प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरिएको थियो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई समेत समान बिगो माग गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजहरूलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। 

सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

काठमाडौँ । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो ।

सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरु गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत गराइने स्पष्ट पारे ।

मन्त्री मोदीले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन जानकारी दिए । उनले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिने कार्यलाई निरुत्साहित गरिएको बताए । हाल एक सय ४२ तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।

बढुवा तथा खुला प्रतियोगिताबाट आउने उपसचिव तथा सहसचिवको पहिलो पदस्थापन स्थानीय तहमा हुने व्यवस्था मिलाइएको छ । मन्त्रालयले आगामी साउनदेखि स्वचालित र पूर्व अनुमानयोग्य सरुवा प्रणाली लागू गर्न कार्यदल पनि गठन गरेको छ ।

वाणिज्य बैंकका प्रबन्धक शाहीलाई ८ वर्ष जेल

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्।किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्। उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ।

विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको विशेष अदालतले जनाएको छ। उनलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ।

विशेषका अध्यक्ष शालिग्राम पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासबाट यस्तो फैसला भएको हो। इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारणका लागि आइतबारको पेसी राखिएको थियो।

विशेषका अनुसार शाहीका साथै यस मुद्दामा रिजवान अहमद जसगढ पनि दोषी पाइएका छन्। उनलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ। यस मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा अनियमितता मुद्दा दायर गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण : आशिष पक्राउ

काठमाडौँ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाे छ ।

यसअघि यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना जेल चलान भइसकेका छन्। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन् ।

प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त रहेकामध्ये अझै ११ जना फरार रहेका छन्। फरार सूचीमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापादेखि निरज राईसम्म छन्।

२०७९ चैत १२ मा ३ अभियुक्तलाई पक्राउ गरी ठगीमा अनुसन्धान गरिएकामा अनुसन्धानको दायरा बढाएर संगठित अपराधमा मुद्दा चलाइएको थियो । त्यसक्रममा किर्ते र राज्यविरुद्धको अपराधसमेत जोडेर ४ वटा कसुरमा दायर मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

उद्योग विभागका २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । 

सेवा ग्राहीसँग घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोमा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस-रिसवत लिएको अख्तियारको ठहर छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरु दुवैजनाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए ।

नेप्सेमा दोहोरो अंकले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार ११.६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ । 

साताको दोस्रो कारोबार दिन, दोस्रो बजारका लगानीकर्ताहरु वित्त तथा लघुवित्त कम्पनीहरुमा आकर्षित भएका छन्।

आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ९८ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

आज आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

यस दिन हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्लु लघुवित्त, सिटि होटल र सिभिल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन माउन्टेन इनर्जी नेपाल, आशा लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सुपर मादी हाइड्रोपावर र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

आज सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

न्यायाधीश श्रीकृष्ण भट्टराईद्वारा राजीनामा

काठमाडौँ । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक सङ्कट परेको भन्दै पदबाट राजीनामा दिएका हुन् । 

सर्वोच्च अदालत श्रोतका अनुसार न्यायाधीश भट्टराईले सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । भट्टराईले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए । तर सुनुवाइ समितिले उनको उजुरीलाई ‘उजुरीका लागि उजुरी’ भन्दै छलफल गर्नै उचित ठानेन । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश बनेको कारण उनी मातहत बसेर काम गर्न नैतिक सङ्कट पर्ने भन्दै भट्टराईले राजीनामा बुझाएका हुन् ।

भट्टराईले राजनीतिक मानिसहरु पदमा आएर राजनीतिक आस्थाको लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै आपत्ति जनाउनु भयो । प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हालेपनि संसदीय सुनुवाई समितिले विवेक प्रयोग गर्न नसकेको बताउनु भयो । उहाँले संसदीय सुनुवाई समिति नै अवैध रहेको भन्दै सुनुवाई समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको बताउनु भयो ।

उहाँले आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि आफू सक्रिय रहने बताउनु भयो ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आज सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ ।

उनको ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रुपैँया ४१ पैसा सम्पत्ति देखिएकामा त्यसमा १ करोड ४० लाख ११ हजार ७ सय ८१ रूपैंया ७१ पैसा अवैध देखिएकाले सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

२०७४ साउन ३२ गते तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले ढकाललाई पशुपति विकासको कोषको सदस्य सचिवमा नियुक्त गरेका थिए । ढकालले ४ वर्षे कार्यकाल पूरा गरी २०७८ साउनमा अवकाश लिएका थिए ।

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड

काठमाडौँ  । उप प्रधानमन्त्री एवं गृह मन्त्री नारायण काजी श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।  

काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको अलफ्ट होटलमा आयोजना गरिएको कार्यक्रममा गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो।  

आज भएको बाँडफाँडबाट कम्पनीको शेयर ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । त्यस्तै एक भाग्यशाली लगानीकर्ताले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।

सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड गरेको हो ।

आइपिओमा आवेदन दिने लगानीकर्ताले चार वटा साइटबाट नतिजा गर्ने व्यवस्था मिलाइएको छ । लगानीकर्ताले सिडिएससीको आइपिओ नतिजा हेर्ने साइट CDSC IPO Result, तथा मेरो शेयरको वेवसाइट MeroShare, र मेगा क्यापिटल मार्केटको वेवसाइटबाट  Mega Capital Markets Limited. बाट हेर्न सकिनेछ ।

पशुपतिको सुनको जलहरी जोखियो, कति रहेछ तौल ? 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।

पशुपतिनाथको स्वर्ण जलहरी जोखेर परीक्षणको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
जलहरीलाई पुनस् मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ । सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ। मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ ।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । 

गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।

जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाएर जलहरी परीक्षण गरिएको थियो ।

इनारभित्र पसेका दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानरपालिका–११ अरनिकोमार्गमा पानी तान्ने मेसिन इनारमा खसेपछि लिन गएका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५ तले घर बनाउने क्रममा पानी तान्ने मेसिन इनारमा खसेको थियो । मेसिन तान्न इनारमा गएका दुई जनाको अक्सिजन कम भएर मृत्यु भएको हो ।
झापाका दिपेन लिम्बु पानी तान्ने मोटर निकाल्न इनारभित्र छिरेको र बेहोस भई त्यहीँ खसेपछि सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ उनलाई निकाल्नका लागि इनारभित्र गएका थिए ।

उनीहरूको शव पोष्ट मार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्ज लग्ने तयारी भएको प्रहरीले जनाएको छ । दुवै जना अरनिको मार्गमा घर बनाउने ज्यालादारी गर्न आएका थिए ।

एसइईको नतिजा असार १८ भित्रै राष्ट्रिय परीक्षा बोर्ड सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका अनुसार विद्यार्थीको प्राप्ताङ्क इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अङ्क पुनर्जाँचको काम भइरहेको छ ।

यस पटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ ।  सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।

लोक सेवाद्वारा खरिदारको नतिजा सार्वजनिक (सुचनासहित)

लोक सेवा आयोगले न्याय,प्रशासन, लेखा समूह खरिदार वा सो सरह राजपत्र अनंकित द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या २२ जनामा लिखित परीक्षामा संमिलित संख्या ३ सय ७८ जनामा ४० जना छनोट भएका छन् ।

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १५ रुपैयाँले बढेर आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् । यात्रुबस ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।

ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।