प्रहरी हेडक्वार्टरमा पुगेर गृहमन्त्रीले भने– ‘सरुवाको कार्यविधि बन्छ, नेताका घर धाए कारबाही गर्छु

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताए । करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’

प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् । ‘सरुवा, बढुवा बाहिरबाट हुँदैन । सरुवा, बढुवाका लागि नेताका घरमा धाएको जानकारी पाए कारबाही गर्छु, गृहमन्त्री लामिछानेले भने । गलत काम गरेको जानकारीमा आए कसैको पनि कुरा नसुनी कारबाही गर्ने र राम्रो काम गर्ने प्रहरीलाई सम्मानित गरिने लामिछानेले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले कमायो नाफा

काठमाडौं– नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको नाफामा १०३.३८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा केन्द्रिय बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा ३१ अर्ब ५० करोड रुपैयाँले बढी नाफा कमाएको छ। 

गत आर्थिक वर्षमा बैंकले ६१ अर्ब ९८ करोड नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३० अर्ब ४७ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षमा राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ४५.११ प्रतिशतल वृद्धि भई ३५ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ रहेको छ। खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.७२ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ५.६८ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश ०.६० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५३.६४ प्रतिशतले वृद्धि भई ३३ अर्ब ५२ करोड २४ लाख लाख कायम भएको छ भने विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी ६.६९ प्रतिशतले वृद्धि भई २ अर्ब ३ करोड १२ लाख ३९ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, अन्य आम्दानीमा ७६.६९ प्रतिशतले ह्रास आई रु. २१ करोड ६२ लाख लाख रुपैयाँ रहेको छ। 

आर्थिक वर्ष २०७८/७९ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ–हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ४७.४४ प्रतिशतले वृद्धि भई २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार रुपैयाँ रहेको छ। यस्तो खुद आय अघिल्लो आर्थिक वर्षमा १९ अर्ब २७ करोड ६१ लाख ६२ हजार रहेको थियो। गत आर्थिक वर्षको विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ ३४ अर्ब ७८ करोड ९१ लाख ४८ हजार र सुन तथा चाँदी पुनर्मूल्याङ्कन हानी १ अर्ब २२ करोड ९२ लाख ४ हजार रुपैयाँ आय भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले गरे हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा नेपाल र भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

राष्ट्रपतिको उम्मेदवारका रुपमा माधवकुमारलाई अगाडि सार्ने: प्रधानमन्त्री दाहाल र ओली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (एमाले) ले राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सार्ने खबर राजनीतिक वृत्तमा चर्चामा छ ।

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा स्विकार नगरेसँगै प्रचण्ड एमालेसहितका विभिन्न सात दलको समर्थनमा प्रधानमन्त्री बने । यता एकीकृत समाजवादीले संसदीय राजनीतिमा राष्ट्रिय दलको मान्यतासमेत पाउन सकेन । यस्तो अवस्थामा पार्टीको औचित्यमाथि नै प्रश्न उठेको केही नेताहरुले अभिव्यक्ति दिन थालेका छन् भने नेता नेपाल पार्टीका नेता तथा कार्यकर्तासँग आन्तरिक परामर्श र सुझाव माग्दै ‘पर्ख र हेर’ को अवस्थामा छन् । यस्तो अवस्थामा एकीकृत समाजवादीले पार्टी एकीकरणको विकल्प रोज्ला वा पार्टीको आन्तरिक सुदृढीकरणतर्फ लाग्ला त्यो प्रतीक्षाको विषय बनेको छ । राष्ट्रिय दलको मान्यतासमेत नपाएको एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिका रुपमा स्वीकार्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन तयार छन् ? भन्ने प्रश्न उब्जिएको छ ।

एमालेभित्रका दोस्रो पुस्ताका नेताहरु गोकुल बाँस्कोटा, सूर्य थापा, विष्णु रिमाल, डा. राजन भट्टराईलगायतका नेताहरु नेता नेपालको पार्टी एकीकरण गरी उनलाई राष्ट्रपतिको रुपमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । त्यस्तै, एमालेकै अर्काथरी नेताहरु भने वाम एकताको विकल्प नरहेको भन्दै माधव नेपाललाई एमालेमा ल्याउनको लागि सक्रिय भएका छन् । यसको लागि सबैभन्दा बढि सक्रिय भएर महेश बस्नेत खटिएका छन् । पछिल्लो दुई सातामा बस्नेतले नेपालसँग तीन पटक एक्लाएक्लै भेटवार्ता गरिसकेका छन् ।

एमाले नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीका नेता-कार्यकर्तालाई पार्टीमा भित्र्याउने पक्षमा रहेको छ । नेपाललाई राष्ट्रपति बनाउँदा एकीकृत समाजवादीलाई एमालेमा समाहित गराउन सजिलो हुने बुझाईमा एमाले छ । एमाले र एकीकृत समाजवादीबीच एकता भएमा संसदको पहिलो शक्ति भएर निर्णायक बन्न सक्छ । तर, प्रचण्ड एमालेबाहेकका वाम शक्तिलाई जोडेर बलियो पार्टी बनाउने दाउमा छन् ।

नेकपाको विघटनसँगै तत्काल एमालेसँग वाम एकताको सम्भावना नदेखेका प्रचण्ड नेता नेपाललाई राष्ट्रपति बनाएर माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी, वामदेव गौतम समूह र प्रभु साह समूहलाई समेत जोडेर ठूलो पार्टी बनाउने दाउमा छन् । प्रचण्ड पनि नेता नेपाललाई राष्ट्रपति स्वीकार गर्ने पक्षमा छन् ।

गत मंसिर ४ को निर्वाचनले एकीकृत समाजवादीलाई कमजोर पार्टीका रुपमा स्थापित गराएसँगै नेता नेपाल नेतृत्वको पार्टीलाई विलय गराई निर्णायक शक्ति बन्ने दाउमा ओली र दाहाल दुवै सक्रिय छन् ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरु मतदाता रहने छन् । निर्वाचनमा संघीय संसद् ३३४ र प्रदेशसभाका सदस्य ५५० मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसंख्या अनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ ।

बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा आयोग छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ । 

संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।

आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मंसिर २९ गते बुझाएको थियो । राष्ट्रपतिको आह्वानबमोजिम दुईभन्दा बढी दलको समर्थनमा पुस १० गते नयाँ सरकार गठन भइसकेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

निर्वाचनमा उम्मेदवार हुन संघीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ ।

यात्रुबीच विमानभित्रैै कुटाकुट

काठमाडौँ । थाइल्याण्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रैै कुटाकुट भएको छ ।

स्माइल एयरवेजको विमानमासँगै बसेका यात्रुहरु मध्ये एकले अर्कोलाई शान्त रहन र सिटबाट हात तल झार्न आग्रह गरेपछि सामान्य विवाद भएपछि कुटाकुट भएको हो ।

घटना लगत्तै एयर होस्टेजले ति यात्रुहरुलाई सिटमा बस्न र झगडा नगर्न आग्रह गरेपनि नमानेपछि विमानका अन्य यात्रुहरुले आपत्ति जनाएका थिए ।

विमान कोलकतामा अवतरण गरे लगत्तै झगडा गर्नेहरुलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

सवारी दुर्घटना हुँदा एकको मृत्यु र तीन घाइते

मकवानपुर । हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्की बताउनुभयो ।

यस्तै, सोही दुर्घटनामा परेर अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ट्रकमा सवार हाल नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुष, ट्रक चालक बाराको निजगढ नगरपालिका-९ बस्ने अन्दाजी २५ वर्षीय सूर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौँडा- १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन रहेका छन् ।

घाइतेमध्ये ट्रकमा सवार नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक घिमिरे र मोटरसाइकलमा सवार लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

विदेशबाट फर्किंदा मोबाइल ल्याउन नपाउने व्यवस्था तत्काल लागू नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो ।

त्यसबारे सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री दाहालले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई तत्काल त्यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । दाहालको सचिवालयका अनुसार सरकारको निर्णय पुस १५ गते अर्थात् शुक्रबारदेखि लागू गर्ने तयारी थियो ।

प्रधानमन्त्रीकी निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ । सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’अभियान चलाएका छन् ।

पुस १५ गते शुक्रबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । मनमा सकारात्मक सोच राख्नु पर्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
तपाईको सोच अनुसार काम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन तपाईको शुभ छ । आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला। कसैसँग विवाद हुने काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातकका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको धनराशिबाट महिला र बृद्ध मातालाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन मानसम्मान मिल्ने योग रहेको छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालयको दर्शन गर्नुभयो भने मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ ।

विश्वकै महान फुटबल खेलाडी पेलेको निधन

काठमाडौं । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको सङ्क्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो । पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो ।

इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ। पेलेले चारवटा विश्व खेलेका थिए भने तीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भई १४ खेलमा १२ गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।

पेलेको जन्म २३ अक्टोबर १९४० मा भएको थियो भने निधन २९ डिसेम्बर २०२२ मा भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटारनिकट स्रोतले बतायो ।

सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।

बिहीबारमात्र गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो ।

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बधाइ दिन राजदूत थम्पसन बिहीबार अपरान्ह बालुवाटार पुगेको माओवादीका एक नेताले पुष्टि गरे।

नेपाल र अमेरिकाको पारस्परिक सम्बन्धका विषयमा दुईबीच छलफल भएको माओवादीका एक नेताले बताए। सरकारलाई अमेरिकाले प्रदान गरेको विभिन्न परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ।

प्रचण्ड संसदको दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट सोमबार प्रधानमन्त्री पदमा सपथ लिएका उनले बुधबार सरकारी निवास बालुवाटार सरेका थिए। बालुवाटार सरेपछि प्रचण्डले औपचारिकरूपमा कूट्नीतिक नियोगका अधिकारीहरूसँग भेटवार्ता थालेका हुन्।

ठगबहादुर केसी निलम्बित

१४ पुस, काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

थापाथलीस्थित बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयसँग माग्यो सहयोग

काठमाडौं । बुधबार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो।

महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो।

‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ। जसको लागि तहाँमार्फत् सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।

बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको महानगरको भनाइ छ।

सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो।

भिसाका लागि पुनः दिल्ली नै जानुपर्ने

काठमाडौँ । नेपालस्थित रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेको छ । कार्यालय हटेसँगै अब भिसा लगाउनको लागि नयाँदिल्लीस्थित रोमानियाको दूतावासमा जानुपर्ने भएको छ । ३ महिनाका लागि १५ सेप्टेम्बर २०२२ मा स्थापना गरिएको कार्यालयमा ५ हजार भन्दा बढी आवेदन सङ्कलन गरेको थियो ।

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूको भिसा सम्बन्धित सम्पूर्ण कार्य त्यही कार्यालयबाट हुँदै आएको थियो ।

यसअघि काठमाडौँमा अस्थायी कार्यालय स्थापना हुनुअघि पनि दिल्ली नै गएर भिसा लगाउने गरेका थिए । वैदेशिक रोजगार कार्यालय ताहाचलमा स्थापना गरिएको अस्थायी कार्यालयबाट ५ हजार १२० जनाको आवेदन सङ्कलन गरेको थियो । त्यसरी सङ्कलन गरिएको आवेदन त्यही कार्यालयबाट रोमानियास्थित परराष्ट्र मन्त्रालयमा पठाउने गरिएको थियो । र त्यहाँको भिसा जारी गर्ने निकायले भिसा जारी गरेर पठाउने गरेको थियो ।

त्यसका लागि भिसा शुल्क भनेर १७ हजार ५०० रुपैयाँ ताकिएको थियो । अब भिसाका लागि दिल्ली जान लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता देखिएको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको पहलमा रोमानियाको अस्थायी कन्सुलर कार्यालय ताहाचलमा स्थापना गरिएको थियो । ३ महिनाको लागि खोलिएको कार्यालय त्यसपछि थप गर्ने भन्ने थियो । तर, कसैले पहल नगर्दा कार्यालय बन्द भएको हो ।

कन्सुलर कार्यालय बन्द गरेर कर्मचारीहरू स्वदेश फर्किसकेको वैदेशिक रोजगार कार्यालयका निर्देशक तथा सूचना अधिकारी सन्तबहादुर बोहोराले बताए । कार्यालय बन्द भएसँगै भिसासम्बन्धी कार्यालयको पुनः दिल्ली जानुपर्ने बाध्यता आइलागेको छ ।

पछिल्लो समय नेपालीहरूले वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्य मुलुकमा रोमानियालाई समेत आफ्नो प्राथमिकतामा राख्दै आएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा रोमानियाका लागि ६ हजार ४१८ जनाले श्रम स्वीकृति लिएका थिए ।

रोमानियाले अस्थायी नियोगमा ५ जना कर्मचारी राखेर आवेदन सङ्कलन थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि रोमानिया एक राम्रो गन्तव्य मानिन्छ । युरोपेली मुलुक भएकाले मध्यम स्तरका नेपालीहरूले आफ्नो श्रम गन्तव्य रोमानियालाई लिन्छन् । त्यसका लागि म्यानपावर व्यवसायीहरूले ५ देखि ७ लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन् । र भिसा प्रक्रियाका लागि दिल्ली जानुपर्ने बाध्यता थियो ।

दिल्ली जानुपर्ने बाध्यता हटाउन मन्त्री कुँवरले रोमानिया सरकारसँग छलफल अगाडि बढाएका थिए । सोही आधारमा तत्काललाई अस्थायी नियोग खोल्न रोमानिया सरकार तयार भएको थियो ।