राष्ट्रियसभाबाट दुई विधेयक पारित


राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

फरार रहेका दुई युवक पक्राउ


धनुषा। महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेका छन् । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ मा बस्ने २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएका छन् ।सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमान्ले पठाएको रु दुई लाख जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर प्लाष्टिकको झोलामा रकम र मोबाइल बोकी आउँदै गर्दा लुटेर उनीहरु फरार भएका थिए ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । पक्राउ परेका जितेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार तथा दीपेन्द्रको साथबाट रु ७८ हजार बरामद भएको उहाँले बताउनुभयो ।

भारतलाई बिजुली निर्यात गरेर नेपालले कमायो ३ अर्ब

नदीहरुको प्रवाही आयोजनामा पानीको सतह बढेको र लगभग सबै आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भएकोले नेपालले अतिरिक्त क्षमतामा बिजुली निर्यात गर्न थालेका छन् । वर्षायामको समय भएकोले विगतका वर्षहरूमा खेर जाने बिजुली यो वर्ष भने निर्यात गरेर नेपाल विद्युत् प्राधिकरणले आम्दानी आमदनी गरिहेका छन् ।


नेपालले भारतसँग ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने गरी द्विपक्षीय विद्युत् व्यापार सम्झौता गरेका छन् । नेपालले उक्त क्षमतामा बिजुली २४ सै घण्टा निर्यात गर्न सक्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । प्राधिकरणले फ्रिक्वेन्सी अनुसार थप ४८ मेगावाटसम्म निर्यात गर्न सक्ने व्यवस्था छ ।


सोही व्यवस्था अनुसार अहिले भने प्राधिकरणले ९ हजार ४५ मेगावाट प्रतिघण्टा (दिनमा करिब ३७६ मेगावाट बिजुली) निर्यात गरिरहेको प्राधिकरणले बुधवार साँझ जारी गरेको तथ्यांकले देखाएको छ । नेपालले बिजुली निर्यात गरेको समयमा आयात ठप्प भने नहुने प्राधिकरणले जानकारी दिएको छ । अहिले पनि नेपालले सिमाना क्षेत्रको लागि भने केही बिजुली आयात गरिरहेकै छ ।

भट्टराईले भने, ‘वर्षातको समय भएको र नेपालले निर्यात गर्न थालेको समयमा आयात नहुने भन्ने होइन, आवश्यकता अनुसार आयात पनि हुन्छ ।’ प्राधिकरणकै तथ्यांक अनुसार हाल भारतबाट १ हजार २९५ मेगावाट प्रतिघण्टा (दैनिक करिब ५३.९५ मेगावाट) बिजुली आयात भइरहेको छ ।

भारतलाई दिने सहमति भएको यो बिजुली २४ सै घण्टा भने दिन सकिएको छैन । नेपालले पिक आवरमा कम र अफ आवरमा बढी बिजुली पठाइरहेको भए पनि तोकिएको सीमासम्म पुग्न नसकेको भट्टराईले बताए । अहिले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट मात्रै नेपाल र भारतबीच बिजुलीको कारोबार हुने गरेको छ ।

नेपालले सिस्टमका कारण २४ सै घण्टा भनेजति बिजुली भारतलाई उपलब्ध गराउन नसक्ने प्राधिकरणका अधिकारीको भनाइ छ । नेपाल र भारतबीच डिमाण्ड समय करिब उस्तै भएको हुँदा नेपाललाई चाहिएको बेला उता पनि डिमाण्ड बढ्ने गरेकोले पनि मागे जति बिजुली दिन नसकिने अवस्था रहेको उनको भनाइ छ ।

८ हजार देखि ८ हजार ४ सय मेगावाट प्रतिघण्टा (३३३ देखि ३५० मेगावाट)सम्म बिजुली भारत निर्यात भइरहेको छ । नेपालले १९ जेठदेखि भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर औपचारिक रूपमा बिजुलीको निर्यात थालेको हो । नेपालले भारतमा बिजुली निर्यात गर्न थालेको साउन १० सम्मको ५५ दिनमा भारु २ खर्ब (करिब सवा ३ अर्ब रुपैयाँ)को बिजुली बेचेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

त्यसअघि पनि नेपालबाट केही बिजुली निर्यात भएको थियो । औपचारिक रूपमा नेपालले इण्डियन एक्सेचन्ज मार्केटमार्फत प्रतिस्पर्धा गरेरै भारतमा बिजुली निर्यात गरिरहेको छ । नेपाल र भारतबीचको दैनिक बिजुली किनबेच हरेक दिनको बिहान १० देखि १२ बजेसम्म हुन्छ । उक्त मूल्य सोही दिनको राति १२ बजेदेखि लागू हुन्छ ।

नेपालले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाअन्तर्गतको ३९ मेगावाटबाट भारतमा बिजुली बेच्न थालेको हो । हाल कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको थप १४४ मेगावाट पनि निर्यात हुन थालेको छ ।

यसबाहेक मस्र्याङ्दी, मध्य मस्र्याङ्दी र लिखु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीसमेत नेपालले भारतलाई बेच्न थालेको छ । यी आयोजनाबाट भारतले बिजुली किन्न सहमति जनाएको थियो । सहमतिमा भएकै आयोजनाको मात्रै नेपालबाट भारतमा बिजुली निर्यात हुन्छ ।

नेपालबाट शुरू भएको बिजुली निर्यातलाई सकारात्मक मानिएको छ । यो निर्यातले नेपालमा चालू आवमा व्यापार घाटा कम गर्न सहयोग गर्ने अधिकारीको तर्क छ । अहिलेको निर्यात वर्षातमा मात्रै हुने र हिउँदमा भने नेपालले नै ल्याउनुपर्ने हुन्छ । प्राधिकरणको तथ्यांक अनुसार हाल २ हजार १९० सय मेगावाट बिजुली उत्पादन हुन थालेको छ । यसमध्ये हाल पीक आवरको डिमाण्ड १ हजार ८६९ मेगावाट मात्रै छ ।

थपिँदै ३२८९ मेगावाट बिजुली

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा धमाधम नयाँ आयोजना थप हुने क्रम जारी छ । केही समयभित्रै प्राधिकरणको प्रणालीमा साना–ठूला गरी ३ हजार २८९ मेगावाट बिजुली थप हुने प्राधिकरणका विद्युत् व्यापार विभाग निर्देशक प्रवल अधिकारीले बताए ।

उनका अनुसार यस्तो निर्माणाधीन आयोजनामा विद्युत् प्राधिकरणको ८ मेगावाट, प्राधिकरणको भगिनी कम्पनीबाट ४४७ मेगावाट र निजी क्षेत्रबाट २ हजार ८३४ मेगावाट बिजुली थप हुने भएको छ ।

हाल विद्युत् प्राधिकरणको ६५८ मेगावाट, प्राधिकरणको भगिनी कम्पनीबाट ४७८ मेगावाट, निजी क्षेत्रबाट १ हजार ५४ मेगावाट गरी कुल २ हजार १९० मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तो क्षमता आगामी एक वर्षमै करिब १ हजार मेगावाटले बढ्ने अनुमान गरिएको पनि अधिकारीले बताए । अबको एक वर्षभित्रमा निजी क्षेत्रको करीब ८ सय र प्राधिकरणबाट २ सय मेगावाट बिजुली थप हुने प्रक्षेपण विद्युत् प्राधिकरणको छ ।

प्राधिकरणले विद्युत् उत्पादनको अनुमति दिइसकेको र विभिन्न चरणमा रहेको आयोजनाको बिजुली उत्पादन क्षमता भने ७ हजार ३२ मेगावाट पुगिसकेको छ । यसमध्ये ४७ प्रतिशत अर्ध जलाशययुक्त, ४२ प्रतिशत नदी प्रवाही (आरओआर), ७ प्रतिशत जलाशययूक्त र बाँकी अरू आयोजना रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

भारतसँग नेपालले गरे ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

१२ साउन, काठमाडौं । नेपालले भारतसँग ५ वर्षका लागि झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेका छन् ।

यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छन् ।
गत चैतमा मल खरिदका लागि भएको दुबै सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतका राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए ।

सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने कार्कीले बताए । ‘साउन एकमा दुई कम्पनीबीच मल खरिदका लागि सम्झौता भएको छ,’ कार्कीले भने, ‘सम्झौता ढिलो भएका कारण दोस्रो वर्षअनुसार १ लाख १० हजार मेट्रिकटन युरिया र ६० हजार मेट्रिकटन डिएपी मल ल्याइने छ ।’
सम्झौताअनुसार दोस्रो वर्ष (यो आर्थिक वर्ष) ६० हजार डिएपी, एक लाख १० हजार युरिया, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी मल ल्याइने छ । यस्तै चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार मेट्रिकटन डिएपी ल्याइने छ । पाँचौ वर्ष १ लाख २० हजार मेट्रिकटन युरिया, ९० हजार डिएपी मल ल्याइने छ ।

पहिलो वर्षको बाँकी एक लाख मेट्रिकटन युरिया र ५० मेट्रिकटन युरिया मल ल्याइने कृषि सामग्री कम्पनीले जनाएको छ ।

नेपालले मल आवश्यकताका लागि गरेको आग्रहपछि भारतीय कम्पनीले ग्लोबल टेण्डर गरेर मल खरिद गर्ने र त्यसपछि नेपाललाई बिक्री गर्ने गरी दुई कम्पनी बीच सम्झौता भएका छन् ।

भारतीय कम्पनीले नेपाली कम्पनीकै नाममा बोरामा प्याकिङ सहित मल नाकामा बुझाउने सम्झौतामा उल्लेख छ । मलको ढुवानी गोदाम बिराटनगर, भैरहवा र वीरगन्ज नाका तोकिएको कार्कीले बताए ।

शनिबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुन सक्रिय रहेकोले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । 

“प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, उहाँले भन्नुभयो । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान को  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ । 

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।  

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

खानेपानीको हाहाकार


म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएका छन् ।

यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएका थिए । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधेखोलामा आएको बाढीले क्षति पुर्‍याएको हो ।  बगरफाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताउनुभयो ।  

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा नौ दिनदेखि खानेपानीको समस्या भएको छ । विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो । यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका हेरालु हरि कार्कीले बताउनुभयो । वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाइने उहाँको भनाइ छ ।

उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने


एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ ।

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर त्यस कारन उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो ।

बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ ।

कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।

यसैबीच कामपाले उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ ।

कामपाले फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ ।

बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई आवश्क “नेता पौडेल”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको छ ।

नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएका छन् । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन”, उहाँले भन्नुभयो, “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ।” 

नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताउनुभयो । 

नेपाल प्रकृतिको धनी हुँदाहूँदै पनि मानिसहरु विकास खोज्न भौँतारिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रुपमा लागेको बताउनुभयो । देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अवरुद्व भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने उहाँले बताउनुभयो । 

नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गर्नुभएको छ ।

क्षयरोग मुक्त अभियानमा जुटौ: “डा. संजय ठाकुर”


काठमाडौ । राष्ट्रिय क्षयरोग केन्द्रले प्रदेश स्तरीय कर्मचारी भेला श्रावण ११ र १२ गते गर्ने अभियान अन्तर्गत आजबाट शुरु भएको छ।

आफ्नो मातहत रहेका आपूर्ति कार्यालय र जोडिएको कामलाई कसरी जनमुखी सेवामा रुपान्तरण गर्न सकिन्छ भन्ने उदेश्य मै भेला केन्द्रित रहने केन्द्रले जनाएको छ।श्रावण ११ गते बिहानै देखि शुरुआत भएको सबै प्रदेशका कर्मचारीहरूले आआफ्नो ठाउँमा प्रवाह गरेका सेवामा आएका जटिलता अनि समाधानका उपायहरुमा छलफल भैरहेको सहभागिता जनाउनेहरुको भनाइ छ।

बिगत तीन महिना देखी केन्द्रमा भए गरेका काम निकै प्रभाबकारी रहेको मधेस प्रदेशका निर्देशक बिजय कुमार झा ले भेलालाई सम्बोधन गर्दै आफ्नो धारणा राख्नुभयो।

उहाले भेलामा उपस्थित भएकाहरु माझ केन्द्रका निर्देशक डा संजय ठाकुरले गरेका कामहरूको खुलेर प्रसंशा गर्नुभयो ।

