नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से आज थप २.१७ अंकले घट्दै १८९४.५३ बिन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज कारोबार रकम पनि संकुचन भएको छ । हिजो सोमबार एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज एक अर्ब २८ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको हो । १०२ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १२६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत्‌ छ ।


आज कारोबार भएकामध्ये बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर ३९४.८० रुपैयाँ पुगेको छ । नारायणी विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक ५।३३ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य २० रुपैयाँले घट्दै ३५५ रुपैयाँ कायम भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ८ करोड ५९ लाख बराबरको कारोबार भएको हो ।   

शेयर लगानकर्ताहरु मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रतिक्षामा देखिएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ता भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएका हुन।

राष्ट्र बैंकले यसै साताभित्र चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। उक्त समीक्षामा शेयर बजारलाई समेत सम्बोधन गर्ने अपेक्षामा लगानीकर्ता छन्।

नार्कको केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को आर्थिक बर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्क अन्तरगतका ६२ वटा कार्यालयहरुको समग्र प्रगति विवरण सो समीक्षा गोष्ठीमा पेश गरिएको थियो ।

कार्यक्रममा बोल्दै कृषि मन्त्रालयका सहसहचिव डा।रामकृष्ण श्रेष्ठले कृषि अनुसन्धानको विकल्प अनुसन्धान नै भएकाले बदलिदो परिस्थितिमा कृषि अनुसन्धानलाई विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कृषि अनुसन्धानमा लगानी बढाउनुपर्ने र कृषि अनुसन्धानको नीतिमा स्पष्टता अपनाए मात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताए । बर्तमान आर्थिक संकटको अवस्थामा पनि नार्कले अनुसन्धानमा प्राप्त गरेको सफलता सराहनीय र सफल प्रविधिलाई सरोकारवाला सबै मिलेर किसानसम्म पुर्याउनु आवश्यक रहेको सहसचिव श्रेष्ठले बताए ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्क अन्तर्गतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै अनुसन्धानका लागि प्राप्त हुने बजेटको उच्चतम उपयोग गरि समयमै प्रतिफल प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताए । उनले कृषि अनुसन्धानबाट प्रभाव हुने सेवालाई प्रभावकारी बनाउन जोड दिन र भावी योजना बनाउँदा सन्तुलित बजेट बिनियोजनमा विशेष ध्यान दिन निर्देशन दिए ।

कार्यक्रममा नार्कका बैज्ञानिक डा. विवेक सापकोटाले त्रैमासिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा पहिलो त्रैमासिकमा सम्पन्न भएका चालु र पूँजिगत कार्यक्रमहरु, वित्तीय प्रगति, बेरुजुको अवस्था लगायतका बिषयहरु समेटिएका थिए । नार्कका अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा. सुधा सापकोटाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले पहिलो त्रैमासिकमा भएको कार्यक्रम र खर्चलाई हेर्दा देशैभरीका कार्यालयहरुको प्रगति सन्तोषजनक रहेको बताए । प्रदेश स्तरका समीक्षा गोष्ठीहरु यसअघि नै सम्पन्न भैसकेका छन् ।

कार्यक्रममा नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, प्रशासन निर्देशक नविनप्रकाश पौडेल, आर्थिक प्रशासन निर्देशक मनसकुमार कंडेल, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखः, राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठानका निर्देशक डा।स्वयमप्रकाश श्रेष्ठ, बिभिन्न महाशाखा प्रमुखहरु, बिभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरु, बैज्ञानिकहरु लगायतको सहभागिता रहेको थियो ।

सुनको भाउले आज फेरी बनायो नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउले दिनानुदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । मंसिर १२ गते, मंगलबार सुन तोलामा ३०० रुपैयाँले महंगिएको छ । सोमबार पनि सुनको भाउ नयाँ उचाइमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । यो हालसम्मकै उच्च विन्दु हो।

हिजो पनि सुनको भाउ सर्वाधिक महंगो रहेको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले उकालो लाग्दा प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

 आन्दोलनमा पक्राउ परेका श्रीनिवासलाई मुद्दा चलाउने तयारी

काठमाडौं । दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।

त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियन्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।

प्रहरीले सोमबार मात्र दुर्गा प्रसाईँ समर्थित १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । त्यसअघि बल्खु प्रदर्शनमा पक्राउ परेका ६ जना पनि प्रहरी हिरासतमा छन् ।

हमासले बन्धक बनाएका ११ जना इजरायली रिहा

एजेन्सी । हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ । इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ।

‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो।  उता, कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ।

इजरायल र हमासले शुक्रबार देखि गाजामा चार दिनका लागि लडाइँ रोक्न सहमत भए पछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ ।

गाजाबाट केही विदेशी कैदीहरूलाई छुट्टै रिहा गरिएको छ। यसअघि युद्धविरामको दुई दिनको विस्तारमा सहमति भए अनुसार गाजा पट्टीले इजरायली कैदीहरूको संख्याको तीन गुणाको सट्टामा प्रति दिन कम्तिमा १० जना बन्धकहरूलाई रिहा गर्नु पर्नेछ।

मौलापुरमा लोकप्रिय बन्दै कार्यक्रम असाहय संग मेयरछोरीको विवाह मण्डपमै गरिन्छ चेक हसतान्तरण

रौतहट १२ मंसीर। रौतहटको मौलापुर नगरपालिकामा असहाय संग मेयर कार्यक्रम लोकप्रिय बन्दै गएको छ। मधेश प्रदेशमै पहिलो महिला मेयर रिना कुमारी साहको उदारता र सक्रियताले नगरबासी माझ असहाय संग मेयर कार्यक्रम लोकप्रिय बनेको हो।
असहाय संग मेयर कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अठोटका साथ माैलापुर नगरपालिका ६ पथराका विजय गिरीजीकाे छाेरीकाे बिवाहमा सहभागी भई सोमवार मेयर साहले विवाह मण्डपमै सहयोग स्वरुप ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
साथै उहाँले नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण बिपन्न परिवारको छोरीको विवाहमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विवाह भन्दा एक हफ्ता अगाडी विवाहको कार्ड सहितको फाइल पेस गर्न आग्रह गर्नु भयो। पेस हुने फाइलकै आधारमा बिबाहकै दिन घरमै अनुदान रकमको चेक उपलब्ध गराउने उनले जानकारी गराउनु भएको छ । छोरीको बिबाहपछि आउने फाइलहरू मान्य नहुने नियम लागु भएको मेयर रिना कुमारी साहले जानकारी दिनुभयो।
असहाय संग मेयर कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा छोरीको बिहेको लागि आर्थिक बर्ष २०७९।०८० मा ५० परिवारलाई आर्थिक सहयोग गरिएको छ।
छोरीको विवाहमा सहयोग स्वरुप जनही ३० हजारका दरले ५० जना परिवार एवं निवेदकको खातामा १५ लाख रुपैयाँ पठाईएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताउनुभयो। बाकी केही निवेदकको रकम अर्को पठाईने प्रक्रियामा रहेको अधिकृत साहले जानकारी दिएका छन्।
२०७९ सालको स्थानीय निर्वाचनमा अत्यधिक मत ल्याई लगातार दोश्रो पटक मौलापुर नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भइ २०७९ साल जेठ ६ गतेबाट नगर प्रमुख पदको कार्यभार सम्हाल्नु भएकी मधेस प्रदेशको प्रथम महिला मेयर रिना कुमारी साहको पद निर्वाचन आयोगको गत असोज २९ गतेको निर्णय एवं ३० गतेको सूचनाबाट रिक्त भएको थियो। सर्वोच्च अदालतको गत कार्तिक २४ को फैसला बमोजिम गत ५ गते पुनः कार्यभार सम्हाल्नु भएको थियो।
मेयर रिना कुमारी साह पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पत्नी हुन।

