फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं- नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ।  पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर बिधिबाट परीक्षण गर्दा पुष्टि भएको हो। 

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिए ।

सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान दिन नसकिएको उनको भनाइ छ । “नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुनेगर्छ”, उनले भने, “तर यो विषयको प्रचारप्रसार र विकास जसरी हुनुपर्ने थियो सो अनुसार हुन सकेको छैन ।”

उनले सहरीकरण र प्रकृतिमा आइरहेका प्रतिकूल परिवर्तनले आखाँका समस्या बढेको र दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए ।

कार्यक्रममा नेत्रज्याति सङ्घका महासचिव भरतबहादुर चन्दले आर्थिक अभाव र पहुँचबाट टाढा रहेका नागरिकलाई विभिन्न कार्यक्रममार्फत आँखासम्बन्धी उपचार निःशुल्क उपलब्ध गराउँदै आएको बताए ।

उनले भने, “सङ्घले दृष्टिविहीनताकोे अधिक प्रभावित क्षेत्र तथा वर्ग समुदायको पहिचान गर्दै उक्त क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । सन् २०२२ सम्म ३० लाख सात हजार दुई सय ९१ को आँखा परीक्षण र दुई लाख ७२ हजार नौ सय ५० जनाको निःशुल्क आँखाका शल्यक्रिया गरिएको छ ।”

उनले सङ्घले सन् २०२३ देखि २०३० सम्मका लागि रणनीतिक योजना बनाइरहेको जानकारी दिए । विसं २०३५ मा प्रा डा रामप्रसाद पोखरेल ‘आँखा बा’ र अन्य सामाजिक अभियन्ताको सामूहिक प्रयासबाट सङ्घको स्थापना भएको थियो ।

नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ । नेत्रज्योति सङ्घले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ देखि २०२२ सम्म १० लाखभन्दा बढी विद्यार्थीको आँखा परीक्षण र पाँच सय ५० विद्यार्थिको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिएको छ ।

नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ मा शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको छ । सर्वेक्षणअनुसार ४० वर्षअघि एक सय जनामध्ये औसत एक जनामा हुने दृष्टिविहीनता अहिले घटेर तीन सय ५८ बराबर एक जनामा हुने गरेको छ ।

महासचिव चन्दका अनुसार कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान परियोजनामार्फत तीन हजार जनाको निःशुल्क शल्यक्रिया गरेको छ ।

२२ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडाैं ।  सरकारले मंसिर १२ गतेबाट आन्तरिक ऋण उठाउने भएकाे छ। नेपाल राष्ट्र बैंकले सरकारका लागि बजारबाट ऋण उठाइदिने भएकाे छ। सरकारले मंसिरदेखि पुससम्म ३० अर्ब रूपैयाँ उठाउन लागेकाे हाे। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बिल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ। 

सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो। 

विभिन्न परिपक्व अवधि भएका चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो। 

पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिको, ६ अर्ब ५० करोड २५ लाख रूपैयाँको ९१ दिन अवधिको, ६० करोड एक सय ८२ दिन अवधिको र पाँच अर्ब रूपैयाँको तीन सय ६४ दिन अवधिको ऋणपत्र नवीकरण गरिन लागेको हो। 

त्यस्तै, पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिका लागि नयाँ ऋणपत्र पनि जारी गर्ने भएको हो। 

गत चैत ६ मा पनि यस्तै विभिन्न अवधिको ऋणपत्र बिक्री गरिएको थियो। 

यिनमा औसत ब्याजदर ८.६८ देखि ९.५५ प्रतिशतसम्म कायम भएको थियो। 

ट्रेजरी विल्सको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक सहभागी हुन सक्छन्।

गृह जानेबारे नारायणकाजी भन्छन् : मैले होइन, प्रधानमन्त्रीले निर्णय गर्ने हो

१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरेका छन् ।श्रेष्ठले भने गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन् । श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिएका हुन् ।

सोमबार मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टी (माओवादी केन्द्र)ले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताएका हुन् ।

तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताए । साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ ।

केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले जानकारी दिए ।

सुत्दा गर्ने ७ गल्ती, जसले स्वास्थ्यलाई गर्छ गम्भीर हानी

काठमाडाैं । मान्छेले आधा जीवन त सुतेरै बिताउँछ। निद्रा जीवनलाई गतिशील बनाउनका लागि जरुरी पनि छ। गहिरो निन्द्रा र आरामदायी सुताइ नै अर्काे दिनका लागि ऊर्जा हुन्। यही सुताइ बिग्रियो भने दैनिकी मात्रै खलबलिदैन, स्वास्थ्यमा समेत गम्भीर हानी पुर्याउँछ। एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन्। त्यस्तै ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गर्छन्। सुत्दा गर्ने सामान्य केही गल्ती यसप्रकार छन्ः

राति कफी पिउनेः कफिन आफैमा उत्तेजक पदार्थ हो। अलि कडा कफी खाएर सुत्दा कफीले सुताईको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ। त्यस्तै पकाएको चिनीले सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अंगलाई दबाब दिन्छ जसका कारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ। तसर्थ रातको समयमा सकभर कफी नपिउनुहोस्। बेडमा जानु अघि त कदापी नपिउनुहोस्। बरु ट्राइफटोफान भएको खानेकुरलाई रातीको स्नायाक्सको रुपमा लिनुहोस्। दही, दुध, केरा, अण्डामा अत्याधिक मात्रामा ट्राइपटोफान हुन्छ। सेरोटोनिन उत्पादन गर्न शरिरलाई एमिनो एसिडको आवश्यकता पर्छ जसले निन्द्राको चक्रलाई नियन्त्रण गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्छ।

पाल्तु जनावरसँग सुत्नेः एउटा अध्ययन अनुसार पाल्तु जनावरलाई सँगै राखेर सुत्ने मानिसहरुमध्ये ६३ प्रतिशत मस्तसँग सुत्न सक्दैनन्।। तसर्थ सुत्दा जहिले पनि पाल्तु जनावरलाई सँगै राखेर नसुत्नुहोला। यदि यी जनावरहरुले अत्यधिक घुर्छन् भने भेटनरी चिकित्सकको सहयोग लिनुहोस्। यी जनावरको र्याल र अन्य रोग मानिसमा सर्ने भएकोले पनि सँगै सुत्नु निन्द्रा मात्रा होइन स्वास्थ्यको हिसाबले पनि उचित छैन।

झुलेर बस्नेः झुल्ने विषयमा विभिन्न धारणाहरु रहेका पाइन्छन्। झुल्दा पनि केही मात्रामा सुत्न सकिने विभिन्न विज्ञहरुले बताएका छन् तथापी यो गलत धारणा हो। झुलेर बस्नु समयको बर्बादी हो। किनकी टेबुलमा उँघेर वा झुलेर आफ्नो निन्द्रा पुरा गर्न सकिँदैन।

अलार्म लगाउनेः कतिपयले अलार्म लगाएर मध्ये रातमा निन्द्राबाट ब्युतिएर आफ्नो काम सकेर फेरि सुत्ने गर्छन्। विशेषगरी कलाकार, साहित्यकार तथा लेखकहरुले यस्तो गर्ने गर्छन्। तर यस्तो ‘ब्रोकन स्लिप’ले मानिसको स्वास्थ्यमा गम्भिर असर गर्छ। यस्तो सुताईले तपाई पूर्ण रुपमा सुतेको अनुभूति गर्न सक्नुहुन्न। यसरी सुत्दा तपाईंले अर्को छुट्टै सुत्ने चक्रको तयार गर्नुहुन्छ जुन अपूर्ण हुन्छ जसका कारण दिउसोभर तपाईं कमजोर अनुभव गर्नुहुन्छ। तसर्थ मध्येरातमा अलार्म नबजाउनुहोस्। जरुरी काम छ भने पनि ठीक उठ्ने समयमा मात्र अर्लाम लगाउनुहोस्। सकभर आफैं ब्युतने प्रयास गर्नुहोस्।

