बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ ।

बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।

सुन प्रकरणबारे अनुसन्धानका लागि सिआइबीको टोली भारतमा 

काठमाडौँ – हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ ।

बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो ।

अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताए। यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ ।

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ । केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन् ।

जनैपूणिर्माको सार्वजनिक बिदाको दिन काठमाडौ सिडिओ कार्यालय खुल्ला, कर्मचारी छन्, सेवाग्राही छैनन

काठमाडौं । सरकारले बिदाको दिनमा पनि जिल्ला प्रशासन कार्यलय मार्फत प्रवाह हुने सेवा प्रदान गर्ने उद्देश्यले कार्यलय खुल्ला गरि दिइरहेको सेवा लिन सर्वसाधारण असाध्यै न्युन संख्यामा पुग्ने गरेको काठमाडौ प्रजिअको कार्यालयमा आज हाम्रो टोलिले स्थलगत रिपोर्टिङका क्रममा देखेको हो।

ठुलो जिल्ला काठमाडौंको त अवस्था यस्तो छ, भने देशभरका कार्यलय खुल्ला भएपनी सेवाग्राही नपुग्दा कर्मचारीहरू आआपना टेबलमा  फुर्सदिला  देखिएका बताइन्छ। सम्पत्ति न्युजको टोलि आज काठमाडौ जिल्ला प्रशासन कार्यालय  पुग्दा सधैं भिडभाडले लाइन नै राख्नुपर्ने राहदानी शाखा र नागरिकता शाखा मात्रै होइन राष्ट्रिय परिचयपत्र बितवरण शाखामा कर्मचारीहरु मातहतका सेवा दिन आतुर देखिन्थे तर सेवाग्राही नै थिएनन। 
गेट देखि नै सुनसान थियो ।
मुस्किलले एकादुई  सर्वसाधारण प्रवेश गर्नेहरूले तुरुन्तै सेवा पाएपछि दङ्ग देखिएका थिए। निवेदन दिएको तत्काल नै सेवा लिने महाराजगन्ज पानीपोखरी कि सिमा राणा असाध्यै खुसी देखिन्थिन । सार्वजनिक बिदाको दिन आज दिनभरमा २५ वटा पासपोर्ट र ५ वटा राष्ट्रिय परिचयपत्रको निम्ति मात्रै सर्वसाधारण सेवाको निम्ति कार्यालय आएको बताइएको छ।आज नत नागरिकता बनाउन कोहि आए नत प्रतिलिपी को निम्ति नै आए ,अरु कुनै सेवा लिन कोहि नअएकोले यस्तो भिडभाड हुने राजधानीको यस्तो अवस्था छ भने जिल्ला जिल्लामा हुने सेवा प्रवाहको अवस्था के होला किन यस्तो भयो सेवारत कर्मचारी बीच  जिज्ञासा बढेको देखिन्छ ।

सार्वजनिक बिदाको दिनमा पनि प्रजिअ बस्नेत समयमै कार्यकक्षमा

आज जनैपूणिर्माको दिन सधाझै अफिस समयमै पुग्नु भएका काठमाडौका प्रजिअ जितेन्द्र बस्नेत कार्यलय मार्फत दिइने सेवा प्रदान गर्न मातहतका सबै शाखाका कर्मचारी को-को आए ,को- को आएनन् आन्तरिक अनुगमनमा मात्रै थिएनन उनी सेवाग्राहीलाई प्रभाबकारी सेवाका निम्ति कार्यकक्षमा सिसिटिभी मार्फत अनुगमन समेत गरिरहेका भएपनि आज अरु बिदाको दिनभन्दा सेवाग्राही कम भएको हाम्रो भेटमा उहाँले बताउनुभयो । सबै शाखाहरुमा के कस्तो सेवा प्रवाह भैरहेको छ भन्दै सहायक प्रजिअ खडगबहादुर श्रेष्ठ समेत खटिनुभएको देखिन्थ्यो तर सधैं सेवाग्राहीको चापमा रहने कर्मचारीहरुको कार्यसम्पादन देखेर सहायक प्रजिअ श्रेष्ठ सार्वजनिक बिदाको दिन पासपोर्ट ,परिचयपत्र र नागरिकता जस्ता अति जरुरत पर्ने सेवा दिन हामी तयार छौ के गर्नु मान्छे आउदैनन उहाको गुनासो थियो।

प्रजिअ बस्नेतले भने बिदाको दिन सबै सेवा दिइरहेको जानकारी नभएर हो या साच्चै बिदा मनाएका हुन बुझ्न कठिन भएको भन्दै अबका दिनमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवा लिन सबैलाई आग्रह समेत गर्नुभएको छ।

यस्तो छ आज भदौ १४ गते बिहीबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेको कार्यबाट लाभ र सफलता पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आँटेको काममा ढिलासुस्ती हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन माध्यम खालको नै रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । व्यवसायमा नोक्सानी हुन सक्छ, तर सफल यात्राको योग छ ।

डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख (प्रहरी नायब उपरीक्षक) डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । केसीले १८ लाख रुपैयाँ घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाख ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैँसँग राखेका थिए । त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको पनि अख्तियारले जनाएको छ ।

उनले १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई सम्बन्धित व्यक्तिसँग मोलमोलाई गरेर १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-११ पिपिरा चोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलियाबिटबाट बजार तर्फ आउँदै गरेको भे ७ प ७७४६ नम्बरको मोटरसाईकल पिपिरा चोकमा दुर्घटना भएको हो ।

पिपिरा चोकमा रोकेर राखेको कर्णाली प्रदेश ०२०० प ४००४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोटरसाईकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १२ का ४१ वर्षका धर्मदत्त सापकोटा गम्भीर घाइते भएका थिए ।

टाउको र छातीमा चोट लागेका उनलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।

सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।

नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ अनुसार आवश्यक पूर्वशर्तहरू पूरा भएको कुरामा एमसीसी सन्तुष्ट भएको अवस्था र सम्झौता लागू गर्न उसले नेपाल सरकारलाई प्रेषित गरेको पत्रका मितिदेखि यो लागू हुने व्यवस्था छ ।

सम्झौताको धारा ७।४ मा सम्झौता लागू भएको मितिदेखि पाँच वर्षको अवधिसम्म बहाल रहने उल्लेख छ । ३० अगस्त २०२३ मा सम्झौता लागू भएको यो परियोजना २९ अगस्त २०२८ भित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्छ । त्यसो नभएमा खर्च हुन बाँकी रकम एमसीसीले फिर्ता लैजाने छ । सोहीकारण यी आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाब छ ।

एमसीसीको पूर्वतयारीमा आयोजना कार्यान्वयन हुने स्थानमा साइट क्लियर भइसक्नुपर्ने तथा ठेक्का सम्झौता पनि भइसक्नुपर्ने उल्लेख छ । आयोजनाहरुको ठेक्काको प्रक्रिया सुरु भइसकेको छ तर, हालसम्म जग्गा अधिग्रहण भने भइसकेको छैन ।

नेपाल र अमेरिका सरकारको एमसीसीबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउने भनेर २०७४ सालमै सम्झौता भएको थियो । नेपालका तर्फबाट १३ करोड डलर गरी करिब ८३ अर्ब करोड रूपैयाँ लागतमा आयोजना बन्नेछ ।

सन् २०१४ मा एमसीसीले आफ्नो कार्यक्रमका लागि नेपाललाई ‘योग्य’ भनेर छनोट गरेको थियो । त्यसपछि नेपालको निरन्तरको पहलपछि अमेरिकाले एमसीसीमार्फत ५० करोड अमेरिकी डलर अनुदान दिने निर्णय गरेको हो । यो कार्यक्रममा नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर लगानी गर्दै छ । यसरी एमसीसीको परियोजनामा ६३ करोड अमेरिकी डलर (करिब ८३ अर्ब रुपैयाँ) लगानी हुँदै छ

मे २०२२ मा एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थ मन्त्रालयका तत्कालीन सचिव तथा एमसीए नेपालका तत्कालीन अध्यक्ष मधुकुमार मरासिनीले सन् २०२३ को अगस्टदेखि सम्झौता लागू हुने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । केही पूर्वतयारीका काम बाँकी नै रहे पनि सोही समझदारीअनुरुप बुधबारदेखि कार्यान्वयन सुरु गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसीए०लाई १० अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये चालूतर्फ १ अर्ब १ करोड ७४ लाख रुपैयाँ र पूँजीगत तर्फ ९ अर्ब ९२ करोड रुपैयाँ विनियोजन भएको छ ।

गत आर्थिक वर्ष ०७९ र ८० मा ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ४ अर्ब ११ करोड मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

एमसीसी परियोजनाअन्तर्गत भारतीय सीमादेखि न्यू बुटवल, न्यू बुटवल–न्यू दमौली, न्यू दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौंडा र रातमाटे–लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ । यो प्रसारणलाइनको क्षमता ४ सय केभी हुने छ । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । प्रसारणलाइनअन्तर्गतका आयोजनामा करिब ५८ करोड २४ लाख अमेरिकी डलर खर्च गरिनेछ ।

एमसीसीअन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ । यसअन्तर्गत दाङको भालुवाङदेखि बाँकेको सीमा शिव खोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ ।

नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ओरालो यात्रा कायमै रहेको छ ।  साताको कारोबारको पहिलो तेस्रो दिन आज मंगलबार सामान्य ५.०५ अंकले घटेर बन्द भएको नेप्से आज पनि सामान्य अंकले घटेर बन्द भएको हो ।  

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ।

बुधबार नेप्से २.८२ अंकले घटेर एक हजार ९ सय ९० दशमलब ५९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज एक अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । १९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिटी होटल लिमिटेडको शेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ ।  

आज सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज १० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

एसिया कप क्रिकेटअन्तर्गत जारी उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ ।इमाम उल हक ५ रन बनाएर रनआउट भएका छन् । सोमपाल कामीलको बलमा कप्तान रोहित पौडेलले रनआउट गराएका हुन् । 

सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए । हाल ७।३ ओभरको खेल सकिँदा पाकिस्तानले दुई विकेट गुमाएर २९ रन बनाएको छ ।

कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त

काठमाडाै– कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त भएका छन्। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै डा रायलाई निर्देशकमा नियुक्त गरेका हुन्।

उनी कान्तिकै ११ औ तहका डाक्टर हुन्।  यसअधि कान्तिको निर्देशकमा डा युवानिधि बसौला थिए।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. मिश्रा नियुक्त

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.संगीता मिश्रा नियुक्त भएकी छन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा थिइन् । यसअघि विभागको महानिर्देशकमा डा.दिपेन्द्र रमण सिंह थिए । डा.सिंहलाई मन्त्रालय तानिएको छ ।

यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पङ्कज रायलाई जिम्मेवारी दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र वडा अध्यक्षसमेत ८ जनाविरुद्ध मुद्दा दायर गरीएको हो ।

उनीहरूले आव २०७७-७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेका थिए । बोदेबसाइन नगरपालिका वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी अनुसन्धान हुँदा दोषी पाइएकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

‘बोदेबसाइन नगरपालिका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुनप्रसाद यादवले आव २०७७-७८ मा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला सप्तरी बोदेबसाइन नपा वडा नं. ६ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको, कार्यक्रम नै संचालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेश गरी स्वीकृत भई १४ लाख ७१ ह्जार ९२१ रुपैयाँमा माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिन्छ,’ अख्तियारका प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा भनिएको छ, ‘निज यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले उनलाई बिगो रु.१४ लाख ७१ ह्जार ९२१ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुलउपर हुन एवं उनले सञ्चालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ ।’

विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

दमौली । नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति एमसिए नेपाल द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनहुँका विभिन्न स्थानीय तहका जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १२ गते विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको सूचना जारी गरेको छ । आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाअन्तर्गत पर्ने जग्गा तथा घर गोठ, टहरा, कटेरा तथा रूख बिरुवासमेत स्थायी रूपमा अधिग्रहण गर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन तथा जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सोसमेतको दाबीका लागि २१ दिने सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।

उक्त ऐनको दफा १० अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रूख बिरुवा बालीनालीलगायत अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा दिन आग्रह गरिएको उनले बताए ।

साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए त्यसको कारण खुलाएर ऐनको दफा ११ बमोजिम सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने सहायक प्रजिअ गैरेले जानकारी दिए ।

