कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो

काठमाडौं । शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् ।

पार्टीभित्र ठूलो शुद्धीकरण अभियान चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् ।

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएका छन् ।

प्रेमगीत ३ को एक साताको कमाइ कति ?

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख ग्रुस गरेको सेनले जानकारी दिए ।

नेपालमा नेपाली र हिन्दी संस्करणबाट सोमबार १.१५ करोड, मंगलबार ०.६५ करोड, बुधबार ०.६१ करोड र बिहीबार ०.५३ करोड ग्रस गरेको निर्माता तथा निर्देशक सेनले बताए । उनका अनुसार गत शुक्रबारदेखि बिहीबारसम्म नेपालमा ७.९६ करोड रुपैया ग्रस गरेको छ ।

यसैगरी भारतमा दुवै भाषाको संस्करणमा गत शुक्रबार १.१२ करोड, शनिबार ०.८३ करोड, आइतबार ६४.४९ लाख, सोमबार ३४.२९ लाख, मंगलबार २२.१७ लाख, बुधबार १७.३० लाख बिहीबार १२.१० लाख ग्रस गरेको सेनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उनका अनुसार भारतमा एक साताको ग्रस ३.४४ करोड भारतीय रुपैयाँ ग्रस गरेको हो ।

नेपाल र भारतबाहेक ओभरसिज प्रेमगीत ३ को कमाइ ६.२१ करोड भारतीय रुपैयाँ रहेको उनले जानकारी दिए । सेनका अनुसार ओभरसिज नेपाली हिन्दी संस्करणबाट गत शुक्रबार १.६७ करोड, शनिबार १.२३ करोड, आइतबार ७९.३० लाख, सोमबार ८९.३० लाख, मंगलबार ६२.३० लाख, बुधबार ५४.१९ लाख र बिहीबार ४६.१५ लाख ग्रस गरेको हो ।

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडौं । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।

साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो । 

दसैँ मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । आजदेखि सरकारी तथा निजी कार्यालय दसँै बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ । 

दसैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । “देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार देशभरका डिपो खुल्नेछन् ।”

दशैँ बिदाका दिन विराटनगरस्थित १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालय, थानकोटस्थित बागमती प्रादेशिक कार्यालय, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ । 

यस्तै निगमको झापाको चारआलीस्थित शाखा कार्यालय धनुषास्थित इन्धन बिक्री डिपो, वीरगञ्जस्थित शाखा कार्यालय, दाङस्थित इन्धन डिपो र दिपायलस्थित शाखा कार्यालय बिदाका दिन पनि आवश्यकताअनुसार खुल्नेछन् । 

महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको छ ।

पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ । महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपिएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । उक्त प्रतियोगिताअनन्तर्गत पुरुष क्रिकेट भने यसअघि नै आयोजना भइसकेको छ ।

निर्वाचनका लागि रणनीति बनाउँदै एमाले

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ठोस निर्णय गरेन । अध्यक्ष केपी ओली निवास बालकोटमा करिव ६ घण्टा बसेको बैठकमा प्रतिनिधिसभातर्फका १६५ र प्रदेश सभा तर्फका ३३० सिटमा उठाउने उम्मेदवारबारेमा छलफल भएपनि अहिले कुनै ठोस निर्णय भने भएको छैन । बैठकपछि प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उम्मेदवारबारे अहिले प्रारम्भिक छलफल मात्रै भएको प्रतिक्रिया दिए ।

त्यसक्रममा अध्यक्ष ओली आफैले बन्दसूचीबारे प्रसंग कोट्याएका थिए । उनले बन्दसूची आयोगमा पुगेसँगै पार्टीभित्र केही असन्तुष्टि देखिन थालेको हो कि भन्ने नेताहरुको भाव बुझ्ने प्रयास गरे । खासगरी एमालेभित्रका पूर्वमाओवादी पक्षधर नेता कार्यकर्ता र नेकपाकालका १० बुँदे पक्षधरले बन्दसूचीप्रति असन्तुष्टि जनाएको असन्तुष्टिलाई ओलीले राम्ररी बुझेका छन् ।

उनीहरुले आफूहरुले सिफारिस गरेका पर्नैपर्ने नामहरू समेत बन्दसूचीमा नपरेको भन्दै सच्याउन आग्रह गरेकोमा ओली जानकार नै छन्। सोही कारण ओलीले अन्तिम बन्दसूचीबारे मिलाएर पुनः आयोगमा बुझाउने आश्वासन बैठकमा दिएका थिए । एमालेले यसअघि नै उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ओलीलाई नै सुम्पेकाले ओलीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने संकेत देखाएसँगै प्रत्यक्षतर्फका उम्मेदवारको फाइल महासचिव शंकर पोखरेलले खोल्न पुगे । पोखरेलले खोलेको फाइलमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका नामहरु समाविष्ट थिए ।