मदिरा सेवनः कतिपय अत्यधिक मदिरा पिएर सुत्ने गर्छन्। मदिरा सुत्दा निन्द्रा नलाग्ने होइन। तर, यसरी सुतेको निद बहोसमा ढले जस्तो हुन्छ र भोलिपल्ट टाउको गह्रुंगो हुन्छ। मदिरा सेवन गरेर सुत्दा प्राय मानिसले सपना नदेख्ने पनि यही कारण बताइन्छ। तसर्थ सुत्न जाने बेलामा कहिल्यै पनि मदिरा सेवन नगर्नु उपर्युक्त हुन्छ। एक युनिट मदिरा प्रोसिस गर्न शरिरलाई सामान्यतया १ घन्टा लाग्ने गर्छ। सुत्ने बेलामा बरु मदिराको सट्टा हर्बल टी लिनुहोस्।

बेडमा प्रविधिको प्रयोगः एक अध्ययन अनुसार सुत्नुभन्दा अगाडि ७८ प्रतिशत मानिसले स्मार्ट फोन, ट्याबलेट, ल्यापटप इत्यदिको प्रयोग गर्छन्। तर, यी उपकरणहरुबाट उत्पादन हुने निलो प्रकाशले सुत्नका लागि सहयोग गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्न ढिलाइमात्र होइन कतिपय अवस्थामा उत्पादनै गर्दैैनन्। तसर्थ बेडमा जाने बेलामा यी समानमा कफ्र्युु लगाउनुहोस्।

टेलिभिजन खोलेर सुत्नेः ३८ प्रतिशत मानिसहरु बेडमा सुतेरै टेलिभिजन हेर्ने गर्छन्। तर, टेलिभिजन खोलेर सुत्दा तपाईं भोलिपल्ट बिहान ढिलो उठ्ने सम्भावना त छँदैछ तपाईंको निन्द्रामा पनि असर गर्छ। यसरी सुत्दा तपाईंको सुताईको चक्रमा गम्भीर असर गर्नुका साथै गहिरो सुत्न सक्नुहुन्न। कहिलेकाही बत्ति जाने र मध्यरातमा बत्ती आउँदा तपाईंको निन्द्रामा नै झस्कन सक्नुहुन्छ।

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन आज सोमबार नेप्से १७.१७ अंकले बढेर एक हजार ९ सय ६ विन्दुमा पुगेको हो । आइतबार नेप्से २६.८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज नेप्से बढेसंगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।  नेप्सेमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३०.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९७ रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शनको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ ।        

नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आजै यस संस्थाको लाभांशमा राष्ट्र बैंकले कैची लगाएको सूचना सार्वजनिक भएको थियो । 

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा यस दिन करिब ६ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जीवन विकास लघुवित्त र नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक घटेको हो।

                       

प्रहरी एआईजीमा बढुवाका लागि ४ जना सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । समितिको सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिसमा परेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध प्रर्दशन

काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध प्रर्दशन भएका छन् । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि मेयर शाहविरुद्ध प्रदर्शन गरेका हुन् ।
संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।
संविधान, कानुन विपरित भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने उनीहरुले चेतावनीसमेत दिएका छन् ।
उनीहरुले विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने माग गरेका छन् ।

आईपीओ निष्काशन गर्दै सिटि होटल

काठमाडाैं । सिटि होटल लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, सर्वसाधारणले २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको छ भने ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

बाजुरामा गएराति ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएका छन् । बाजुरामा गएराति ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

साढे १५ हजार कर्मचारीले सतर्कता केन्द्रमा बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ ।

केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको वार्षिक प्रतिवेदनमा कुल कर्मचारी र पदाधिकारीमध्ये २.२१ प्रतिशतले सम्पत्ति विवरण नबुझाएको उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा पुगेको वा आर्थिक वर्ष सकिएको ३५ दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । राष्ट्रिय सतर्कता केन्द्रले त्यसको अनुगमन गर्छ । अनुगमनका क्रममा कुल ६ लाख ९६ हजार ६२४ कर्मचारीमध्ये ६ लाख ८१ हजार २१५ जनाले मात्रै प्रतिवेदन बुझाएको भेटिएको हो ।

सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने उनीहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ ।

राष्ट्रिय सर्तकता केन्द्रका प्रवक्ता सहसचिव ज्ञानेन्द्रराज सुवेदीका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा संघीय सरकारमा कार्यरत विभिन्न राष्ट्रसेवक ९ हजार ७ सय ९७ जना र स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि गरी ५ हजार ३ जना र प्रदेश सरकारका ५ सय ७४ जना रहेका छन् ।

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक ५ हजार १६ जना र त्यसपछि निजामती कर्मचारी २ हजार ४ सय ८४ जना रहेका छन् । त्यसपछि जनप्रतिनिधि, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी, प्रहरी, राजनीति नियुक्ति लिने तथा जनप्रतिनिधिहरू गरी ७ हजार ५ सय जनाले पनि सम्पत्ति विवरण नबुझाएको उनले बताए ।

सम्पत्ति विवरण नबुझाउने कर्मचारी र सार्वजनिक पदाधिकारीलाई ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । सम्पत्ति विवरण नबुझाउनेहरुबाट मात्रै करिव ७ करोड ७० लाख रुपैयाँ जरिवाना संकलन हुने भएको छ । केन्द्रको विवरण अनुसार, सम्पत्ति विवरण नबुझाउनेको संख्या अघिल्लो वर्षको तुलनामा करिव ३ हजारले घटेको हो ।

सम्पत्ति विवरण नबुझाउने को कति ?

संघीय सरकारतर्फ : ९७९७
प्रदेश सरकारतर्फ : ५७४
स्थानीय सरकारतर्फ : ५०३८

चैत्र १३ गते आज सोमबारको राशिफल यस्तो छ

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ । आम्दानीभन्दा खर्च बढ्न पनि सक्छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । सफल यात्राको योग छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

सडकका दर्जनौं हाकिम सरुवामा

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रवार विभिन्न निकायमा कार्यरत सिडिईहरुको व्यवस्थापन गरेको समाचार जानकारीमा आएको छ ।

सडक विभागको पुलमा रहेका दीप वाहीलाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, बाबुराम सापकोटालाई सडक विभाग पुल, सडक डिभिजन लहानका रामकुमार देवलाई सङ्घीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी, रेल, मेट्रो रेल तथा मनोरेल विकास आयोजनाका प्रकाश चन्द्र भण्डारीलाई सडक विभाग सडक सुरक्षा शाखा, सडक विभाग वैदेशिक शाखा सडक सुधार तथा विकास आयोजना दाङका आशिष थापा मगरलाई पुल, योजना प्रमुख, नारायणघाट–बुटवल सडक योजना पूवी खण्डमा सरुवा गरिएको छ ।

यसैगरी विभाग, पुलका गुरु प्रसाद अधिकारीलाई डिभिजन प्रमुख सडक डिभिजन दाङ, र मनिष कुमार साहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग पुल, आयोजना निर्देशनालय(एडिबी) का राकेश महर्जनलाई (एचआइएमएस) सडक विभाग, सडक डिभिजन जनकपुरका सञ्जय कुमार मिश्रलाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, सडक विभागका नरेन्द्र प्रसाद भट्टलाई सडक विभाग पुल, पुल सुधार तथा मर्मत आयोजना, सडक विभाग पुल अन्तर्गत कञ्चनपुर कमला सडक योजना(पश्चिम खण्ड), काकडभित्ता लौकही सडक योजना(पश्चिम खण्ड) र कञ्चनपुर कमला सडक योजनापूर्वी खण्ड०का गागल बहादुर भण्डारीलाई गुणस्तर तथा अनुसन्धान केन्द्रमा सरुवा गरिएको छ ।

यसैगरी सडक विभाग पुलका रवीन्द्र लाल दासलाई योजना प्रमुख डुम्रे वेशीशहर चामे सडक योजनामा काज पठाइएको छ भने पुलकै सुजन अधिकारीलाई भेरी कोरिडोर जाजरकोट दुनै मरिम तिन्जे धो सडक योजना, पुल, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका खङ्गलाल श्रेष्ठलाई कमला–कञ्चनपुर सडक योजना(पूर्वी खण्ड), पुलमा दरबन्दी राखी नारायणघाट बुटवल सडक योजना९पश्चिम खण्ड०का प्रदीपराज शाक्यलाई आयोजना निर्देशनालय(एडिबी), र त्यहाँका ध्रुवकुमार झालाई हुलाकी राजमार्ग योजना कार्यालय, वीरगन्ज, नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका माधव प्रसाद अधिकारीलाई मदन भण्डारी राजमार्ग योजना कार्यालय, गुल्मी र मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका शशाङ्क मिश्रलाई नारायणघाट–बुटवल सडक योजना(पश्चिम खण्ड) काज सरुवा गरिएको छ ।

त्यस्तै सडक विभाग पुल, सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका राधिका प्रजापति श्रेष्ठलाई विभागको विकास सहायता महाशाखा, र सडक विभाग पुलका मुकुन्द प्रसाद लामिछानेलाई सडक डिभिजन बैतडी सरुवा गरिएको छ ।

यसैगरी १६ जना सिडिईहरुलाई पदस्थापनसमेत गरिएको छ । लामो समयदेखि पदस्थापन नै नगरी काजबाट काजमा खटाइँदै आएका यस पटक भने पदस्थापन गरेर खटाएको मन्त्री सचिवालय स्रोतले जनाएको छ । यसरी पदस्थापन हुने सिडिईहरुमा पुष्पलाल(मध्य पहाडी) राजमार्ग योजना कार्यालय पर्वतका नारायणदत्त भण्डारीलाई सडक विभाग पुलमा दरबन्दी कायम गरी कमला–कञ्चनपुर सडक योजना(पश्चिम खण्ड), सडक डिभिजन बागलुङका बलिराज मल्ललाई पुलमा पदस्थापन गर्दै धनगढी(सहनपुर)–खुटिया–विपिनगर–गढसेरा–दिपायल सडक, सडक डिभिजन दाङका राम पुकार जयसवाललाई पुलमा पदस्थापन गर्दै सडक सुधार तथा विकास योजना कार्यालय, लमही र सडक डिभिजन पाटका रमेश चौधरीलाई सडक डिभिजन लहानमा पदस्थापन गरिएको छ ।

यसैगरी सडक डिभिजन जुम्ला नाग्म गमगढी नाक्चालाग्ना सडक योजना, कर्णाली कोरिडोर दक्षिण खण्ड(खुलालु सल्लीसल्ला सडक योजना) का राजीव श्रेष्ठ सडक डिभिजन प्युठान, विभागको वैदेशिक महाशाखाका प्रकृति पोख्रेल, सडक विभाग पुल महाशाखा, पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयकी अनुक्षा घिमिरे डिभिजन प्रमुख, बागलुङ, मन्त्रालय वा अन्तर्गतका दिपेश रजक, नारायण प्रसाद लामिछाने, सञ्जय पन्थी, विनोद साह, रत्नलक्ष्मी बज्राचार्य, गोविन्द दुमरु, कल्पना अधिकारी, सिंह बहादुर विष्ट र दीपेन्द्र बहादुर विष्टलाई क्रमशः सडक सुधार तथा विकास योजना कार्यालय पाँचथर, सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना, रेल–मेट्रो रेल तथा मोनो रेल विकास आयोजना, रेल योजना कार्यालय दमकसहित, सडक सुधार तथा विकास योजना कार्यालय, बारा, पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजना, पुष्पलाल(मध्य पहाडी) राजमार्ग योजना कार्यालय पर्वत, सडक डिभिजन हर्कपुर र सडक डिभिजन जुम्लामा पदस्थापन गरिएको छ ।

