कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन शिक्षामन्त्री श्रेष्ठको आह्वान

काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारबाही गर्ने चेतावनी दिएकी छन्।

उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनु पर्ने बताएकी हुन्।

मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवम् प्राध्यापक र कर्मचारीलाई कारबाही गर्न समेत सम्बन्धित निकायलाई आह्वान गरेकी छन्।

‘म आह्वान गर्न चाहन्छु सबै जनालाई कानुनमा स्पष्ट भनिएको छ प्राध्यापक, शिक्षकहरुले राजनीतिक सदस्यता लिएमा पदबाट हटाइने व्यवस्था रहेछ। अब यो कार्यान्वयनको पाटोमा जानुपर्छ’, उनले भनेकी छन्।

बढ्याे पेट्राेलकाे भाउ, प्रतिलिटर कति पुग्याे ?

काठमाडाै । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएकाे छ । निगमले प्रतिलिटर चार रुपैयाँले पेट्राेलकाे भाउ बढाएकाे हाे । अब

पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर १ सय ७५ तिर्नु पर्ने भएकाे छ । नयाँ मूल्य आइतबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएकाे छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ ।

भारतबाट मूल्य बढेर आएकाले बढाउनु परेको निगमले जनाएको छ । निगमले डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

एकीकृत समाजबादीका अध्यक्ष नेपालले बालुवाटारमा एजेन्डा प्रस्तुत गर्दा बैठक निष्कर्ष बिहिन

काठमाडौँ । प्रदेश सरकार भागबन्डाका लागि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएसँगै बैठक अनिर्णीत बनेको हो ।

नेपालले सात प्रदेशमध्ये एकमा नेतृत्व दिनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने र आफूलाई बाइपास गरेर यसअघि गरेका निर्णयप्रति पश्चाताप गर्नुपर्ने अडान राखेको स्रोतको भनाइ छ । ‘पाँच दलको बैठकमा कुरा मिलेको छैन । सत्ता प्राप्तिको भर्‍याङ एकीकृत समाजवादी बन्दैन । पहिलो कुरा, सात प्रदेशमध्ये एक प्रदेश एकीकृत समाजवादीले पाउनुपर्छ । अर्को सबै राजनीतिक नियुक्तीमा सम्मानजनक सहभागिता हुनुपर्छ । यसअघि भएका निर्णयमा एमाले र माओवादीले पनि पश्चाताप गर्नुपर्छ । यथास्थितिमा विश्वासका मत दिन नसक्ने उहाँले अडान राख्नुभयो’, बैठकमा बागमतीमा विश्वासको मत दिन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले नेपालाई आग्रह गरेका थिए । तर, बैठकमा कडा रूपमा प्रस्तुत भएका नेपालले बागमतीसहित सबै ठाउँमा एकीकृत समाजवादीको पोजिसन क्लियर हुनुपर्ने अडान राखेको ती नेताको भनाइ छ । प्रधानमन्त्रीको सचिवालयले पनि प्रदेश भागबन्डामा कुनै सहमति नभएको बताएको छ ।

शीर्ष बैठक बिनानिष्कर्ष टुङ्गिएपछि सोमबार विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा परेका छन् । सोमबारसम्म एकीकृत समाजवादीसँग सहमति नभएमा बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने देखिन्छ ।

यसैबीच एकीकृत समाजवादीको प्रदेश संसदीय दलको बैठकले पनि यथास्थितिमा मुख्यमन्त्री जम्मकेट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । दलका नेता कृष्णप्रसाद शर्मा खनालले पाँच दलीय गठबन्धन राजनीतिक गठबन्धन नभएको भन्दै अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने रातोपाटीलाई बताए ।

तर, चैत १५ गते हाम्रो नेपाली पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराउँदा एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका राजेन्द्रमान श्रेष्ठले हस्ताक्षर गरेका थिए । त्यतिबेला तीन दलबाट संसदीय दलका नेताको हस्ताक्षर रहँदा एकीकृत समाजवादीबाट भने मन्त्रीको मात्रै हस्ताक्षर हुनुले पनि समाजवादी गठबन्धनप्रति खुसी नरहेको देखाउने नेताहरू बताउँछन् ।

पौडेलमाथि अनुसन्धान गर्न २१ दिन म्याद थप

काठमाडौँ । गैरकानुनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो ।

माघ ११ गते विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि फागुन २ गते पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो ।

अहिले पछिल्लोपटक पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

व्यापारी विशाल पण्डितसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेब मेहता, लेखा अधिकृत, इन्जिनियरसहित छ जना विरुद्ध मुद्दा दायर गरेको छ।

कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो । बसेरा होटलका मालिकसमेत रहेका पण्डित कोभिडको बेलामा ‍पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका व्यक्ति हुन् । करिब तीन करोड बिगो मागदाबी गरिइएको छ ।

व्यापरी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटकाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ ।

नरहरि घिमिरेका अनुसार तेस्रो हुने र पहिलो हुने फर्महरूले गरेको कवोल रकमको अन्तर २ करोड ८ लाख ६६ हजार ५० रुपैयाँ छ। आयोगले त्यति नै रकममा बिगो कायम गरेको हो। 

अर्बौंको माग दाबी सहित कोटिभिटीलाई राजस्वले हाल्यो मुद्दा 

काठमाडौँ । राजश्व अनुसन्धान विभागले सवा १० अर्ब बढी माग दाबीसहित मुद्धा दायर गरेको छ । सम्पत्ति न्युज लाई प्राप्त जानकारी अनुसार विभागले आइतबार कोटीभिटी नेपाल प्रा. लि.विरुद्ध कर छली अभियोगमा १० अर्ब ३६ करोड ४५ लाख २२ हजार छ सय ४२ सजाय माग दाबीसहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को देहाय (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै विभागले मुद्धा चलाएको हो ।

विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार मध्यम स्तरीय करदाता कार्यालयलगायत विभिन्न निकायमा प्रचलित कर कानुन बमोजिम बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरेको पाइएसँगै विभागले अनुसन्धान शुरु गरेको थियो ।

बजारको व्यवसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदावी गरी अभियोग दायर गर्ने महानिर्देशकको यो हिम्मत राजस्व अनुसन्धान बिभागको पहिलो इतिहास हो।

मुख्य कम्पनीको लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनीको व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनीको नेपालस्थित कानूनी रुपमा मान्य प्रतिनिधि समेत देखिँदा मुल्य अभिबृद्धि कर ऐन, २०५२ को अनुसूचि–२ को दफा २(क) आकर्षित हुने नदेखिएको सन्दर्भमा कर असुल गर्नु पर्नेमा असुल गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७(क) र ७(ख) आकर्षित हुने देखिएकोले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा १० को उपदफा (३) बमोजिम थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने निर्णयसमेत भएको विभाग श्रोत बुझिन आएको छ।

घुस रकमसहित कपिलवस्तु महाराजगन्ज नगरपालिकाका वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित कपिलवस्तु महाराजगन्ज नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । 

आयोगको टोलीले घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कपिलवस्तु महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको छ ।

आचार्यका अनुसार १५ हजार नगदसहित उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ । 

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्।

मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको दाबी गरे ।

“पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,” अध्यक्ष प्रचण्ड भने, “अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।”

नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउने गरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । उनले आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताए ।

आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ ।”

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको दाबी गर्दै उनले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए।

‘मिटरब्याजपीडितका समस्या समाधानतर्फ गएको छ, नागरिकतासम्बन्धी समस्या समाधान भएका छन् र भुटानी शरणार्थी एवं सुनकाण्डजस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले सरकारको सकारात्मक अभियानलाई जनतासम्म लैजान पार्टी नेताहरूलाई निर्देशनसमेत दिए।

नेप्सेमा दोहोरो अंकको गिरावटसंगै कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन झिनो अंकको सुधार देखिएको नेप्से आज ०.८५ प्रतिशतले घटेको हो।

आइतबार नेप्से परिसूचक १७.३० अंक घटेर २०१८.३३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६७ हजार ४४ पटकको कारोबारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधित १० प्रतिशत कमाएका छन्‌। सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य आज ३०.४० रुपैयाँले बढेर ३३४.४० रुपैयाँ पुगेको छ। पछिल्ला कारोबार दिनमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको शेयर यस दिन भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य १०८ रुपैयाँ २० पैसा घटेर ९७४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। सर्वोत्तम सिमेन्टका लगानीकर्ताले आज शेयरबजारमा सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन्‌।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको साढे १२ करोडको शेयर कारोबार भएको छ भ ने शिवम् सिमेन्टको साढे ११ करोडको शेयर किनबेच भएको छ।

अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकारमा प्राध्यापक डा सूर्यबहादुर थापा नियुक्त

काठमाडाैं ।  अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

बिहीबार बसेको  मन्त्रिपरिषद् बैठकको निर्णयले थापालाई सल्लाहकार नियुक्त गरेको हो ।

उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् ।  स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेको केन्द्रीय प्रहरीले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लु२ख ४५३५ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक रिसबलाई उक्त नगदसहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानका क्रममा उक्त रकम देवेन्द्र न्यौपानेले काठमाडौँ पुर्‍याइदिनु भनी श्रेष्ठलाई दिएको खुल्न आएपछि न्यौपानेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

मन्त्रिपरिषद् बैठक : तथ्यांक नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको हो ।

बैठकका निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको बताइन् ।

निर्णयहरू–

  • नेपालको संविधानको धारा ५३ एवं सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेस गर्ने ।
  • आर्थिक वर्ष २०८१/०८२ लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रूपैयाँ, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रूपैयाँ र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब रूपैयाँ स्वीकृत गर्ने ।
  • चालु आर्थिक वर्ष २०८०/०८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्वीन्टल २७ सय ७ रूपैयाँ २८ पैसा न्युनतम समर्थन मूल्य तोक्ने । साथै १८ प्रतिशत भन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्वीन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलको आधारमा न्युनतम सामर्थन मूल्य कायम गर्ने ।
  • विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रूख संख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृत दिने ।
  • नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने ।
  • नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरूलाई सम्बन्धित समूह, उपसमूहका ११औं तहमा बढुवा गर्ने ।
  • तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गर्ने ।
  • नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने ।

उम्मेदवारको अन्तिम टुंगो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

उक्त बैठकले इलाम २ र बझाङको प्रदेश सभा ‘क’मा वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार सिफारिसलाई अनुमोदन गर्न कांग्रेसले आगामी मंगलरवार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । 

मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

एमाले, रास्वपा, नेकपा एसलगायतका दलले भने उपचुनावको उम्मेदवार टुंग्याइसकेका छन् ।

गृहमन्त्री लामिछाने र हर्क साम्पाङबीच भेट

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र  गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री लामिछानेले अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

आइतबार उनले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि सहयोग मागेका छन् । धरानमा सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत-साधन उपलब्ध गराउन पनि उनले गृहमन्त्रीसँग माग राखे ।

साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख गुनासो गरेका थिए ।

तोयम राय बन्ने भए महालेखा परिक्षक

काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ।

आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्। राय इमान्दार अनि स्वच्छ प्रशासकका रूपमा परिचीत छ्न्।