घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलकाे मूल्य यथावत

काठमाडाैं । नेपाल आयल निगमले डिजेलकाे मूल्य प्रतिलिटर ४ रूपैयाँ घटाउने निर्णय गरेकाे हाे । अब काठमाडाैं उपत्यका, पाेखरा र दिपायलमा एक लिटर डिजेलकाे १६४ रुपैयाँ पर्नेछ। निगमका अनुसार मंगलबार राती १२ बजेबाट नयाँ मूल्य लागू हुनेछ ।

यसैगरी, दाेस्राे वर्ग अर्थात् सुर्खेत र दाङमा डिजेल प्रतिलिटर १६३ रूपैयाँ पर्ने निगमले जनाएकाे छ । यस्तै, पहिलाे वर्ग अथवा चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंजमा १६१.५० रूपैयाँ तिर्नुपर्ने भएकाे छ । मट्टीतेलकाे मूल्य पनि डिजेल बराबर नै रहेकाे छ ।

पेट्रोल, हवाइ इन्धन र एल.पि.ग्यासको मूल्य भने निगमले यथावत राखेकाे छ । भारतबाट मूल्य बढेर आएकाे भएतापनि पेट्राेल र ग्यासकाे उपभोक्ता मूल्य भने बढाइएकाे छैन।

इण्डियन आयल कर्पाेरेशनले आज पेट्राेल र ग्यासकाे मूल्य बढाउर पठाएकाे भएपनि उपभाेक्ताकाे हितलाई मध्यनजर गर्दै मूल्य यथावत राखेकाे निगमले बताएकाे छ । भारतले पेट्राेलकाे मूल्य प्रतिलिटर १ रूपैयाँ ५१ पैसाले बढाएर र डिजेलकाे ३ रूपैयाँ ६३ पैसाले घटाएर पठाएकाे थियाे । यस्तै, ग्यासकाे मूल्य पनि प्रति सिलिण्डर ९३ रूपैयाँ ६० पैसाले बढाएर पठाएकाे भएतापनि उद्दाेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे निर्देशन बमाेजिम मूल्य यथावत राखेकाे समेत निगमले विज्ञप्तीमा उललेख गरेकाे छ ।

मानव बेचबिखनको आरोपमा त्रिभुवन विमानस्थलका प्रहरी नै पक्राउ

काठमाडौँ। मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उनको भनाइ छ ।

प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा  नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ ।

मलेसियालाई सजिलै हराउँदै नेपाल एक खेलअघि नै सेमिफाइनलमा

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा मलेसियालाई सजिलै हराउँदै घरेलु टोली नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे ।

मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

अर्का ओपनर आशिफ शेखले २३ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल भने २ रनमै आउट भएका थिए । 

यसपछि आएका सन्दीप जोराले अविजित १८ तथा विवेक यादवले २ रन जोडेपछि नेपालले लक्ष्य भेट्टयो । 

नेपालले ५.२ ओभरमा ५२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो । 

मलेसियाका मुहम्मद अमिरले सर्वाधिक ३ विकेट लिए । 

त्यसअघि अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका सइद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ । ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् ।

बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ ।

गाडी दुर्घटना हुँदा : दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

काठमाडौँ। काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्।

मंगलबार दिउँसो २:१०मा पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको निसान गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

मृत्यु हुनेमा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवबिक्रम केसीरहेका छन्।

यस्तै बेथानचोक गाउँपालिका-२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात-खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं ।सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, मंगलबार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.२९ अंकले घटेर एक हजार ८ सय ६४ दशमलब ४० विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज ५७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ । 

सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज एक करोड ७० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

कारोबार रकमका आधारमा यस दिन सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४६ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

       

भारतले प्याज निर्यातमा तोक्यो न्यूनतम मूल्य

काठमाडौं । भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा मूल्य तोकेको छ । भारतले निर्यातका लागि प्रतिटन प्याजको मूल्य न्यूनतम ८ सय अमेरिकी डलर मूल्य तोकेको हो ।

स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो। यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ।

यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ।

भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ।

गोली प्रहारबाट प्रिन्सिपलको मृत्यु प्रकरण: प्रेम सम्बन्ध नै हत्याको मुख्य कारण

वीरगञ्ज। गोली लागेर मृत्यु भएका कलैयाको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या महिलासँगको प्रेम सम्बन्धका कारण भएको खुलेको छ।

भारतीय नागरिक मनोज गुप्ता, स्कूलकी पूर्वशिक्षिका राधा गुप्ता र स्वर्णकारको प्रेम सम्बन्धका कारण उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । ‘प्रेमकै कारणले हत्या भएको देखिएको छ । उनका अनुसार प्रहरी अनुसन्धान करीब अन्तिम चरणमा पुगेको छ । आफ्नै नाता पर्ने अर्थात् मनोज र विद्यालयका प्रिन्सिपलसँग राधाको समानान्तर प्रेमसम्बन्ध गरेका कारण हत्या निम्त्याएको प्रहरीको बुझाइ छ । 

विद्यालयका एक शिक्षकका अनुसार मनोज बेला बेलामा विद्यालयमा आइरहन्थे । एकपटक मनोजले विद्यालयमै आएर राधालाई हातपात गरेका थिए । उनले ‘तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको ती शिक्षकले बताए । 

मनोजलाई स्वर्णकारले विद्यालयमा नआउन भनेका थिए । राधालाई पनि विद्यालयमा चर्को विवाद हुने भएपछि लेखापालबाट हटाएको ती शिक्षकले बताए । 

सोमवार (१२ गते) २ वटा मोटरसाइकलमा आएको समूहले स्वर्णकारको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेष्टुरेन्टबाट खाजा लिएर फर्कँर्दैँ गर्दा गोली प्रहार भएको थियो । 

स्थानीयका अनुसार पहिलो मोटरसाइकलले गोली प्रहार गर्दा स्वर्णकार जोगिएका थिए । दोस्रो मोटरसाइकलमा रहेका २ जनाले गोली प्रहार गरेका थिए । 

पाखुरामा गोली लागेर लडेका स्वर्णकारलाई मोटरसाइकलबाट झरेर छातीमा गोली प्रहार गरिएको थियो । घाइते उनको अस्पताल लगेपछि मृत्यु भएको थियो । 

कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जसमा तीन जना भारतीय रहेका छन्।

ती महिलाको प्रेम सम्बन्ध अर्कै पुरुषसँग पनि भएकाे र सोही कारण स्वर्णकारको हत्या भएको हो।

उक्त हत्यामा भारतीय सुटरको प्रयोग गरिएको देखिएको छ। पक्राउ परेकी महिलाकै योजनामा भारतबाट सुटर मगाएर गोली हानी हत्या भएको हो। हत्या कसरी र किन भएको हो भन्नेबारे छिटो पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता न्यौपानेले बताए।

सोमबार दिउँसो दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले‍ पछाडिबाट लखेटेर गोली प्रहार गर्दा स्वर्णकार गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा वीरगञ्जस्थित वयोद्धा अस्पतालमा मृत्यु भएको थियो।

विश्वकप एसिया छनोट: बहराइन विजयी

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाए । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् ।

बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए भने रिजवान बुटृ र अली दाउदले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ४६ रनको योगफल बनाएको थियो । उसका लागि इमरान अलीले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६२ रन बनाए । इमरान अनवरले १५, हैदर बुटृले १४ तथा रिजवान बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

हङकङका लागि नस्रुला रानाले तीन विकेट लिए भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान दुई/ दुई विकेट लिए । जितसँगै बहराइनले दुई अङ्क जोडेको छ । हिजो भएको पहिलो खेलमा बहराइन युएईसँग पाँच विकेटले पराजित भएको थियो । 
    
हङ्कङको भने यो पहिलो हार हो । हिजो भएको खेलमा हङकङले कुवेतलाई ३१ रनले हराएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ भने बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ ।

हमास बन्धक वार्ताका लागि थाई विदेशमन्त्री कतार र इजिप्ट जाने

काठमाडौं । इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकका बारेमा कुराकानी गर्न मङ्गलबार थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धा–नुकाराले कतार र इजिप्टको आकस्मिक भ्रमण गरेका छन् ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजराइमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढी मानिस मारिएका छन् ।

जवाफमा इजराइली सेनाले गाजामा हमला गरेको छ । हमलामा तीन हजारभन्दा बढी बालबालिकासहित आठ हजार तीन सय मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लाको तथ्याङ्कानुसार गाजामा हमासले दुई सय ३० जनालाई बन्धक बनाएको छ । थाई विदेशमन्त्रालयका अनुसार तीमध्ये २२ जना थाई नागरिक छन् ।

प्रधानमन्त्री श्रेथा थाभिसिनले सोमबार थाई नागरिकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताएका थिए । उनले बुधबार इजिप्टका विदेशमन्त्रीसँग कुराकानी गर्नुअघि मङ्गलबार कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्नका लागि विदेशमन्त्री पर्णप्रीलाई कतार पठाएका छन्।

पर्णप्रीले इजराइल र गाजामा जारी हिंसाका कारण बन्धक बनाइएका थाई नागरिकको स्थितिका बारे कुराकानी गर्नुहुने विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयलका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका थिए ।

“हामी युद्धका पीडितहरू जस्तै छौँ”, छिमेकी मुलुक लाओसको भ्रमण गर्नुअघि सोमबार प्रधानमन्त्री श्रेथाले पत्रकारहरूसँग भने, “इजराइलमा अन्य देशको तुलनमा थाई नागरिक धेरै भएकाले हामी सबैभन्दा बढी प्रभावित भएका छौँ ।”

रौतहटकी सुस्मिताको म्यूजिक भिडियो ‘मालचरी’ सार्वजनिक

रौतहट । यहँकी सुस्मिता चौलागाईंद्वारा अभिनित पहिलो लोकदोहोरी गीत “मालचरी”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । कुलेन्द्र विक र सुनिता बुढाक्षेत्रीको स्वर रहेको सो गीतको म्यूजिक भिडियो दिपक घिमिरे नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

कार्तिक ११ गते सार्वजनिक भएको सो म्यूजिक भिडियोलाई सोमबार बिहानसम्म ८५ हजार भन्दा बढिले हेरिसकेका छन् । म्यूजिक भिडियोमा चौलागाईंसँगै अर्जुन सापकोटाको अभिनय रहेको छ । युगल जोडीको माया, प्रेम , मिलन , विछोडको कथामा बनेको म्यूजिक भिडियोले दर्शकको मन जित्ने विश्वास निमार्ण पक्षले लिएको छ ।

कृष्ण लामिछानेको शब्द तथा संगीत रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन पनि लामिछाने आफैले गरेका छन् । टप्पक्क जिब्रोमा बस्ने लय, मिठो स्वर र सुमधुर संगीतले सजिएको “मालचरी” गीतले संगीतप्रेमी श्रोता, दर्शकको मन जित्ने विश्वास कलाकार चौलागाईंले लिएकी छिन् ।

सामाजिक संजाल टिकटकमा समसामायिक विषयवस्तुमा आधारित भएर छोटो संवाद सहितको भिडियो बनाएर ३ लाख ५८ हजार भन्दा बढि फलोवर्स कमाएकी चौलागाईं टेलिसिरियल “तमाशा” मा मुख्य भूमिका अभिनय गर्दै आइरहेकी छिन् । ‘म कलाकारिताको माध्यमबाट आफ्नो जिल्ला र देशको नाम राख्न चाहन्छुँ’ उनी भन्छिन्, ‘यो म्यूजिक भिडियोलाई हेरेर, मन पराएर सबैले मलाई साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छुँ ।’

राष्ट्रसंघका महासचिवले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुहुने

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लाग्नुभएको हो । बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको छ। उहाँको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

प्रधानाध्यापकको हत्या आरोपमा थप तीन जना पक्राउ

बारा- बाराको कलैया उपमहानगरपालिकामा सोमबार दिउँसो गोली हानी विद्यालयका प्रधानाध्यापकको हत्या गरेको आरोपमा तीन जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन । कलैया उपमहानगरपालिका वडा नम्बर–६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको थियो ।

