सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोला २०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा कायम भएको छ ।

हिजो मङ्गलवार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँ थियो ।

यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो मङ्गलवार यसको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम थियो ।

धनुषा २ बाट गठबन्धनको उम्मेदवार काे ?

१२ असोज, जनकपुरधाम । सत्ता गठबन्धनभित्र धनुषा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको भागबन्डा सकसपूर्ण बनेको छ । सो क्षेत्र आफ्नो पोल्टामा पार्न नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच हानथाप चलिरहेका छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदबारका लागि कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा दाबेदार छन् । जसपाले पनि भर्खरै नेकपा एमाले छाडेर आएका गंगाराम यादवलाई धनुषा २ बाटै उठाउने तयारी गरेको छ ।

रामकृष्ण यादव पूर्वमन्त्री र संविधानसभा सदस्य हुन् । शेखर कोइराला पक्षका उनी जसरी पनि यो क्षेत्रबाट उठ्न लागिपरेका छन् । धनुषा २ कांग्रेसको आधार क्षेत्र रहेको र आफू सबभन्दा उपयुक्त उमेदवार भएको उनको दाबी छ ।

गत स्थानीय चुनावमा यो क्षेत्रको ४१ मध्ये १९ वटामा कांग्रेस विजयी भएको थियो । कांग्रेसका यादवले यो परिणामलाई आफूले प्रतिनिधि सभाको टिकट पाउनुपर्ने मुख्य आधार बनाएका छन् ।

पुराना कम्युनिस्ट नेता तथा पूर्वमन्त्री रामचन्द्र झा पनि धनुषा २ मा ‘हेभिवेट’ उमेदवार मानिन्छन् । एकीकृत समाजवादीको जनाधार बलियो भएको क्षेत्र पनि धनुषा २ नै हो । मधेशका ३२ प्रतिनिधि सभा सिटमध्ये रौतहट क्षेत्र नं. १, धनुषा २ र सिरहा ४ गरी ३ वटामा मात्र समाजवादीको दाबी छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ बाट उठ्दैछन् । धनुषा-२ रामचन्द्र झाका लागि सुरक्षित गर्न समाजवादी लागेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ छाडेर धनुषा-२ समाजवादीले लिएको झाले बताए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने झा धनुषा-२ मा पराजित भएका थिए । त्यसबेला वाम गठबन्धनको माओवादी केन्द्रका उम्मेदवार रहेका उनलाई संघीय समाजवादी पार्टीका उमाशंकर अरगरियाले हराएका थिए । अरगरियाले ३२ हजार ४४, झाले १८ हजार ७१५ र तेस्रो भएका कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।

डेंगुकाे बिरामीमा बृधि, हालसम्म ३२ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।

२०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ ।

स्थायी शिक्षकको पदपूर्तिका लागि विज्ञापन खोल्दै आयोग

काठमाडौँ ।  शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७९/०८० को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार स्थायी शिक्षकको पदपूर्तिका लागि आगामी फागुनभित्रमा विज्ञापन गरिसक्नेछ । 

वैशाखभित्रमा प्रथम चरणको परीक्षा गरिसक्ने कार्ययोजना आयोगको छ । आयोगले माध्यमिक तृतीय तहको विज्ञापन पुसभित्रमा निकाल्नेछ । त्यस्तै निम्न माध्यमिक तहको विज्ञापनका लागि सूचना माघभित्रमा निकाल्नेछ । भने प्राथमिक तहका लागि फागुनभित्रमा विज्ञापन आह्वान गर्नेछ । 

माध्यमिक तहको सामान्य परीक्षा फागुनमा, निम्न माध्यमिक तहको चैतमा र प्राथमिक तहको परीक्षा वैशाखभित्रमा गरिसक्ने कार्यतालिका छ । सामान्य परीक्षा वैशाखभित्रमा गरिसक्ने भनेपनि त्यसको नतिजाका विषयमा भने आयोगले कार्यतालिकामा केही उल्लेख गरेको छैन । आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले चालु आर्थिक वर्षमा सामान्य परीक्षा मात्र लिन सकिने बताए । अघिल्लो आर्थिक वर्षमा लिइएको स्थायी शिक्षक विज्ञापनको नतिजा प्रकाशन गर्न सकिएको छैन । त्यसका लागि अझै केही समय लाग्ने आयोगले जनाएको छ । 

‘पुरानो नै सकिएको छैन । हामीले यो आर्थिक वर्षमा परीक्षा गर्न मात्र सक्छौँ । सिफारिस गर्न सकिँदैन । आर्थिक वर्ष २०८०/०८१ मा अन्तर्वार्ता लिने, सिफारिस गर्ने लगायतका काम हुन्छन् ।’ सूचना अधिकारी मरहट्ठाको भनाई छ । असारभित्रमा बाँकी काम गर्न नसकिने भएकाले वार्षिक कार्यतालिकामा थप कामहरू उल्लेख नगरिएको उनको भनाई छ । 

‘माध्यमिक तहको वैशाखसम्ममा सामान्य परीक्षा गर्न सकिनेछ । अरूको कसैको चैतमा, कसैको वैशाखमा हुनेछ । बाँकी परीक्षा र प्रक्रिया आगामी आर्थिक वर्षमा जानेछ,’ मरहट्ठाले भने । अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि चैत/वैशाखभित्रमा विज्ञापन आह्वान गर्नेछ । भने असारमा परीक्षा गर्ने कार्यतालिका बनाएको छ ।

वैदेशिक रोजगारीमा ठगिएकालाई ४८ करोड भन्दा बढी क्षतिपूर्ति

काठमाडौँ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी गराएका हुन् ।

उनले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनी वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताए ।

उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको पनि बताए । मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भई काम अगाडि बढेको पनि उल्लेख गरे ।

त्यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रूपमा रोमानिया मिसन स्थापना गरिएको उनले जानकारी दिए । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भई कार्य भइरहेको पनि उनले बताए । सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको जनाइएको छ ।

मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुनेगरी कार्यान्वयन गरिएको उल्लेख गरे । उनले श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भई जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको बताए ।

त्यसैगरी कम्तिमा २ वर्ष सामाजिक सुरक्षामा योगदान गर्ने योगदानकर्ताहरूलाई कोरोनरी आर्टरी बाइपास वा ओपनहार्ट सर्जरी, मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनलाईन्जुरी, हेडईन्जुरी, सिकलसेल, एनिमिया, हेमोफेलिया र थालासेमिया लगायतका १० प्रकारका घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको बताइएको छ ।

श्रम मन्त्री कुँवरका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकका स्नातक तहको प्रथम वर्षमा भर्ना भई अध्ययन गरिरहेका सन्ततिहरुलाई प्रत्येक प्रदेशबाट १२ जनाका दरले ८४ जनाले स्वदेशी शैक्षिक संस्थामा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने भएको छ । यसका लागि योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिएको उनको भनाइ छ ।

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारको पहुँचमा जोडिन नसकेको भन्दै गुनासो गर्न थालेका छन् । एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका ३० भन्दाबढी सेवाग्राहीले यो सेवा पाउन नसकेको बताइएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा काम परे पहिलेकै जस्तो मानिस पठाएर खबर आदान-प्रदान गर्नुपर्ने अवस्था सिर्जना भएको चङ्खेली गाउँपालिका-६ का बेलसरा तामाङले बताए । यसबाट गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का २५ बस्तीका बासिन्दा समस्यामा परेका छन् ।

मोबाइल सेवा अवरुद्ध भएपछि गाउँपालिकामा सम्पर्क गर्नसमेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । नेपाल टेलिकमलाई समयमै टावरमा आएको खराबीबारे जानकारी गराए पनि हालसम्म सुनुवाइ हुन नसकेको गाउँपालिकाले जनाएको छ । सहज रूपमा प्राविधिक पुग्ने अवस्था नरहेका कारण टावरमा आएको खराबीको मर्मत कहिलेसम्म हुने हो टुङ्गो छैन । यहाँका स्थानीयवासीको गुनासो छ ।

बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता २०७९/०६/१२ गते बुधबार (भोलि)देखि लगाउने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