कार्यक्रममा केन्द्रका निर्देशक डा ठाकुरले सबै मिलेर अगाडि बढे सफलता नजिक रहेको बताउदै हामी प्रति गरेका भरोसा टुटन नदिन सबै टिम तोकिएको जिम्मेवारीमा जिम्मेवार र जवाफदेही बन्न सक्नुपर्छ भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा ठाकुरले ल्याब,सप्लाइ, मनिटरिङ ,दक्ष जनशक्ति बनाउन ट्रेनिङका कामहरू पूरा गराउदै हामी अगाडि बढनुपर्छ यसैबाट क्षयरोग मुक्त समाज बनाउन सक्छौ यो हाम्रो अर्जुन दृष्टि हो उहाले भन्नुभयो ।कार्यक्रममा सबै प्रदेशका प्रमुखहरुले आआफ्नो सुझाव सहितको धारणा राख्नु भएको थियो।

कार्यक्रम श्रावण १२ गते पनि दिनभर चल्ने केन्द्रकि सुनिता दुलालले सम्पत्ति न्युजलाई बताइन् ।

एसईईको नतिजा सार्वजनिक नतिजा कसरी हेर्ने


राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १० को माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बुधबार बसेको बोर्डको बैठकद्वारा सार्वजनिक गरेको नतिजामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । नतिजा अनुसार ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीएसम्म ल्याएका छन् ।

एसईई परिक्षा दिएकामध्ये ४१ हजार ६२७ जना विद्यार्थीहरुले ३.२० देखि ३.६०, ६९ हजार ९०० विद्यालर्थीहरुले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जना विद्यार्थीहरुले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।

यसैगरी, २ देखि २.४ जीपीए ल्याउने एक लाख १२ हजार ७३३ जना छन् । १.६ देखि २ जीपीए ल्याउने एक लाख ५९४ जना छन् भने १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । २०७८ को एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।

एसईईको नतिजा हेर्नकालागि राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइट क्लिक तथा आईभीआर र एसमएमएस गर्न सकिनेछ।

नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४।५३ अङ्कले उकालो लागेर ४०२।९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता शेयर रु तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आयो । सो उपसमूहको शेयर मूल्य १२.०४ अङ्कले ओरालो लाग्यो । त्यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन २३.८७, विकास बैंक ५६, जलविद्युत् ७२.३५, वित्त ७५.७४, निर्जीवन बीमा ४३.८, उत्पादन १९.६६, अन्य ३८.९७, लघुवित्त १०७.७३, जीवन बीमा ३४.७९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६९ अङ्कले उकालो लागेका छन् ।

बुधबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ७८ करोड ९० लाख १४ हजार ६४९ बराबर पुगेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट आज पनि शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ९४ लाख ११ हजार ८०८ बराबरको कारोबार भयो । अरुण काबेली पावर रु १२ करोड ३५ लाख ४३ हजार ६७६, गुर्खाज फाइनान्स रु आठ करोड ९२ लाख २१ हजार ७०८, नेष्डो समृद्धि लघुवित्त रु आठ करोड ४८ लाख ४१ हजार २३६ र युनिभर्सल पावर रु आठ करोड ४१ लाख चार हजार ६४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उकालो लागेको बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यसमा जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त छन् ।

एसपीपीका विषयमा पत्र अमेरिकालाई पठाउन ढिलाइ “माधवकुमार”

११ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएको छ ।

सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणले सरकारो निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको राष्ट्रिय सभा बैठकमा जानकारी गराएका थिए । तर परराष्ट्र मन्त्रालयले भने उक्त पत्र अध्ययन भइरहेको भन्दै अमेरिकालाई पठाएको छैन ।

बुधबार सोही विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग जवाफ माग्नुपर्ने बताएका हुन् ।
उनले यस विषयमा रक्षा मन्त्रालयका सचिवसँग पनि जवाफ माग्नुपर्ने बताए ।

अनुचित शर्त राखेको आर्थिक सहयोग त लिन नहुने भन्दै अध्यक्ष नेपालले कुनै सैन्य सहयोग लिनेबारे त सोच्न पनि नसकिने बताए ।