त्यस्तै सडक डिभिजन, हर्कपुरका अरुण कुमार लाल कर्णलाई सडक डिभिजन जनकपुर पठाइएको छ ।
यस पटकको सरुवामा यसअघि पदस्थापन नै नगरी काजमाथि काज खटाइँदै आइएकोमा त्यसलाई व्यवस्थित गर्दै पदस्थापन गरेर मात्र काज पठाइएको छ ।
यो सरुवा प्रति कतिपय कर्मचारीहरु असन्तुष्ट देखिएका छ्न।

सुचना पाएपछि यादवले ताेडे आमरण अनसन

रौतहट। गरुडा नगरपालिकाले मागे जतिको सुचना उपलब्ध गराएपछि दिपक यादवले आमरणअनसन तोडेका छन । बंशिराम अनाथालयका सञ्चालक बंशिराम जयसबाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाको हातबाट जुस खाई एक हप्ता लामो अनसन तोडेका छन ।
स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचन लडेका दिपक यादवले माग गरेको सबै सुचना गरुडा नगरपालिकाले पुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले उपलब्ध गराई दिएपछि अनसन तोडन सहमत भएका थिए ।
नगर प्रमुख प्रत्याशी यादव नगरपालिका बाट आफुले पाउनु पर्ने विभिन्न सुचना नपाएको भन्दै नगरपालिका अगाडि एक साता देखि आमरण अनशनमा बसेका थिए। अनसन बसेको दिन देखि नै गरुडाको वातावरण असहज वन्दै गएको थियो ।

यश अवधिमा नगरप्रमुख कन्तमणि जयसवाल सहित स्थानिय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिपक यादवको स्वास्थ्यको ख्याल गर्दै आमरण अनसन तोडन आग्रह गरेका थिए ।

आफनो मागबाट अलिकति टसमस नभपछि वाध्य भएर गरुडा नगरपालिकाले सुचना उपलब्ध गराएका छन । प्रमुख प्रशासकीय अधिकृत झाले सबै सुचना दिएको दावी गरेका छन ।

आमरण अनसन तोडेका दिपक यादवले बैंक स्टेटमेन्ट बाहेकका सुचना मात्र पाएको बताए ।एक साता भित्रमा गरुडाका स्थानिय प्रहरी र अनसन बसेका यादवका समर्थक बिच पटक पटक झडप ,यातायात अबरुद्ध पार्ने लगाएतका गतिविधि भएका थिए ।

१२ बुन्दामा सार्वजनिक सुनुवाई जो चैत्र ३० गते हुने, ११ बुन्दामा नगरपालिकाको सबै बेैक खाताको स्टेटमेन्ट जो भर्खरै अनसन तोडेका यादवले अझै पाउन बाकी रहेको बताए । १० बुन्दा अनुसार सुचना पाएको यादवले स्पष्ट पारेका छन ।

शेयर बजारको गिरावट कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार नेप्से २६.८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा झरेर बन्द भएको हो । 

त्यस्तै, आज नेप्सेमा एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५३.३० रुपैयाँ पुगेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.४० रुपैयाँ पुगेको छ ।              

नेप्सेका अनुसार जाल्पा विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ८ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ । 

त्यसैगरी, यस दिन एनआईसी एशियाको करिब ८ करोडको शेयर किनबेच भएको छ भने नेष्डो समृद्ध लघुवित्तको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक ३.८४ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।