सर्वनाम शिक्षालयका होस्टल वार्डेन बस्नेत पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरुले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको वयानमा बताएका थिए । तर बस्नेतले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

कोइरालाको भेलामा आपूर्तिमन्त्री बडू सहभागी

काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षीय नेताको भेला सुरु भएको हो ।

भेलामा डा। कोइराला, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन् । बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुन् । यसअघि उनी रामचन्द्र पौडेल खेमामा थिए । कांग्रेसको १४ औँ महाधिवेशनसम्म उनी पौडेलसँगै थिए । यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिएनन् । तर, बिहीबारको भेलामा बडू सहभागी भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्य शैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफू पक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभाग गठन भइसक्नु पर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

यसैगरी, कांग्रेस केन्द्रीय समितिको बैठक दुई दुई महिनामा बस्नु पर्ने व्यवस्था छ । तर, चैतयता कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्वमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको छ । यिनै विषयमा छलफल गर्न भेला बोलाएको कोइरालाले जानकारी दिए ।

आरजुलाई कोरोना संक्रमण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि उनी केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

संसद्को चालू अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ : कानुनमन्त्री कोइराला

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताएका छन् ।

नेकपा एमालेसमेत नागरिकता विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशनभित्रै पारित हुने बताएका हुन् ।

६४औं संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐनसम्बन्धी विधेयकमा धेरै विवाद रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए ।

राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढ्न सरकार लागि परेको बताए ।

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैंकक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।

थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।

श्रीलङ्कन एयरलाइन्सले उडान थप्यो

श्रीलङ्कन एयरलाइन्सले सातामा सातवटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जिएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतबार, सोमबार, मङ्गलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो ।

कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ । प्राधिकरणका अनुसार हाल टिआइए भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यिमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् । टिआइएमा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको आयोगले आज जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज विज्ञप्ति जारी गरी स्वदेशमा निर्मित विद्युतीय मतदानयन्त्र तत्काल व्यवस्थापन हुनसक्ने अवस्था हाल विद्यमान नभएमा आउँदो साउन मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको जानकारी दिनुभयो ।

विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदनमा अविलम्ब विश्वविद्यालयका प्राध्यापक, राष्ट्रसेवक सरकारी कर्मचारी एवं स्वतन्त्र विज्ञ सम्मिलित प्राविधिक समिति गठन गरी यस समितिको सिफारिसका आधारमा विद्युतीय मतदान मेसिनको स्पेशिफिकेशन, मेसिनको गुणस्तर जाँच, विश्वसनीयता परीक्षण गर्ने तथा मेसिनउपर सार्वजनिकरूपमा उठान हुनसक्ने जिज्ञासाहरूको समाधान, भविष्यमा बृहत्तररूपमा मुलुकभर यसको प्रयोग गर्दा मेसिनमा गर्नुपर्ने सुधार र विद्युतीय मतदान मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरुको अनुभवबाट सिकेर उन्नत एवं विशिष्ट प्राविधिक क्षमताले युक्त यन्त्रको प्रयोग नेपालको निर्वाचन व्यवस्थापनमा गर्नेजस्ता विषय समावेश भएको जनाइएको छ ।

आयोगले संविधान तथा सङ्घीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । विसं २०६४ को संविधानसभा निर्वाचनमा आयोगले छवटा निर्वाचन क्षेत्रमा प्रयोग गरेको साथै विसं २०७१ को संविधानसभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौँ, कैलालीलगायत पाँचवटा निर्वाचन क्षेत्रमा सफलतापूर्वक प्रयोग गरिएको थियो ।

आज नेप्से दुई हजार विन्दुमा पुग्यो, दुई अर्ब ४५ करोडकोमाथिको कारोबार

काठमाडौं । नेप्सेमा बिहिबार उच्च अंकले वृद्धि भएको छ । यसअघि १८ सय विन्दुमा झरेको नेप्से आज फेरि बढेर दुई हजार विन्दुमा पुगेको हो । आज नेप्से ७४.९३ अंकले बढेर दुई हजार ३७ दशमलब ६४ विन्दुमा पुगेको हो । बुधबार पनि नेप्से ४१।३९ अंकले बढेर एक हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा पुगेर बन्द भएको थियो ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये १५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, सुर्योदल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार ग्लोबल आईएमई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन

काठमाडौं । काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा ट्राफिक बत्ती जडानकार्यलाई तीव्रता दिएको हो ।

सोहीअनुसार आज कार्यालयले ललितपुर महानगरपालिका–३ र तन्त्र भेन्चर्स प्रालिको सहकार्यमा ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो । बत्तीको शुभारम्भ गर्दै कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

“उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ”, उहाँले भन्नुभयो । प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने उहाँको भनाइ छ ।

