मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं । सरकारले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार(आज) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि सो अनुदान प्राप्त हुने जानकारी दिनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेन्च ४ दशमलव ४६५ मिलियन अर्थात् करिब ६५ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने, वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोक्ने र सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ । 

यस्तै बैठकले राष्ट्रिय आम सञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, र सामाजिक सञ्जालको प्रयोगलाई नियमन सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

यसैगरी बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा भ्रमरपूर ५ महोत्तरीका सुबोधकुमार शर्मा र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चिसापानी ५ तनहुँका डा गुणराज लोहनीलाई नियुक्त गर्ने, नेपाल इञ्जिनियरिङ सेवाको समूहिकरण क्लष्टर अन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सरिता दवाडीलाई बढुवा गर्ने, सांस्कृतिक संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा हतुवागढी २ भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने लगायतका निर्णयहरू गरेको छ ।

चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ

काठमाडौँ । उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडामा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त चार उच्च अदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

उहाँले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र आम जनतामा न्यायमा पहुँच पुग्ने उद्देश्यले सेवा प्रारम्भ गरिएको जानकारी दिनुभयो ।

“प्रविधिको माध्यमबाट न्यायमा पहुँच पुर्‍याउने कामको सुरुआत गरिरहेका छौँ, नेपालको भूधरातलीय स्थितिले गर्दा दुर्गम क्षेत्रमा मानिसलाई एक गाउँबाट  अर्को ठाउँमा पुग्न निकै कठिनाइ हुन्छ”, प्रधानन्यायाधीश श्रेष्ठले पत्रकार सम्मेलनमा भन्नुभयो, “छिटो छरितो, सरल, सुलभ तरिकाले प्रविधिमार्फत नागरिकमा न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको हो, सबै उच्च अदालतमा यो सेवा आगामी दिनमा गरिने तयारी छ ।”

सर्वोच्च अदालतमा कोभिड–१९ का समयमा श्रव्यदृश्यका माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको थियो । अहिले देशभरको जुनसुकै स्थानबाट पनि कानुन व्यवसायीले सर्वोच्च अदालतमा आफ्नो मुद्दामा बहस गर्न सक्ने भएका छन् ।

त्यस्तै एक वर्षअघि उच्च अदालत दिपायल र इलाममा पनि मुद्दाको सुनुवाइ श्रव्य, दृश्यमार्फत बहस सुरु गरिएको थियो । उक्त अनलाइनबाट मुद्दाको सुनुवाइ गर्दा कानुन व्यवसायीले आफ्नै ठाउँमा बसेर मुद्दामा बहस गर्न सक्नेछन् ।

मुद्दाको श्रव्यदृश्यबाट सुनुवाइ गर्न एउटा निवेदन दिनुपर्नेछ। सोही अनुसार सर्वोच्च अदालतका सूचना प्रविधि शाखाले उक्त मुद्दाको पासवर्ड र आइडी बनाई प्रवाह गर्नेछ र जूम मार्फत कानून व्यवसायीले बहस-पैरवी गर्ने व्यवस्था गरिएको छ।

देवाहि गोनाही नपा र यमुनामाई गाँपामा ककसले पाए प्रमुखको जिम्मेवारी

रौतहट १४ मंसीर। रौतहटको देवाही गोनाही नगरपालिका र यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। देवाही गोनाहिमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सन्देश यादव र यमुनामाईमा रामश्रेष्ठ यादवले जिम्मेवारी पाएका हुन्।
बुधवार छुट्छुटै कार्यक्रमका बिच यादव द्वयले पदभार ग्रहण गरेका थिए। त्यस अघि देवाही गोनाहीका मेयर प्रेमलाल साह , उपमेयर परनिया देवी पटेल संगै जनप्रतिनिधिहरुले माला र टिका लगाएर स्वागत गरेका थिए। त्यसैगरी यमुनामाईका जनप्रतिनिधिहरुले पनि रामश्रेष्ठ यादव लाई माला र टिका लगाएर स्वागत गरेका थिए। उनले यमुनामाईमा दोस्रोपटक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन्।

