जुम्लामा गाउँपालिकाका अध्यक्षमाथि कुटपिट

काठमाडौँ – जुम्लामा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावललाई सोही गाउँका देवीकृष्ण शर्माले कुटपिट गरेका छन् ।


रावल सिञ्जा गाउँपालिकाका अध्यक्ष हुन् । अध्यक्षलाई कुटपिट गर्ने शर्मा सोही गाउँपालिका वडा नं. २ मा बस्छन् । उनी ६० वर्षका वृद्धा हुन् ।


आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताएका छन् ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन् ।

“कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गरे । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ,” उनले भने ।


प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए ।


तर शर्माले अध्यक्षमाथि शर्माले लठ्ठी प्रहार नगरेको जिकीर गरेका छन् । उनले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्षसहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए ।