धनुषामा १०९ को उम्मेदवारी फिर्ता

आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिनुभएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाको वडाध्यक्ष पदमा ११, एक वडासदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

यस्तै धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सो नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष पदका लागि दिएका पाँच र वडासदस्य पदका चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिनुभयो ।

धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जीवी गौतमले जानकारी दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिनुभएकी मेनकाकुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

धनुषाको बटेश्वर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएका खगेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

धनौजी गाउँपालिकामा समेत अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल तथा दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिनुभयो ।

विदेह नगरपालिकामा दुई वडाध्यक्ष पदका उम्मेदवारसहित पाँच, हंसपुर नगरपालिकामा दुईजनाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सबैला नगरपालिकामा छ वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेको छ ।

अनौपचारिक क्षेत्रका श्रमिकको प्रश्न– समान कामको असमान ज्याला किन ?

अनौपचारिक क्षेत्रका श्रमिकले समान कामका लागि समान ज्याला पाउनुपर्ने माग गर्दै यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटीयूसी र एक्सन एडद्वारा संयुक्तरुपमा आयोजित अन्तक्र्रियामा उनीहरुले समान कामका लागि समान ज्यालाको आवाज उठाएका हुन् ।

कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकले सरकारी निकायका अधिकारी, श्रम सङ्गठन तथा निजी क्षेत्रका प्रतिनिधिसामु आफ्ना पीडा र सङ्घर्षका कथा सुनाएका थिए ।

पहिलोपटक सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेका ती श्रमिकले महिला र पुरुषको ज्याला बराबर हुनुपर्ने, कार्यस्थलमा सम्मानजनक व्यवहार हुनुपर्ने, घर तथा समाजदेखि सरकारी तथा अन्य कार्यालयमा महिला श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिए ।

गोदावरी नगरपालिकाकी गृहश्रमिक लक्ष्मी वली, दक्षिणकालीकी कृषि मजदूर शिला पुर्कुटी, शङ्करापुर–८ की कृषि मजदुर शर्मिला तामाङ, शङ्खमूलकी घरेलु श्रमिक लक्ष्मी क्षेत्री, कीर्तिपुरकी गृहश्रमिक उषा महर्जन, वसन्तपुरकी घरेलु श्रमिक सरिता श्रेष्ठ, शङ्करापुरकी कृषि श्रमिक डोल्मो नेसुर र बडिखेलकी गृहश्रमिक मनिता तामाङ पहरीलगायतका महिला श्रमिकले आफ्ना सङ्घर्षका कथा सुनाएका हुन् ।

कृषि श्रमिक नेसुरले आफू पनि अब असमान ज्यालामा काम नगर्ने वाचा गर्दै अरु श्रमिक महिलालाई पनि आइन्दा समान कामका लागि समान ज्याला दाबी गर्न आह्वान गर्नुभयो । “समान ज्याला नपाए काममै नजाउँ, बरु आफ्नै घरको काम गरौँ”, उहाँले भन्नुभयो ।

उहाँहरुले संविधान तथा कानुनले समान कामका लागि समान ज्याला र विभेदरहित रोजगार सुनिश्चित गरे पनि व्यवहारमा विभेद कायम रहेको बताउनुभयो ।

कृषि, निर्माण जस्ता क्षेत्रमा आफूहरुले पुरुषले जतिकै कठिन तथा जोखिमपूर्ण काम गरे पनि समान ज्याला पाउन नसकेको गुनासो उहाँहरुको थियो ।

उहाँहरुका सङ्घर्षका कथा सुनेपछि स्वास्थ्य मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनीदेवी कार्कीले संविधान, कानुन र सरकारले ल्याएका विभिन्न कार्यक्रममा लैङ्गिक समानताका हक सुनिश्चित गरेको हुँदा ती अधिकार प्राप्तिका लागि सम्बन्धित व्यक्तिहरु आफैँ अघि बढ्नुपर्ने बताउनुभयो ।

“संविधान र कानुनमा समानताको हक सुनिश्चित गरिएको छ । त्यसअनुसार सरकारले पनि विभिन्न कार्यक्रम ल्याएको छ तर ती व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन्, तर कार्यान्वयन गर्न र गराउनका लागि विभेदमा रहेका व्यक्तिहरु नै ती व्यवस्थाबारे जानकार भई अघि बढ्नुपर्छ, त्यसका लागि संघर्ष गर्नैपर्छ”, कार्कीको भनाइ थियो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि पनि स्वास्थ्य उपचारलगायतका सामाजिक सुरक्षा योजना लागू गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले आगामी आर्थिक वर्षदेखि तोकिएका अस्पतालमा अनौपचारिक श्रमिकको पनि स्वास्थ्य उपचार गर्ने कार्यक्रम लागू गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा श्रमविज्ञ उमेश उपाध्यायले नेपालको श्रम क्षेत्रका लैङ्गिक असमानताको अवस्था र त्यसको निराकरणका लागि लिनुपर्ने पहलबारे जानकारी गराउनुभएको थियो ।

होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले संविधान, कानुन र सोअन्तर्गतका योजनाले औपचारिक क्षेत्रलाई मात्र समेटेका कारण अनौपचारिक क्षेत्रमा कार्यरत झण्डै ९२ प्रतिशत श्रमिक श्रम कानुन, नीति र सामाजिक सुरक्षालगायतका योजनाबाट वञ्चित हुनुपरेको स्थिति प्रस्तुत गर्नुभयो ।

एनटीयुसीका उपमहासचिव राजेश पालिखे, एक्सन एडकी महिला अधिकार विशेषज्ञ निशा कार्की, राष्ट्रिय महिला अधिकार मञ्चकी कोषाध्यक्ष सरिता घिमिरे, जिफन्टमा आबद्ध गृहश्रमिक युनियनका अध्यक्ष चन्द्रसागर लामा नेपालमा हालको महिला श्रमिकको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

महिलाको बिहेमा ५१ हजार दिने – बच्चा लागि थप ५ हजार दिने (लोसपा) को घोषणा

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेसी महिलाको बिहेमा ५१ हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले आफ्नो घोषणापत्रमार्फत जनाएको हो ।

यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रत्साहन दिने घोषणा पनि लोसपाले गरेको छ । यस्तै लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप ५ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ।

यसैगरी लोसपाले महिलाहरुलाई सार्वजनिक यातायात निःशुल्क गर्ने, रोजगारमा प्राथमिकता दिने , निःशुल्क उच्च शिक्षाको प्रबन्ध गर्नेलगायतका घोषणा पनि गरेको छ । महिलाहरुको स्वास्थ्य र जीवन बिना निःशुल्क गर्ने, छात्राहरुका लागि खेलकूद विकासका लागि विशेष खेलमैदान र प्रशिक्षणको व्यवस्था गर्नेलगायतका आकर्षक कार्यक्रम पनि लोसपाले घोषणापत्रमा समेटेको छ ।​

ई–सिम उपलब्ध गराउने तयारीमा नेपाल टेलिकम

काठमाडौँ नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।

अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (Wearable Device) हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नु हुनेछ भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्नु हुनेछ ।

किसान कल सेन्टर’मा गुनासो आउने क्रम बढ्दो

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘किसान कल सेन्टर’मा गुनासो तथा जिज्ञासा आउने क्रम बढेको छ ।

कृषि उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यका साथ विसं २०७२ फागुनदेखि सञ्चालनमा आएको उक्त कल सेन्टरमा अहिले दैनिक तीन दर्जनभन्दा बढी गुनासो तथा जिज्ञासा आउने गरेको वरिष्ठ कृषि प्रसार अधिकृत सरोजकान्त अधिकारीले जानकारी दिनुभयो ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन किसानलाई सरकारको तर्फबाट उपलब्ध गराउने सेवालाई प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने भएकाले किसान कल सेन्टरको स्थापना गरिएको उहाँको भनाइ छ ।

स्थापनाकालमा दैनिक एक घण्टामात्र सञ्चालन हुँदै आएको उक्त कल सेन्टरलाई पछिल्लो समय विशेषज्ञ राखेर हप्ताको आइतबारदेखि शुक्रबारसम्म नै सञ्चालनमा ल्याइएको वरिष्ठ कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो ।

उक्त सेवा प्रदान गरेसँगै किसानले आइतबार खाद्यान्न, बाली संरक्षण, मौरीखेती, रेशमखेती, च्याउखेती, कृषि बजार, फलफूल, तरकारी पुष्पखेती, माटोसम्बन्धी विषयवस्तु, पशुपक्षीपालन, उत्पादन प्रविधि, घाँस तथा पशु आहारका बारेमा बुझ्न पाउनेछन् ।

यस्तै सोमबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी, पुष्पखेती र मत्स्यपालनसम्बन्धी जिज्ञासा राख्न सक्नेछन् भने मङ्गलबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती, उत्पादन प्रविधि, घाँस तथा पशु आहार र चरन व्यवस्थापनका बारेमा जिज्ञासा राख्न पाउनेछन् ।

