रोजगारी दिने महानगरको लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि सीप मेला सञ्चालन गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उपमेयर सुनिता डङ्गोलले मेला र यसको फाइदाबारे जानकारी दिइन् ।

उनले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेसासँग सम्बन्धित सीप सिकाइने बताएकी छन् । टुँडिखेलमा आयोजना गरिने ‘सीप मेला’ मा सहभागी गराइने यो संख्या २०८१ सालको संकेत हो ।

पेशागत तालिमको सूचीमा अटो मोबाइल्स, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ र पुरोहितलगायतका क्षेत्रसम्म छन् ।

‘यसवर्ष कम्तीमा १५ हजारलाई तालिम दिने र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य छ’, डंगोलले भनिन् ।

उपमेयर डंगोलले भनिन्, ‘हामीले दिनदिनै काम पाइएन भन्ने सुन्छौं । रोजगारदाताहरू पनि जनशक्ति पाएन भन्नुहुन्छ । बजारमा यो ठूलो खाडल छ त्यसलाई पुर्न रोजगारीकै लागि तालिम दिन लागेका हौं । हामीले पुलको भूमिका निभाउँदै छौं । साथै सडक व्यवसायीलाई पनि प्राथमिकता राखेका छौं ।

महानगरले युवा लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रदेशको नामकरण पहिचानको विषय होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले जात र थरलाई पहिचान बनाउन नहुनेमा जोड दिए ।

इलाम–२ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् ।

ओलीले भने, ‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं । त्यही पहिचान हो । धनी भए धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली । कस्तो पहिचान ? व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल हुन सक्दैन । समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । तसर्थ यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौं थुंगा फुलका एउटै माला हौं । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।’

काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढ्यो, मास्क प्रयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुझाव

काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढ्यो, मास्क प्रयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुझाव
काठमाडौँ । काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कको प्रयोग गर्न सुझाव दिएको छ । यहाँको वायु विश्वकै अस्वस्थकर सूचीको अग्रस्थानमा रहेको जनाउदै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।
विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स –याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।
“वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,” मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांक छ ।
गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ ।
पछिल्लो समयमा साँझको बेला उपत्यका भित्रका तीनवटै जिल्लामा निकै उच्चरुपले ताते हावा चलेपछि सरुवारोगहरुको समस्या पनि बढ्दै गईरहेको छ ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक बढेको छ।

यस दिन नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७५ हजार २७१ पटकको कारोबारमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८६.२० रुपैयाँ पुगेको छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०७९ रुपैयाँ पुगेको छ । त्यस्तै, आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ८.२९ प्रतिशतले बढेको छ ।    

कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ।

टी–२० विश्वकपका लागि दक्षिण अफ्रिकी टोलीको घोषणा

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि दक्षिण अफ्रिकाले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ । आगामी विश्वकपका लागि टोली घोषणा गर्ने दक्षिण अफ्रिका दोस्रो राष्ट्र हो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । 

दक्षिण अफ्रिकाले एडन मारक्रमको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो । 

न्यूजिल्याण्ड टोली

दक्षिण अफ्रिकी टोलीमा एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स रहेका छन् । 

कर्णालीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादीका ३ जना र नेकपा एमालेका ३ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

माओवादीबाट कालीकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही छन् भने यस्तै एमालेबाट दैलेखका विनोद शाह, डोल्पाका शेरबहादुर बुढा र दैलेखकी गमता विक रहेको छन् ।

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमाडौं। पर्साको विरगन्जबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। पर्सा प्रहरीले भारतको पश्चिमी चम्पारण बेतिया भावल पन्चायत बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र नेपाली नागरिक बारा प्रसौनीका ४० वर्षीया हलिमा खातुन रहेका छन्।

उनीहरुको साथबाट १ हजार दरका एक सय २३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। उनिहरुमाथी अनुसन्धान भइरहेको छ।

सुहाङ भन्छन्ः जनताको शिर नझुक्ने काम गर्छु

इलाम । इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले) का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मंगलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

आज मतगणनास्थल गौतमबुद्ध सभागृहमा आयोजित एक कार्यक्रममा निर्वाचित नेम्वाङलाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा पूर्व–उपसभामुख शिवमाया तुम्बाहाङ्फे, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य रामबहादुर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।

कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित नेम्वाङले इलाम– २ का सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै यहाँका जनताको शिर नझुक्ने ढंगले आफू प्रतिबद्ध भएर काम गर्ने बताए ।

‘‘सबैभन्दा पहिला मैले मतदातालाई धन्यवाद दिनुपर्छ। अब जनताको शिर नझुक्ने ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’’, उनले भने।

स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर ८० लाख ठगी


काठमाडौँ । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–११ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका वडा नम्बर २ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले भने, “सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै रु दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर रु ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।”
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकमा १० मिलियन अमेरिकी डलर लगानी

स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गर्नुभएको छ ।
उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ ।
यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषी, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
नेपाल स्थित स्विट्जरल्याण्डको दुतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

सुदूरपश्चिमः नाउपाकी थापा कृषि मन्त्री

सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् ।

मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो ।

नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले सोडारीले २१ गते शुक्रबार विश्वासको मत लिने सहमति गरेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ ।

सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने समझदारी भएको धामीले बताए ।

बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशी सहभागी थिए ।

रेशम चौधरीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

चौधरीले निर्वाचन आयोग र पार्टी अध्यक्ष तथा उनकी श्रीमती रञ्जिता श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ।

यस अगाडि उनको मुद्दामा सुनवाइका लागि गत चैत्र ३० गते र वैशाख ९ गते पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको थियो।

बैशाख १४ गते न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको थियो ।

उनले टिकापुरमा सम्पन्न पार्टीको महाधिवेशनले आफूलाई अध्यक्ष बनाएको तर निर्वाचन आयोगले अध्यक्ष नस्विकारेको भन्दै मुद्दा दायर गरेका हुन्।