बसको ठक्करबाट एक बालकको मृत्यु

धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् ।

जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिदा बालक घाइते भएका थिए ।

घाइते बालकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी अस्पतालमा विद्यार्थीलाई ५०% छुट दिने निर्णय: ( सुचिसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशन गरी विद्यार्थीहरूलाई ओपीडी टिकटमा ५०% छुट दिने घोषणा गरेको छ । विद्यार्थी परिचय पत्रको आधारमा संघीय अस्पतालहरुको ओपीडी टिकटमा विद्यार्थीहरूलाई ५०% सहुलियत दिन अनुरोध गरेको हो ।

अस्पतालहरुको सुचि

आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग

काठमाडौँ, मंगलवार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो ।

२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको सङ्घको भनाई छ । लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ ।

मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको सङ्गठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए । उनले यसरी सङ्गठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए । उनले सो सङ्गठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षीय छलफलबाट विद्यमान नीति, नियम र कानुनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सङ्घको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले यस विषयमा छलफल गर्ने र त्रुटि भएको ठाउँमा सच्याउने आश्वासन पनि दिए । हेल्थ असिस्टेन्ट सङ्घ नेपालले आफूहरूको माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

२ सातामा ६७ अर्ब निक्षेप थपियो, कर्जा प्रवाह भने अपेक्षित रुपमा बढ्न सकेन

पछिल्लो केही सातादेखि निक्षेप बढ्ने क्रम जारी छ | यसै क्रममा गत भदौ ३१ देखि असोज ७ गतेसम्ममा मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । त्यसअघिको साता पनि वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको थियो । पछिल्लो २ सातामा मात्र निक्षेप ६७ अर्ब रुपैयाँले बढेको हो |

अहिले महान चाडको बेला विदेशबाट नेपालीहरूले रेमिट्यान्स पठाउने क्रम बढेको, कर्मचारीहरूको तलब, दसैं बोनसलगायतमा सरकारी खर्च बढेका कारण निक्षेपमा सुधार भएको अनुमान लाउन सकिन्छ । गत शुक्रबारसम्म वाणिज्य बैंकहरूमा मात्र ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ । गत भदौ ३१ मा वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो ।

निक्षेपमा सुधार आएतापनि कर्जा प्रवाह भने अपेक्षित रुपमा बढ्न सकेन | तरलतामा समस्या आएको कारण अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेका छन् । गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ | गत भदौ ३१ मा बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो ।

साथै, बैंक तथा वित्तीय संस्थाले अधिकतम ९०% सीडी रेसियो कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेता पनि गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८७.२१% छ ।

एनसिसि बैंक रकुमारी बैंकको शेयर कारोबार रोक्का

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकबीच एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी सम्झौता गरेका छन । मर्जर सम्झैता भएसँगै दुबै बैंकको दोस्रो बजारमा कारोबार रोक्क भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएको छ ।

दुबै बैंकले असोज १० गते दिनको १ बजे सम्झौतापत्रमा हस्ताक्षार गरेका हुन । सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन् । यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्ने बताईएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन् ।

हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवमं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार मर्जर प्रकृया अघि बढेको हो ।

कामु प्रधानन्यायाधीशमा कार्की नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् ।

६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् ।

अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तीर्थाटनका लागि आज भारत जादैछन् । कार्कीलाई भूपू प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिने गरी नीतिगत निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग दर्ता भएसँगै कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपक कार्कीले पाएका थिए । अब हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न भने लामो समय कुर्नुपर्ने देखिन्छ ।

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

गठबन्धनमा रहेका दलशरुबीच प्रत्यक्षतर्फ कुन दलले कति सिट र कहाँ पाउने भन्ने विषय अझै टुङ्गिएको छैन ।

निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्न १२ दिन मात्र बाँकी छ । 

तर, गठबन्धनले भने १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो लगाउन सकेको छैन । 

अधिकांश स्थानमा सहमति भएको भनिए पनि आधिकारिक तथ्याङ्क भने बाहिर आउन सकेको छैन ।

घट्यो सुन चाँदीको भाउ

काठमाण्डौं । सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।