शिवरात्रिमा पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन

ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो ।

महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङकोसमेतको प्रबन्ध मिलाएको छ ।

टाढा–टाढाबाट पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भएकाले भक्तजनको सुविधाका लागि महाशाखाले उक्त व्यवस्था मिलाएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतोपुल, गौरी घाटबाट गौशालातर्फ जाने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ ।

पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनका लागि सिफलचौर, गुह्येश्वरीपारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलङ्गा करिडोरमा पर्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

भक्तजन तथा सवारी साधनको चाप हेरेर विभिन्न नाकाबाट आवश्यकताअनुसार डाइभर्सन गर्नुका साथै प्रवेशमा रोकसमेत लगाइने भएको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातो पुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जयबागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगङ्गा क्षेत्र भई चल्ने मालबाहक सवारी साधन सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने समेत बताउनुभयो ।

महाशिबरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महाशाखाले ८०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ ।

महाशाखाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चावहिल, गौशाला, तिलगङ्गा हुँदै अन्य स्थानमा जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

पशुपतिनाथ क्षेत्र झिलिमिली

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ ।

सो कार्यका लागि करिव रु ५० लाख खर्च भएको बताइएको छ ।

यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यस क्षेत्रलाई रङ्गीचङ्गी र झिलिमिली बनाएका छौँ, अहिले यहाँ स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ ।”

खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएपछि यो क्षेत्र झनै मनमोहक र अर्कषक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ ।

हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ ।

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध: अध्यक्ष निरौला

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताउनुभएको छ ।

झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्नुहुदै उहाँले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताउनुभयो ।

देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्नुहुँदै अध्यक्ष निरौलाले भन्नुभयो,“भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या हटाउँदै भूमिमा सबैको अधिकार स्थापित गर्ने गरी काम थालेका छौं ।”

सम्झौतापत्र आदानप्रदानका क्रममा पालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँँपालिकाभित्रका सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई सहज ढङ्गले जति छिटो जग्गाको धनीपूर्जा प्रमाणपत्र दिन आग्रह गर्नुभएको थियो ।

जनमुखी प्रशासन निर्माण अभियानमा मुख्य सचिब बैरागी

काठमाडौँ-जति बेला परराष्ट्र सचिव शंकरदास बैरागीलाई नेपाल सरकारले मुख्यसचिब पदमा नियुक्त गर्‍यो त्यो सँगै नेपालको निजामती क्षेत्रमा निकै हल्ला र टिकाटिप्पणी भए ।

बेलायतको राजदुतमा नियुक्त हुन २०७७ असोज १५ गते पुर्व मुख्य सचिव लोकदर्शन रेग्मीले राजिनामा दिएसँगै सरकारले परराष्ट्रसेवा तर्फबाट सेवा प्रवेश गरेका शंकरदास बैरागीलाई मुख्य सचिवको जिम्मेवारी दिएको थियो ।

प्रशासन सेवाका सचिवहरुमात्र मुख्य सचिव बन्ने गरेको ईतिहास बदल्दै बैरागीलाई प्रथमतः मुख्य सचिवको जिम्मेवारी दिईएको थियो ।

सरकारको यस निर्णयबाट रुष्ट बनेका प्रशासन सेवा तर्फका प्रत्यासीहरुले बैरागीले मुख्य सचिवको जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै निरन्तर आलोचना मात्रै होइन असहयोग र विरोध गरिनै रहे ।

उक्त विरोधमा प्रशासन सेवा तर्फका शिशिर ढुङ्गानाको नेतृत्वमा केदार बहादुर अधिकारी, महेश्वर न्यौपाने, बैकुण्ठ अर्याल लगायत एउटा अर्थ पृष्ठभुमिका सचिबहरुले भित्र भित्र अदृश्य संगठन नै खडा गरेको धेरै लाई मेसो भएन ।

जस्तोसुकै चुनौती आएपनी कर्म पछिको परिणाममा बिश्वास राख्ने मुख्य सचिब बैरागी कहिले पनि निरास देखिनुभएन, हुन त उहाँले आफु बिरुद्दको यो भुसको आगो जस्तो भित्र भित्र फैलिएको त्यो राकोको ताप सेवा सकिन लागेका सचिब ढुंगानाले मुख्य सचिब पदमै आखा लाएको त्यतिबेला चाल् पाउनुभयो जब अर्थको ग्याङले विभिन्न पार्टी अध्यक्ष समक्ष ढुंगानाको लबिङ गरिरहेको बुझे अनी उहाँ झस्किन पुग्नुभयो ।

तर पनि आफ्नो जिम्मेवारीमा कहिले पनि सम्झौता नगर्ने र सरल अनि सबैतहका कर्मचारीहरूलाई समान दृष्टिले हेर्ने उहाँको कार्य शैलीको अगाडी ढुंगाना अनि न्यौपाने दाजुभाइले तय गरेका अदृश्यजालका षडयन्त्रहरु धेरै बेर टिकेन ।

अपदस्त गर्ने योजना फेलभए सँगै अर्थको वर्षौं देखीको सेटिङ थाती राखेर सेवा सकिए पछि घर फर्किएका ढुंगाना पछि त्यो टीमको नेतृत्वमा न्यौपाने मैदानमा त छदैछ्न तथापि असल नियतका साथ कर्म क्षेत्रमा लम्किरहनु भएका मुख्य सचिब बैरागीका अर्जुन दृष्टि अबका दिनमा कर्ममा मात्रै होइन गैडाले गर्ने माया चिन्न सक्नुपर्नेमा धेरै शुभेच्छुकहरुले जोड दिएको बुझिन्छ ।

बिगतमा उहाँको मुख्य सचिवमा नियुक्ति सँगै उनीमाथी परराष्ट्र बुझेको तर प्रशासन नबुझेको भन्दै निकै तुच्छ अनि सस्ता टिकाटिप्पणी गरिएको थियो ।

यि यावत आरोप प्रत्यारोपलाई चिर्दै मुख्य सचिव शंकरदास बैरागीले आफ्नो खुबी तथा क्षमता नेपालको समग्र प्रशासन क्षेत्रमा प्रस्तुत गरेर देखाईदिएको पछिल्ला गतिविधिबाट बुझ्न सकिन्छ ।

पछिल्लो उनका कार्य देखेर उहाँको बिरोध गर्ने जमातमा जोडिनेहरुसमेत उनको तारिफ गर्न थालेका छन् । उहाँको पछिल्लो रफतार नियाल्दा उनका विरोधीहरु समेत चकित परेका छन् ।

हाल करिव डेढ बर्ष मुख्य सचिबको हैसियतले प्रशासनको बागडोर समाल्नु भएका बैरागीको जिम्मेवारीमा परिपक्वता मात्रै देखिएको छैन सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री समेतले उनको कार्यको जस पाएको देखिन्छ ।

प्रशासन क्षेत्रको चिन्ता त उहाँमा देखिएको छ त्यो सँगै नेपालको परराष्ट्र सम्बन्धमा समेत ब्यापक सुधार आएको छ।

नेपालको अन्तराष्ट्रिय सम्बन्ध ईतिहासकै उत्कृष्ट स्तरमा रहेको अन्तराष्ट्रिय सम्बन्धका जानकारहरुले बताउने गरेका छन् ।

उहाँले आफ्नो बाकी कार्यकाल सम्पन्न गरुन्जेल सम्म नेपालको प्रशासन क्षेत्रमा महसुस हुने खालको परिवर्तन देखिने जानकारहरुले टिप्पणी गर्ने गरेका छन् ।

सुरुमा निजामती क्षेत्रबाटै आलोचना र बिरोध खेप्नु भएका मुख्य सचिव बैरागी आफ्नो कार्यक्षमता र ब्यवहारले प्रशासन क्षेत्रको कायापलट गर्ने तर्फ उहाँका पाइलाहरु अग्रसर भएको देखिन्छ ।

देश विदेश घुमेको र अन्तराष्ट्रिय स्तरमा प्रशासन सेवा र त्याहाको तौर तरिकाबाट जानकार रहनु भएको बैरागीले नेपालको प्रशासन क्षेत्रमा अन्तराष्ट्रिय स्तरको सुधार गर्ने तर्फ आफुलाई केन्द्रित गर्नु भएको छ ।

कागज मुक्त प्रशासन, प्रशासनमा सुचना प्रविधिको अधिकतम प्रयोग, सरल सहज र छिटो छरितो प्रविधी मैत्री प्रशासन सेवा ब्यवस्थापनमा र बिकाशमा उहाँ अग्रसर रहनु भएको छ ।

२०२२ साल माघमा पर्वतमा जन्मिनु भएका मुख्य सचिव बैरागी २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गर्नु भएको हो ।

२०७२ सालमा परराष्ट्र सचिव हुनुभएका मुख्य सचिव बैरागी परराष्ट्र मामलामा बिज्ञ हुनुहुन्छ ।

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ ।

अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्थानीयवासीका लागि बिक्री खुला गरेको थियो ।

ओखलढुङ्गा र रामेछाप जिल्लामा रहेको आयोजना आसपासका बासिन्दाले फागुन १६ सम्म आवेदन दिनुपर्ने अन्तिम म्याद तोकिएकामा सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएका कारण आवेदनको समय फागुन २३ सम्म थप गरिएको कम्पनीले जनाएको छ ।

आह्वान पत्रानुसार कम्पनीले आफ्नो जारी पूँजी रु तीन अर्ब १२ करोड ५० लाखको १० प्रतिशतका दरले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजनाबाट पीडित बासिन्दाबाट शेयर खरिद गर्न दर्खास्त आह्वान गरेको थियो ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ ।

आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्ने

कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ ।

आयोजनाबाट पीडितक्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि दर्खास्त दिन पाउने छन् ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसका साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा शाखा तथा आयोजनास्थलबाट पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार केयर रेटिङ कम्पनीले ग्रीन भेन्चर्सलाइ ‘केयरनपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको थियो ।

रेटिङअनुसार कम्पनीको अवस्था र दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको हुन्छ ।

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ ।

आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो ।

शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९।३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताउनुभयो ।

अनुसन्धानको क्रममा शङ्कास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ ।

बिहान राजमार्गमा शङ्कास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।

अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्त

अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्त

काठमाडौँ-श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्त

पर्यटन शान्ति तथा खेलकुदमन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौ-पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गराएको हो ।

आयोगले विशेष अदालतमा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गराएको हो ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार मन्त्री पदमा बहाल रहँदा चार करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बराबर रकम पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणसहित अभियोगपत्र दर्ता गरिएको छ ।

श्रेष्ठ २०६९ चैत ६ गतेदेखि २०७० साल माघ २९ गतेसम्म मन्त्री पदमा रहेका थिए ।

एमसिसी संसदबाट अनुमोदन, ऊर्जा र यातायातको विकासमा कोसेढुङ्गा

संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।

संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो ।

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको व्याख्यात्मक घोषणासहितको प्रस्तावलाई ध्वनिमतले पारित गरिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै ‘वेल’ घेराउ र नाराबाजी जारी राखेको थियो ।

अर्थमन्त्री शर्माले बैठकपछि एमसिसीका सम्बन्धमा उत्पन्न प्रश्नलाई स्पष्टका साथ संसदबाट अनुमोदन भएको र अब आर्थिक योजनाका रुपमा कार्यान्वयनको चरणमा आएको बताउनुभयो ।

उहाँले यो परियोजना आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

विसं २०६८ मा तत्कालीन नेकपा माओवादीका नेता डा बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि सुरु भएको एमसिसी सम्झौता प्रक्रियामा नेपालका लगभग सबैजसो दलहरू र नेतृत्व प्रत्यक्ष रुपमा सहभागी भएका छन् ।

विसं २०७४ मा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीका रुपमा ज्ञानेन्द्रबहादुर कार्की रहेका बेला एमसिसी अनुदान सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्ले स्वीकृत गरी कम्प्याक्टमा हस्ताक्षर भएको थियो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल माघ २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट यो कम्प्याक्ट अनुमोदनका लागि संसद्मा पेस गर्ने निर्णय गरी २०७६ असार ३० गते संसदमा दर्ता गराएको थियो ।

कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अब अरु देशसँग पनि यसरी नै अनुदान सहयोग लिनुपर्ने र यसरी नै संसदमा छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले सांसदहरुले जनभावना विपरितका कुनै पनि काम गर्न नसक्ने भन्दै सदनलाई विश्वास गर्न आमजनतालाई आग्रह समेत गर्नुभयो ।

एमसिसी सम्बन्धी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ ।

एमसिसी नेपाल सरकारलाई ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानका सडकखण्डहरूको मर्मतसम्भारका लागि ५०० मिलियन अमेरिकी डलर अनुदान सहायताका रूपमा उपलब्ध गराउने विषयसँग सम्बन्धित छ ।

सम्झौता कार्यान्वयनपछि विद्युत् प्रसारण लाइनबाट रु दुई करोड ३० लाख तथा सडक मर्मत कार्य १० लाख जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यी परियोजनाहरूबाट ५० लाख घरधुरी लाभान्वित हुनेछन् ।

यसका अतिरिक्त यो सम्झौताको कार्यान्वयनबाट नेपालको ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि एमसिसी अमेरिकी डलर ५०० मिलियन (हालको विनिमय दरअनुसार करिब ६० अर्ब रुपैयाँ अनुदानका रूपमा प्राप्त हुने छ ।

जनता समाजवादी पार्टीको सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताउँदै नेपालको विकासका लागि आएको सामान्य अनुदान सम्झौतालाई जानेर/नजानेर गिजोलिएको भएपनि संसदबाट स्पष्ट पारिएको बताउनुभयो ।

विकासका लागि बजार, श्रम, पूँजी र प्रविधि चाहिने भन्दै उहाँले नेपाललाई अहिले पूँजी र प्रविधि जरुरी रहेको र त्यसका लागि यस्ता परियोजनाबाट यातायात, बिजुलीजस्ता विकासको पूर्वाधारमा योगदान पुग्ने बताउनुभयो ।

काठमाडौँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटे हुँदै हेटौंडा र दमौली हुँदै बुटवलसम्म ४०० केभी क्षमताको करिब ३०० किलोमिटर लामो प्रसारण लाइन निर्माण भई सो आसपासका विद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रसारणमा सहयोग पुग्नाका साथै देशभर प्रसारण लाइनको जालो फैलाउन मद्दत पुग्ने बताइएको छ ।

सडक खण्डहरूको अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको मर्मत भई यातायात सुविधा सहज हुने र मर्मत कार्यको अनुभव अन्य सडकखण्डमा समेत उपयोग गर्न सकिने सरकारले जनाएको छ ।

सम्झौताको कार्यान्वयनका लागि अन्य सबै पूर्वसर्तहरू पूरा भइसकेकाले यसको अनुमोदनपश्चात् यसबाट सञ्चालन हुने आयोजनाहरू सुरु भएको मितिले पाँच वर्षभित्र सम्पन्न भई आयोजनाको प्रतिफल समयभित्रै प्राप्त हुनेछ ।

मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका स्वास्थ्य सस्थामा ५० प्रतिशत दरबन्दी खाली रहेकोले पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

उहाँले सो अवसरमा स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न १०० दिने कार्यक्रम सार्वजनिक समेत गर्नुभयो । सार्वजनिक गर्नुभएको प्राथमिकतामा प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगको नियन्त्रणका लागि रणनीति तयार गर्ने, स्वास्थ्य बीमा बोर्डको प्रदेश कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने, मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गर्न आवश्यक तयारी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने छन् ।

यसैगरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्र्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी, इनरुवा, अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने छन् ।