वडा अध्यक्ष राकेश यादव पप्पुको चौतर्फी आलोचना

रौतहट १२ मंसिर। रौतहटको फतुवा बिजयपुर नगरपालिका ९को वडा अध्यक्ष राकेश यादव उर्फ पप्पुयादवको चौतर्फी आलोचना सुरु भएको छ।
वडा अध्यक्ष यादव आफ्नो काम कर्तब्य बिर्सेर आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर फतुवा विजयपुरको लेखाअधिकृत नवीन कुमार यादव संग अभद्र ब्यवहार गरेको कारण उनको चौतर्फी आलोचना सुरु भएको हो। सोमवार दर्जन बढी मानिस पत्रकार लगायतले यसै विषयमा आआफ्नो तरिकाले वडा अध्यक्ष पप्पु भन्ने राकेश यादवको आलोचना गर्दै उनलाई सुझाव समेत दिएका छन। एकजना पत्रकार कृष्ण तिवारीले आफ्नो आधिकारिक आईदी मार्फत सामाजिक सञ्जाल फेसबुकमा यसरी लेखेका छन
तपाईं एउटा जनप्रतिनिधि हुनुहुन्छ , तपाईंको अगाडि एउटा नेपाल सरकारको कर्मचारीमाथि अपशब्द गालीगलौज र दुर्व्यवहार गर्नु अराजकताको प्रकाष्ठा हो। वडा अध्यक्षले केके गर्न सक्छन? वडा कार्यालयका काम,कर्तव्य र अधिकार केकेछ्न, त्यस् तर्फ ध्यान दिनुको सट्टा पालिकामा गएर भिडियो बनाउने कार्यमा ब्यस्त हुनुहुन्छ । कामकाज छोडेर तपाईं पालिकामा के गर्दै हुनुहुन्छ , कर्मचारी संग तपाईं आएको समय सोधपुछ गर्दै हुनुहुन्छ भने त्यो समयमा हजुर आफ्नो कार्यालय छोडेर पालिकामा के गर्दै हुनुहुन्छ । के तपाईं माथि कानुन लाग्दैन ? तपाईं जनप्रतिनिधि जोसँग समाज रूपान्तरणको ठोस नीतिगत कार्यदिशा हुनै नपर्ने । समाजका असन्तुष्टिहरूको तुष्टीकरण गरेर त्यसैमा खेलेर राजनीतिको जीविका चलाउने । त्यस्तो पात्रले समाजलाई दिन सक्ने भनेको उत्तेजना मात्रै हो । आफू भए ठीक । नभए या आफूमाथि प्रश्न उठे त्यसको जवाफ दिने होइन उल्टै अरूलाई गाली, बेइज्जती, अपमान गर्ने । समाजलाई ध्रुवीकृत गर्ने । घृणाको बिस्कुन फिँजाउने । चरम लोकप्रियतावादी दक्षिणपन्थी विषालु हावाले समाजलाई डस्ने । बाँकी सारा खराब, म एक्लो असल भन्ने आत्मालापको दुन्दुभि फुकेर सिंगो समाजमा ध्वनि प्रदूषण मच्चाउने । चिच्याउने । जति चिच्यायो उति ठूलो भइन्छ भन्ने स्थापित गर्ने वडा अध्यक्ष पप्पु भन्ने राकेश यादवको आलोचना गर्दै पत्रकार कृष्ण तिवारीले सुझाव समेत दिएका छन। उल्लेखनीय छ नेपाली कांग्रेसकै केही वडा अध्यक्षहरुले केही कर्मचारीलाई अघि सारेर फतुवा बिजयपुरमा गरेको तालाबन्दीका कारण असारमा हुनुपर्ने नगरसभा हालसम्म नभएर सम्पूर्ण आर्थिक कारोबार ठप्प भएको थियो। कांग्रेस बाहेकको सर्वदलीय समितिको पहल र मेयर अम्बेया खातुनको अगुवाईमा ताला फोडेर नगरपालिका सञ्चालन गरिएको थियो।
एक हप्ता नबित्दै प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन यादवको मिहिनेतले नगरको सम्पूर्ण सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ। नगरपालिकाका ३५० भन्दा बढी शिक्षक कर्मचारीले पाँच महिना देखि तलव सुविधा पाउन सकेका छैनन्। कर्मचारीको तलब पठाउन तथा नगरको काम नियमित सञ्चालन गर्न चाँडै नगरसभा गर्ने उद्देश्यले मेयर खातुन, अधिकृत प्रधान सँगै जनप्रतिनिधिहरु लागिपरेका छन्। यस्तो अवस्थामा कांग्रेस पार्टी बाट निर्वाचित वडा अध्यक्ष पप्पु भन्ने राकेश यादवले नगरका कर्मचारी संघ अभद्र ब्यवहार गरेर के संदेश दिन चाहेका छन् उनको उदेश्य बारे सहजै अनुमान गर्न सकिन्छ।

एमाले रौतहटको अधिवेशन माघ १२ र १३ गते हुने

रौतहट १२ मंसिर। नेकपा एमाले जिल्ला कमिटी रौतहटको जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ। एमाले जिल्ला कमिटी रौतहटको सोमवार पार्टी कार्यालय गरुडामा बसेको सचिवालय वैठकले उक्त निर्णय गरेको हो। बैठकले माघ १२ र १३ गते पार्टीको दशौ जिल्ला अधिवेशन गर्ने निर्णय गर्नुका साथै पुष छ गते जिल्ला कमिटीको पूर्ण वैठक आयोजना गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश कमिटी सदस्य रामजी साहले बताए।

त्यसैगरी नेकपा एमालेको झुलाघाट- चिवाभन्ज्यांग यात्रा सफल पार्न कृयाशिल हुने निर्णय बैठकले गरेको थियो।नेकपा एमाले जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्य द्धय उद्दव रेग्मी, अजय गुप्ता, केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर यादव प्रदेश कमिटी सदस्यहरू बिना साह, हिरा खपाङ्गी गौरीशंकर जैसवाल जिल्ला अध्यक्ष सच्चिदानन्द साह लगायतको उपस्थिति रहेको जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी दिएका छन्। सञ्जय मिश्रा

उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले नगरपालिकाका तत्कालीन उपप्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध दुई लाख १२ हजार ७३ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण बमोजिम सजाय गरी बिगोसमेत जफल हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको आयोगले जनाएको छ।

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सबइन्जिनियर हर्षलाल चौधरीविरुद्ध रु. दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार रामधुनी नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ सुनीलकुमार चौधरीविरुद्ध पनि समान बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ।

साथै जाल्पा सिद्ध निर्माण सेवा पकली सुनसरीमा प्रोपाइटर नानुकुमारी निरौलाविरुद्ध पनि रु. दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

नेप्सेमा दाेहाेराे अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अंकले घटेर १,८९६ दशलमव ६७ को विन्दुमा कायम भएको छ ।

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा आज एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कमनिीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

त्यस्तै, आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।   

दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको छ । प्रदर्शनकारीले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईँले आज धार्मिक अगुवालाई उतारेका छन् । धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए । उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको थियो ।

त्यस्तै बाहिर जिल्लाबाट आएका लघुवित्तरसहकारीका ऋणीहरू पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । आन्दोलन पाँचौँ दिनमा आइपुग्दा अधिकांश घर फर्किसकेकाले प्रदर्शनकारीको सङ्ख्या घट्दै गएको छ ।

सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो। एक महिनाको अवधिमा सुनको मूल्यले पुनः रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ

प्राधिकरणले काटिदियो लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन, पाँच दिनदेखि विद्युतविहीन

लुम्बिनी । महसुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटिएको छ । महसुल नतिरेपछि ​दाङको देउखुरीस्थित मन्त्रालयमा मंसिर ५ गते विद्युत लाइन काटिएको हो । जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय पाँच दिनदेखि विद्युतविहीन छ । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाजसमेत प्रभावित भएको छ ।
 
रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको प्राधिकरणको लमही शाखाले जनाएको छ । कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा रहेको मन्त्रालयको नाममा जडान भएको विद्युतको दुई लाख ७२ हजार २६४ रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ । रकम भुक्तानी गर्ने विषयमा मन्त्रालय जिम्मेवार नभएपछि बाध्य भएर विद्युत काट्नुपरेको हो ।’  ‘

कार्तिक पुर्णिमा स्नानको लागि लालबकैया,बाग्मती नदीमा भक्तजनको घईँचो, भुत मेलामा सैयौं प्रस्थान