‘कुनै पनि किसिमको सैन्य गठबन्धनमा कसैको पनि सुरक्षा घेराभित्र बस्न चाहदैन । नेपालले क्याटेगोरिकल्ली आफ्नो धारणा प्रष्ट रुपमा राख्नुपर्छ’ उनले भने ।

कुनै पनि देश आफ्नो सुरक्षा स्वार्थका लागि नेपाललाई प्रयोग गर्ने सोच बाट मुक्त हुनुपर्ने अध्यक्ष नेपालले बताए ।

पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोगमा ल्याएका तीन सवारी सङ्ग्रहालय ‘न्यौपा’


पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका तीन सवारी सर्वसाधारणले हेर्न पाओस हुने गरी आज बाट खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमश : प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिनुभयो ।

समितिको अध्यक्षसमेत रहनुभएका सचिव न्यौपानेले सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाउनुभयो । सङ्ग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गर्नुभएको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ ।

बा अ २ नम्बरको गाडी त्रिभुवन र उहाँको परिवारले प्रयोगमा ल्याउनुभएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो । अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्नुहुने जानकारी पनि समितिले दिएको छ ।

यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गर्नुभएको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताउनुभयो ।

विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गरिएको हो । दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्नेगरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये सङ्ग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ ।

दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले सङ्ग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ ।

बस पल्टिएर ट्याक्सीलाई किच्दा एकजना घाइते


ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा एकजना घाइते भएको हो ।
ग्वार्कोस्थित बीएन्डबी अस्पतालअगाडि बुधवार बस पल्टिएर ट्याक्सीलाई किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो ।

बसमा कुनै पनी यात्रुहरू नरहेको बताइएको छ ।

एसईईमा लेटर ग्रेडिङ निर्देशिका लागू नगर्ने


११ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेका छन् । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो । तर, कोरोनाको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकोले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि मंगलबार बसेको बोर्डको बैठकले ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेका छन् ।
बोर्डले आज सार्वजनिक गर्ने तयारी गरिरहेको शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार गर्ने जनाएको छ । जस अनुसार अब ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने छ ।
गत २०७८ पुस ७ गते शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका जारी गर्दै सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको छ । त्यही अनुरुप एसईईको नतिजामा यो पटकदेखि विद्यार्थीको प्राप्ताङ्क सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक हुने र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ ।

निर्देशिकामा ९० र सोभन्दा माथि ल्याउनेलाई सर्वोत्तम (एप्लस), ८० र सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई अत्युत्तम (ए), ७० र सोभन्दा माथि ८० भन्दा कम ल्याउनेलाई उत्कृष्ट (बी प्लस), ६० र सोभन्दा माथि ७० भन्दा कम ल्याउनेलाई उत्तम (बी), ५० र सोभन्दा माथि ६० भन्दा कम ल्याउनेलाई सन्तोषजनक (सीप्लस), ४० र सोभन्दा माथि ५० भन्दा कम ल्याउनेलाई ग्राह्य (सी), ३५ र सोभन्दा माथि ४० भन्दा कम ल्याउनेलाई आधारभूत (डी) र ३५ भन्दा कम ल्याउनेलाई अवर्गीकृत (एनजी) ग्रेड निर्धारण गर्ने व्यवस्था गरिएको छ ।

यो निर्देशिका २०७९ मा जारी भएपछि लागू हुने भनिए पनि कोभिडका कारण यो वर्ष लागू नगर्ने निर्णय गरेको जनाएको छ ।

त्यसैले आज सार्वजनिक हुने भनिएको नतिजामा पुरानै अक्षरांकन (ग्रेडिङ) विधि अपनाइनेछ । जस अनुसार अब ‘ई’ ग्रेड पनि निर्धारण गरिनेछ ।

अक्षरांकन (ग्रेडिङ) विधि अनुसार ९० देखि १०० अंक ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेडमा मूल्यांकन गर्ने व्यवस्था छ ।

अक्षरांकन (ग्रेडिङ) विधिमा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर आउने कुल अंकको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको थियो । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उत्तीर्ण हुने अवस्था छ ।