सप्तरीमा फौजी किराको प्रकोप


काठमाडौं – सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरुका अनुसार दुई हप्ताहदेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो ।सप्तकोसी–१० का विनोद पण्डितले भन्नुभयो, “किसानले लगाएका मकैका बिरुवाको पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेका छन् ।”उक्त नगरपालिकाको वडा नं १ को फत्तेपुर, वडा नं २ को पर्सा, वडा नं को ३ सखुबनी, वडा नं को ४ बलार्दह र वडा नं ५को गङाजली क्षेत्रमा फौजी किराको बढी प्रकोप देखिएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार आफूहरूले विभिन्न कीटनाशक औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा आउन नकसेको वडा नं १ का राजकुमार चौधरीले बताउनुभयो ।हुर्कंदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको बताउँँदै रामकृष्ण चौधरीले मौसम पनि ठिकै भएकाले बाली राम्रो होला भन्ठानेकामा किरा लागेर सबै बोट सखाप हुन लागेको गुनासो गर्नुभयो । एघार वटा वडा रहेको उक्त नगरपालिकाका सबैजसो वडामा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको स्थानीय किसानहरुले जानकारी दिए । विगत केही वर्षयता उक्त नगरपालिका क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानका लागि नगरपालिका, कृषि शाखालगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।

कृषिमैत्री बजेट आएको भन्दै किसान खुसी


काठमाडौं -सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ ।बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आउनुभएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा प्राथमिकता दिई किसानलाई विभिन्न सहयोग र अनुदानका साथै कृषि पेन्सनको व्यवस्था गरेकोमा प्रशन्नता व्यक्त गर्दै कार्यान्वय भएमा किसानले ठूलो राहत पाउन सक्ने बताउनुभयो ।त्यसैगरी अर्का किसान शोभित सापकोटाले बजेट कृषिमैत्री रहेकोमा खुसी व्यक्त गर्दै किसानलाईलाई प्रोेत्साहित गर्ने खालको बजेट कार्यान्वयन राम्रोसँग भएमा किसानको अवस्थामा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । सापकोटाले टाठाबाठा र पहुँच हुनेका लागि मात्र भन्दा पनि वास्तविक रूपमा कृषि उत्पादनमा लागेकाका लागि बजेटको सही सदुपयोग हुनुपर्छ भन्नुभयो ।सरकारले यस पटकको बजेटमा किसानलाई पेन्सन, कृषि एम्बुलेन्स सञ्चालन लगायतका अति महत्वपूर्ण कार्यक्रम ल्याएको बताउँदै उहाँले यी कार्यक्रम कार्यान्वयन भएमा कृषि क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात हुने विचार व्यक्त गर्नुभयो । मङ्गलाका किसान विष्णु पौडेलले पनि बजेट वक्तव्यमा किसानका लागि थुप्रै कार्यक्रम आएको बताउनुभयो ।“यसले कम्तीमा पनि हामी खेतबारीमा काम गर्ने वास्तविक किसानका लागि राहत मिल्नुपर्छ”, उहाँले भन्नुभयो ।अनुदान लिनदेखि लिएर कृषि उपकरण एवं औँजार पाउनेसम्म पनि राजनीतिक दलका नेताको फेरो समाउनुपर्ने अवस्थाको अन्त्य गरेर बजेट कार्यान्वयनमा इमान्दारी र निष्पक्षता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड विनियोजन गरेको जानकारी दिनुभएको थियो ।आर्थिक वर्ष २०७८÷७९ मा कृषि तथा पशुपक्षी तर्फ ४५ अर्ब ९ करोड रकम विनियोजन भएको थियो । यस पटकको बजेटमा आएका किसानलाई पेन्सन कार्यक्रम, बाँझो जमिन लिएर खेती गर्ने, दूधको समर्थन मूल्य, कोल्ड स्टोर बनाउने, कृषि वस्तुको आयात घटाउने, उखुको कार्यक्रम, मेड इन नेपाल जस्ता कार्यक्रम कृषिमैत्री रहेका यहाँका किसानले बताएका छन् ।

श्रीमान्–श्रीमती मृत्यु फेला परेको छ


काठमाडौं – कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । उहाँले घटनाको प्रकृति हेर्दा श्रीमान्ले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जानकारी दिनुभयो । घटनास्थलमा एउटा खुकरी फेला परेको बताउँदै प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”

मेलम्चीको पानी बन्द


काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ ।निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो । आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उहाँले बताउनुभयो । मेलम्चीको पानी बन्द गरिएपनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा वाग्मतीको पानी प्रशोधन गरी राजधानीवासीलाई दिइने मेलम्ची आयोजनाले जनाएको छ । गतवर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको हो ।

आइजिपी बढुवाविरुद्धको सुनुवाइ आज


काठमाडौं – सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ ।न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे ।

बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग


काठमाडौं – कर्णालीमा कुसंस्कारका रुपमा विद्यामान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भन्नुभयो । “छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उहाँले भन्नुभयो, “ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।”कार्यक्रममा इतिहासकार डा रमेश ढुङ्गेलले तत्कालीन अधिनस्थ कर्णाली खस राज्यको मष्टो संस्कृति संरक्षण गर्न आवश्यक रहेको जनाउनुभयो । उहाँले भन्नुभयो खस सभ्यता संरक्षणका निम्ति खस राजाहरूको ठूलो देन छ । जुम्लाको हाटसिंजामा भाषाको अध्ययन अनुसन्धानका लागि विशेष केन्द्र तथा प्रतिष्ठान निर्माण गर्न जरुरी छ ।कार्यक्रममा खस साहित्य तथा संस्कृतिसम्बन्धी जानकार तथा वामपन्थी बुद्धिजीवी रामकृष्ण बुढ्थापाले जुम्लाको कालीमार्सी धानको बिजारोपण ऐतिहासिक पहलकर्ता लक्षालकृति पैकलाले गरेको र त्यसको प्रवद्र्धन गुरु चन्दननाथ बाबाले गरेको बताउनुभयो । कला, साहित्य र संस्कृतिको केन्द्रविन्दु कर्णालीमा केही कुप्रथाले महिला र दलित वर्गले बढी समस्या खेप्नुपरेको उहाँको भनाइ थियो ।

तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला


काठमाडौं- मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताउनुभयो ।कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु


काठमाडौं – नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाउनुभयो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको जनाइएको छ । आम जनताको सु–स्वास्थ्य सुनिश्चित गर्न, सुर्तीजन्य पदार्थ नयाँ सेवनकर्ताको दरमा कमी ल्याउन र अमलीहरुलाई लतबाट छुटाउन विभिन्न अभियान र कार्यक्रमसमेत भइरहेका छन्, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “तर सुर्ती उद्योगको हस्तक्षेप र उनीहरुको रणनीतिले चुनौती भने यथावत् नै रहेको अवस्था छ । हाल प्रचलित ई–सिग्रेट, सिसा, हुक्कालगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिस्कृत रुपलाई समेट्ने गरी वृहत तरिकाले कार्यक्रम सञ्चालन गर्न समेत आवश्यक देखिन्छ ।”हरेक वर्ष आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ । “सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाआँैं रहेको छ” भन्ने नाराका साथ मनाइने गरिएको छ ।सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ सबै वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु वा सेवन नगर्नु नै सबैभन्दा उत्तम उपाय रहेको उहाँले विज्ञप्तिमा जनाउनु भएको छ । सुर्तीजन्य पदार्थले प्रत्यक्षरुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको जनाइएको छ । सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । सुर्तीजन्य पदार्थको खेती र उत्पादन गर्ने क्रममा, प्रयोग÷सेवन गर्दा र प्रयोग पश्चातका फोहोरले पानीका स्रोत, माटो, वायु र सहर नै प्रदूषित भइरहेको अवस्था छ । विश्वमा हरेक वर्ष ३५ लाख हेक्टर जमिन सुर्ती खेतीका लागि नष्ट गरिन्छ । सुर्ती खेतीका कारण वन फँडानी हुने र माटोको उपादकत्वमा समेत ह्रास हुने गरेको पाइएको छ । “सुर्तीजन्य पदार्थको उत्पादनका क्रममा निस्कने विभिन्न विषाक्त ग्यासका कारण जलवायु परिवर्तन पनि भइरहेको बताइएको छ,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले सुर्तीजन्य पदार्थको उत्पादन र सेवन दुबै कुरालाई निरुत्साहित गर्नु अति नै आवश्यक छ ।” विश्वमा उत्पादन गरिने सुर्तीजन्य पदार्थमध्ये ९० प्रतिशत विकोसोन्मुख देशमा उत्पादन गरिन्छ । न्यून तथा मध्यम वर्गीय देशका किसान तथा सरकारले सुर्तीजन्य पदार्थ उत्पादनलाई राम्रो आयस्रोतको रुपमा लिएको देखिए पनि उनीहरुले भविष्यमा यसले निम्त्याउने गम्भीर समस्या जस्तैः खाद्य असुरक्षा, रोग, गरिबी र वातावरणीय असरबारे भने सचेत नभएको पाइन्छ ।

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेको समय तोक्नुभएको छ । संवैधानिक व्यवस्थानुसार हरेक वर्षको जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।

नक्कली नोटसहित दुई पक्राउ


काठमाडौं – पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् ।पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान ९२० हजार नक्कली रकम०सहित प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।महिलासहित तीन पक्राउ प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन् । वीरगञ्ज–८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा पटक–पटक करणी गरेको प्रहरीको आरोप छ । जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गर्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ । वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक–पटक जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।जेठ १४ गते राति ९ बजे पीडित युवती सो स्थानबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात सो घटना बाहिर आएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

हत्या अभियोगमा पक्राउ


काठमाडौं – सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाइएको छ । उनलाई गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको छ । आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो ।

कुलो सरसफाइ गर्दै किसान


काठमाडौं – स्थानीय तह निर्वाचन सकिएसंगै कैलालीमा किसान धान खेतीमा जुटेका छन् । यसका लागि मल, बीउको जोहो , कुलो सरसफाइ, खेत जोत्नेजस्ता कार्यमा व्यस्त भएका हुन् । उनीहरु धानखेती गर्न एक महिनादेखि तयारीमा लाग्ने गरेको बताउँछन् । टीकापुर वनगाँउका बडघर तेजबहादुर चौधरीले धान रोप्न कुलाको मर्मतसम्भार र सरसफाइ गरिरहेका बताउनुभयो । “हामी हरेक वर्ष खेती गर्नुपूर्व एक महिनाअघि नै कुला सरसफाइ, मर्मतका काम गर्छौँ, यस वर्ष पनि सबै किसान कुलो सरसफाइमा खटेका छौँ”, उहाँले भन्नुभयो, “बर्खा लाग्नु पहिले बर्सेनि किसान सामूहिकरूपमा मूल कुलो, शाखा कुला, प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ ।”कुला खन्न किसानले प्रथाका रूपमा समाजमा जनश्रमदानस्वरुप काम गर्ने गर्दछन् । यसका लागि घरपिच्छे एक जना जानुपर्ने हुन्छ । जुन घरबाट कुलो खन्न जाँदैनन्, ती किसानबाट क्षतिपूर्ति समेत लिने चलन छ । यसरी किसान आफ्नो खेतसम्म सिँचाइ सुविधाका लागि कुलो सरसफाइ गरिरहेको विपतपुरका बड्घर वीरबहादुर घर्तीमगर बताउनुहुन्छ । “हरेक घरबाट एक–एक जना किसान मर्मतका लागि जाने गर्नाले सजिलो हुन्छ”, उहाँ भन्नुहुन्छ, “सिँचाइ सुविधा नभए खेती उत्पादन राम्रो हुँदैन, त्यसैले यहाँका किसानले मिलेर कुलो सरसफाइ गर्ने, खेतसम्म सिँचाइ सुविधा पु¥याउने चलन छ ।”रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानीमूल कुलोका १४ प्रशाखा कुला जमरा मूल कुलोका १५ शाखा कुला, कुलरिया मूल कुलोका १९ शाखा कुलो रहेका र ती मूल कुलोका शाखामार्फत बनेका ८६३ उपशाखा कुलो रहेका छन् । यसरी यी शाखा र प्रशाखा कुलोमार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । ती शाखा तथा प्रशाखा कुलो सरसफाइ र मर्मत नगरे पानी भए पनि किसानलाई पर्याप्त पानी पुग्दैन । त्यसका लागि कुलोको सरसफाइ गर्न आवश्यक हुने हुँदा सरसफाइ गर्ने गरिएको किसान बताउँछन् । जमरा जलउपभोक्ता समितिका अध्यक्ष मानबहादुर चौधरी किसानले बर्खाको समयमा कुलामा पर्याप्त पानी आउने र खेतीपाती गर्न सहज हुने भएकाले किसानले अनिवार्य सरसफाइ गर्ने गरेका बताउनुहुन्छ । यो सामूहिकरूपमा गरिन्छ, सामूहिकरूपमा गर्दा खासै समस्या पनि हुँदैन चौधरी भन्नुहुन्छ, किसानले यसरी वर्षमा एकपटक कुला सरसफाइ गरिन्छ । सरसफाइ नगरेमा कुलाको उचाइ बढ्ने गर्दछ । कुलामा बालुवा थुप्रिने, फोहर जम्ने कारणले सिँचाइमा समस्या हुने हुनाले सरसफाइ गरिन्छ ।किसानहरू यसरी खेतीको तयारीमा जुटिसक्दासमेत बीउ, मल अभावजस्ता समस्या समाधान हुन नसकेका किसान गुनासो गर्छन् । खेतीमा निर्भर किसानका लागि आवश्यक बीउ, मल, सिँचाइ, प्राविधिक ज्ञानजस्ता आवश्यक कुरा सरकारले दिनुपर्ने भए पनि किसान खेती गर्ने समयमा सधैँ समस्या झेल्न बाध्य छन् । टीकापुर–४ का किसान सुरवीर चौधरीले खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने र खेतीमा अनुदानजस्ता कार्यक्रम थपिएमा कृषिमा किसान रमाएर लाग्ने वातावरण बन्ने बताउनुभयो ।जिल्लामा सञ्चालित सो आयोजनाले किसानलाई बीउ, मल, विषादिमा अनुदान दिने गरेको छ । आयोजनाले कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ । यसैगरी केरा र च्याउखेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ ।

सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन


काठमाडौं – डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिने स्वास्थ्यकर्मीले जनाएका छन् । आठ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले जानकारी दिनुभयो । डडेल्धुरा अस्पतालमा १५७ ले सुरक्षित गर्भपतन गराएका छन् ।आज जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा सञ्चारकर्मीले सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन बढी भएको उल्लेख गर्नुभयो ।

ट्रक दुर्घटनामा चारजनाकाे मृत्यु


काठमाडौं – उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सिरहाको मिर्चैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रोपाउवरको लागि सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२५७ नं को ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरेमा आज बिहान सडकबाट अनियन्त्रित भई सय मिटर तल खस्दा घट्नास्थलमै चारको मृत्यु भएको हो ।मृत्यु हुनेमा बाराको सिमरा नगरपालिका–१ का ट्रकचालक ३५ बर्षिय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खड्का, बारा सिमराकै १७ वर्षीय अनोज लामा र अर्का ३७ वर्षीय राजन तामाङको मृत्यु भएको कार्यलयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यलय कटारीको टोलीले मृतकको शव सङ्कलन गरी परीक्षणको लागि कटारी अस्पताल लगेको छ

बजेट अधिवेशन सुरु


काठमाडौं – प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता पेश गर्नुभयो ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले संसदीय व्यवस्थालाई सुदृढ एवं संस्थागत गर्न प्रतिपक्ष दलका नेताले सदनमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले यातायातका क्षेत्रमा र विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उदासीन तथा सूचनाको अभावमा प्रतिपक्ष दलका नेताहरुले अभिव्यक्ति दिनु उचित नहुने उल्लेख गर्नुभयो ।मुख्यमन्त्री राईले अहिलेको सरकार सिँगारिएको जस्तो नभएर यथार्थपरक रहेको चर्चा गर्नुभयो । आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर ल्याएको योजनालाई सम्पन्न गर्न वर्तमान सरकार स्रोत र बजेटको व्यवस्थापनमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकार अनावश्यक खर्च कटौती गरिरहेको छ ।”विगतका सरकारले सञ्चालन गरेको योजना अहिले सङ्कटमा रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले स्रोत र बजेटको व्यवस्थापन नगरी ल्याएका योजना सम्पन्न गर्न सरकार उपाय खोजिरहेको धारणा राख्नुभयो ।आगामी आर्थिक वर्षको बजेट निर्माणमा जनता र जनताबाट छानिएर आएका जनप्रतिनिधिको पनि सल्लाह तथा सुझावलाई समावेश गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए प्रक्रियाबाट टुङ्गो लगाउनुपर्छ, निधारमा लागेको कालो टीकालाई मेटाउन पनि प्रदेशको नामकरण हुनुपर्ने र यसको अगुवाइ नेकपा ९एमाले०ले गर्नुपर्छ ।”दलका नेताहरुबाट शुभकामनाप्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन जनताको रुचि एवं चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले विगतमा सिद्धान्त र प्राथमिकताका आधारमा ल्याइएका योजना अहिले ठप्प रहेको टिप्पणी गर्दै लोकतन्त्र जनताको सेवा र विकासबाट मात्र अडिन सक्ने उल्लेख गर्नुभयो ।नेपाली कांग्रेसका प्रमुख सचेतक सूर्यमाराज राईले कसैको पनि स्वेच्छाचारी स्वीकार्य नहुने भन्दै दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । उहाँले प्रदेशको नामकरण यसै अधिवेशनबाट टुङ्गो लगाउन माग गर्नुभयो ।नेकपा माओवादी केन्द्रका धीरेन्द्र शर्माले सरकारको दीर्घकालीन महत्व राख्ने योजना बजेटमा राख्नुपर्ने सुझाव दिनुभयो । जनता समाजवादी पार्टी नेपालका रामचन्द्र लिम्बूले सरकारले किसानलाई चाहिने रासायनिक मलको पर्याप्त व्यवस्था गर्नुपर्ने माग गर्दै किसानको उपजको उचित मूल्य र बजारको व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।राप्रपाका इन्दिरा राईले खाद्यान्नमा आत्मनिर्भर गर्न किसानको हितमा काम गर्नुपर्ने भन्दै सरकारले रोजगार सिर्जना गर्न र रासायनिक मलको व्यवस्थामा ध्यान दिन माग गर्नुभयो ।सदनमा विचार राख्ने सबै दलका नेताले तारा एयरलाइन्स दुर्घटनामा दिवङ्गत परिवारप्रति समवेदना व्यक्त गर्दै भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिनुभयो ।प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि दलका नेताहरुको बोल्नेक्रम सुरु भएको थियो ।