कार्यक्रममा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक बत्ती जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने बताउँदै आगामी दिनमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रक्रियामा रहेको र सात स्थानमा जडान कार्य भइरहेको छ । कार्यालयले ट्राफिक बत्ती सञ्चालनमा आएका चोकमा ट्राफिक बत्तीको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न चालक तथा पैदलयात्रुलाई अनुरोध गरेको छ ।

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गर्नुभएको शिष्टाचार भेटका अवसरमा उहाँले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिनुभएको हो ।

मुलुकको समाचार समितिका रुपमा छ दशकभन्दा लामो इतिहास बोकेको राससले सदैव निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी सरकार र जनताका बीचमा सेतुको भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो ।

स्वदेश तथा विदेशमासमेत कार्यसञ्जाल रहेको राससले आफ्नो सेवालाई विविधिकरण गरी अझ चुस्तदुरुस्त, भरपर्दो र गुणस्तरीय बनाउन सुझाउँदै प्रधानमन्त्री देउवाले राससलाई अझ सुदृढ र स्रोतसाधन सम्पन्न बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाचार सङ्कलन तथा सम्प्रेषण कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप नहुने पनि प्रधानमन्त्री देउवाले स्पष्ट गर्नुभएको थियो ।

वर्तमान सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको चर्चा गर्र्दै उहाँले चौथो अङ्गका रूपमा परिचित प्रेसले पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले राससका नवनियुक्त कार्यकारी अध्यक्ष झालाई बधाई तथा शुभकामना दिँदै लामो समयदेखि मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार झाको नेतृत्वमा राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि भई आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन ।

सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका अनुसार कूल रु एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो ।

सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ । कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु ११ खर्ब नौ अर्ब ३७ करोड ३२ लाख बराबर खर्च भएको छ । कूल विनियोजनको ६७.९४ प्रतिशत हो ।

सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ । रु १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म रु आठ खर्ब ६६ अर्ब ९० करोड ६० लाख अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ कूल रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु ९१ अर्ब ३७ करोड ६८ लाख अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ । सरकारले नियमित रुपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ । सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमा नै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ । यो त भयो खर्चको कुरा ।

अब सरकारको आम्दानी पनि हेरौँ । कार्यालयका अनुसार असार १५ गतेसम्म कूल रु नौ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८२.२ प्रतिशत हो । सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य चालु आवका लागि राखेको थियो ।

त्यसमा कर राजस्वतर्फ रु आठ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८४.१९ प्रतिशत हो । चालु आवका कर राजस्वतर्फ रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख लक्ष्य राखेको थियो । यस्तै, अनुदानतर्फ रु ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म रु १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत प्राप्त गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो । कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो ।

कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ ।

सरकारले आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने

काठमाडौँ । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ ।

भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत ३ अर्ब ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए । उनले भने, ‘५ अर्ब भ्याट र कर फिर्ता र बाँकी ३ अर्ब ऋण लिन मन्त्रालयले स्वीकृति दिएको छ ।

अर्थले घटाएको पूर्वाधार र अन्य कर बराबरको रकम पनि निगमलाई दिने भएको छ । अर्थले कति रकम दिनुपर्ने हो, सोको हिसाब निगमसँग मागेको छ ।

११ लाख बराबरको सुनका गहना चोरी

भक्तपुर । ११ लाख बराबरको सुनका गहना चोरी भएको छ । मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका ४ घर भएका ३५ वर्षीय ज्ञान बहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको हो ।

उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको प्रहरीले जानकारी दिएको छ । चोरी भएकोजानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी घटना स्थल पुगेको थियो ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

को को हुँदैछन् वरिष्ठ प्रहरी उपरीक्षक

काठमाडाैँ । नेपाल प्रहरीको रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि ५१ प्रहरी उपरीक्षक (एसपी) हरुको दौडधुप शूरु भएको छ । गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिश गरेसँगै रिक्त एसएसपीका लागि दौडधूप शुरु भएको हो । एसएसपी बढुवाको प्रतिस्पर्धामा २०७४ साउन १९ गते बढुवा भएका ३५ जना मध्ये ३३ जना एसपी छन् । बाँकी २ जनाले यसअघि नै अनिवार्य अवकाश पाएका छन् । सो मितिमा बढुवा भएका एसपीहरुमा दानबहादुर कार्की, ईश्वर कार्की, गणेश चन्द, राजन अधिकारी, मनोजकुमार केसी, रेवती ढकाल, अरुण पौडेल,जीवन श्रेष्ठ लगायतका छन् ।

२०५३ मा भर्ना भएर राष्ट्रिय अनुसन्धानबाट आएका १९ जना पनि बढुवाको लागि शक्ति केन्द्र धाइरहेका छन् । तर, बढुवा गर्दा प्रहरी नियमावलीको नियम ३० को उपनियम २ अनुसार कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण वा विशेष जिम्मेवारीलाई आधार मान्नुपर्ने उल्लेख छ । यसो गर्दा ०७५ जेठ २९ मा एसपीमा बढुवा भएकाहरु पनि पर्ने देखिन्छ ।

बढुवामा ज्येष्ठतालाई मात्र आधार नमानेर कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, चुनौतीपूर्ण जिम्मेवारीलाई पनि हेर्नुपर्ने र यसो गर्दा पछिल्ला व्याजीको पनि बढुवा हुनसक्ने गृह मन्त्रालय स्रोतले बतायो । त्यसो त, प्रहरीतर्फ भर्ना भएकाले आफूहरुले द्धन्द्धको समयमा फिल्डमा गरेको कामको अवमूल्यन हुने गरी राष्ट्रिय अनुसन्धानबाट आएकालाई अगाडि ल्याउन नहुने तर्क गर्ने गरेका छन् । यो तर्कमा गृह मन्त्रालयसमेत सकरात्मक रहेको बुझिएको छ । पछिल्ला व्याजीहरुबाट योग्य र प्रोफेसनल अधिकृतहरुलाई एसएसपीमा बढुवा गर्दा विश्व अधिकारी, सविन प्रधान, सानुराम भट्टराई, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, प्रवीण पोखरे, दीपशमशेर राणा, शेखर खनाल, अभिनारायण काफ्ले, ओम अधिकारी, दिनेश मैनाली, वेलबहादुर पाण्डे लगायतका एसपी पनि एसएसपीमा बढुवाहुन सक्ने देखिन्छ ।

बढुवा प्रतिस्पर्धामा रहेकाहरु २०७४ साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएकाहरु पनि छन् । सिद्धिविक्रम शाह, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, मनोजकुमार यादव, लोकेन्द्र श्रेष्ठ र दीलिपसिंह देउवा प्रहरीमा ‘विवादित अधिकृत’को रुपमा चिनिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा दिनेशकुमार आचार्यलाई ‘अनुसन्धानमा लापरवाही गरेको’ भन्दै कारवाही गर्न आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । मनोजकुमार यादव, विनोद घिमिरे, दीपककुमार बस्नेत, शारदाप्रसाद चौधरी, दीपेन्द्र जिसी, रामेश्वरप्रसाद यादव, दीलिप सिंह देउवा र सञ्जिव शर्मा दास राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका हुन । उनीहरु पनि प्रतिस्पर्धामा रहेका छन् ।

देउवा हाल बारामा रहेका छन् । उनी केही समय अघि मदिराले मस्त भएर कार दूघर्टनामा परेर केही दिन नारायणी क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए । सञ्जीवदास शर्माले रामेछापमा एक हत्याकाण्डलाई लुकाउन ठूलो आर्थिक चलखेल गरेको भन्दै प्रहरी प्रधानकार्यालयले कारवाही गरेको थियो । ओमबहादुर राना रसुवामा प्रमुख हुँदा आर्थिक अनियमतिको आरोपमा कारवाही गरिएको थियो । त्यसैगरी उनी बाँकेको प्रमुख हुँदा पनि कारवाहीमा परेका थिए । गणेश चन्द पनि दाङ एसपी हुँदा विवादित बनेका थिए । सिद्धिविक्रम शाह हाल ललितपुर प्रहरी परिसरमा छन् । उनी रौतहटमा हुँदा पत्रकारलाई लागुऔषध राखेर फसाएको आरोपमा छानवीनमा परेका थिए ।

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सार्वजनिक (नामसहित)

काठमाडौँ । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सार्वजनिक गरिएको छ ।आवेदन दिएकामध्ये ६ जनाको नाम सार्वजनिक गरिएको हाे ।

गत जेठ २० गते सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो ।

दरखास्त दिएका ९ जनामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरुको आवेदन स्वीकृत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार निजगढ–८ बाराका निर्मलकुमार उप्रेती, मध्यनेपाल नगरपालिका–४ लमजुङका तोयराज अधिकारी, टोखा नगरपालिका–७ काठमाडौँका दुर्गादत्त ढकालको उम्मेदवारी परेको छ ।

त्यस्तै कोल्हवी नगरपालिका–४ बाराका डा. द्वारिका उप्रेती, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका युवराज बस्नेत र फलेवास–६ पर्वतका हरिकुमार श्रेष्ठको दरखास्त पनि स्वीकृत गरिएको छ ।

चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशित (सूचीसहित हेर्नुहोस्)

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरेको छ ।

आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरेको हो ।

सूचीमा परेका विद्यार्थीलाई असार २२ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना भइसक्न आयोगले सूचित गरेको छ । झुटो विवरण पेस गरेमा भर्ना रद्द हुने पनि आयोगले जनाएको छ ।

https://drive.google.com/file/d/1-ZQtPzk4xLRI9-GTLGx07z2VgtwGx09P/preview