एमालेले मंसिर ४ को निर्वाचनमा गठबन्धनकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने निश्चित भएको कुरामा बैठकमा सहभागी सवै नेताहरु सहमत हुने नै भए । यस्तो अवस्थामा कसरी गठबन्धनसँग टक्कर लिने भन्ने नै एमालेका लागि चुनौतीको विषय बनेको भन्दै ओलीले केहीबेर आफ्नो धारण बिहीबारको बैठकमा सुनाए । त्यसक्रममा उनले गठबन्धनका उम्मेदवार र उनीहरुको रणनीति बुझेरमात्रै आफ्ना उम्मेदवार सार्वजनिक गर्ने नीति लिन उपयुक्त हुने प्रस्ताव अघि सारे र उनको त्यो प्रस्तावमा प्रायः सवै नेता सहमत भएका थिए ।

तर सिफारिस भएर आएका उम्मेदवारबारे पुनः परामर्श गरेरमात्रै टिकट दिनुपर्ने केही नेताले प्रस्ताव गरे । त्यो प्रस्तावमा पनि ओली सहमत भए । सोही सहमतिअनुसार प्रदेश र जिल्ला इन्चार्जहरुमार्फत आफ्नो र प्रतिस्पर्धी पार्टीको शक्ति विश्लेषण गर्दै त्यस्तो शक्तिका आधारमा तालमेल गर्ने वा एकल उम्मेदवार बनाउने भन्ने रणनीति बनाउनु उपयुक्त हुने ओलीको भनाइ थियो ।

निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै तल्ला कमिटीहरुले केन्द्रमा पठाएका नाममा त्यतिधेरै विवाद नभएपनि केही ठाउँमा दोहोरो नाम सिफारिस भएकाले उनीहरुलाई कसरी व्यवस्थापन गर्ने र अर्कोतर्फ विपक्षीहरुका उम्मेदवार हेरेर मात्रै निर्णयमा पुग्दा उपयुक्त हुने धारणा महासचिव शंकर पोखरेलले सुनाए ।

बैठकमा उम्मेदवार छनोट र काउन्टर रणनीतिबारेको कुराकानीबारे एक नेताले भने, ‘खासगरी दुईवटा कुरामा ध्यान दिएर उम्मेदवार तय गर्ने एमालेको रणनीति छ ।’ उनले अगाडि भने, ‘पहिलो कुरा केही दलले एमालेसँग चुनावी तालमेलको प्रस्ताव गरेका छन् । ती दलहरुसँग कहाँ कहाँ तालमेल गर्दा उपयुक्त हुन्छ भन्ने अध्ययन भइरहेको छ ।’ एमालेसँग राप्रपा, राप्रपा नेपाल, लोसपा लगायतका दलले चुनावी तालमेल गर्न प्रस्ताव गरेका छन् ।

‘लोसपा–राप्रपासँगको तालमेलबारे टुंगो लागेपछि उनीहरुलाई छोड्ने क्षेत्र र आफूलाई सहयोग पुग्ने क्षेत्र पहिचान हुन्छ त्यो अवस्थामा तत्कालै सम्भावित उम्मेदवारको नाम फाइनल गर्दा नेता कार्यकर्ता विच्कने र भड्कने सम्भावनालाई ख्याल गर्नुपर्छ’, ती नेताले भने ।

उनका अनुसार दोस्रो रणनीतिमा गठबन्धनका उम्मेदवार हेरेर उसलाई काउन्टर गर्नसक्ने उम्मेदवार तय गर्नुपर्ने एमालेलाई दवाव छ । ‘गठबन्धनले कहाँ कस्ता उम्मेदवार उठाउँछ । त्यो हेरेपछि शक्ति सन्तुलनबारे मूल्यांकन गर्न र रणनीति परिवर्तन गर्न सहज हुन्छ’, ति नेताले भने, ‘अहिले नै आफ्ना उम्मेदवार सार्वजनिक गर्दा प्रतिस्पर्धीले अर्को रणनीति बनाउन नपाओस् भन्ने मुख्य उद्देश्य हो ।’

‘कतिपय स्थानमा शीर्ष नेता नै पनि व्याक हुनुपर्ने अवस्था आउनसक्छ । किनभने यो पटकको निर्वाचन एमालेका लागि जीवन मरणको सवाल बनेको छ’, अर्का नेताले भने, ‘सिंगो पार्टीलाई सफल बनाउन लाग्नुपर्ने अहिलेको आवश्यकता हो, त्यही अनुसार अघि बढ्ने र पार्टीको निर्णय मान्ने सहमति भएको छ ।’

सोही नीति अनुसार पार्टीबाट सिफारिस भएका नेताहरुमध्ये कसलाई टिकट दिने र कहाँ कसलाई सघाउने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेललाई प्रत्यायोजन गरिएका छन् ।

तर, सचिव पद्मा अर्यालले बिहीबारको बैठकमा उम्मेदवारबारे कुनैपनि सहमति नजुटेको दावी गरिन् । ‘उम्मेदवारबारेमा अहिले कुनै सहमति भएको छैन । छिट्टै टुंगो लगाउने कुरा भएको छ’, अर्यालको भनाइ छ ।

एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएका छन् । तर सचिवालय बैठकमा ओलीले गठबन्धनका उम्मेदवार हराउने शर्तमा एकल सिफारिस भएका पार्टीका उम्मेदवारहरू नै पछि हट्नुपर्ने अवस्था आए पनि चित्त दुखाउन नहुने संकेत गरेको एक नेताले बताए ।

कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन्

१४ असोज, काठमाडौं। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैन ।

नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले जानकारी दिएका छन् ।

नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न नसकेको र शिक्षकहरुको तलब बाँड्न नसकेको उनले जानकारी दिए ।

मुद्दाको पेशी यही २५ गते सर्वोच्चमा रहेको र उक्त मुद्दाको सुनुवाईपछि मात्रै काम हुने साहले बताए ।

दशैं बिदामा खुला रहने इन्धन डिपो

काठमाडौं । नेपाल आयल निगमले दशैंको सार्वजनिक बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरु खुला राख्न लागेको जनाएका छन् ।

प्रादेशिक डिपोहरु सञ्चालन हुँदा आवश्यकताका आधारमा पेट्रोल पम्पहरुले इन्धन खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सक्छन् । निगमको प्रदेश एक डिपो विराटनगर र मधेश प्रादेशिक कार्यालय आलेखगञ्जले १६, २० र २१ असोजमा इन्धन बिक्री गर्ने छ ।

निगमको बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालयले १५, १६, १८ र २१ असोज इन्धन बिक्री गर्ने छ ।

कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले १६ र २१ असोजमा र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले १६, १७ र २१ असोजमा इन्धन बिक्री गर्नेछ । यस्तै शाखा कार्यालयहरु चारआली १६ र २१ असोजमा, धनुषाले १६ र २० असोजमा, वीरगञ्जले १६, २० र २१ असोजमा, नेपालगञ्ज र दाङ शाखा कार्यालयले १६ र २१ असोजमा र दिपायलले १६, २० र २१ असोजमा इन्धन बिक्री गर्नेछन् ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए सम्पर्क गर्न भन्दै निगमले डिपो र शाखाका अधिकारीहरुको सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।

राजेन्द्र महतोले छाडे धनुषाका ३ क्षेत्र अब कहाँबाट उम्मेदवारी दिने

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले अब धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दाबी छाडेका छन् । २०७४ मा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही-२ बाट लड्ने निष्कर्षमा पुगेका छन् ।

२०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएका थिए । त्यसको बलमा उनले नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यो पटक निधि समानुपातिक पद्धतितर्फ उम्मेदवार बनेका छन् ।

तर महतोले पनि धनुषा-३ बाट चुनाव नलड्ने भएका छन् । यस पटक मधेस आन्दोलनको प्रभाव छैन । स्थानीय निर्वाचनको नतिजाले पनि महतोलाई यो क्षेत्रमा सहज देखिएको छैन ।

एमालेले पनि तुलीकुमारी महतोलाई अघि सार्ने भएपछि महतो चुनाव नलड्ने निर्णयमा पुगेका छन् । जुली धनुषा क्षेत्र नं. ३ बाट लड्ने तयारी गरिरहेकाले आफू सर्लाही २ रोजेको नेता महतोले बताए ।

चीनबाट ३७ बिजुली बस नेपाल ल्याइँदै

काठमाडौँ ।  साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ ।

३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौँमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिँदै आएका रुटहरूबाट सेवा दिइरहेको छ ।

दसैँसम्म बाँकी ३७ वटा पनि ल्याइसक्ने तयारी रहेको साझाले बताएको थियो । चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो ।

अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तर प्रदेश चल्ने विद्युतीय बसहरू पनि ल्याउने साझाको योजना छ । अहिले चलेका बसहरूमा वाइफाइ, टिभी डिस्प्ले, सिसी क्यामेरा लगायत विशेषता पनि छन् । अपाङ्गहरू चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरू थप्दै जाने साझाले जनाएको छ ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरू किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।

स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीँ रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।

तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।

सरकारले बस किन्दा चलखेल हुन लागेको आशङ्का गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो ।

साझा यातायातका सञ्चालक भूषण तुलाधरले थप बिजुली बस किन्न तयारी थालिएको बताए । उनका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र विशेषतासहितको स्पेसिफिकेसन दिन आग्रह गरिएको छ ।

अहिले नै कतिवटा थप बस किन्ने भन्ने निर्णय भइनसकेको उनले बताए । तर, २०-२० वटा गरेर ४ प्रकारका बसका लागि स्पेसिफिकेसन मागि सकिएको छ ।

साझा यातायातले अन्तर प्रदेश समेत चल्ने गरी बिजुली बस ल्याउन तयारी गरिरहेको छ । एकै पटक ठूलो सङ्ख्यमा बस ल्याउँदा चार्जिङ र पार्किङको पनि समस्या हुने भएकाले अबको लटमा पनि धेरै ठूलो संख्यामा बस नलाइने साझाले बताएको छ ।

कुमारी बैंकले १२.५० प्रतिशत नगद लाभांश दिने

कुमारी बैंक लिमिटेडले १२.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज असोज १४ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले बोनस शेयर भने प्रस्ताव गरेको छैन । बैंकको हाल चुक्ता पूँँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) सँग मर्जरमा जान लागेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।

आज पनि बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य बढेका छन् । असोज १४ गते, सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको छ । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ पुगेको छ । सुनको मूल्य निरन्तर तेश्रो दिन महंगिएको हो ।

बिहीबार सुन तोलामा एक हजार २०० रुपैयाँले बढोत्तरी भएको थियो । हिजो सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी एक हजार १७० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउ महंगिएको थियो ।

बलात्कार अभियोगमा एक युवक पक्राउ

दाङ, १४ असोज । दाङमा बलात्कार अभियोगमा एक युवक पक्राउ परेकाे छ।

२९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१३, रानीपुरुवाका ३८ वर्षीय अमोद नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आलु गोदाममा चोरी

महोत्तरी, १४ असोज । महोत्तरीको गौशाला बजारमा संचालित साह ट्रेडर्सबाट बिहीबार राति लाखौं रुपैयाँको चोरी भएको छ । रामबाबु साहले सञ्‍चालनमा ल्याएको आलु गोदाममा चोरी भएको हो ।

राति बन्द गरेर पसल रहेको कोठाको माथिल्लो तल्लामा सुतिरहेको समयमा चोरले पसलबाट नगद १ लाख २५ हजार रुपैयाँ चोरी गरिएको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

चोरले मोटरसाइकलको ब्लु बुक, नागरिकता, बैंकको चेक समेत चोरी गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाको सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

अहिले बैठक र प्रचार गर्ने होइन, जनताको सेवामा खटिनुपर्ने समयहोः प्रमुख जिल्ला अधिकारी उपाध्याय

