ओली बाहिरिए, कांग्रेस नेताहरु प्रवेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ ।

संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भएको छ ।

ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु पुगेका छन् । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक बस्दैछ ।

बिहान पनि राष्टपति र उपराष्ट्रपतिबारे छलफल गर्न चार दलको बैठक बसेको थियो । राष्ट्रपतिमा कांग्रेस र एकीकत समाजवादी तथा उपराष्ट्रपतिमा जसपाको दाबी छ । अहिले बस्ने चार दलको बैठकले यो विषय टुंगो लगाउने नेताहरुले बताएका छन् ।

सरुवा गरेका ६१ जना सहसचिवहरू (सूचीसहित)

काठमाडौँ । सरकारले सरुवा गरेका ६१ सहसचिवहरूको  सूची फाइनल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत  सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवा सूची टुङ्ग्याएको हो । 

गृह मन्त्रालयका १० सहसचिव गृहबाट बाहिरिएका छन् भने १० सहसचिवलाई गृहमा भित्राइएको छ । हालै बढूवा भएर पदस्थापन हुन बाँकी १० सहसचिवहरुको प्रदेशतिर खटाइएको छ । यसमा अलवा अर्थ मन्त्रालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अलवा प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ ।

प्राप्त जानकारि अनुसार सङ्घ तथा प्रदेश सचिवहरूको सरुवा गरिएको छ । 

सिंहदरबारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल

काठमाडाै । नेकपा (माओवादी केन्द्र)  र जनता समाजवादी पार्टीका नेताहरूबीच अहिले छलफल भइरहेको छ। 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादवसहित नेताहरू सहभागी छन्।

यसअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका  थिए।

यसअघि बुधबार साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो।उक्त सहमतिपछि आज प्रधानमन्त्री प्रचण्डले अरू दलका नेताहरूसँग छलफल गरेका हुन्।

आजै साँझ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक पनि बस्दैछ।  

कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम छिट्टै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताएका छन् । आज बिहान सडक खण्डको स्थलगत निरिक्षण गर्दै उनले उक्त सडक विस्तारको काम सुरु गर्ने बताएका हुन् ।

आज (बिहीबार) मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडक खण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताए ।

समस्याको समाधान निकाली सकेको छौँ । बिजुली पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिट्टै हामीले काम सुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ । बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरूका कुराहरू छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ ।सकेसम्म महाराजगन्जदेखि धोबी खोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ ।

हात्तिपाइलेविरुद्धको औषधि आजदेखि १५ जिल्लामा खुवाइँदै

काठमाडौँ ।  आजदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । 

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ ।  शरीरमा हात्तिपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तिपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

लोक सेवा आयोगद्वारा लिखित परीक्षाकाे तालिका सार्वजनिक

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आर्थिक वर्षमा २०७८/७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आयोगले द्वितीय श्रेणी (प्राविधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत, तृतीय श्रेणीको अधिकृत पद, र नायब सुब्बा वा सो सरहका पद लगायत प्राविधिक र अप्राविधिक पदहरूको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको हो ।

यस्तो छ आयोगले लिने परीक्षा तालिका :

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट भएको छ । आजको कारोबार शुरुदेखि नै ओरालो लागेको नेप्से ५७ अंक भन्दा बढीले घटेर बन्द भएको हो ।  

नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्तलाई दिएको कडा निर्देशनका कारण बिहीबार, लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ। यस दिन ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको छ । आज नेप्सेमा भारी अंकको गिरावट भए पनि कारोबार रकम दुई अर्ब नाघेको छ । आज दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य राताम्मे भएको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार कर्जा विस्तारदेखि लाभांश वितरणसमेतमा कडाइ गरेपछि लघुवित्तको शेयरमूल्यमा पहिरो गएको हो । उक्त कडाइका कारण आज ३७ वटा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने ८ वटा लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।  

उच्च अंकले घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, सामलिङ पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी बढेको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।      

प्रचण्डले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्नै मिल्दैन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालले एमालेबाहेक अरुको राष्ट्रपति उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने तर्क गरेका छन् ।

राष्ट्रपतिकै बारेमा दलहरूबीच रस्साकस्सी चलिरहेका बेला अध्यक्ष ओलीले पुस १० गते भएको सहमति कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको समेत बताएका छन् । जन्मदिनको शुभकामना दिन ओलीको निजी निवास बालकोट पुगेका केही शुभेच्छुकसँग ओलीले भने–‘पुस १० मा जे सहमति भयो कुरा त्यै हो। प्रचण्डले एमाले बाहेकको उम्मेदवारलाई समर्थन गर्नुहुन्न र गर्न पनि मिल्दैन।’

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबारे पुस १० गते नै दुई दलबीच सहमति भएको र प्रचण्डले त्यसैमा सम्झौता गरिसकेको भन्दै ओलीले सम्झौताबाट पछि हट्ने अवस्था नै नभएको बताए ।

अध्यक्ष ओलीले सत्ता गठबन्धन नटुट्नेसमेत दाबी गरे । राष्ट्रपतिमा एमाले उम्मेदवार माधवकुमार नेपाल हो ? भन्ने जिज्ञासामा भने ओलीले मुख खोलेनन्।

फागुन १३ मा सबैलाई थाहा हुनेगरी उम्मेदवार ल्याउँला भन्दै ओलीले हाँसेर टार्ने प्रयास गरेको शुभकामना दिन पुगेका एक नेताले बताए । राष्ट्रपतिमा समर्थन बटुल्न र गठबन्धन भत्काउन कांग्रेसले जति नै दौडधुप गरे पनि त्यो काम नलाग्ने ओलीको भनाइ थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आइएफआर प्रणाली लागू हुँदै

