मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढे

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो ।

त्यस्तै वालेटबाट बैङ्क खातामा वा बैङ्क खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैङ्क खातामा वा बैङ्क खाताबाट वालेटमा दैनिक २ लाख रुपैयाँसम्म कारोबार (ट्रान्सफर) गर्न सकिनेछ । यसअघि यस्तो सीमा जम्मा १ लाख रुपैयाँसम्म थियो । यस्तो कारोबार प्रतिमहिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ ।

एक वालेटबाट अर्को वालेटमा कारोबार गर्न सकिने रकमको सीमा भने घटाइएको छ । वालेट–वालेट कारोबार यसअघि दैनिक १ लाख रुपैयाँ रहेकोमा अब ५० हजार कायम गरिएको छ । वालेटमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्रै रकम राख्न पाइने व्यवस्था छ । भुक्तानी सेवा प्रदायक संस्थाले रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्र्याउन सक्नेछन् ।

वालेटमार्फत गरिने राजस्व भुक्तानीको सेवा शुल्क पनि केही घटाइएको छ । 

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका ५ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका २ का ५६ वर्षीय भागिराम थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।

भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जानकारी दिएको छ।

६ महिनामा सवारी दुर्घटनामा २८१ ले ज्यान गुमाए

मधेस प्रदेश । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रतिवेदनअनुसार ६ महिनामा यो प्रदेशमा २८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। 

प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्यांक देखाएको हो।

गत साउन १ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन्। 

यी घटनामा चार हजार तीन सय ७१  घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताए। बारामा मात्रै सडक दुर्घटनाका घटनामा ६ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ।

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ। गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३/३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप  र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ। 

मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन्। तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ।

प्रदेशभित्र आव २०७६/७७ मा एक हजार तीन सय ४०, २०७७/७८ मा तीन हजार नौ सय ८३ र  २०७८/७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए। ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्यांक छ। 

रास्वपाले सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने: नेता मातृका

काठमाडौँ । माओवादी नेता मातृका यादवले मङ्गलवार रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए।

हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन।’  

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए।

आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  बालुवाटारमा भेटेका थिए।

भेटका क्रममा लामिछानेले पहिलाको भागबन्डाअनुसार गृह मन्त्रालय आफूलाई दिन भनेका थिए।

उनको नागरिकता कायम नरहेको र उक्त नागरिकता पेस गरेर उनले जितेको सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री रहेका लामिछानेको पद गएको थियो।

अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नियुक्त नगर्ने

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेविरुद्वको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नियुक्त नगर्ने निर्णय गरेका छन् ।

आज बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल गृहमन्त्री नियुक्त नगर्ने निर्णय सुनाएका हुन् । ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन । प्रधानमन्त्रीसँगै रहन्छ ’ बैठकपछि माओवादीका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई भने ।

गत आइतबार नागरिकता पुन प्राप्ति गरेपछि रविले पुन: गृहमन्त्रालयमा फर्कन खोजिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्ड भने रविलाई पुन गृहमन्त्री बनाउने पक्षमा छैनन् ।

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबारको कारोबार शुरु भएदेखि नै नेप्सेमा तिव्र उत्तारचढाव देखिएको थियो । आज नेप्से १५.७४ अंकले घटेर दुई हजार एक सय ११ दशमलब ६३ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम समेत घटेको छ । सोमबार तीन अर्ब रुपैयाँ भन्दा बढीको भएकोमा आज दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडेको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १४४ रुपैयाँ ९० पैसा बढेर १ हजार ५९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.०२ प्रतिशत घटेको छ। घटेका उपसमूहमध्ये लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् ।

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए। उनले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गरे ।

वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्दन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण गर्ने सरकारको नीति रहेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति अगाडि सारिएको प्रधानमन्त्रीको भनाइ छ ।

आजको युग विज्ञान प्रविधिको युग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस युगलाई हामीले ‘डिजिटल इरा’का रूपमा संश्लेषण गर्न सकिने धारणा राखे ।

११ किलो ९०० ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ

काठमाडौँ । कैलालीमा मङ्गलवार दिउँसो धनगढी उपमहानगरपालिका-३ चटकपुरमा गौरीशङ्कर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहितका चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले दार्चुलाको नौगाड गाउँपालिका-२ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका-२ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको बताए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए ।

उनीहरूको साथबाट ११ किलो ९०० ग्राम चरेश, १ थान डिजिटल काँटा समेत बरामद गरिएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल बिहीबार पहिलो पटक विदेश भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ।

श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ।

परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन्।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछन्। उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ।

मन्त्री डा. पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन्। शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’ हरू हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। भ्रमण सम्पन्न गरी उनी आइतबार नेपाल फर्किने कार्यक्रम छ।

पाकिस्तानको पेशावरमा शक्तिशाली विस्फोट ५९ को मृत्यु दर्जनौं घाइते

काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेका छन् भने १५७ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् ।

उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गरेका छन् । शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताएका छन् ।

पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय मिडियालाई बताएअनुसार विष्फोटको समयमा उक्त क्षेत्रमा ३०० देखि ४०० प्रहरीहरु रहेको अनुमान छ ।