काठमाडौ । काठमाडौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वको समयमा बैठक र प्रचार गर्ने होइन, जनताको सेवामा खटिनुपर्ने समय भएको बताउनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज तराई विकास तथा सञ्चार केन्द्र नेपालको हलमा आयोजना गरेको चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षाको अवस्था विषयक कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
नेपालीहरुको महान् पर्व विजयादशमी संघारमा आइरहँदा सर्वसाधारणहरुमा सुरक्षा चुनौती र उपभोक्ता हित विपरितका कार्य भईरहेको विषयमा जिल्ला प्रशासन कार्यालय जिम्मेवार छ, चाडपर्व केन्द्रित शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याइएको छ, उपत्यकाका तीनवटै जिल्लाको एकीकृत सुरक्षा योजनामा पनि कार्यान्वयनमा ल्याइएको छ ।’
उहाँले चाडपर्वमा यात्रुहरुले सास्ती खेप्नुपर्ने विषयसमा समेत जिल्ला प्रशासन कार्यालयले ध्यानकेन्द्रित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘घर फर्किने यात्रुहरुले सास्ती खेप्नु नपरोस् भनेर तीन वटै जिल्लाका प्रतिनिधिहरु सहित यातायात व्यवसायीका प्रतिनिधिहरुको समेत सहभागितामा यात्रुलाई सुरक्षित यात्रा गर्नका लागि १६ बुँदे योजना बनाएर कार्यान्वयनमा लैजाने प्रक्रियामा छौ ।’
प्रमुख जिल्ला अधिकारी उपाध्यायले घर फर्किने यात्रुहरु कष्ट भोग्नुपरेको स्वीकार गर्दै भन्नुभयो आज विहानमात्र नयाँ बसपार्कबाट पश्चिम जान भेला भएका १ हजार यात्रुहरु अलपत्र परेको जानकारी पाएपछि उहाँहरुलाई यातायातको प्रबन्ध गरियो ।’
चाडपर्वको समयमा चोरी लगायतका अपराधिक घटनाहरु समेत बढ्ने हुँदा त्यस्ता घटनालाई नियन्त्रण गर्नका लागि तत्काल रेस्पोन्स गर्ने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले उपभोक्ता हित संरक्षणका लागि सबैभन्दा पहिले आपूर्तिमा सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सामानको आपूर्ति भएपछि मात्रमुल्यको अवस्था, उपभोक्ता हित संरक्षण र खाद्य बस्तुको गुणस्तरको कुरा आउँछ त्यसैले आपूर्तिमा नेपाल सरकार सचेत रहेको छ ।’
बजार अनुगमनको नेतृत्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्दै आएको जानकारी गराउनुहँदै प्रमुख जिल्ला अधिकारी उपाध्ययायले विभागको कार्यलाई सहजीकरण गर्ने, सुरक्षाकर्मी परिचालन गर्ने, जिल्ला पशासन कार्यालयको प्रतिनिधि पठाउने कार्यमा जिल्ला प्रशासन कार्यालय जहिले पनि तयार रहेको बताउनु भयो ।
हामीले चाहेजस्तो, खोजेजस्तो बजारको अवस्था नभएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नु भयो, ‘उपभोक्ताले खोजेको कुरा प्राप्त होस्, त्यसमा कालोबजारी नहोस्, मानव स्वास्थ्यका लागि हानिकारक र म्याद गुज्रिएको अखाद्य पदार्थहरुको विक्रि वितरण नहोस्, यस खालकोवातावरण बनाउन जिल्ला प्रशासन कार्यालय गम्भीर भएर लागिरहेको छ ।’
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले उपभोक्ता हित संरक्षणसम्बन्धी सबै संघ संस्था र स्वयम् उपभोक्ताहरुलाई सहकार्यको लागि आह्वान गर्नुभयो ।
बजार अनुगमनको क्षेत्रमा झण्डै ९२५ सरकारी एजेन्सीहरु सक्रिय भई बजार अनुगमनको कार्यमा जुटेको भएपनि बजार अनुगमन कार्य सन्तोषजनक नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रमा ९ वटा विभाग र त्यस अन्र्तगतका संघीय कार्यालयह, ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७३ वटा इलाका प्रशासन कार्यालय, ७ वटा प्रदेशस्तरीय उपभोक्ता हित संरक्षण निर्देशनालय साथसाथै ७५३ वटा स्थानीय तहहरुले पनि बजार अनुगमन गरिरहेको छ । यसर्थमा ९२५ वटा सरकारी एजेन्सीहरु उपभोक्ताको हक हितमा लागि परेका छन् । यति ठुलो संख्यामा सरकारी एजेन्सीहरु बजार अनुगमन कार्यमा खटिँदा पनि बजार अनुगमन प्रभावकारी हुन सकेको छैन । कुनै पनि उपभोक्ता बजारमा जाँदा ढुक्क हन सक्ने अवस्था छैन । यद्यपि त्यसमा सुधारको प्रक्रियामा हामी छौं ।’
