बैंक तथा बिमा विज्ञ भट्टराई सम्मानित

काठमाडौं-बैंक तथा बिमा क्षेत्रमा विज्ञ रमेशकुमार भट्टराई सम्मानित भएका छन् ।

विरगञ्जको रेडियो नारायणीले विशेष कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो ।

तीन दशक भन्दा लामो समयदेखि बैंक तथा बिमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको हो ।

शनिबार बिरगञ्जमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरे ।

प्रधानन्यायाधीश जबरा र आन्दोलनरत न्यायाधीशबीच वार्ता

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र आन्दोलनरत न्यायाधीशबीच वार्ता भएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो।

आन्दोलनरत सर्वोच्चका न्यायाधीशहरूको बैठकले न्यायाधीशहरू सपना प्रधान मल्ल,अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरेको हो ।

सो समितिले प्रधानन्यायाधीशको धारणा बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाउनेछ ।

न्यायाधीशहरु ! अदालतमा होइन आफ्ना नेताहरुकहाँ गएर प्रधानन्यायाधीशको राजीनामा माग्नुहोस्: ज्ञानेन्द्र शाही

काठमाडौं-सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा आफूलाई सर्वोच्च अदालतको कुर्सीमा पुर्‍याउने नेताहरुकहाँ गएर माग्नुपर्ने बताएका छन् ।

अदालत बन्द गराएर प्रधानन्यायाधीशको राजीनामा माग्न नमिल्ने भन्दै जनताको न्यायको अधिकारलाई बन्धक बनाउन नपाउने बताए ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले न्यायाधीशहरुलाई तत्काल इजलासमा फर्किएर जनताको न्यायको अधिकार हनन नगर्न भने ।

शाहीले भने,‘जनताले न्याय माग्न जानुपर्ने अदालतलाई न्यायाधिशहरुले बन्धक बनाउन पाउँदैनन् । अदालत बन्द गरेर होइन्, तपाईहरु राष्ट्रपति, संवैधानिक परिषद् र आफूलाई सर्वोच्च अदालतमा पुर्‍याउने नेताहरुकोमा प्रधानन्यायाधीशको राजीनामा माग्नुस् ।’

उनले सबै न्यायाधिशहरु पार्टीको सदस्य हुने विधि नै गैरकानूनी भएको आरोप लगाए । न्यायाधीश भएकाहरु सपथलगत्तै दलको केन्द्रीय कार्यालय पुगेको घट्ना स्मरण गराउँदै उनले अहिलेको अदालतको विकसित घट्ना राजनीतिक दलका केही नेताहरुको स्वार्थको रक्षाका लागि भइरहेको आरोप लगाए ।

अर्को प्रसंगमा शाहीले नेपालको न्यायालय नै विदेशीले किनेको आरोप लगाए । उनले भने,‘न्यायालय विदेशी संस्था युएनडिपीले किनेको छ ।’ अदालत बन्द भएकै कारण जनताले दुःख पाएको भन्दै शाहीले राज्यलाई ठगेर खोक्रो पारेका धमिराहरुले नै आज अदालतलाई बन्धक बनाएको आरोप लगाए ।

‘सर्वोच्च अदालत कुनै व्यक्तिको मात्र होईन्, न त न्यायाधिशको मात्र हो,’ शाहीले भने–‘स्वतन्त्र निकायलाई बन्धक बनाउन पाइदैन् । सदनबाट महाभियोग प्रस्ताव लैजानुहोस् तर अदालतको काम रोक्न पाइदैन् ।’

उनले देशमा कानुनी राज्य र विधिको शासन छ भन्न पनि लाज लागेको टिप्पणी गरे । अदालतलाई बन्धक बनाउनु ठुलो अपराध र अन्याय भएको उनको भनाई थियो । अदालतमा अमर्यादित ढंगले न्यायाधीशहरु प्रस्तुत भएको उनको आरोप थियो ।

उनले भने,‘देशमा अधिकांश वकिलहरु लुटेरा हुन् । उनीहरुले वकिल पेशाबाट कस्ले कसरी पैसा कमाएका छन् त्यो सबैलाई थाहा छ ।’ प्रधानन्यायाधीशलाई हटाउने विधि र नियमको बारेमा न्यायाधीशहरुले अध्ययन गर्नुपर्ने उनको भनाई थियो ।

एक व्यक्तिको पालो अदालतमा २५ वर्षपछि आउने भन्दै शाहीले अदालत बन्द गर्न नहुने जिकिर गरे । न्यायालय बन्द गर्नु लोकतन्त्रमाथि धावा भएको उल्लेख गर्दै शाहीले भने,‘न्यायाधिशहरुले तलव खानुछ भने न्यायालय सुचारु गर्र्नुहोस् ।’

न्यायाधीश नियुक्तिको प्रक्रियानै परिवर्तन गर्नुपर्ने भन्दै उनले न्यायाधिश नियुक्ति राजनैतिक भएको बताए । पार्टीलाई सहयोग गर्नेहरु नै न्यायाधीश भएका उनले आरोप समेत लगाए ।

न्यायालयले नेताहरु जोडिएका मेलम्ची बालुवाटार, लाउडालगायतका काण्डमा कुनैपनि फैसला नगरेकोमा आपत्ति जनाए । अब न्यायाधीशहरु नियुक्ति गर्दा लोकसेवाको विधिबाट गर्नुपर्नेमा उनले जोड दिए ।

९० लाख शरणार्थीहरुलाई नागरिकता दिन नागरिकता विधेयक ल्याउन नहुने भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई उक्त विधेयक फिर्ता लिन आग्रह गरे ।

राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो जागिर: ८३६ कर्मचारीको माग

राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका लागि ८३६ जना कर्मचारी भर्नाका लागी दरखास्त आह्वान गरेको छ ।

बैंकको पदपुर्ती समितीले आइतबार एक सूचना जारी गर्दै चौथो तहको साहयकदेखि नवौं तहको बरिष्ठ प्रबन्धक पद सम्मको कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलयको लागि प्रशासन अन्तर्गत २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उप प्रबन्धक पदमा कर्मचारी माग गरेको छ ।

यस्तै सातवटै प्रदेश अन्तर्गतको कार्यलयहरुका लागि प्रशासन,कानुन,सूचना प्रविधि र नगदमा सहायक प्रबन्धक, बरिष्ठ सहायक र सहायक पदमा कर्मचारी मागेको हो ।

बैंकले खुला गरेको रोजगारीमा आवेदन दिन चाहने इच्छुक र योग्य आवेदकले बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत मंसिर ५ भित्र आवेदन दिन सकिने छन् ।

यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १२ सम्म आवेदन दिन सकिने पनि बैंकले जनाएको छ ।

ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन: अध्यक्ष नेपाल

ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन: अध्यक्ष नेपाल

काठमाडौं- (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा नभएको बताएका छन् ।

इन्जिनियर्स एसोसिएसनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीजीको पालामा भ्रष्टाचारले सीमा नाघेको बताएका हुन् ।

उनले भने “म भ्रष्टाचार पनि गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्ने तर, ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन।’

देश र जनताको आवश्यकताभन्दा बाहिर गएर बालुवाटारमा समेत अनावश्यक रुपमा हेलिप्याड बनाएको आरोप लगाए।

अध्यक्ष नेपालले भने,‘१० मिनेटमा त्यहाँबाट विमानस्थल पुग्न सक्छौँ । तर, ओलीले बालुवाटारमा करोडौं खर्च गरेर हेलिप्याड बनाएका रहेछन्।’

ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन: अध्यक्ष नेपाल

४ सय ८ जनामा कोरोना संक्रमण-८ को मृत्यु

काठमाडौं-७ हजार ८९९ नमूना परीक्षणमा ४ सय ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ५ हजार ७३१ नमूनाको पीसीआर र २ हजार १६८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआर विधिबाट ३७६ र एन्टिजेन विधिबाट ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३४०७ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप ५ सय १८ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या ९३७६ पुगेको छ।

नेप्से सूचक ५५.५० अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से) साताको पहिलो दिन (आइतबार) ५५.५० अंकले बढेको छ ।

गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो ।

आज नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ ।

५५.५० अंक बढेसँगै सूचकले २,८३७.६१ अंक भेटेको छ ।

आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.४६ अंकले बढेर ५३०.४६ पुगेको छ ।

विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६.५४ प्रतिशत बढेको छ ।

वाणिज्य समूहको ५.९६ र होटल तथा पर्यटन समूहको सेयरमा ५.४४ प्रतिशत वृद्धि देखिएको छ ।

बैंकिङ समूह परिसूचक भने ०.१६ प्रतिशत घटेको छ । बैंकिङबाहेक सबै परिसूचक बढ्दो क्रममा पुगेको छ ।