शुरुमा पाकिस्तानको तालिबानका एक कमाण्डरले घटनाको जिम्मेवारी लिएका थिए । तर त्यसको केहीबेरमै उक्त संगठनले आक्रमणमा संलग्नता नरहेको बताएको छ ।

तालिबानले गत नोभेम्बरमा पाकिस्तानमा युद्धविराम अन्त्य भएको घोषणा गरेको थियो । त्यसयता हिंसाका घटना भइरहेका छन् । गत डिसेम्बरमा पनि पेशावरमै एक प्रहरी स्टेशनमा आक्रमण भएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा प्रहरी, सेना र बम निष्क्रिय पार्ने दलका सदस्यहरू उद्धारमा खटिएका छन्।
पाकिस्तानमा अधिकांश सुन्नी मुस्लिम छन्। नोभेम्बरदेखि पाकिस्तानी तालिबानले सरकारी सेनासँगको युद्धविराम समाप्त गरेसँगै उग्रवादी आक्रमणहरूमा बृद्धि भएको छ।

गत मार्चमा एउटा सिया मस्जिदमा भएको विस्फोटनमा ६४ जना मारिएका थिए।

सन् २०१४ मा सेनाका छोराछोरी पढ्ने विद्यालयमा भएको आक्रमणमा १५० जनाको ज्यान गएको थियो।

पछिल्लो घटनासँगै राजधानी ईश्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहर पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।

एशियन हाइड्रोपावर आइपिओ जारी गर्दै

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा ६ लाख ९७ हजार दुई सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता साधारण शेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

त्यस्तै १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी छ लाख ९७ हजार दुई सय कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर आइपीओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५० हजार कित्ता शेयर बिक्रि गर्न लागेको हो ।

शेयरको प्रति कित्ता मूल्य ४५० रुपैयाँ रहेको छ । बैंकले इच्छुक संस्थापकलाई आफूले खरिद गर्न चाहेको मूल्य सहित यो सूचना जारी भएको मितिले सात दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा खामबन्दी निवेदन पेश गर्न अनुरोध गरेको छ ।

रास्वपा आजै सरकारबाट बाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग आफुलाई गृहमन्त्रीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।

प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौ भनेपछि लामिछानेले आज साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए आफ्नो पार्टी सरकारबाट बाहिरिने जानकारी गराएको स्रोतले जानकारी दियो ।

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमेको थियो । तर आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएपछि उनी पुनः गैरसांसद मन्त्रीका रुपमा सिंहदरबार छिर्न बार्गेनिङ गरिरहेका छन् ।

निकट स्रोतका अनुसार गृह मन्त्रालय नपाए रविले आजै बेलुका पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिएको घोषणा गर्ने तयारी गरेका छन् ।

अर्को बैङ्कको एटिएमबाट पैसा झिक्दा लाग्ने शुल्क घट्यो

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले अन्तर एटिएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् ।

यसअघि यस्तो कारोबारमा बैङ्क तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

राष्ट्र बैङ्कले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमार्फत अन्तर एटिएम कारोबार शुल्क घटाइएको हो ।

‘बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’एकीकृत निर्देशिकामा भनिएको छ ।

शुल्क घटाएसँगै राष्ट्र बैङ्कले हरेक अन्तर एटिएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटिएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।

यस्तै, बैङ्क तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एप्लिकेशन (एप) वा इन्टरनेट बैङ्किङ मार्फत विद्युतीय रकमान्तर (इन्टर बैङ्क फण्ड ट्रान्सफर) गर्दा सेवा प्रदायकहरूले प्रतिकारोबार अधिकतम १० सम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ ।

यसअघि यस्ता कारोबार गर्दा लिने शुल्क राष्ट्र बैङ्कले तोकिदिएको थिएन ।

२२ इन्सपेक्टर डिएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा २२ जना इन्सपेक्टर डिएसपीमा बढुवा भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवाको निर्णय गरेको हो ।

बढुवा समितिको सिफारिस अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् ।

यस्तै क्रमशः रुद्रबहादुर गुर्मछान मगर, अशोक पौडेल, तिलकबहादुर केसी, नारायण शर्मा, लोकराज जोशी, नित्यानन्द ढुङ्गाना, केशवराज सुवेदी छन् ।

बढुवा समितिका अनुसार दीपक केसी, सविना राई, पूजा बेल्वासे, समिता गिरी, मदन पौडेल, गोविन्द प्रसाद पाण्डेय, सरोज कुमार तिवारी, चिरन कोइराला, द्रोणबहादुर बुढाथोकी, धर्मकान्त चौधरी, विष्णुहरि पण्डित, सत्यनारायण रावत, कुशल थापा मगर र झनकराज शर्माको बढुवा गरिएको छ ।

बढुवा सूचीको आठौँ नम्बर सम्मका अधिकृतहरू २०७१ र २०७२ मा इन्स्पेक्टरमा बढुवा भएकाहरू छन् । सूचीको नवौँ नम्बरमा रहेका दीपक केसी सहितका अधिकृतहरू २०७३ मा अनुसन्धान अधिकृत (इन्स्पेक्टर)मा भर्ना भएका हुन् । २०७३ साउन ११ मा नियुक्त भएका अधिकृतहरू बढुवा भएका हुन् ।