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुँदै छ । आज फागुन ११ गते बिहीबार अर्थात् फेब्रअरी २३ तारिखदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

पोखरामा आइएफआर कार्यान्वयनमा आउने भएपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको छ ।

आइएफआर प्रणाली पूर्ण यान्त्रिक सञ्चालन प्रणाली भएको र भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा आइएफआर उडानमा केही समय लाग्ने भए पनि तुलनात्मक रुपमा सुरक्षित र सहज रहेको प्राधिकरणले जनाएको छ । पोखराको नयाँ विमानस्थल साना जहाजका लागि मात्रै उडान–अवतरणमा उपयुक्त रहेको मानिएको छ । कोरियन र बिज एयरसँग एक सय ९० सीट क्षमताको ए३२१ निओ जहाज रहेको बताइएको छ । हिमालयले न्यारोबडी जहाज एयरबस ३२० बाट पोखराको परीक्षण उडान गरिसकेको छ ।

इच्छुक कम्पनीका जहाज, यात्रु क्षमता र उडान गर्न चाहेका गन्तव्यलगायत प्राविधिक पक्षबारे प्रष्ट छलफल हुने बाँकी रहेको प्राधिकरणले जनाएको छ । गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

सुनको मूल्य घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडाै । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आज (फागुन ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

लघुवित्तको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

६.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।

अफगानिस्तान–चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको क्षतिको विवरण आइसकेको छैन।

यसअघि चिनियाँ भूकम्प नेटवर्क सेन्टरले ७ दशमलव २ म्याग्नीच्युड मापन भएको बताएको थियो। अमेरिकी जिओलोजिकल सर्वेले ६.८ म्याग्निच्युड मापन गरेको हो।

भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महसुस भएको छ। भूकम्पको २० मिनेटपछि ५ म्याग्निच्युडको परकम्प गएको छ। यसैबीच टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ। फेब्रुअरी ६ का दिन गएको शक्तिशाली भूकम्पपछि ७ हजारभन्दा बढी शक्तिशाली परकम्प गएको अधिकारीहरूले जनाएका छन्।

बिहान टर्कीमा ६ दशमलव ३ म्याग्निच्युडको परकम्प महसुस भएको छ।

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं । काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । यही फागुन २५ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि ८ सय ८१ जनाको मतदाता नामावली सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतदाताको नामावली सार्वजनिक गरेसँगै राष्ट्रपति निर्वाचनको प्रक्रिया शुरू भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रयोजनले स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली सार्वजनिक गरेको थियो ।

संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसद्का ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जना सदस्यको नाम रहेको छ ।

संघीय संसद्का ३ सय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बित सांसद टेकबहादुर गुरुङको मतदाता नामावलीमा समावेश गरिएको छैन । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छैन ।

चौधरी पक्राउ परेको सूचना संसद् सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली तयार गरिएकाले उहा“को नाम समावेश नभएको हो । चौधरी राष्ट्रपतिबाट माफी पाएर जेल मुक्त भइसकेका छन् । फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश गरिएको छ । कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ ।

प्रतिनिधिसभा कार्यविधिसम्बन्धी नया“ नियमावली नआएका कारण कोइरी निलम्बनमा नपरेका हुन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने बेला उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावलीमा निर्वाचन आयोगले संसद् सचिवालय र प्रदेश सभा सचिवालयबाट पदमा बहाल रहेका सांसदहरूको सूची मगाएर मतदाताको नामावली अन्तिम गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित नामावलीउपर दाबी विरोध गर्ने समय बुधबार ११ बजेपछि ११ गते बिहीबारसम्म तोकिएको छ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरी माथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

१३ गते बिहान १० बजेदेखि दिउ“सो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । निर्वाचन फागुन २५ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

यस्तो छ आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त तथा अग्रजहरू सँग विवाद बढ्नसक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नसक्छ, तर प्रेमीको साथ पाइनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

लिखित परीक्षाको उपसचिवमा १७ जना छनोट

लोक सेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरीले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले विभिन्न सेवा समूह न्याय, सरकारी वकिल, परराष्ट्र, प्रशासन, लेखापरीक्षणको सहसचिव वा सो सरह रा.प. प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको हो ।

न्याय, सरकारी वकिल समूहमा अन्तर्वार्ताको लागि तीन जना छनोट भएका छन् । छोनोट भएका मध्य मीना गुरुङ, लोकहरि वस्याल र वीरेन्द्रबहादुर के.सी. रहेका छन् । त्यस्तै परराष्ट्र समूहमा अन्तर्वार्ताको लागि चार जना छनोट भएका छन् । जसमध्य मोतिबहादुर श्रीस, लक्ष्मण खनाल, शरदराज आरण र सुरेन्द्र थापा छनोट भएका छन् । प्रशासन समूहमा अन्तर्वार्ताको लागि ६ जना छनोट भएका छन् जसमध्य धर्मराज रोकाय, पार्वती अर्याल, मुक्तिराम अर्याल, रामकृष्ण लामिछाने, बद्रिनाथ गैरे र विन्देश्वरप्रसाद लेखक छनोट भएका छन् । लेखापरीक्षण समूहमा तीन जना छनोट भएका छन् । जसमध्य प्रेमबहादुर मुङ्गमेन, राजेन्द्रराज ओझा र श्यामप्रसाद भण्डारी छनोट भएका छन् ।

विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनौट भएका छन् । मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्रतथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र यस आयोगको दरखास्तव्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यककागजातको प्रमाणपत्रहरु नपु¥याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ ।