काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परे: गिरी

काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्। 

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनको गुनासो थियो।

स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले मन्त्रीका रुपमा आफूले व्यतित रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको बताए। उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए।

स्वास्थ्यमन्त्रीको रुपमा यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले जुटेँ। सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तरक्रिया गर्ने, कहाँ के समस्या छन्? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गरेँ भन्ने लाग्छ’, उनले भने, ‘अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो। त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो। स्वास्थ्य मन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन।’

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि बीमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्‍याउनुपर्ने उनको सुझाव छ। 

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे।

उनले स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए।

जनमत पार्टी सरकारबाट बाहिरिँदैन : राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् । गत १० पुसमा एमालेसहित जनमतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

१० पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दल सरकारबाट बाहिरिँदा जनमत भने सरकारमै रहने भएको हो ।

काठमाडौंमा मंगलबार भएको जनमतनिकट विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीलाई जनमत अध्यक्ष राउतले आफूहरु सरकारबाट नबाहिरिने जानकारी दिएका हुन् । सरकार छोड्नुपर्ने जनमत कुनै परिस्थिति नआएको उनको भनाइ छ ।

राष्ट्रपतिमा स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्तिको रुपमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको अध्यक्ष राउतले जानकारी दिए ।

राउतले भने, ‘सभामुख र राष्ट्रपति सकेसम्म एउटै दलको नहोस् भन्ने हामी चाहन्छौँ । किनभने त्यसले देशमा निरंकुशता जन्माउन सक्छ भनेर प्रशस्त आधारहरु रहेका छन् । त्यसैले हामीले नयाँ गठबन्धनले प्रश्तावित गरेको राष्ट्रपतिलाई समर्थन दिने पक्षमा रहेका छौँ ।’

नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने उनले बताए ।

नेप्सेमा ३.८१ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिनको कारोबार आज मंगलबार झिनो अंकले घटेको छ । आज नेप्से ३.८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो ।      

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्से र कारोबार रकम (दुबै) घटेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको हो। यस दिन सिद्धार्थ इन्स्योरेन्सको मूल्य भने ६.४१ प्रतिशत बढेको छ। यस दिन धेरै स्टकहरुको शेयरमूल्य घटेपनि गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन प्रिमियर इन्स्योरेन्स, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सामलिङ्ग पावर र तारागाउँ रिजेन्सी होटल्सको शेयरमूलय साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र सानिमा माइ हाइड्रोपावरको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन लगानी, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

 नेपालले मलेसियालाई १० विकेटले हरायो

यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै लगातार चौथो खेलमा जित निकालेको छ।

नेपालले आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेलमा खेल्ने सम्भावना बलियो बनाएको हो। अन्तिम खेलमा आयोजक युएईलाई हराए नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा पुग्नेछ।

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै विकेट नगुमाइ पार गर्‍यो। 

नेपालको जितमा दीपक बोहराले नटआउट ३८ रन र अर्जुन कुमालले नटआउट २१ रन जोडे। बोहराले २९ बलमा ८ चौका र कुमालले २५ बलमा ३ चौका हिर्काए।

त्यसअघि युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको थियो। 

मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२-१२ रन जोडे। 

मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए। उनले १० ओभरमा ११ रन खर्चिए। आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए। 

नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। युएईलाई पराजित गरे नेपालले सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्नेछ।

प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाएको थियो।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।

जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्छ’: कार्यकारी निर्देशक कुलमान

काठमाडौँ । मङ्गलवार काठमाडौँमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपालमा पछिल्लो समय देखि जलविद्युतमा उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन्।

उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत् बढी हुने उल्लेख गरे। उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए। नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको उनको भनाइ छ।

निर्देशक घिसिङले सन् २०४२–४३ सम्ममा २० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए। उनले पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको बताए। उनले ११ हजार मेगावाट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावाटको पीपीए भइसकेको बताए।

त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए। उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गरे। जलविद्युत उत्पादनको लागि नयाँ नयाँ प्रोजेक्टहरू बनाउनको लागि अहिले प्राप्त भएको लगानी प्रतिविद्धताले मात्रै अपुग हुने उनले बताए।

इलाममा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

इलाम जिल्लामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको छ । इलामको सन्दकपुर गाउपालिकास्थित माइमझुवालाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आज बिहान १० बजेर ३ मिनेटमा गएको भूकम्पको कम्पन इलामसँगै पाँचथरका केही भू-भाग समेत महसुस भएको थियो । यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

आइपिओ निष्कासन गर्दै: मोदी इनर्जी लि.