मेयरद्वारा खानेपानीको लागि १५ लाख बढीको चेक हस्तान्तण

रौतहट १४ मंसीर। लामो समय देखि बन्द रहेको कटहरियाको खानेपानी सेवा तत्काल सुचारु गराउन मेयर अजयप्रकाश जैसवालले १५ लाख रुपैयाँ भन्दा बढीको चेक हसतान्तरण गरेका छन्।
गत मंगलवार बसेको नगर कार्यपालिका बोर्डको बैठकको निर्णय अनुसार खानेपानीको समस्या समाधान गर्न विद्युत प्राधिकरणको बक्यौता महसुल तिर्न १५ लाख ६ हजार २८० रुपैयाँको चेक हसतान्तरण गरिएको हो। उक्त रकम विधुत प्राधिकरण मौलापुर शाखामा बुझाएर आजैदेखि खानेपानी सञ्चालन गराउने मेयर जैसवालले बताएका छन्।
खानेपानी कार्यालयमा कार्यरत कर्मचारीको तलबको लागि चाँडैनै अर्को बैठक बाट निर्णय गरी उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन्। साथै खानेपानीको लागि वडा ४ र ५ अन्तर्गत छुटेका घरहरूमा पाईप बिस्तारको लागि दुईलाख रुपैया छुट्याएको छ। मेयर जैसवालले नगरपालिकाले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरिरहेको छ, खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साह, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा ,५ का अध्यक्ष सर्फलाल गुप्ताले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने जिकिर गरेका थिए।
यस अघि खानेपानी उपभोक्ता समितिले लामो समय देखि पानी सप्लाई नगरेको कारण यहाँका सैयौं परिवार शुद्ध खानेपानी बाट वञ्चित भएका थिए।
कटहरिया नगरपालिकाले लामो समय देखिको बक्यौता खानेपानीको विद्युत महसुल नतिरेकोले कारण नेपाल विद्युत प्राधिकरण मौलापुरले दशैं अघिनै खानेपानीको विद्युत मीटर खोलेर लागेको थियो।
विद्युत आपूर्ति अवरुद भएको झण्डै एक महिना देखि कटहरिया ४ र ५ का हजारौँ मानिस शुद्ध पानी पिउन बाट बन्चित भएका थिए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहका अनुसार मेयर अजयप्रकाश जैसवाल निर्वाचित भए लगत्तै खानेपानी निशुल्क गरिने घोषणा गरेका थिए। तर विद्युत महसुल झण्डै १६ लाख रुपैयाँ बक्यौता समयमा नतिरेको कारण प्राधिकरण ले विद्युत मीटर खोलेर लागेकाले पानी आपूर्ति ठप्प भएको बताएका थिए।
तेस्रो सानो सहरी आयोजना इटहरीको पहलमा कटहरियामा निर्माण गरिएको खानेपानी आयोजनाले वडा ४ र ५ अन्तर्गत १६ सय परिवारमा शुद्ध खानेपानीको आपूर्ति गर्दै आएको थियो। सञ्जय मिश्रा

देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन एमालेको नेतृत्वमा मात्र सम्भव छ : ओली

बैतडी । एमाले अध्यक्ष केपी ओलीले एमालेको नेतृत्वमा मात्र देशले विकास र समृद्धिको मार्गमा अघि बढन सक्ने बताएका छन् । 

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म आजबाट सुरु भएको ‘समृद्धिका लागि संकल्प यात्रा’को क्रममा बैतडी सदरमुकाम गोठलापानीमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो अध्यक्ष ओलीले बताएका हुन् । 

एमालेको नेतृत्वमा सरकार रहेका वेला मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको चर्चा गरेका ओलीले वर्तमान गठबन्धन सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताए । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरूलाई अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताले स्वागत गरे । 

नेपाल वेयरहाउजिङ्गकाे आईपीओमा माग भन्दा झण्डै १२ गुणा बढी आवेदन

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा माग भन्दा ११.९५ गुणा आवेदन परेकाे छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७५६ वटा आवेदन परेको छ । यसैगरी, कम्पनीको एक करोड ३६ लाख ४३ हजार ३्९० कित्ता शेयर माग भएको छ । कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यसरी, कम्पनीको आईपीओका लागि आवेदन दिने ११ लाख ४३ हजार ६३१ जनाले शेयर नपाउने देखिन्छ ।

त्यसैगरी, कम्पनीले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको थियाे। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। 

काउलीका दुई वटा अगौटे बेमौसमी जात उन्मोचन योग्य

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले काउलीका अगौटे बेमौसमी जातहरुको परीक्षण गरी उन्मोचनको सिफारिसको लागि तयारी गरेको छ । तराई १ र तराई २ गरी दुई प्रकारका अगौटे जातको बेमौसमी काउली अब छिटै नै किसानले पनि व्यावसायिकरुपमा उत्पादन गर्न पाउनेगरी सिफारिसको तयारी गरेको हो ।

नार्क अन्तर्गतको राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र खुमलटार, ललितपुरका अनुसन्धानकर्ता नविनगोपाल प्रधानले यी अगौटे बेमौसमी जातका काउलीको बाली तयार हुन लाग्ने अवधि (नर्सरीदृेखि उत्पादन हुने बेलासम्म) ६० देखि ७० दिन हुने बताए ।

उनले तराई १ र तराई २ गरी दुई प्रकारका अगौटे जात सिफारिस भए लगत्तै तिनको बीउ बजारमा आउने गरी तयारी गरिएको बताए । केन्द्रको खुमलटार स्थित बागवानीमा, कास्कीको लुम्लेमा र धनकुटाको पाख्रिवासमा यी जातहरुको सफल परीक्षण गरिएको र नतिजा उत्साहप्रद रहेको पनि प्रधानले बताए ।

‘काउलीले बढी मूल्य पाउने समय तीज, सोह्रश्राद्ध, दसैं लगायतका चाडपर्वमा हुने भएकाले यी समयसम्ममा यो दुबै जातको काउली फल्ने र खान मिल्ने हुन्छ’ अनुसन्धानकर्ता प्रधानले भने, ‘सोह्रश्राद्धमा त धेरै मानिसहरु शाकाहारी रहने र काउलीको माग बढ्ने हुनाले यसबाट उपभोक्ता, किसान लगायत सबै लाभान्वित हुनेछन् । यो समयमा नेपालमा काउलीको उत्पादन नहुने, विदेशी काउली नेपाल आउने र महंगो पनि हुने भएकाले स्वदेशी अगौटे जातको बेमौसमी काउली सस्तोमा उपलब्ध हुनसक्छ ।’

काउलीका यी दुई प्रकारका जातहरु पहाड र मध्यपहाडी जिल्लाहरुमा असार, साउन र भदौ महिनामा लगाउँन सकिन्छ । यी जातहरु अरु समयमा समेत लगाउन मिल्ने तर यो महिनामा लगाएमा तरकारी अभाव हुने चाडपर्वहरुमा उत्पादन लिन सकिन्छ ।

सो सिजनमा विदेशबाट आएका भन्दा यी काउलीहरु सस्तो हुने छन् । यी जातका काउलीको साइज तुलनात्मक रुपले सानो हुने भएकाले सहरिया सानो परिवारका लागि सिंगै फूल किन्न सकिने र यिनलाई कम दुरीमा पनि लगाउन सकिने हुनाले प्रति इकाइ जग्गामा काउलीका धेरै फूल उत्पादन गर्न सकिने कुरा अनुसन्धानकर्ता प्रधानले बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नेपालमा बेमौसमी तरकारी आयातका कारण अर्थतन्त्रको ठूला हिस्सा खर्च भई विदेसिने गरेको वर्तमान अवस्थामा नेपालमै अनुसन्धान गरी विकास गरिएका यी जातहरुबाट व्यावसायिक काउली उत्पादन मार्फत् सरकारले लिएको आयात प्रतिस्थापन र निर्यात् प्रवद्र्धनको नीतिमा सघाउ पुग्ने बताए । भविष्यमा यी जातहरु व्यावसायिक रुपमा लगाउन सके बर्षायाममा काउली खेती गर्न नसकिने ठाउँहरुमा समेत यिनको आपूर्ति हुँदा तरकारीको आपूर्ति ग्रामीण बजारहरुमा पनि गर्न सकिने उनले बताए ।

शेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से १८.०६ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ५३ विन्दुमा बन्द भएको हो ।                 

त्यस्तै, आज एक अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कमनिीको शेयरमूल्य आज ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ ।   

त्यस्तै, आज विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


 

राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गौरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत तामाङ र सुवेदीलाई नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।

गौतम अदानी फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा

नयाँ दिल्ली । अदानी ग्रुपका कम्पनीका सेयर मूल्यमा भएको तीव्र वृद्धिका कारण गौतम अदानी फेरि एकपटक विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका छन्।

मंगलबार सेयर बजारमा सूचीकृत गौतम अदानीका १० वटै कम्पनीको सेयरमा तीव्र उछाल आएको छ । 

केही शेयरको मूल्यमा २० प्रतिशतसम्मको वृद्धि देखिएको छ । यसले समूहको कुल बजार पुँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गौतम अदानीको पुँजी एक दिनमा करिब ६.५ अर्ब डलरले बढेको छ । योसँगै अदानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ र उनी शीर्ष २० धनीहरुको सूचीमा १९औँ स्थानमा आएका छन् ।

शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३ औं स्थानमा छन् । यो वर्ष उनको पुँजी २ अर्ब ३४ करोड डलरले बढेको छ ।

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा सरकार गम्भीर भएर लागेको छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर भएर लागेको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आवास निर्माणका लागि ५० हजार दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताएका हुन् । अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए । भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काम गर्ने गरि सरकारले योजना बनाएको उनको भनाइ छ ।

भूकम्पपिडित सबैलाई अस्थायी आवास र पूननिर्माणलाई स्थानीय तहको सिफारिसमा एउटै घरभित्र रहेका दुईतिनवटा परिवारलाई अस्थायी आवासको फरक फरक सुविधा दिन नसकिने भन्दै उनले पूननिर्माणका समयमा भने आवश्यक छलफल गर्न सकिने जिकिर गरे ।

त्यस्तै, भूकम्पपिडित सुकुम्वासीको हकमा अस्थायी आवासको सुविधा दिईहाल्ने नीति रहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प कारण जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरि १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए ।

भूकम्पका कारण जाजरकोटमा पूर्णक्षति भएको घरको संख्या ९,७९४ हजार र आशिंक क्षति भएको घरको संख्या २४ हजार रहेको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

दैलेख । पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ । 

प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवद्र्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताए । विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमति अनुसार काम अघि बढेको उनको भनाइ छ ।

आयोजना प्रमुख नापितका अनुसार पेट्रोलियम पदार्थ उत्खननका गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम सुरु हुनेछ । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण २०७६ साल असोजदेखि सुरु गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि नै सम्पन्न गरिसकेको छ । सरकारले यसअघि भैरवी गाउँपालिका-१ जलजलेमा जग्गा अधिग्रहणको काम गरिसकेको छ ।

आजबाट नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा

काठमाडौं। नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन्।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ।

एमालेका अनुसार झुलाघाट-चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ। जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको झुलाघाट पुगिसकेका छन्।

ऋण दुरुपयोग मुद्दामा, सर्वोच्चको आदेश, राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी भ्रष्टाचारी ठहर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋण दुरुपयोग गरेको अभियोगमा विराटनगरका चर्चित व्यवसायी सुवोधकुमार अग्रवाल लगायतबाट १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम भराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

१२ वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र डा.कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। सर्वोच्चले विराटनगरका व्यवसायी मंगतुराम समूहका चार दाजुभाइ र वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा २०६२ सालमा विशेष अदालतले उनीहरुले भ्रष्टाचार गरेको ठहर गरेको थियो। त्यसविरुद्ध उनीहरु २०६८ सालमा सर्वोच्च गएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा विराटनगरका व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरू सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।

उनीहरुसँगै राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन प्रबन्धक राधाप्रसाद साह, शिवचरण मण्डल, चन्द्रलाल अमात्य र भैरवप्रसाद पोखरेललाई पनि सर्वोच्चले दोषी ठहर गरेको छ। उनीहरुलाई जनही ६-६ महिना कैद सजाय तोकिएको छ।

समूहका ९ वटा उद्योग र फर्महरुका नाममा ऋण लिइएको थियो। अन्नपूर्ण सोप एण्ड केमिकल इन्डस्ट्रिज, नारायण भेजिटेवल इन्डस्ट्रिज, गणेश प्लाष्टिक इन्डस्ट्रिज, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी इन्डस्ट्रिज, दन्तकाली पैकेजिङ इन्डस्ट्रिज, लक्ष्मी फुटवेयर इन्डस्ट्रिज, अन्नपूर्ण आइरन इन्डस्ट्रिज, घटस्थापना इन्टर प्राइजेज र फुलपाती इन्टरप्राइजेजका नाममा ऋण लिइएको थियो।

यी फर्म र उद्योगका लागि राष्ट्रिय वाणिज्य बैंकको रानीशाखा विराटनगरले स्वीकृत सीमाभन्दा बढी कर्जा दिएको थियो।

अत्यन्त कम धितो राखी कर्जा लिने दिने काम गरेको, भाखा नाघेका कर्जालाई पुनः ऋण कर्जा स्वीकृत गरी कर्जा लिनुदिनु गरेको, बैंक कर्मचारी र ऋणीको मिलेमतोमा कर्जा प्रवाह गरेको सर्वोच्चले ठहर गरेको छ।

२०५३ वैशाख १२ गते बैंकको केन्द्रीय कार्यालयले आर्थिक वर्ष ०५२/५३ का लागि फण्डिङमा ३५ प्रतिशत अर्थात २६ करोड २६ लाख रुपैयाँ र नन् फण्डिङमा ५० प्रतिशत अर्थात २४ करोड ८७ लाख गरी ५१ करोड १३ लाख कर्जा सीमा स्वीकृत गरेको थियो।

१४ करोड ५४ लाख  ३६ हजारको मात्र धितो लिएर २०५७ सालसम्म सीमाभन्दा बढी ऋण प्रवाह गरेको देखिएको थियो।

मुद्दा लाग्दा साँवा ८६ करोड ७० लाख र ब्याज ५१ करोड गरी १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ पुगेको थियो।

काठमाडौँमा मंसिर २७ देखि गुटखासहितका सूर्तीजन्य वस्तु बेच्न निषेध (सुचनासहित)

काठमाडौँ-  मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र प्लास्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। महानगरले स्वास्थ्य विभागले मंगलबार सूचना जारी गर्दै १५ दिनको अवधि दिएर सुर्तीजन्य पदार्थको बिक्रीवितरण, भण्डारण तथा प्रयोग पूर्ण निषेध गरिएको जानकारी दिएको हो।

निषेधित क्षेत्रहरू

शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय

कामपाले निर्देशन पालना नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । त्यसका लागि २७ गतेदेखि नै कामपाको सबै सार्वजनिक क्षेत्रमा कामपा प्रहरी परिचालन गर्ने भएको छ ।

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको बताउनुभयो । सो व्यवस्थाले ऐनको परिच्छेद २ को दफा ३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणअन्तर्गत सार्वजनिक स्थल तय गरेको छ ।

ती स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । ऐनको अनुच्छेद ५ को उपदफा १७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवा गरे तुरुन्त रोक लगाउन सक्ने पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ ।

ऐनको दफा ५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ । ‘ऐनअनुसार अनुगमनसँगै कारबाही गर्ने गरी आवश्यक तयारी थालेको कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । २७ गतेबाट अनुगमन गर्न सबै प्रहरी परिचालन गर्न लागेको उहाँको भनाइ छ ।

यसअघि ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवान गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो । राजधानीमा खुलेआम बिक्रीवितरण बढ्न थालेपछि कामपाले कडाइ गर्न थालेको हो ।

‘हामी स्वस्थ सहर निर्माणको अभियानमा छौं, २९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पु¥याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौं’ –स्वास्थ्य विभाग प्रमुख पौडेलले भन्नुभयो ।

‘कामपाले जारी गरेको जनस्वास्थ्य ऐन २०८० दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको विभागीय प्रमुख पौडेलले बताउनुभयो ।

‘शुरूमा अनुगमन गरेर सचेत गराउनेछौं, नमाने तत्काल कारबाही गर्नेछौं, बिक्रीस्थल बन्द गराउनेछौं’ –कामपा प्रहरी प्रमुख पाण्डेले चेतावनी दिनुभयो । सहरको स्वच्छता, स्वस्थता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण गर्न लागेको हो । कामपाले ऐन कार्यान्वयन गर्नुअघि विभिन्न स्थानीय तहले धूम्रपान र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न गरेका प्रयासबारेमा अध्ययन गरेको थियो ।प्रमुख पौडेलले २७ गतेबाट राजधानीमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्रीलाई पूर्ण प्रतिबन्ध गर्ने र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने बताउनुभयो ।