रक्सीको सुरमा आफ्नै घरमा आगो लगाउने सिंह पक्राउ 

रौतहट २६ बैशाख। रक्सीको सुरमा आफ्नै घरमा आगो लगाउने राजदेवी नगरपालिकाका एकजना मानिस लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ।

स्थानिय राजदेवी नगरपालिका ९ ब्रहम्पुरी टोलका बर्ष ४५ को नितेश सिंह लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

 मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा  स्थानिय मानिसहरु तथा प्रहरी टोली गई तत्कालै आगो निभाएको र आरोपी सिंह लाई नियन्त्रणमा लिएको थियो।

 आगो तत्काल नियन्त्रणमा नआएको भए सो बाट वरपरका अन्य मानिसहरुको समेत घर जली ठूलो जनधनको क्षति हुन सक्ने प्रवल सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “अपराधिक उपद्रव” शिर्षकमा मुद्दा दर्ता गरी  जिल्ला अदालतबाट म्याद थप गरी थपअनुसन्धान  भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

राष्ट्रिय सभा अन्तर्गतको सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

समितिको बुधबार बसेको बैठकले सुरक्षित कारोबार विधेयक पारित गर्ने निर्णय गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफल पश्चात सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको जानकारी दिइन् ।

सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको जानकारी दिँदै समिति सभापति राईले विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस हुने बताइन् । ‘समितिमा लामो समय छलफल गरी सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको छ । यो ऐन सरकारले ल्याए पनि कार्यान्वयन भएको थिएन । कर्जा दिने र लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज होस् भनेर कारोबार सुरक्षित विधेयक कार्यान्वयनको लागि पास गरेका छौं ।’

उक्त विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज हुनेछ ।

कोशीमा आजै नयाँ सरकार गठन गर्ने, प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

विराटनगर । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ ।

एमाले-माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिए लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् ।

कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हान लगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनको आह्वान गर्छन् चासोको विषय छ ।

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र दुई शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ।

काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न. १६ स्थित खरिबोट, बनस्थलीमा स्थानान्तरण गरिएको छ।

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ । स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।   

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से ०.२१ अंक घटेर १९६०.६० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०९ अंक बढेको छ।

यस दिन कारोबार पनि सुस्त देखिएको छ । आज २ अर्ब ५० करोड रुपैयाँको ५७ लाख ९० हजार १९० कित्ता सेयर खरिद-बिक्री भएको छ । यद्यपि, यो हिजोको भन्दा थोरैले बढी हो । मंगलबार २.०६ अंकले बढेको सेयर बजारमा २ अर्ब १४ करोड रुपैयाँको ५० लाख ६४ हजार ३८ कित्ता सेयर कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा यस दिन फस्ट माइक्रोफाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ग्रामिण विकास लघुवित्तको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जलविद्युत, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको भने बाँकी ९ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, विद्यार्थीको मृत्यु, ८ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङ छन् ।

दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

ब्रोकर कमिसन १० प्रतिशत घटाउने सेबोनको निर्णय

काठमाडौँ । दोस्रो बजारमा सेयर किनबेच गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क (कमिसन) घटेको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले आइतबार ब्रोकर शुल्क घटाउने निर्णय गरेको हो । नयाँ व्यवस्था जेठ १ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ । 

समितिको बैठकले कमिसन घटाउने निर्णय गरे पनि उक्त निर्णयमा सबै सञ्चालकको हस्ताक्षर हुन भने बाँकी रहेको एक सञ्चालकले बताए ।

२०८० जेठमा बोर्डका तत्कालीन अध्यक्षरमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन समिति गठन गरेका थिए । बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ संयोजक रहेको उक्त समितिले ब्रोकर कमिसन १० प्रतिशत घटाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो ।

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए ।

हाल प्रतिकारोबार रकमका आधारमा ब्रोकर कमिसन लाग्दै आएको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा शुल्क हालको भन्दा १० प्रतिशत कम हुनेछ । हाल ५० हजारसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३४, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन छ ।

नयाँ व्यवस्थाअनुसार ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३१, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.२७ र १ करोडभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत कायम हुनेछ ।

जसपाका अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरेका छन् । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनले दाबी गरे ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा फुटेको थियो । अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले नयाँ दल दर्ता असंवैधानिक भएको बताए । राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको भन्दै उनले यसविरुद्ध अदालत जाने समेत बताए ।

कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उनले दाबी गरे ।

यो सरकार बनेदेखि कांग्रेसका कसैसँग भेट समेत नभएको भन्दै यादवले भने, ‘यो सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने अत्यन्त कपोल्कल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन ।’

आफू देश बाहिर रहेको बेला दल फुटाउन प्रधानमन्त्रीलाई भ्रममा परेको महसुस भएको उनले बताए । अमेरिकाबाट फर्किएलगत्तै प्रधानमन्त्रीलाई भेटेका यादवले भने, ‘जुन हौवा फिजाइयो, उहाँ पनि त्यो भ्रममा पारेको भन्ने बुझियो ।’

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयको उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पोखरेललाई वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन्।

१६ वर्षअघि पनि सोही विभागको प्रमुख रहेका पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा छन्।

पोखरेलले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको राज्यको लगानी वृद्धि गर्नु पर्ने बताएका छन् । उनले पत्रकारीता क्षेत्रको प्रवर्द्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिए।

ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो

एजेन्सी । दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल आएको आँधीबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ। उरुग्वे र अर्जेन्टिनाको सीमानामा रहेको राज्यमा कीर्तिमानी वर्षा, बाढी र पहिरोले १३२ जना बेपत्ता र ३६१ जना घाइते भएका छन्।

विगत आठ दिनमा २ लाख भन्दा बढी बासिन्दाहरूलाई घर छोड्न बाध्य बनाएको छ। राजधानी शहर पोर्टो एलेग्रेलगायत राज्यका ४९७ शहरमध्ये ३८८ मा १४ लाखभन्दा बढी मानिस प्रकोपबाट प्रभावित भएका छन्। शहरको ८५ प्रतिशत भन्दा बढी जनसंख्याले पिउने पानीको पहुँच गुमाएका छन्।

बाढीबाट ७९० विद्यालय प्रभावित, ३८८ वटा क्षति र अन्य ५२ वटा विस्थापितलाई आश्रय दिन सेवा दिइरहेकाले राज्यभर कक्षाहरू स्थगन गरिएको छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रकोप स्थलहरूको भ्रमण गरेका छन्।

सुनकोशी-मरिण डाइभर्सन ‘ब्रेक थ्रु’ आज

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सन परियोजना अन्तर्गत सुरुङ निर्माण कार्य सम्पन्न भएपछि आज ब्रके थ्रु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम रहेको छ।

१३ दशमलव तीन किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ब्रेक थ्रु हुन लागेको हो । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ ।

सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा ३ महिना २ दिनअगावै सम्पन्न भएको हो । २०७९ असोज २८ देखि सुरुङ खन्न सुरु भएको थियो । आयोजनाको २०७७ फागुन २० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का लिएको थियो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने तथा खानेपानी आवश्यक भएको खण्डमा शुद्धीकरण गरेर मधेश प्रदेशका खानेपानी अभाव भएको ठाउँमा वितरण पनि गर्न सकिनेछ ।

सुहाङले लिए प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरवारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । 

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् ।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए । 

१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

हरेक मातातीर्थ औंसी, खास बनोस् आमा

हरेक मातातीर्थ औंसी
खास बनोस् आमा
तिम्ले फेर्ने हरेक साँस मेरै
साँस बनोस् आमा ।

जति जुनी पाउँ म
तिम्रै न्यानो काखमा मेरो
बास बनोस् आमा
हरेक मातातीर्थ औंसी
खास बनोस् आमा ।

मर्ने अनेक कारण तर
जन्मिने कारण मात्र तिमी आमा
अप्ठ्यारोमा हौसला दिने
तिम्रो आशिर्वाद बनोस् आमा
हरेक मातातीर्थ औंसी
खास बनोस् आमा ।

धेरै भयो तिम्ले पकाको
खान पाकी छैन
नठान्नु है छोरीले आमा
सम्झिराकी छैन,

मैले खाने हरेक खाना तिम्ले
ख्वाको पहिलो गाँस बनोस् आमा
हरेक मातातीर्थ औंसी
खास बनोस् आमा ।

अबेरसम्म नसुत भनी
व्युँझाउँथ्यौ नी आमा
धेरै भयो तिम्रो आवाजले
व्यूँझ्न पाकी छैन,

हरेक तिम्रो बोली मेरो
साहस बनोस् आमा
हरेक मातातीर्थ औंसी
खास बनोस् आमा ।

रिसाउँदा नी मीठो लाग्ने
तिम्रै बोली मात्र आमा
साथमा नभएनी संगै भाको
आभास बनोस् आमा
हरेक मातातीर्थ औंसी
खास बनोस् आमा ।

मैले गर्ने प्रत्येक काममा
तिम्रो साथ रहोस् आमा
हरेक मातातीर्थ औंसी
खास बनोस् आमा ।।

-रक्षा भट्ट (सुदूरपश्चिम कैलाली)

कोशी प्रदेश सरकारः २८ अर्बको बजेट ल्याउदै

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो ।

कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मङ्गलवार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो । कोशीमा चालु आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो । उक्त बजेट अध्यादेश संसद्मा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे सुरु भएको थियो । १२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बन्नुभएका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याउनुभएको थियो । सो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पेस गरेको प्रतिस्थापन विधेयक, २०८० मङ्सिर १३ गते पारित भएको थियो ।

कोशी प्रदेशको राजनीतिक चलखेलका कारण यस वर्ष उही अवस्था हुँदैन भन्न नसकिने स्थिति छ । अब आगामी आर्थिक वर्षका लागि २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०-०८१ का लागि पहिलो चौमासिक सकिएपछि कोशी प्रदेश सरकारले ३६ अर्ब ७४ करोड बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा केही सानो हुने प्रदेश सरकारका सचिवहरूको धारणा छ । आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावटका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाउने तयारी भइरहेको छ ।

बजेट निमार्णका लागि मन्त्रालयहरूलाई पनि सोहीअनुसारको सिलिङ उपलब्ध गराइएको छ । प्रदेशको राजश्व सङ्कलन बढाउन भने आगामी आर्थिक वर्षदेखि नीतिगत व्यवस्था बमोजिम आवश्यक कामकारबाही अघि बढाउने गृहकार्य भइरहेको सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बताए ।

आगामी आर्थिक वर्षका लागि भने पूर्वाधार विकासका क्षेत्रमा प्रदेशको प्रगति देखिने गरी बजेट निमार्ण भइरहेको बताइएको छ । गोरखापत्रबाट

चट्याङ लागेर सुस्तामा एक महिलाको मृत्यु, बझाङमा चार जना घाइते

काठमाण्डौ । नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । हिजो हावाहुरीसँगै परेको चट्याङ लागेर पुनमको मृत्यु भएको हो ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । हिजो बेलुका आइते रावतको घरमा चट्याङ लाग्दा बेलुदेवी खड्का, लुरी खुड्का, दुदा रावत र एकिन्द्र खड्का घाइते भएका हुन् । घाइतेको गडराय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।