रौतहट ११ मंसीर। कार्तिक पुर्णिमाको अवसरमा लालबकैया र बागमती नदीमा आज बिहानैदेखि स्नान गर्नेहरुको घुँईचो लागेको छ । पूर्णिमाको अवसर पारेर स्थानिय कटहरिया, मौलापुर, देवाही गोनाहि नगरक्षेत्र अन्तर्गत लालबकैया नदीको बिभिन्न घाट र गढीमाई, राजदेवी नगरक्षेत्र अन्तर्गत बागमती नदीको बिभिन्न घाटमा बिहानै देखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ।
त्यसैगरी कमला नदीमा स्नानका लागी यहाँ बाट सैयौं मानिस त्यहाँ पुगेका छन । बिहान सूर्य न उदाउँदै लालबकैया,बाग्मती, लगायत बिभिन्न नदीमा कमला नदिमा स्नानका लागी भिड लागेको छ । त्यसैगरी रौतहटको कटहरिया लगायत बिभिन्न पालिका बाट धामी झाँक्रीको पहलमा धनुषाको कमला नदिमा पुर्णिमा स्नान गर्न र भुत मेलामा सहभागी हुन सैयौं मानिस ( कारणी) त्यहाँ पुगेको छ।
कार्तिक महिनाको पूर्णिमालाई कार्तिक पूर्णिमा, त्रिपुरोत्सव पूर्णिमा र कार्तिकस्नान पनि भनिन्छ।
धर्मशास्त्रमा अनुसार कार्तिक पूर्णिमाको दिनमा गंगा स्नान गर्नुको बिशेष महत्व रहेको छ। आज पूर्णिमाको दिन नदी जलाशयमा स्नान, पछि दान गर्नाले मानव जुनी बाट मुक्ति पाउने जनविश्वास रहेको पाइन्छ।
कार्तिक महिना हिन्दू महिनाहरूको १२ महिनाहरू मध्ये सातौं महिना महिना हो। सौर्यमास प्रणाली अनुसार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुसार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पञ्चांगका अनुसार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ। यो महिना शरदऋतुको दोस्रो महिना हो। अङ्ग्रजी महिनाको अक्टुबरको आधा महिना र नोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।प्राचीन हिन्दु परम्परा र मान्यता अनुसार कात्तिक महिनामा कुनैपनि देवकर्महरु गर्न नमिल्ने र गरिहालेमा पनि उल्टो फल प्राप्त हुने जनविश्वास रहिआएको छ। यसै कारण कार्तिक महिनामा शुभ विवाह हरु र विशेष पूजा आजाहरू गर्न नमिल्ने कुरा हिन्दु अभिलेख र ग्रन्थहरूमा उल्लेखित छ । कात्तिक महिनामा कार्तिक स्नानको ठुलो महत्व रहेको छ। यस महिनामा खास गरेर स्नान, दान, आदी कार्यहरू गर्न सकिन्छ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि शुरु हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातक बाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ ।
कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।
आइतबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।
कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने कटहरिया नगरपालिकाका ५ धामी सिकिन्दर यादवले बताएका छन्।
धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको र
यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन देखि नयाँ-नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास रहेको छ ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।
कटहरिया ५ का झाँक्री यादवले मात्र दर्जनौं कारणी लाईकमला नदी स्नानका लागि लागेका छन्।
( स्थानिय भाषामा भूत प्रेत लागेका मानिस महिला पुरुषलाई कारणी भन्ने गरिन्छ) मधेशको गाउँ ठाउँमा खासगरी अशिक्षित, गरीब , दलित र बिप्पन बर्गका महिला पुरुष भूत प्रेत लागेको ,बोक्सीले तन्त्र मन्त्र गरेको विश्वासका साथ धामी झाँक्रीको रेखदेखमा कार्तिक पूर्णिमा स्नान गर्न आआफ्नो ठाउँबाट कमला नदीमा जानेगरेको कटहरिया ५ का समाजसेवी दीनानाथ साहले बताएका छन्।
स्थानिय प्रशासनले वास्ता नगरेको कारण हाल रौतहटमा च्याउ जस्तै धामी झाँक्री देखिएका छन। कटहरिया, फतुवा विजयपुर, लगायतका पालिकाको बिभिन्न गाउँमा रहेका धामी झाँक्रीहरुले गत दशैँमा भूत प्रेत, तंत्र मंत्र लागेका लाई ठीक गरेको भन्दै लाखौँ बराबरको खसी बोका र लाखौं रुपैयाँ नगद चिराकी दक्षिणा स्वरूप लिएको प्रत्यक्षदर्सीहरुले बताएका छन्। सञ्जय मिश्रा

 मंसिर ११ गते सोमबार यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तानबाट सुख पनि मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन् । जागिर र कर्म प्रति चिन्तन बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्य प्रति सजग रहन जरूरी छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

धनुः  (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनसक्छ ।