“प्रसारण लाइन निर्माणका लागि आँबुखैरेनी गाउँपालिका(४ को पुरेवेशीबाट उत्तर, लोर्‍याङबाट दक्षिण, सिउरेनीबाट उत्तर, वडा नं ४ कै काफलडाँडाबाट उत्तर, वडा नं ५ को लाब्दीबाट दक्षिण, वडा नं ५ कै बगाई नजिक, वडा नं ६ को डाँडागाउँबाट उत्तर, सिरानुखोलाबाट दक्षिण, घोरेगाउँवेशीबाट उत्तर, ज्यामिरे र छापस्वाराबाट दक्षिण, जलभञ्ज्याङ नजिकैको जग्गा अधिग्रहण गरिनेछ”, उनले भने।

त्यस्तै, बन्दीपुर गाउँपालिका–६ को बनगिया नजिक, कल्लेरीबाट उत्तर, गाम्पाबाट दक्षिण, बासपानीबाट उत्तर, वडा नं ३ को माथिल्लो हलथुम्का नजिकै कुकुर्दीबाट दक्षिण, वडा नं २ को बेलकुनाबाट दक्षिण, धितालडाँडाबाट उत्तर, व्यास नगरपालिका(१४ को आफ्रेडाँडाबाट उत्तर, ठूडेगैराबाट दक्षिण, वडा नं १३ को बेलभञ्ज्याङ, डाँडाचोकबाट दक्षिण, चारघरेबाट उत्तर, थामेडाँडा नजिकै, लामेटारीबाट दक्षिण, बेलचौताराबाट उत्तर, भड्खालाबाट दक्षिणतर्फको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

ऋषिङ गाउँपालिकाको वडा नं १ को डाँडाखुदी नजिकै बाँझोबाट उत्तर, अङ्गेरीथुम्का नजिकै तल्लो सेटाङबाट उत्तर, वडा नं ६ को धरमपानीबाट उत्तर, ज्यामिरेखानबाट दक्षिण, वडा नं ७ को देउरीपानीबाट उत्तर, वडा नं ७ को बारी लिकन्दीबाट दक्षिण, वडा नं ८ को नयाँ ऋषिङबाट उत्तर, झिरुवासबाट दक्षिण धारुङबाट उत्तर, वडा नं ८ कै धरुम भन्ज्याङबाट दक्षिणको जग्गा अधिग्रहण गरिनेछ ।

घिरिङ गाउँपालिकाको वडा नं ८ को मोचाबारीबाट दक्षिण गोर्दी र मचाबारीबाट उत्तर, वडा नं ५ को धाकर्दीबाट दक्षिण, बेलभञ्ज्याङबाट पूर्व साभुङ र मानपुरबाट दक्षिण, वडा नं ३ को खिलाबाट दक्षिण, पोखरीछाप र डाँडाथोकबाट दक्षिण, गैराथोक नजिकै, नेवार हटिया नजिकै, सिलिङचोकबाट दक्षिण, वडा नं २ को फलादीबाट दक्षिण, देउरालीबाट उत्तर, दुमकोटबाट उत्तर, वडा नं १ को चङमराङबाट उत्तरतर्फको जग्गा अधिग्रहण गरिनेछ ।

आयोजनामार्फत रातमाटेदेखि नयाँ दमौली र नयाँ बुटवलदेखि नयाँ दमौलीसम्म प्रसारण लाइन निर्माण हुनेछ ।

तीजका कार्यक्रम आयोजना गर्न पूर्व स्वीकृति लिएको हुनुपर्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले तीजपर्वका अवसरमा कार्यक्रम आयोजना गर्नुपर्दा पूर्व स्वीकृति लिनुपर्ने बताएको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका ठाउँमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव वा अन्य कुनै प्रकारको कार्यक्रमको आयोजना गर्ने भएमा पूर्व स्वीकृति लिएको हुनुपर्ने जनाएको छ ।

‘हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिज नजिकिँदै गइरहेको सन्दर्भमा थप व्यवस्थित बनाउन , ‘तीजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति विना आयोजना नगर्न जानकारी गराएको छ ।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन नगर्न नगराउन पनि कास्की प्रशासनले अनुरोध गरेको छ।

सूचना, सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ र अन्य प्रचलित कानुनको विपरीत हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव पार्टी जस्ता कार्यक्रमहरू नगर्न प्रशासनले अनुरोध गरेको छ ।