सरकारी र अर्धसरकारी भवनको नक्सापास खोज्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै सरकारी र अर्ध सरकारी भवनको नक्सापास भए–नभएको बारे यकिन गर्ने भएको छ ।

महानगरको सहरी विकास विभागले दुई–तीन दिनभित्र नक्सापास नभएका भवनहरूलाई सूचनामार्फत नक्सापास दर्ता वा नियमित गर्न आह्वान गर्ने भएको हो ।

विभागका निर्देशक सुरज शाक्यले सरकारी भवनहरूले पनि नक्सापास गर्नुपर्ने जानकारी दिए । उनका अनुसार मेयर बालेन्द्र साहले मंगलबार सबै सरकारी भवनहरूको नक्सा खोज्न विभागलाई निर्देशन दिएका छन् ।

‘नक्सापास भए नभएका भवन छुट्याएर उनीहरूको नक्सापास नियमित गर्छौँ,’ विभाग प्रमुख शाक्यले भने, ‘यदी नक्सापास नभएका सहरी कार्यालय छन् भने उनीहरूलाई नक्सापासको समय तोकिदिन्छौँ ।’ काठमाडौँ महानगरपालिकाले ०७० यताका नक्सापास भएका भवनहरूको विवरण अनलाइन सिस्टममा राखेको छ ।

त्यसअघि नक्सापास भएका भवनको रेकर्ड भने ढड्डामा छ । त्यस्तै, ०६० सालभन्दा अघि बनेका एक लाख ३८ हजार भवनको नक्सापास रेकर्ड महानगरको वातावरण विभाग टेकुको सर्भरमा राखिएको छ ।

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ । त्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबिच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुङ्गोमा पुग्न सकेको छैन ।

नेपाली काँग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।

यद्धपी, शीर्ष नेताहरूको बैठकबाट टुङ्गो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो ।

नाबालगि बलात्कारको अभियोगमा रहेका पल शाहविरुद्ध मुद्दाको आज पेसी

१४ मंगलबार तनहुँ । नाबालगि बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छन् । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेका छन् ।

अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएका छन् । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ । दुवै अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।
गत ११ फागुनमा नावालिकमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुछ उजुरी प(यो । यसको ४ दिनपछि १५ फागुनमा अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न ध्यानाकर्षण

काठमाडौं । धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्ससम्बन्धी नीतिगत प्रस्तावलाई असफल बनाउन लागिएको भन्दै सेयर लगानीकर्ता एकता समिति नेप्सेको कार्यालयमा पुगेका छन् ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको र यसलाई असफल बनाउन केही मन्त्री नै लागिपरेको उनीहरुको आरोप छ । यस विषयमा ध्यानाकर्षण गराउन लगानीकर्ता नेप्से कार्यालय पुगेका हुन् ।

बिहिबारसम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भई कार्यान्यनमा नआए सरकार राजनीतिक दलविरुद्ध आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी छ । यसबारे आज नै लगानीकर्ताले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

चट्याङ लागेर रौतहटमा ३ महिलाको मृत्यु

गौर । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए ।

मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिएका छन ।

चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

एसिया कपमा पाकिस्तानमाथि भारतको रोमान्चक जित

नयाँ दिल्ली, (एजेन्सी) । हार्दिक पान्ड्याको सानदार प्रदर्शनमा भारतले टी–२० एसिया कपमा पाकिस्तानमाथि ५ विकेटको रोमान्चक जित हात पारेका छन् ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९।४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । भारतका रविन्द्र जडेजाले २९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । हार्दिक १७ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । भारतलाई अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिएको थियो । स्पिनर मोहम्मद नवाजले पहिलो बलमा रविन्द्र जडेजालाई बोल्ड गरे । दोस्रो बलमा दीनेश कार्तिकले हार्दिकलाई स्ट्राइक दिए । तेस्रो बलमा नवाजले डट राखे । हार्दिकले छक्का प्रहार गर्दै खेल जिताए ।

भारतका ओपनर केएल राहुल दोस्रो बलमै बोल्ड आउट भए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर नसिम शाहले राहुललाई बोल्ड गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए । दास्रो विकेटका लागि विराट कोहली र रोहितले ४९ रनको साझेदारी गरेका थिए । रोहित स्पिनर नवाजको बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा इफ्तिखार अहमदबाट १२ रनमा क्याच भए । रोहितले १८ बल खेल्दा १ छक्का हाने ।

नवाजकै दशौं ओभरको पहिलो बलमा विराट लङअफमा इफ्तिखारबाट ३५ रनमा क्याच आउट भए । कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १५औं ओभरको दोस्रो बलमा नसिमले सूर्यकुमार यादवलाई १८ रनमा बोल्ड आउट गरे । पाकिस्तानका सादब खानले ४ ओभरमा १९ रन खर्चिए । डेब्यू खेल खेलेका नसिमले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिँदै सानदार प्रदर्शन गरे । नवाजले ३।४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि, दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९।५ ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर तथा कप्तान बाबर आजम तेस्रो ओभरमै आउट भएपछि पाकिस्तान सुरुवातमै दबाबमा परेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमारको बाउन्सर बलमा एज लागेर बाबर आजम १० रनमा अर्शदीपसिंहबाट क्याच आउट भए ।
आवेश खानको छैटौं ओभरको पाँचौं बलमा फखार जमान १० रनमा विकेटकिपर कार्तिकबाट क्याच आउट भए । फखार एज लागेर अम्पायरले आउट नदिँदै आफैं पेभिलिएनतर्फ लागेका थिए ।

तेस्रो विकेटका लागि इफ्तिखार र रिजवानले ४५ रनको साझेदारी गरेका थिए । हार्दिकको बलमा इफ्तिखार २८ रनमा कार्तिकबाट क्याच भए । उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । हार्दिकको १५ औं ओभरको पहिलो बलमा रिजवान थर्डम्यानमा आवेश खानबाट क्याच आउट भए । एक बलपछि खुशदील शाह दुई रनमा क्याच आउट भए । भुवनेश्वरले विस्फोटक ब्याटर आसिफ अलीलाई ९ रनमा सूर्यकुमारबाट क्याच गराएपछि ठूलो इनिङको सम्भावना सकिएको थियो । तल्लोक्रमका शहनवाज ६ बलमा २ छक्कासहित १६ रनमा आउट भए ।

भारतका भुवनेश्वरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । हार्दिकले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अर्शदीपले ३।५ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । आवेशले एक विकेट लिए । समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ छन् । समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो । भारतले अब बुधबार हङकङसँग खेल्नेछ । पाकिस्तानले शुक्रबार हङकङसँग खेल्नेछ । शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ कठायतचोकमा सोमबार सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बोलेरो गाडीको ठक्करबाट बा ४४ प ३८०२ नम्वरको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । सोमबार राति सडकखण्डको ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको खालि बोलेरो पिकअप गाडिले सडकको छेउमा रोकि बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका चालक पर्सा वीरगंज १ बस्ने ३१ बर्षीय धर्मेन्द्रराम थारूको गम्भीर घाइते भएका थिए ।

घाइते थारुको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बोलेरो प्रहरीको नियन्त्रणमा रहेको भएतापनि चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कक्षा १२ को परीक्षाफल आज

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेका छन् ।

परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेका छन् । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।
विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग/अलग समयमा प्रकाशन गर्ने गरिएको थियो । तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ । कक्षा १२ को परीक्षा गत जेठको १६ गतेदेखि परीक्षा शुरू भएको थियो ।

हिन्दुहरुका महानपर्व तीज उत्साहका साथ पशुपतिमा मनाउँदै

काठमाडौं । हिन्दुहरुका महानपर्व तीज उत्साहका साथ पशुपतिमा मनाउँदै छन् । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदै छन्।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएका छन्। भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।

एमाले बाहिरियो नागरिकता विधेयकमाथिको छलफलबाट

नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएका छन् ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् । तत् पश्चात बसेको प्रतिनिधिसभा बैठकले पुनः विनासंशोधन जस्तोको तस्तै पारित गरि राष्ट्रिय सभामा पठाएको छ ।

राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ । यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो । यद्यपि, एमाले बैठक भने बहिस्कार गरेको भने होइन ।

बैठक चलिरहँदा बाहिर अर्को बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् । एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।

८५ दिनमा छ अर्ब कमाए प्राधिकरण

काठमाडौँ । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका हुन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएका छन् । यसले चर्को खडेरीमा वर्षात् भए जस्तै राहतको महसुस भएको छ । हाल दैनिकरुपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप छ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाकोसीको चार सय ५६ मेगावाट र अन्य आयोजनाको एक सय १० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ ।

भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले चालू आवमा मात्रै रु १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ । थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ ।

आगामी दुई वर्षपछि मुलुक पूर्णरुपमा बिजुली निर्यात गर्ने देशका रुपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । ‘आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुनसक्छ, तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ, आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछौँ’, कार्यकारी निर्देशक घिसिङले भने ।

गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो । गत जेठको १५ गतेदेखि पुनः बिजुली निर्यात सुरु भएको र जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात शुरु भएको छ । चालु आवको साउन महिनामा मात्रै झण्डै रु दुई अर्ब बराबरको बिजुली निर्यात भएको छ ।

वर्षात्को मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उहाँको भनाइ छ । प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो । आन्तरिकरुपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ ।

गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप सात सय ४१ मेगावाट बिजुली थप भएको छ । चालु आवमा झण्डै एक हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत् विकास विभागका महानिर्देशक सञ्जिव देवको भनाइ छ । मुलुकको कूल जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ ।

निर्यातका लागि छैन अवरोध

मुलुकभित्र बिजुलीको उत्पादन बढ्दै जाँदा थप निर्यातका लागि प्रसारण लाइन नभएको भन्ने आशङ्का व्यक्त भइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने त्यसलाई नकारे। उनले हाल भारतका विभिन्न राज्यमा विभिन्न स्थानबाट प्रसारण प्रणाली जोडिएको जानकारी दिए ।

विगतमा बिजुली आयात गर्ने मात्रै विषयले प्राथमिकता पाउने गरेकामा पछिल्ला दिनमा निर्यातको विषयले प्राथमिकता पाएको उल्लेख गर्दै उनले आठ स्थानबाट दुई देश जोडिएको बताए ।

भारतीय कम्पनी सतलजले ढल्केबर हुँदै सीतामढी जोड्नका लागि निर्माण गरिरहेको चार सय केभी क्षमताको प्रसारण लाइनबाटै पनि बिजुली भारत पठाउन सकिने जानकारी दिए । सो प्रसारण लाइनले दुई हजार मेगावाट बिजुली बोक्न सक्छ । यस्तै चार सय केभी क्षमताको ढल्केबर( मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा चलाउँदा एक हजार दुई सय मेगावाट बराबर बिजुली पठाउन सकिन्छ ।

उता न्यू(बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बोलपत्र भइसकेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सो लाइनसमेत निर्माण भइसक्ने उल्लेख गरे। सो प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड इण्डियाले जिम्मा लिएको छ । त्यसमा प्राधिकरण र भारतीय पक्षको समान लगानी रहनेछ । कूल एक सय ४० किलोमिटर हुने भनिएको सो लाइनको लम्बाइसमेत घटेको छ । त्यस आधारमा लगानी पनि रु एक अर्ब कम लाग्ने देखिएको छ ।

नेपालतर्फको अमेरिकी सहयोग परियोजनाले निर्माण गर्ने भनिएको स्थानमा समेत १८ किलोमिटर प्रसारण लाइन प्राधिकरण आफैँले निर्माण गर्ने भएको छ । भारततर्फको कूल एक सय २० किलोमिटरमध्ये ९६ किलोमिटर मात्रै निर्माण हुने भएको छ ।

यस्तै लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि प्रक्रिया सुरु गरिने भएको छ । ती दुवै प्रसारण लाइन चार सय केभी क्षमताका छन् । आन्तरिकरुपमा आयोजना निर्माण सम्पन्न हुँदै जाँदा प्रसारण लाइन तयार भइसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्राधिकरणले सतलजले निर्माण गरिरहेको प्रसारण लाइनमा समेत प्रयोग गर्न पाउने भएको छ । त्यस आधारमा पनि कुनै समस्या नहुने जनाएको छ । आन्तरिकरुपमा निर्माणमा रहेको हेटौँडा(इनरुवा प्रसारण लाइनको अवरोधसमेत खुलेका अवस्थामा सो लाइनमार्फत थप बिजुली प्रवाहका लागि मार्ग प्रशस्त हुने जनाएको छ ।

हाल देशभर ९५ प्रतिशत घरधुरीमा केन्द्रीय प्रणालीको बिजुली पुगेको उनले जानकारी दिए । सरकारको निरन्तरको प्रयास र प्राधिकरणको सकारात्मक योजना र पहलका कारण चार वर्षअघि ६२ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको भए पनि हाल त्यो बढेर ९५ प्रतिशत पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

प्राधिकरणले बिजुली नपुगेका दुर्गम स्थानका लागि बोलपत्रसमेत गरिसकेकाले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुग्नेछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ५० हजार घरधुरीमा उज्यालो पुर्याउनेछ ।

आन्तरिकरुपमा पनि बिजुली खपतको मात्रामा २५ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । हरेक वर्ष बिजुलीको खपतमा वृद्धि भएको र त्यो निरन्तररुपमा अगाडि बढ्ने क्रममा नै रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

देशभित्रै बिजुली खपतका लागि विद्युतीय चुल्होको प्रवद्र्धन तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइएको उनको भनाइ छ । प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर चार्जिङ स्टेशन र विद्युतीय चुल्हो प्रयोगको अभियान नै सञ्चालन गर्ने भएको छ ।

७ दिनभित्र सर्वोच्चले माग्यो जवाफ मेयर बालेन्द्रसँग

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरूद्ध परेको अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेन्द्रविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

६.१ म्याग्निच्युडको भूकम्प मलेसियामा

मलेसियाको राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जादा उक्त भूकम्प गएको हो ।
भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रबाह रोकिएको थियो । भूकम्पको केन्द्रबिन्दु समद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि बैठक डाकेका हुन् ।

आजको बैठक सचिब दिनेश भट्टराईले संचालन गर्दै छन् । मुख्यसचिव शंकरदास बैरागी ब्यक्तिगत कामको लागि दुई साताका लागि अमेरिका गएसंगै वरिष्ठतम् सचिवका हिसावले भट्टराईले संचालन गर्न लागेका हुन्

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वरिष्ठतम् सचिवका हिसाबले सुर्य गौतम भएपनि उनि अवस्थ रहेकोले भट्टराईले चलाउन लागेका हुन् ।

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई रहेका हुन्। उनी अंग्रेजी पढाउने शिक्षक हुन्।

छात्रालाई दुर्व्यवहार गरेको भन्दै सोमबार बिहान कक्षा १२ का विद्यार्थीहरूले आन्दोलन गरेका थिए । उनीहरूले बिहानैदेखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्।

प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।