नेविसंघद्वारा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग

काठमाडौँ-नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् ।

जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ ।

‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ ।

शनिबार ६ वटा विद्यार्थी संगठनले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।

शुक्रबार आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको थियो ।

फिल्म ‘उचाइ’को युनिट भारत फर्कियो

काठमाडौं-छायांकनका क्रममा नेपाल आएको बलिउड फिल्म ‘उचाइ’ युनिट भारत फर्किएको छ ।

उचाइको कलाकार तथा प्राविधिक टोली नेपालमा छायांकन सकेर शनिबार स्वदेश फर्किएको हो।

फिल्म ‘उचाइ’ सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको छ ।

फिल्म छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका चर्चित बलिउड कलाकार नेपाल आएका थिए ।

फिल्मको लुक्ला, मनाङ, मुस्ताङ काठमाडौं लगायतका ठाउँमा छायांकन गरिएको छ।

मित्रताको कथामा रहेको भनिएको फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका रहनेछ ।

छायांकनका लागि अमिताभ र डेनी पनि नेपालमा आउने भनिए पनि विविध कारण आउन सकेनन्।

फिल्ममा परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुषा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा लगायतका नेपाली कलाकारकाे पनि अभिनय रहेकाे छ।

‘मैंने प्यार किया’, ‘हम आपके हैं कौन’, ‘हम साथ साथ हैँ’ लगायत सफल र चर्चित फिल्म लेखन तथा निर्देशन गरेका सुरजको यो आठौं फिल्म हो।

‘उचाइ’ २०२२ मा प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।

पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं: मन्त्री खनाल

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै उहाँले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुङ्गोमा पुगिने बताउनुभएको हो ।

कोरोनाबाट सञ्चार माध्यम र पत्रकार प्रभावित भएको आफूहरुलाई स्पष्ट रुपमा जानकारी भएको उल्लेख गर्दै उहाँले छिटो सरोकारवालासँग छलफल गरिने बताउनुभयो ।

सो अवसरमा मन्त्री खनालले आमसञ्चार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “चितवन देशकै मध्यभागमा पर्ने भएकाले यहाँबाट देशभरका पत्रकारले लाभ लिन सक्छन् ।”

आफ्नो मन्त्रालयले विभिन्न क्षेत्र हेर्ने भए पनि आफू मन्त्री भएलगत्तै पहिलो निर्णय पत्रकारसँग सम्बन्धित कार्यविधिमा हस्ताक्षर गरेको बताउनुभयो ।

कार्यक्रममा महासङ्घका वाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले यसअघि प्रदेश सरकारले निर्णय गरेको सञ्चार क्षेत्र विरोधी निर्णयको खारेजीको माग गर्दै सञ्चारमैत्री कानून निर्माण गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफैले सञ्चारमाध्यम सञ्चालन गर्न पर्दैन, सरकारका सकारात्मक कामको निजी सञ्चार माध्यमले गर्दछन् ।”

कार्यक्रममा महासङ्घका प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, सचिव युवराज पुरी, रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे, नुवाकोट शाखाका अध्यक्ष कपिलदेव खनाल लगायतले बोल्नुभएको थियो ।

शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो ।

रथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं-नेपाली सेनाका रथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

राणा बलाध्यक्षमा नियुक्त भएका छन्। सरकारले कात्तिक ११ गते राणालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार

नेपाली सेनाको रिक्त पदहरुमा दरखास्त आह्वान

उपमहानगर प्रमुखको घर अगाडि जनप्रतिनिधिले थुपारे फोहोर

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखको घर अगाडी जनप्रतिनिधिले फोहोर थुपारेका छन् ।

नगर प्रमुखको घर अगाडि सोही पालिकाका जनप्रतिनिधिहरुले फोहोर थुपारेका हुन्।

वडाध्यक्षसहितका जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनको घर अगाडि फोहोर थुपारेका हुन्।

उपमहानगरले नगरभित्रको फोहोर व्यवस्थापन नगर्दा जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरु नगर प्रमुख साहको घर अगाडि फोहर थुपार्ने पुगेका छन्।

तिहार तथा छठ पर्व नजिकिए पनि डम्पिङ साइटको अभावमा उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन ।

जसले गर्दा जनप्रतिनिधिहरुले विरोधस्वरुप नगर प्रमुखकै घर अगाडि फोहोर थुपारेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका – १ का वडाध्यक्ष शत्रुघन साह, वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नं. ७ का अध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले फोहोर थुपारेका हुन्।

नगरका विभिन्न स्थानबाट ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफै ट्याक्टर चलाएर नगर प्रमुखको घरसम्म पुगेका थिए।

फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएकोले विरोधस्वरुप नगर प्रमुखको घर अगाडि फोहोर थुपार्नुपरेको वडाध्यक्ष सुदर्शन सिंहले बताए।

जनकपुरधामकी उपप्रमुख रीताकुमारी झाले सरसफाइको जिम्मा आफूले माग्दा पनि मेयरले नदिएको गुनासो गरिन्।

तीनसयले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ–साताको पहिलो दिन आइतबार सुनको मूल्य ओराला लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

बाढीपीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

कर्णाली-सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् ।

यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ ।

विगतका वर्षहभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए ।

यद्यपि दसैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न पुग्यो ।

पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन् ।

तिला–४ जुम्ला साँपुल्लीगाउँका पशुपति शाहीलाई दसैँको खुशी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो, “दसैं मनाएलगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ । तर विपत्तिले हाम्रो श्रम, मेहेनत र पसिना सबै बगायो ।

एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ । अहिले त हामी सुकुम्बासीजस्तै भएका छौँ ।”

बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको दुःख पोख्दै उहाँले सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पुर्‍याए दीर्घकालीन समस्या समाधान हुने बताउनुभयो ।

सोही वडाका बाढीपीडित पद्मकौंरा शाहीले यति भयानक विपत्तिमा पनि सङ्घ र प्रदेश सरकार बेवास्ताग्रही रहेको दुखेसो पोख्नुभयो ।

“जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत–खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्”, शाहीले भन्नुभयो, “यो त उनीहरु सबैको झुठको खेती रहेछ । कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो ।”

बाढीपीडित हाँसु सुनारले आफ्नो धानखेतको कुनै अवशेष नरहेको जनाउनुभयो । धानखेतमा बाढीले ल्याएको दाउरा सङ्कलन गर्नेबाहेक अरु सबै गुमेको सुनारले दुखेसो पोख्नुभयो ।

बाढीले दलित तथा गरिबहरुलाई ठूलो समस्या परेको छ । प्राकृतिक विपत्तिले रु एक अर्ब बराबरको क्षति भएको विषयमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रदेश तथा सङ्घ सरकारसँग तत्काल राहत र दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमका लागि अनुरोध गरिएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिनुभयो ।

बाढीले झोलुङ्गे तथा काठे पुलहरु बगाइदिएपछि तिला गाउँपालिका–४ जुम्लास्थित नुवाकोट, रावतवाडा र साँपुल्ली गाउँका स्थानीयवासीलाई आवागमनमा ठूलो समस्या भएको छ ।

रावतवाडा गाउँका नागरिक पुल नहुँदा पाँच मिनेटमा पुग्न ठाउँ अहिले करिब दुई घण्टा पैदल हिँड्नुपरेको छ । बाढीपश्चात आजभोलि त्यहाँका बासिन्दा धमिलो नदीको पानी खान बाध्य छन् ।

विद्युत् नहुँदा तिला तथा तातोपानी गाउँपालिका–४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन् ।

कात्तिक २ गते रातिको बाढीले यहाँ चारवटा विद्युत्गृह ध्वस्त बनाएको थियो । सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका–४ गिरीखोला जुम्लाको सिँचाइ क्षेत्रमा मात्र रु १५ करोड क्षति पुर्‍याएको छ ।

बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र विशेषगरी चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगर बनाएको छ ।

धेरै किसान सुकुम्बासी हुनुपर्ने समस्या आइलागेको छ । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले घरसहित करेसाबारी क्षति भएकालाई रु आठ लाख ५० हजार र घर क्षति मात्र भएकालाई रु पाँच लाख दिने सरकारले निर्णय गरेको जनाउनुभयो ।

धानखेती क्षतिको यकिन विवरणलाई आधार मानी बाढीले ढाकेको र बगर बनाएको अवस्थाअनुसार किसानलाई राहत वितरण तथा क्षतिपूर्ति न्यायायिक ढङ्गले गरिने उहाँले बताउनुभयो ।

कालोपट्टी बाँधेर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध प्रदर्शन

काठमाडौँ-कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन् ।

आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसनको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको छ ।

उक्त कार्यक्रम ११ बजेसम्म जारी रहेको नेपाल बार एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको छ ।

तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने अडानमा छन् ।