एमालेमा हामीले बीउ रोपेर आएका छौँ,केही समयपछि फल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् ।

‘३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ,’ प्रचण्डले भने ।

बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादीहरू एक हुनुपर्छ भन्नेमा जनताको तहबाट दबाब आएको चर्चा गरे ।
विगतमा एउटै पार्टी हुँदा एमाले पृष्ठभूमिका कतिपय साथीमा अग्रगमन, जनताको अधिकारको रक्षा लगायतका विषयमा वैचारिक रुपमा सचेत र जागरुक तुल्याएको उनले जिकिर गरे ।

माओवादी मात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘जनताको आवाजलाई नसुनेजस्तो गर्नु हुँदैन ।’ बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दाबी गरेको छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको स्रोतले बताएको छ ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ९ख० मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

त्रिवि केन्द्रीय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित

काठमाडौँ । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै त्रिभुवन विश्व विद्यालय केन्द्रीय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् ।

कार्की आफ्नो प्यानलसहित प्रगतिशिल समुहको तर्फबाट अध्यक्षमा निर्वाचिन भएका हुन् ।

यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा प्रगतिशील समुहकै भुपेन्द्र लामा, उपाध्यक्षहरुमा पुष्कर खनाल, विजय कुशवाह, रवि लोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिङमा दोर्जे शेर्पा विजयी भएका छन् ।

संघको महासचिवमा सृजना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भए ।

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

अध्यक्ष नेपालले दिए सरकारमा सहभागी मन्त्रीलाई प्रशिक्षण

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् ।

दुई दिनअघि मन्त्रीको शपथ दिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् ।
पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए । मन्त्री भएपछि के गर्ने के नगर्ने भनेर उनले प्रशिक्षण दिइरहेका छन् । यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै नेपालले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका साथै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।

लागुऔषध गाँजा सहित तीन जना पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका ८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन ।

हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८ किलोग्राम बरामद गरिए पश्चात उनिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित तीनजना पक्राउ

खेम राज खनाल

झापा । झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् ।

हिजो बेलुका ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट डिजिटल तराजु सहित लागुऔषध ब्राउन सुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ ।

पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

अबिरल बर्षाका कारण डुवानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सकृयता

खेम राज खनाल

काठमाडौं । अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो ।

यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सशस्त्र प्रहरी बल नेपाल बिओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका १ स्थित टाईगर टोलका डुवान प्रभावित १३० वटा घरका करीब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु सुरक्षित स्थानमा सारेको हो ।

यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करीब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको हो ।

सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचिसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल भएका छन् ।
उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए । तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

२०७८ मंसिर ५, ६ र ७ गते सञ्चालित उपप्रशासक पदमा १२ जनाले लिखित परीक्षा दिएका थिए ।

खुलातर्फ २, महिलातर्फ १ र आदिवासी जनजातितर्फ १ गरी जम्मा ४ जनाका लागि उक्त परीक्षा लिइएको थियो । तर कोही पनि लिखित परीक्षामा उत्तीर्ण भएनन् ।

यस्तै शाखा अधिकृत पदका लागि २०७८ कात्तिक २८, २९ र ३० गते परीक्षा लिइएको थियो ।

खुलातर्फ २२, महिलातर्फ ६, आदिवासी जनजातितर्फ ५, मधेशीतर्फ ४, दलिततर्फ एक, अपाङ्गतर्फ १ र पिछडिएको क्षेत्रतर्फ १ गरी ४० जनाका लागि लिइएको परीक्षामा ५४२ जनाले लिखित परीक्षा दिएका थिए। यीमध्ये कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन् ।

साथै २०७७ माघ २५, २६ र २७ गते भएको आर्थिक उपनियन्त्रकको परीक्षामा पनि कोही पनि पास भएनन् । दुई जना माग भएकोमा तीन जनाले लिखित परीक्षा दिएका थिए । कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन् ।

२०८७ मंसिर ५,६ ७ गते भएको लेखा अधिकृतको परीक्षामा १२९ जनाले परीक्षा दिएका थिए । १५ जना माग भएकोमा कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन् ।

यस्तै २०७८ मंसिर १ र २ गते मुख्य कार्यालय सहायकका लागि लिइएको परीक्षामा एक जना उत्तीर्ण भएका छन् । ४३ जना माग भएको थियो । लिखित परीक्षामा खुलातर्फ १ जना अन्तर्वार्ताका लागि छनौट भए भने अरूले नाम निकालेनन् । यो परीक्षामा ७७७ जना सहभागी थिए ।

यस्तै कार्यालय सहायकका लागि ५१ जना माग गरिएकोमा ६७२ जनाले लिखित परीक्षा दिएका थिए । यीमध्ये ८७ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

https://drive.google.com/file/d/1blVdKgErc0RmqfEF6sXoRtlmFQxDECJI/preview

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । हाल देशभर २२९ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।

बुधबार धान दिवसः २७ अर्बको चामल र १५ अर्बको धान आयात

असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर ।

मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।

खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ । भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ ।

नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ ।

सोही अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो । किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ । मुलुकमा कृषि उपजको आयात बढ्दो देखिएको छ । खाद्यान्न आयातमा मुलुकको अर्बौँ रकम बाहिरिरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले रु दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।

त्यस्तै मुलुकमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै धानको बीउमात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।

सोह्र अर्बको मकै आयात

विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौँ रकम बाहिरिएको देखिन्छ । नेपालको हावापानी अनुकूल रहने मकैखेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौँ रकम विदेशिने गरेको हो । विभागको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म रु १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ ।

कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्यमात्रै रु १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ । यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य रु एक अर्ब आठ करोड १० लाख २५ हजार बराबर छ । मकै तथा यसको बीउको आयातबाट सरकारले रु ९३ करोड ३० लाख २२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

पाँच अर्बको गहुँ आयात

विभागको विवरणनुसार गहुँको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु पाँच अर्ब ६३ करोड नौ लाख ४५ हजार बराबरको १७ करोड पाँच लाख १७ हजार ९७३ केजी गहुँ आयात भएको छ । त्यस्तै कोदोको बीउ ११ लाख ४४ हजार ५४२ केजी रु तीन करोड ८२ लाख ६६ हजार मूल्य बराबरको आयात भएको छ ।

यस अवधिमा एक करोड ७९ लाख २५ हजार ६०९ केजी बराबरको जौ रु एक अर्ब २१ करोड ८६ लाख ४८ हजार मूल्य बराबरमा आयात भएको छ । त्यस्तै रु तीन करोड ८२ लाख ६६ हजार मूल्यमा ११ लाख ४४ हजार ५४२ केजी कोदो आयात भएको छ । विभागका अनुसार यस अवधिमा रु १८ लाख २७ हजार मूल्यमा २७ हजार १२९ केजी फापर आयात भएको छ ।

तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका- ४ मटेरिया गाउँको मुख्य सडकमा पिसिसि काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेस गर्दा फिल्डमा भएको भन्दा समग्र पिसिसि परिमाणमा बढी उल्लेख गरी दुई लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसँगै इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भुसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुबाट गैर कानुनी रुपमा हानी नोक्सानी भएको २ लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा जफत गर्न पनि माग गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।

दुई दिन फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।

वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । बर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।

गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।

यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ ।

बामदेवले गरे नयाँ पार्टीको घोषणा, ७५ जना केन्द्रीय सदस्‍य

काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।

गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन् ।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गरेका हुन् ।

निरन्तर ओरालो यात्रामा शेयर बजार, कारोबार रकम पनि खस्कदै

काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । आज नेप्से ११.८२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ३१ विन्दुमा झरेको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ५ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८७१.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ७ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।