उपभोक्ताको हित संरक्षण सरकारी प्रयासले मात्र हुन नसक्ने भन्दै उहाँले उपभोक्ता हित संरक्षणका क्षेत्रमा काम गर्ने सबै संघ संस्था र आम सञ्चार क्षेत्रलाई समेत हातेमालो गर्न आग्रह गर्नुभयो ।
पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन कार्यलाई तिव्रता बताउँदै भन्नुभयो, ‘सरदर दैनिक ५० वटा फर्ममा अनगुमन गरिरहेका छौँं भने चालु आर्थिक वर्ष २०७९/८०मा तीन हजार ५ सय फर्ममा अनुगमन गर्ने योजना बताएका छौं ।’
महानिर्देशक भट्टराईले संख्यात्मक भन्दा गुणात्मक अनुगमनमा जोड दिएको औल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘संयुक्त अनुगमनमा जोड दिएका छौं, जसले खाद्य पदार्थको गुणस्तरीयता मापनका लागि विज्ञसहितको टोली हामीले परिचालन गरेका छौं, गुुणस्तरीयता परीक्षण गर्नुपरे सम्बन्धित विभागको सहयोग लिन्छौँ ।’
उहाँले व्यापारी तथा व्यवसायीहरुले गल्ती गरको पाइएमा बन्द गराउने नीति नलिएको तर दण्ड जरिवाना भने गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा उपभोक्ता हित विपरितका कार्यहरुले प्रश्रय पाइरहेको हुँदा त्यस्तो कार्यका विरुद्ध आम सञ्चारकर्मीले सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बस्नेतले भन्नुभयो, ‘पत्रकार पनि जनताका प्रतिनिधि हुन्, त्यसैले उपभोक्ता हित विपरित हुने महंगी, काजाबजारी लगायतका गतिविधिविरुद्ध सशक्त रुपमा कलम चलाउनुपर्दछ, उपभोक्ता हित संरक्षणमा भूमिका खेल्नुपर्दछ ।’
राष्ट्रिय उपभोक्ता जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले ले हामी उपभोक्ताहरु नै विवेकशिल र सचेत हुन सकेमात्र उपभोक्ता हित संरक्षण हुने बताउनुभो ।
नेपालको सन्दर्भमा आम उपभोक्ताहरुचेतना विकास हुन नसकेको भन्दै उपभोक्ताकर्मीहरुले उपभोक्ताको हितमा जारी गर्ने कल्याणकारी कार्य र चेतनामूलक कार्यको मिडियाले सही ढँगले प्रकाशन गरिदिएमात्र आम उपभोक्ताहरु सचेत बन्नेमा जोड दिनुभयो ।
पछिल्लो समय नेपालमा उपभोक्ता हित विपरितका कार्यक्रम बढिरहेको भन्दै त्यस्ता गतिविधि रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार आ आफूँले पाएको जिम्मेवारीलाई जिम्मेवार भएर बहन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय उपभोक्ता जागरण अभियान बस्तु र सेवा प्रदायक कम्पनीहरु जिम्मेवार नबनेसम्म बजार स्वच्छ हुन नसक्नेमा उहाँको जोड थियो ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले प्रदेश सरकार र स्थानीय सरकारले जुन हिसाबमा जिम्मेवारी लिनुपर्दथ्यो त्यो जिम्मेवारी नलिएको र पूरा नगरेको विद्यमान अवस्था रहेको छ ।
बजारमा महंगी अनियन्त्रित अवस्थामा बढिरहेको छ भन्दै उहाँले हिजोसम्म प्रतिकेजी १ हजार ३ सय पर्ने खसीको मासुदशैं नजिकिँदै गर्दा ५० रुपैँया मूल्यबृद्धि गरिएको छ, यसरी मूल्यबृद्धि किन भईरहेको छ ? राज्यको उपस्थिति कमजोर भएको होइन र ? भन्ने प्रश्न गर्नुभयो ।
नेपालीहरुको महान् पर्व विजयादशमी नजिकिँदै गर्दा राजधानीलाई कर्मथलो बनाएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु घर फर्किँदैछन् । यस्तो अवस्थामा यात्रुहरुले चरम सास्ती भोग्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो उपत्यकाको नयाँ बसपार्क, पुरानो वसपार्क, कोटेश्वर, कलंकी, गौशाला लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुले टिकट पाइरहेको छैनन्, टिकट पाएकाहरुले समयमा बस चढ्न पाएका छैनन् यस्तो समस्या हल गर्नका लागि नेपाल सरकार एक्सनमा उत्रिन सुझाव दिनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका तर्फबाट जिल्ला प्रशासन कार्याल काठमाडौका नवनिुक्त प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई खादा लगाएर सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी अन्नपूर्ण दैनिक पत्रिकाको प्रधान सम्पादकमा हालै बढुवा हुनुभएका अखण्ड भण्डारीलाई चौलागाईले सफलताको शुभकामना दिनुभएको थियो ।

भृकुटीमण्डपमा जुत्ता मेलाको प्रतिस्पर्धा, ग्राहक भने फाइदामा

बर्मझियाको पेँडा जस्तो भृकुटिमण्डपको जुत्ता मेला, आफ्नो सक्कली देखाउने प्रतिस्पर्धा

राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अबसरमा मेला गरेको भनिए पनि यस्तो मेला नयाँ बर्ष लागेपछि साउनको एक महिनाबाहेक अविछिन्न रुपमा चलिरहेका छन् ।
मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । मेलाले सर्बसाधारण उपभोक्ता भने फाइदामा छन् । मेलाले जुत्ताचप्पलको च्यानल ब्रेक भएको छ । जुत्ताचप्पल उत्पादक र विक्रेताबीचकाले खाने कमिसन नलाग्दा उत्पादकले सिधै उपभोक्तालाई बेच्न पाएका छन् । त्यसले गर्दा उपभोक्ताले मेलामा विभिन्न ब्राण्डका छानीछानी सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् । केही जुत्ताचप्पल उत्पादकले मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्दै आएका छन् । उनीहरु दुई महिना जुत्ता उत्पादन गर्छन् । अनि एक महिना मेलामा बस्छन् । जुत्ता मेला हुने स्थल भनेर भृकुटीमण्डपको सानो चौरको बाण्डिङ नै भइसकेको छ । थोरै नाफा हुँदा पनि उद्योगीहरु फाइदामा छन् । घाटा चाहिँ के भयो भने मेलामा बिकिहाल्छ भनेर जस्तो पनि जुत्ता चप्पल बनाउने उद्योगीहरु थपिएका छन् ।
शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । संघका तत्कालीन अध्यक्ष रविन श्रेष्ठले त्यसको नेतृत्व गरेका थिए । केही जुत्ता उत्पादकहरु बजारमा बेच्नेभन्दा मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्थे ।
त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग तेस्रो उद्योग मिलेर मेलामा सहभागिता जनाउन थाले । यसरी सदाबहार मेला हुन थालेपछि मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो ।
सबैले नलगाउने भए ठिकै छ भनेर मेलामा सहभागिता जनाउनेहरुले पनि मेला गर्न छाडे । विशेष गरी शिखर सुजले सानो चौरमा एकल मेला गर्दै आएको थियो । गत बर्ष शिखर सुजले मेला गर्ने भनेर सानो चौर बुक गरेको थियो । मेला विरोधीहरुले उक्त मेला रोक्नै लगाएका थिए । नेपाली जुत्ताघरमा शिखरसँग जोडिएका विएफ डियरहिल, कोसेलीलगायतका ब्राण्डका जुत्ता उत्पादकहरु आफूहरुलाई मेलामा छुटाएको भनेर शिखरको मेला विरुद्ध उत्रिए । विरोधको नेतृत्व तत्कालीन अध्यक्ष होमनाथ दाहाल, रविन श्रेष्ठ, ज्ञानेन्द्र दाहाललगायतले गरेका थिए ।
केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । अहिले भृकुटी मण्डपको दुवै चौरमा दशैं लक्षित जुत्ताचप्पल मेला चलिरहेका छन् । भृकुटीमण्डप प्रवेशद्वारमै अहिले शिखर सुजको नेतृत्वमा प्राइड स्वदेशी, हाइलाइफ, वन वल्र्ड, फुट स्टेप, बोस, बेम्बो, एसलगायतका ब्राण्डको प्रदर्शनी छ । सानो चौरको मेलालाई बिकृति भन्छन् ठूलो चौरमा मेला गर्नेहरु । ठूलो चौरमा मेला गर्र्नेहरु चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । ठूलो चौरमा रन, विएफ डियर हिल, फस्र्टवाकलगायतका कम्पनीका जुत्ताचप्पल प्रदर्शनीमा छन् । ठूलो चौरमा मेला लगाउनेहरुले कोभिडको असर सकिनासाथ सेल मेला गरे । संघको पूर्व अध्यक्षसमेत रहेका शिखर सुजका रामकृष्ण प्रसाईँलाई भाडामा लिएको सानो चौर चार दिनअघि नै छाड्न बाद्य बनाएर ठूलो चौरमा मेला गरे । त्यसपछि उनीहरुले बैशाखमा मेला गरे । त्यसपछि सानो चौरमा ६,७ वटा कम्पनीले डेढ महिनाजति मेला गरे ।
साउन १ महिना भृकुटीमण्डपको चौरले जुत्ता मेलाबाट बिश्राम पायो । उनीहरुले दशैं अघि एउटा समुहले भृटुटीमण्डपको सानो चौरमा मेला लगाउने घोषण गरेका थिए । त्यही अबसर पारेर संघका अध्यक्षलगायतका पदाधिकारीले ठूलो चौरमा भदौ १ गतेबाटै मेला सुरु गरे ।
भृकुटीमण्डको ठूलो चौर २० गतेपछि फर्निचर एक्स्पोलगायतले बुक गरेका थिए । त्यही बुकिंगमा पनि संघका पदाधिकारीले अनुनय विनय गरेर आफ्नो स्टलहरु राखे । समाज कल्याण परिषदले फर्निचर एक्स्पोका आयोजकलाई किन अरुलाई ठूलो चौरको स्पेस अरुलाई नाफा खाएर बेचेको भनेर पत्र काट्यो । त्यसपछि संघका पदाधिकारीहरुले आफ्नो स्टल छोपेर बसे । तैपनि उनीहरुले ठूलो चौर छाडेनन् । उनीहरु जसले स्पेस बुक गरे पनि आफ्नो लागि ठाउँ दिन अनुरोध गर्छन् र जुत्ताचप्पलको स्टल राखिहाल्छन् । अहिले त झन् ठूलो चौर पूरै ओगटेर संघ पक्षीय जुत्ता उत्पादकहरुले मेला गरिरहेका छन् । सानो चाँैरमा मेला लगाउनेहरु ठूलो चौरकै किनबेच भएको बताउँछन् ।
सानो चौरमा मेला लगाउँदा विकृति भएको भन्नेहरुले त्यसकै १० मिटर पर संघका अध्यक्षलगायतका पदाधिकारीहरु आफैंले मेला लगाउनुमा नैतिक दम नभएको सानो चौरमा मेला लगाउनेहरु बताउँछन् । ‘कि दुवै मेला गलत हुन् भन्नु पर्यो,’ उनी भन्छन्, ‘कि मेला गरेर उपभोक्तालाई फाइदा दिएका छौं भन्नु पर्यो ।’
मेलामा प्रतिस्पर्धाले जुत्ताचप्पल उत्पादकहरु एक अर्कालाई खुइल्याउन थाले । उसले त चाइनामा बनाएर ल्याउँछ र मेलामा राखेर नेपाली उत्पादन भनेर बेचिरहेको छ भनेर एक अर्कालाई आरोप लगाउँन थाले । यसले गर्दा नेपाली ब्राण्डमा आएका जुत्ताचप्पलप्रति पनि सर्बसाधारणले शंका गर्न थाले । यसले नेपाली उद्योग नै संकटमा पर्न थाले । यस्तो प्रश्न आफूले धेरै पटक सामना गर्नु परेको एक जुत्ताचप्पल उत्पादक बताउँछन् ।
अहिले नेपालमा १८ करोडदेखि २० करोड जोर जुत्ताउत्पादन गर्न सक्ने पूर्वाधार रहेको जुत्ताचप्पल उत्पादकको दावी छ । नेपाली जुत्ताचप्पलले ६० प्रतिसत बजार धान्ने उत्पादकहरुको दावी छ । एक अनुमान अनुसार हरेक ब्यक्तिले नेपालीले हरेक बर्ष ४ जोर जुत्ताचप्पल लगाउँछन् । यस हिसावले हरेक बर्ष ११ करोड जोरजति नेपालीले जुत्ताचप्पल खपत गर्छन् । हरेक बर्ष औपचारिक अनौपचारिक माध्यमबाट दुईदेखि अढाइ करोड जोरसम्म जुत्ताचप्पल विदेश निर्यात हुन्छ । नेपाली जुत्ताचप्पल विदेशीको तुलनामा गुणस्तरीय रहेको उत्पादकको दावी छ । उत्पादकहरुले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी नै दिने गरेका छन् ।
राज्यले समेत जुत्ताचप्पल उद्योगीलाई संरक्षण गरेको छ । ‘जुत्ताचप्पल उत्पादकहरु आफैं जुधेर उद्योग धरासायी बनाउँदैछन्,’ एक उत्पादक भन्छन्, ‘राज्यले हाम्रो लागि दाहिना छ । गर्न नसकेको हामीले नै हो । धेरैको वर्किंङ क्यापिटल कोभिडले सकियो । बैंकहरुले लगानी गरेका छैनन् ।’
जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक सँघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । ‘हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ,’ एक उत्पादकले भने । कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने कुरा उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । ‘यसमा जुत्ता उत्पादक सँघ आफैं लबिंग गरेर हिड्ने हैन । संघले प्रदर्शनी गर्ने हो, बायर, सेलरलाई बोलाउने हो । सेल मेला संघ आफैंले गर्ने होइन् । ती १० जना संघको नाममा सेल मेलामा किन बस्नु ? आफ्नै ब्राण्ड राखेर बसे भै गयो नि ।’ कोभिड सकिएको एक बर्षमा ५ वटाभन्दा बढी मेला संघकै नाममा भइसकेका छन् । संघले विधानमै २ वटाभन्दा बढी सेल मेला नगर्ने भनेको छ ।
मेलामा प्रतिस्पर्धा हुँदा सर्वसाधारण उपभोक्ताले भने सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् ।