गोली लागेर घाइते उनलाई प्रारम्भमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार छि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटल लगिएकाे थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

सरल र शान्त स्वभावका उनीमाथि दुई वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले घटनामा पेशेवर सुटरहरुको प्रयोग गरिएको हुनसक्ने आशंका गरेको छ । प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयक पेस हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्नेछन् ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै विवाद भएको थियो । शिक्षकहरू आन्दोलित भएपछि सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो । त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

आजकै बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । दशैं पछिको दोस्रो कारोबार दिन पनि धितोपत्रको दोस्रो बजार सुस्त देखिएको छ। लगानीकर्ताहरु अझै ‘फेस्टिभ मुड’ मा भएका कारण यस दिन बजार सुस्त देखिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन झिनो अंकको सुधार देखिएको छ । आज नेप्से ३.०४ अंकले बढेर एक हजार ८ सय ७८ दशमलब ७० विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ६९ करोड ४२ लाख रुपैयाँमा सिमित भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १२८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज पञ्चमन्यामाइ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ७.८२ प्रतिशतले बढेर प्रतिकित्ता १७७.९० रुपैयाँ पुगेको छ । यस्तै, आज मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूलय ५.८९ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ५.२६ प्रतिशतले बढेको छ ।    

साेमबारकाे काराेबारमा सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ३ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

  

डीपीआरका लागि योजनाकै बजेटबाट लुट मच्चाउदाः अख्तियारले थाल्यो अनुसन्धान

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को नाममा ब्रह्मलुट मच्चाएको पाइएको छ । आर्थिक वर्ष ०७८/७९ मा तत्कालीन प्रदेश नं. २ सरकारबाट सशर्त अनुदानतर्फ चारवटा योजनाका लागि पठाइएको बजेटमध्ये ५–५ लाखका दरले २० लाख रुपियाँ कटौती गरी ब्रह्मलुट मच्चाएको पाइएको हो ।

‘गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइनले मिलोमतो गरी डीपीआरका लागि योजनाकै बजेट कटौती गरेका छन्’, स्रोतले भन्यो– ‘त्यति बेला भर्खरै जनप्रतिनिधिहरु निर्वाचित भएर आएका थिए, पैसाका लागि मरिहत्तै गरी डीपीआरको नाममा आधा जति रकम खाए ।’

प्रदेश सरकारको सशक्त अनुदानतर्फ चारवटा वडामा पीसीसी ढलानका लागि कुल १ करोड रुपियाँ बजेट आएको थियो । तर, पीसीसी ढलानमा थोरै बजेट खान पाइने भएपछि सोही बजेटबाटै २० लाख रुपियाँ कटौती गरी ब्रह्मलुट मच्चाएको स्रोतको दाबी छ । ‘पछि कसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि छानबिन भइरहेको बुझिन आएको छ’ –उनले भने ।

आयोगका एक कर्मचारीका अनुसार सो विषयमा छानबिन जारी रहेको छ । ‘छानबिनकै क्रममा गाउँपालिकासँग आवश्यक कागजातसमेत माग मगाइसकेको छ’, उनले भने– ‘थप केही भन्न सकिँदैन, छानबिन हुँदैछ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले योजनाको रकम कटौती गरी तयार पारिएको डीपीआरको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट केही कागजातहरु माग गरेको स्वीकार गरे । ‘आयोगले माग गरेको कागजातहरुसहित हामीले जवाफ पठाइसकेका छौं’ –उहाँले भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष यादवले गाउँ कार्यपालिकाको निर्णयबाट डीपीआरको कार्य भएको बताउनुभएको छ । ‘गाउँ कार्यपालिकाको निर्णयबाटै डीपीआरको कार्य भएको थियो, त्यसमा कसैले पनि एक रुपियाँ खाएको छैन्’, उहाँले भन्नुभयो– ‘हाम्रो पालिकामा पीसी (कमिसन) मुक्त गाउँपालिका हो, कुनै पनि योजनामा पीसी लेनदेन हुँदैन ।