यसैगरी, बुधबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती तथा माटोसम्बन्धी विषयवस्तु र बिहीबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती, फलफूल, तरकारी पुष्पखेती तथा माटोसम्बन्धी र उत्पादन प्रविधि र चरन व्यवस्थापनका सम्बन्धमा जिज्ञासा राख्न सक्ने वरिष्ठ कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो । शुक्रबार भने खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती र मत्स्यपालनका बारेमा जिज्ञासा राख्न सक्नेछन् ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रबाट सञ्चालनमा आएको उक्त कल सेन्टर आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने प्रशिक्षण केन्द्र प्रशासन शाखाका अधिकृत भावना पौडेलले जानकारी दिनुभयो । उक्त कल सेन्टरमा १६६००१९५००० टोल फ्रि नम्बरमा फोन गरेर कृषिसम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने अधिकृत पौडेलले बताउनुभयो ।

मोरङमा दुई नक्कली चिकित्स पक्राउ

काठमाडौं – मोरङमा दुई नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतको दार्जिलिङका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा–३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल छन् ।

मोरङ प्रहरीका प्रमुख शान्तिराज कोइरालाका अनुसार दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएका थिए ।

उनीहरुलाई जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको कोइरालाले बताए ।

एमाले सम्पूर्ण हिसाबले कुहिएको र दक्षिणपन्थी भासमा भासिएकाे: अध्यक्ष नेपाल

काठमाडौं-नेकपा एमाले सम्पूर्ण हिसाबले कुहिएको र दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नुपरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

उनले कम्यनिष्ट आदर्शलाई साकार पार्न क्रान्तिकारी स्पिरिटलाई जोगाएर अघि बढ्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यका साथ नयाँ पार्टी गठन गरेको दावी समेत गरे ।

एकीकृत समाजवादी र माओवादीबाट बहिर्गमित पूर्वलडाकाहरूसँग पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न, आन्दोलनलाई जोगाउन नेकपा एकीकृत समाजवादी खोलेका हौँ ।’

उनले भने, ‘पार्टीले निर्माणको आठ महिनामै यति धेरै सफलता हासिल गरेका छौँ । हामी लक्ष्यमा अवश्य पुग्ने छौँ ।’

लोसपाको घोषणापत्रः ‘निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्म’

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, अनुसशासित, सुशासित र भ्रष्टाचारयुक्त स्थानीय सरकारलगायत महत्वकाङ्क्षी अवधारणासहित पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गरेको छ ।

लोसपाले प्रस्तावनामा अर्थ–राजनीतिक परिदृश्य र राजनीतिक दलबारे अवधारणामा वर्तमान राजनीतिक परिस्थिति र नेतृत्व, लोकतन्त्रको अभ्यास र नागरिकको भूमिका, अर्थतन्त्रको अवस्था तथा संविधान संशोधनको अपरिहार्यताबारे दृष्टिकोण उल्लेख गरेको छ ।

पार्टी कार्यालय बबरमहलमा आज आयोजित पत्रकार सम्मेलनमा लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतोलगायत नेताहरुले पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभयो । लोकतान्त्रिक समाजवादको विचारधारा अङ्गालेको लोसपाले १० वैचारिक धरातल र २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

सहभागितामूलक समावेशी लोकतन्त्र, पहिचानसहितको सङ्घीयता, स्वतन्त्र र समावेशी न्यायपालिका, स्वतन्त्र, स्वच्छ, प्रविधियुक्त सबै तहको निर्वाचन, समावेशी र समतामूलक राज्यव्यवस्था, साझा र बहुसांस्कृतिक, राष्ट्रियतालाई पार्टीको धरातलका रुपमा लिएको छ ।

यस्तै नेपाल सुहाउँदो लोकतान्त्रिक अर्थतन्त्र, राष्ट्रहितमा सन्तुलित विदेश नीति, सुशासन, सदाचार र भ्रष्टाचारमुक्त, समाज र पर्यावरणीय सन्तुलन र संरक्षणबारे पार्टीको धारातालका रुपमा व्याख्या गरिएको छ ।

त्यसैगरी प्रतिबद्धतामा सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, सहज र छरितो सेवा प्रवाहको विषय उठाएको लोसपाले स्थानीय निकायमा कर्मचारी भर्ना छनोट स्थानीय तहबाटै हुनुपर्ने धारणा राखेको छ ।

महिलामैत्री पूर्वाधार, कृषि सेवा विस्तार, युवाको सन्तुलित विकास र खेलकूद पूर्वाधार निर्माण, ग्रामीण सडक, थप पर्यटकीयस्थलको पहचिान र पूर्वाधार विकास, सहरी हरितक्रान्ति, व्यवस्थित र सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकार सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति, विशेष नगर, विशेष अवसर र विशेष व्यवस्थालाई लोसपाले आफ्नो प्रतिबद्धतामा समेटेको छ ।

सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरुले विगतदेखि नै उडाउँदै आएका मुद्दा यथावत् रहेको भन्दै मधेसी, महिलासहित सम्पूर्ण उत्पीडन र पछाडि परेका वर्गको मुक्ति सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि शान्तिपूर्ण सङ्घर्ष जारी रहने बताउनुभयो ।

उहाँले सम्पूर्ण महिला, मधेसी, शिल्पी÷दलित, थारु, मुस्लिम, आदिवासी जनजाति, पिछडावर्ग, अल्पसङ्ख्यषक, सिमान्तकृत, विपन्न वर्गलगायत बहिष्करण तथा वञ्चितीकरणमा परेकाको पहिचान र अधिकारका लागि निरन्तर लागिपर्ने अठोट व्यक्त गर्नुभयो ।

अध्यक्ष ठाकुरले हरेक विभेदबाट मुक्त नागरिकता वितरणको सुनिश्चितताको परिणाममुखी र लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँ तहमा नै लोकतन्त्र, सुशासन र जनकल्याणलाई स्थापित गर्न आगामी स्थानीय निर्वाचनलाई अवसरका रुपमा सबै मतदाताले प्रयोग गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

लोसपाले संविधानमा समेटिनुपर्ने विषय, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्नेमा जोड दिएको छ ।

लोसपाका नेता महतोले लोसपालाई स्थानीय निर्वाचनलाई विगतमा उठाइरहेको मुद्दा र उत्पीडनमा परेका जातजाति समुदायको पहिचान र अधिकारको सङ्घर्षको आधार तयार गर्ने कडीका रुपमा स्थानीय तह निर्वाचनलाई लिएको बताउनुभयो ।

उहाँले फरक पार्टीको फरक पहिचान र विचारधारा हुने भएकाले सकभर स्थानीय तहमा गठबन्धन नगर्ने भन्दै कतिपय स्थानमा गठबन्धन भएको जानकारी दिनुभयो ।

थप १४ जनामा कोरोना संक्रमण पुष्टि -१९ जना कोरोना मुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालभरीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । साथै देशभरमा कोरोना बाट कसैको मृत्यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २४३ रहेको छ ।

सप्तरीमा खुकुरी-बन्दुक देखाएर गरगहना लुटपाट

काठमाडौं – सप्तरीको राजविराजमा बन्दुक देखाएर बिहीबार राति सुनको गरगहना लुटपाट भएको छ ।

राजविराजको सुरुङ्गा नगरपालिका वडा -७ स्थित मिथिलेश मिश्रको घरमा राति २:३० बजे ६ जनाको समूहमा आएको नकावधारी समूहले ६ लाख बराबरको गरगहना लुटेर लगेका छन् ।

लुटेको घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डाकाहरुले खुकुरी, बन्दुक देखाएर सुन चाँदीको गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

‘मास्क तथा कपडाले मुख छोपी खुकुरी र बन्दुक जस्तै देखिने हतियार देखाएर ६र७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको सिंहले बताए ।

पीडित परिवारजनले भने करिब ५० लाख रुपैयाँ बराबरको नगद र गरगहना लुटेर लगेको दाबी गरेका छन् । डकैतीबारे प्रहरीले अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।

हेटौँडामा बर्डफ्लू भेटियो-तीन हजार ४५३ कुखुरा नष्ट

काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौँ पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।

पशुपक्षी तथा मत्स्य निर्देशनालय हेटौँडाका निर्देशक गोपालप्रसाद शाहले बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार बर्डफ्लू भएको स्थानमा नियन्त्रण तथा नियमन गरिने र कानूनी प्रवधानअनुसार किसानलाई राहत उपलब्ध गराउने बताउनुभयो ।

सत्तारुढ दलहरुले चुनावी गठबन्धन निर्वाचनकै मजाक : राजेन्द्र महतो

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप लगाए ।

शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गरे ।

देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाइ थियो । उनले भने, ‘जनतासँग मजाक भइरहेको छ । यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो । यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन रु विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ ।’

चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित- सांघाइमा मात्र ५ हजार ४८७

काठमाडौं – चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समयमा यहाँ चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस सहरमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

पछिल्ला हप्ताहरुमा चीनको सांघाइ सहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन् । सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते

काठमाडौं – जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् ।
प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो।

इजरायलको प्रहरीले भनेअनुसार झडपकारीहरूले अल-अक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ।

ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने

काठमाडौं – काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।

कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।

उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो ।

उहाँले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गर्नुभयो ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।