यसैगरी प्रदेशभरिका स्वास्थ्यकर्मीका रिक्त पदको विवरण सङ्कलन गरी लोकसेवामा पठाउने, कोभिड–१९ उपचार केन्द्रको दीर्घकालीन कार्ययोजना तयार गर्ने, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको लागि जग्गाको व्यवस्था गर्नेलगायतका छन् ।

उहाँले अस्पतालमा उपचारार्थ आउने बिरामीलाई ठगी हुने कार्यलाई रोकथामका लागि मन्त्रालयमा एक समिति गठन गरी विशेष अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

पल शाहविरुद्ध अर्को जबरजस्ती करणीसम्बन्धी जाहेरी

काठमाडौं-अभिनेता पल शाहविरुद्ध अर्को जबरजस्ती करणीसम्बन्धी जाहेरी निवेदन परेको छ ।

इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरीका लागी निवेदन परेको प्रहरी कार्यलयले बताएको छ ।

आइतबार अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरीको निवेदन परेको हो ।

प्रहरीका अनुसार गैंडाकोटकी युवतीले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।

आफन्तहरूसहित पुगेकी युवतीले एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका जाहेरीमा बताएकी छिन् ।

प्रहरीले जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने टुंगो लाग्ने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।

लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो ।

आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय

काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म गरेका प्रयासहरूबाट उक्त निर्णयमा पुगेको बताएको छ ।

बैठकपछि गंगालाल तुलाधरले व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले अमेरिकाले अस्वीकार गरे सो घोषणा एमसीसीको अंग नबन्ने र त्यो विषय पाँच दलीय बैठकमा समेत छलफल भएको बताए ।

राष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिमा साधुसन्तलाई दिने सामग्री सङ्कल्प

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई वितरण गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ ।

शीतल निवासमा आज बिहान १०ः३० बजेको साइतमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई बिदाइका दिन वितरण गरिने राडी, पाखी, बख्खु, कमण्डलु, च्यादर, फलफूल र सिदासहितको सामग्री उहाँले विधिपूर्वक सङ्कल्प गर्नुभएको हो ।

सङ्कल्प गरिएको सामग्री प्रतिष्ठित साधुसन्तलाई प्रदान गरिने गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक वर्ष फागुन कृष्ण एकादशीका दिन यी सामग्री सङ्कल्प गर्ने विधि छ ।

यी सामग्री फागुन कृष्ण औँसीका दिन साधुसन्तको बिदाइका बेला दिइन्छ ।

फागुन कृष्ण त्रयोदशीको रात्रिमा महाशिवरात्रि पर्व मनाइन्छ ।

यसवर्ष महाशिवरात्रि पर्व फागुन १७ गते मङ्गलबार परेको छ ।

राष्ट्राध्यक्षबाट साधुसन्तलाई दिइने सामग्रीको सङ्कल्पपछि आज बिहानदेखि नै पशुपति क्षेत्र र थापाथली, त्रिपुरेश्वर क्षेत्रका अखडामा भण्डारा सुरु गरिएको छ ।

पशुपतिनाथ मूल मन्दिरभित्र बस्ने नागाबाबालाई भने आज बेलुकीदेखि नै खानपिन र धुनीको व्यवस्था गरिने संस्थान पशुपति कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

यस वर्ष कोरोना जोखिम कम हुँदै गएको र धेरैले तेस्रो चरणसम्मको खोप लगाएकाले पनि देशविदेशबाट आउने साधुसन्तको सङ्ख्या बढेको छ ।

यस वर्ष बिदाइका दिन साधुसन्तलाई सम्मानका साथै अन्तक्र्रिया कार्यक्रम पनि गर्न लागिएको संस्थानले जनाएको छ ।

त्यसका लागि साधुसन्तको गणनासमेत सुरु गरिएको जनाइएको छ ।

पशुपति क्षेत्रमा आजदेखि साधुसन्तलगायत अन्य आगन्तुकको विशेष भीड देखिन्छ ।

प्रतिनिधिसभा बैठक एक घण्टा सर्‍यो

प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ ।

आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८” पेश गर्नु हुने र अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्”, भन्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् ।

आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए ।

पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिनुभएको थियो ।

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ ।

त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।