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् रु २९ करोडको रु एक सय अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि निष्कासन गरिने भएको छ ।

त्यस्तै सार्वजनिक निष्कासन गरिने सेयरमध्ये चार लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम एक लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा आगामी चैत २४ मा हुने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्ने छ ।

स्थानीय बासिन्दाले सेयर खरिदको आवेदन सन्राइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक तथा कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन बिबी प्लस इस्यूअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको छ ।

मलेसियाले नेपाललाई दिए ७३ रनको झिनो चुनौती

काठमाडौं । यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो चुनौतीदिएको छ। युएईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको हो ।

मलेसियाका लागि मुहम्मद अक्रम मलेकले सर्वाधिक २६ रन बनाए भने हाइरिरी हरिसन र स्याहिर स्यामेलले समान १२/१२ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका दीपेश कँडेलले ४, आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले एक विकेट लिए। नेपालले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।

यस्तो छ आज फागुन १६ गते मंगलबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, सचेत रहनुहोला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवार सँग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तसँग भेटघाट पनि पाइनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । भ्रमणमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

आज उम्मेदवारी फिर्ता लिन सक्ने समय

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि दिइएको उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् । उम्मेदवारले उक्त निर्वाचनमा प्रतिप्रस्पर्धा गर्न नचाहेमा फिर्ता लिन सक्ने भएका हुन् ।

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको लागि समय निर्धारण गरिएको छ । यहीँ फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । तथापि उनीहरुले उम्मेदवारी फिर्ता लिने सम्भावना कम छ । उम्मेदवारद्वय विरुद्ध हालसम्म उजुरी र दावी विरोध पनि परेको छैन ।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन् 

केन्द्र र प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्छ: थापा

काठमाडौं :  मंगलबार (अाज) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्ने बताएका हुन्। 

‘हामीलाई अगाडिको पाटो सजिलो छैन्। केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्छ। अब हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिने ठाउँ छैन्,’ उनले भने, हामीले जनताका बीचमा भनेका पूरा गर्नुपर्छ।’

महामन्त्री थापाले एमालेसँगकै गठबन्धन बलियो बनाएको भए पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ रहेको बताए। उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको बताए।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो। एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’

उनले राजनीतिप्रति इमान्दार भएर प्रधानमन्त्री प्रचण्डलाई मद्दत गरेर सरकारलाई सफल बनाउनुपर्ने बताए। 

‘प्रधानमन्त्रीलाई सबैले मद्दत गर्नुपर्छ। गठबन्धन बनेको दिनबाट चकचक गर्ने, उपद्रो गर्ने, लसपस गर्न थाल्नु हुँदैन। यो काम गर्नु हुँदैन। राजनीतिक नैतिकता चाहिन्छ। पाँच वर्ष गठबन्धन तलमाथि हुँदैन। झ्याल ढोका बन्द गरेर कोठाभित्र बसेर समझदारी गरे अनुसार पालना गर्नुपर्छ। सरकारलाई सफल बनाउनुपर्छ । 

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको पिकअप भ्यान प्रदेश २–०२–००१ च ०७४६ नम्बरको ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको प्रहरीले जनाएको छ । राजकुमारी र हरेराम कारमा सवार थिए ।

दुर्घटनामा १२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी गएराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । ती पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

१४ वटा निर्माण कम्पनीलाई कालाे सूचीमा राख्ने (सुचनासहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेका छन् ।

कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुनस् सूचना जारी गरेको छ ।

सूचना :-

ओलीलाई देउवाको पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।

सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाएका छन्।  ‘प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान हो’, शर्माले भने।

एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। एमालेले भने कांग्रेसले आफ्नै उम्मेदवार उठाएको भन्दै कांग्रेस बाहेकका दलसँग मत माग्दै पत्राचार गरेको थियो। 

यू-१९ क्रिकेट : नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मंगलबार मलेसियासँग खेल्दै छ ।

यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल अहिले सम्म अपराजित छन्।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।

मलेसिया भने आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको छ। नेपाल तीन खेलबाट ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

समान खेलबाट ६ अङ्क बटुलेको यूएई शीर्ष स्थानमा छ। यूएईले नेपाललाई रन रेटमा पछि पारेको हो। ६ राष्ट्र सम्मिलित छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ।