सैनिक कल्याणकारी कोषबाट राजश्वमा रु ४५ करोड योगदान

काठमाडौँ। सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६÷७७ मा रु ४५ करोड राजश्वमा योगदान दिएको छ।

उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिनुभयो।

मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ ।

केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्यौट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो। उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्यौट भएको थियो।

कुलेखानीबाट दैनिक १ सय ६ मेगावाट विद्युत् उत्पादन

काठमाडौँ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १ सय ६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ। आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भरिन अझै १८ मिटरको सतह बाँकी रहेको छ।

इन्द्रसरोवर जलासयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८.५२ पानीको सतह थियो भने आज अपराह्न ४ बजेसम्ममा १५१८.३५ सतहसम्म मात्र पानी रहेको छ। हिजोको तुलनामा आज १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिनुभयो ।

कुलेखानी जलासयमा पानी सतह बढ्दै जाँदा अहिले कूल क्षमताअनुसार विद्युत् उत्पादन गर्दै आएको सो आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत्बाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रबन्धक धीरेन्द्र चौधरीले राससलाई बताउनुभयो।

वर्षात्का पानीबाट इन्द्रसरोवर जलासयमा पानीको सतह भरिएपनि विद्युत् उत्पादनको लागि नियमित तीन वटै आयोजनाको मेसिन सञ्चालनमा ल्याइएकाले कुनै खतरा उत्पान्न नहुने पनि जानकारी दिनुभयो।

कुमारी बैंकको बदमासी, जवर्रजस्ति ‘भिआरएस’ पेपरमा हस्ताक्षेर गर्न लगाएर जागिरबाट निकाल्यो

काठमाडौँ। केही समय अगाडी देव विकाश बैंकलाई प्राप्ति गरेको कुमारी बैंक लिमिटेडले देव विकाश बैंकका कर्मचारीलाई भिआरएस (स्वैच्छिक सेवानिवृत्ति योजना)को नाममा निकालेको थियो। तर पछिल्लो समय बैंकले कर्मचारीलाई जबर्जस्ती तथा झुक्काएर भिआरएसमा हस्ताक्षेर गर्न लगाएको खुल्न आएको छ।

बैंकले अंग्रेजी लेखपड गर्न नसक्ने पिए (प्रशोनल असिस्टेन्ट)लाई अंग्रेजीबाट लेखिएको भिआरएसमा हस्ताक्षर गर्न लगाई जागिरबाट निकालेको छ। शाखाका एक पिए कर्मचारीले भने‘हामीलाई झक्काएर पेपरमा हस्ताक्षर गराईयो, पछि सोही पेपर स्वईच्छाले राजिनामा दिएको भन्ने थाहा पाएपछि अर्काे दिन म यसमा सहमत छैन भनेर अर्काे चिठि पेस गरेँ’ उनले भने ‘तर बैंकले स्वीकृत दिएन ।’ ‘आफु त सानो कर्मचारी न हो अंग्रेजी ‘ए’ पनि जानेका छैन’ उनले भने।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा कोरोनाको जोखिम उच्च

काठमाडौँ। सरकारले कोरोना नियन्त्रणको लागि गरेको लकडाउन हाल खुकुलो बनाएको छ। चैतको १० गतेदखि सुरु गरेको लकडाउन १ सय २० दिन पछि लकडाउन बनाएको हो। तर लकडाउन खुकुलो भएसँगै उपत्यका लगायत मुलुकभर कोरोनाको जोखिम बढ्दो छ। पछिला कोराना संक्रमितको संख्या बढि भएपनि उनीहरु बाहिरबाट आएका थिए। जसले गर्दा बाहिरबाट आएकाहरुलाई नियन्त्रण गर्न सकेमा कोरोना नियन्त्रण हुने कुरामा शंका थिएन । तर पछिल्लो समय कोरोना समुदायस्तरमा छिरिसकेको छ। अर्थात घरमै भएका तथा बाहिरबाट नआएकाहरुमा पनि कोरोना बढ्दो छ।

उपत्यकामा जोखिम उच्च
सरकारले जनजिवन सहज बनाउनको लािग उपत्यकामा लकडाउन लगभग पुर्ण रुपमा नै खुकुलो बनाएको छ। यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ। सुरुका दिनहरुमा उपतयकामा दैनिक १÷२ जनामा कोरोना संक्रमण हुन्थ्यो भने पछिल्लो समयमा संक्रमणदर बढ्दो छ। आज शुक्रबार मात्रै काठमाडौँ उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।


सरकारले उपत्यकामा सार्वजनिक यातायात, होटल व्यावसायहरु कोरोना नियन्त्रणका केही सजकताहरु अपनाउँदै सञ्चालन गर्न सकिने बताएको छ। तर नियमन निकायको ध्यान नगएर पनि होला, कुनै कुनै क्षेत्रमा कोरोनाको कुनै प्रवाह नै नगरिएको जस्तो देखिन्छ। सार्वजनिक यातायातमा पनि मान्छे भरिभराउ नै राखेर बोकिरहेको छ भने जनस्तरबाट पनि आफु सर्तक भएर आफु र सरकारलाई सहयोग गर्न सकिरहेका छैनन्। यसले गर्दा उपत्यकामा जोखिम उच्च छ।

पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार २ सय २४ जनामा कोरोना पुष्टि भएका बताएका हुन्।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

कोराना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट वीरगञ्जमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५६ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालले जनाएको छ । ‘मुटुको रोगी समेत रहेका उनी जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत थिए। उनलाई आइसियु र भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको थियो ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे मृत्यु भएको हो

अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोग

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दायर भएको छ।

इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोपमा स्विट्जरल्यान्डमा मुद्दा दायर भएको हो।
अदालतले लौबरले फिफाको छानविन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेर पनि लुकाएको बताएको थियो। तर लौबरले भने गत साता पदबाट राजीनामा दिएका छन्।
यसअघि इन्फान्टिनोले महान्यायाधिवक्तालाई भेट्नु गैरकानुनी नभएको दाबी गरेका थिए भने दुवैले गल्ती नगरेको दाबी गर्दै आएका छन्।
फिफाले पनि विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहयोग गर्ने जनाएको छ।

३ लाख सहित ९ जना जुवाडे पक्राउ

भक्तपुर । प्रहरीले ३ लाख रकमसहित ९ जनालाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाखालबाट रु ३ लाख ३८ हजार ३ सय ४५ सहित ९ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–५ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका दुई घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४० वर्षीय श्याम शाक्य, रामेछाप दोरम्बा गाउँपालिका ३ घर भई हाल काठमाडौँ सुन्धारा बस्ने २९ वर्षीय सुमन श्रेष्ठ, ओखलढुङ्गा खिजीकाती गाउँपालिका–९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीयको आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ घर भएका ४७ वर्षीयको दानबहादुर सुवाल, रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल कमलविनायक बस्ने २९ वर्षीय चेतबहादुर थापा मगर रहेका छन्।

त्यसैगरी काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्णबहादुर मोक्तान र रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौँ ठूलो भर्याङ बस्ने २८ वर्षीय नारायण थापा मगर पक्राउ परेका छन्।

शुक्रबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

सार्वजनिक विनिमयदर अनुसार अमेरीकि डलरको बिक्री मुल्य १ सय २० रुपैया ०५ पैशा तोकेको छ। यस्तै, डलरको खरिददर १ सय १९ रुपैया ४५ पैसा तोकिएको छ।

त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०४ पैसा र खरिददर ९ रुपैयाँ ९९ पैशा तोकिएको छ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९७पैसा र खरिददर ३२ रुपैयाँ ८१ पैसा रहेको छ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३ सय १८ रुपैयाँ ४४ पैसा र खरिददर ३ सय १६ रुपैयाँ ८५ पैसा रहेको छ।

कोरोना जोखिमको वेवास्ता गर्दै जनकपुरमा जसपाले गर्यो सभा आयोजना

जनकपुरधाम । कोरोना संक्रासको समयमा पनि समाजवादी पार्टी (जसपा)ले प्रदेश २ मा भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।

सरकारले लकडाउन खुकुलो पारेपनि धेरै संख्यामा मानिसहरु भेला नहुन आग्रह गरेको भएपनि जसपाले सोही नियमको पालना उलंघन गर्दै सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरेको हो। गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो। अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन्।

पार्टी प्रवेश कार्यक्रमको नाममा सामाजिक दूरीको खिल्ली उडाएको देखियो । कार्यक्रमस्थलमा ठूलो मञ्च बनाइएको थियो भने मञ्च अगाडि ठूलो पण्डाल निर्माण गरिएको थियो ।

पण्डालभित्र सामाजिक दूरी पालन नगरी कुर्सीहरु राखिएका थिए । मञ्चमा आसिन नेताहरुले केही सामाजिक दुरी पालना गरेको देखिए पनि तल पण्डालभित्र बसेका कार्यकर्ताहरु भने एकअर्कासँग टाँसिएरै बसेका थिए । सरकारले लकडाउन खुला गरे पनि सभा सम्मेलन गर्न प्रतिबन्ध कायमै राखेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो भाषणको समयमा कोरोना भाइरस सम्बन्धी चेतनामूलक अभिव्यक्ति समेत दिएका थिए। उनले संक्रमण हुन नदिन व्यवहारमा परिवर्तन गर्नुपर्नेदेखि संक्रमित भइहाले अस्पतालसम्म पुर्याउनुपर्ने धारणा राखे। सोही क्रममा उनले कुनै तयारी बिना नै सरकारले लकडाउन खोलेको आरोप लगाए । ‘सरकारले लकडाउन खोलेको छ, तर तयारी केही छैन’ उनले भने।

यादवले एकात्मक र केन्द्रीकृत शाषण प्रणाली परिवर्तन हुनु ठूलो उपलब्धी भएको भन्दै यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने समेत बताए।

कार्यक्रममा पार्टीका नेता बाबुराम भट्टराईले कम्युनिष्ट श्रम गरेर खाने पार्टी भए पनि यहाँको कम्युनिष्ट चोरेर, ठगेर खाइरहेको आरोप लगाए। उनले भने, ‘कांग्रेस आफ्नै पापले थला परेको छ। कम्युनिष्ट अर्काको चोरेर, ठगेर खाइरहेका छन्।’

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले आफ्नो पार्टीले कतै पनि भ्रष्टाचार नगर्ने दावी गरे ।

रिऋ तिर्न नसकेपछि अपहरणको नाटक

काठमाडौँ । आफु हपहरण परेको भन्दै प्रहरीलाई झुट सुचना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको गरेको छ। अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउने बाह्रबिसे नगरपालिका–४ का जीवन खत्रीलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको हो। ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएको खुल्न आएको छ।

अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनलाई अपहरणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । वर्ष दिनअघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

चितवनमा बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट १ प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

जनकपुरका न्यायधीशमा कोरोना पुष्टि, ३१ गतेसम्म अत्यावस्यक बाहेकका सबै काम ठप्प

जनकपुरधाम। प्रदेश २ का न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो। न्यायाधीश ५० वर्षीय रहेको अदालत स्रोतले जनाएको छ।

यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा न्यायाधीसको स्वाबमा कोरोना पोजेटिभ आएको हो।

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधीमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ।

प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको थियो।

डडेलधुरामा नयाँ सिडिओ बास्तोला

डडेलधुरा । डडेलधुरामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा बन्धुप्रसाद बास्तोला हाजिर भएका छन्।

निर्वतमान प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त ६ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका बास्तोलाले जिल्ला प्रशासन कार्यालय डडेल्लधुरारामा हाजिर भएका हुन्।

गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव सिडिओ रहने डडेलधुरामा सहसचिवको दरबन्दी कायम गरेसँगै मन्त्रालयले सहसचिव सिडिओ पठाउन थालेको हो।

साउन ९ को निर्णय अनुसार गृह मन्त्रालयबाट काज सुरुवा भई यहाँ आएका बास्तोला डडेलधुरामा आउने दोस्रो सहसचिव सिडिओ हुन् ।

यसअघि पहिलो सहसचिव सिडिओको रूपमा आएका पन्तको ६ महिनामै सरुवा भएको छ। यहाँ रहँदा पन्त विभिन्न विवादमा तानिएका थिए।

बुधवारबाट डडेलधुराको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हालेका बास्तोलाले बिहीबार जिल्लास्थित पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन् । नयाँ प्रजिअ बास्तोलालाई जिल्लास्थित पत्रकारले सञ्चारमैत्री बन्न आग्रह गरेका थिए ।

उनले आफू यहाँ रहँदासम्म सञ्चारमैत्री बनेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पत्रकारलाई सत्य—तथ्य बुझेर कलम चलाउन आग्रह गर्दै जिल्लास्थित अन्य कार्यालयका सूचना अधिकारीलाई पनि पत्रकारले मागेका दिन मिल्ने सूचना दिन आफूले सहजीकरण गर्नेसमेत बताएका छन्।

कार्यक्रममा प्रजिअ बास्तोलाले विपद् जोखिम व्यवस्थापनमा सरकारले अहिले नयाँ नीति बनाएको जानकारी गराएका छन्। सरकारले बाढी, पहिरो तथा प्राकृतिक प्रकोपले नागरिकको मृत्यु भए दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको उनको भनाइ छ।

विपद् बाट मृत्यु भए यसअघि सरकारले एक लाख दिने गरेको थियो। प्रकोपका कारण घर पूर्ण रूपमा क्षति भए भू–कम्पपीडित सहर ३ लाखका दरले घर निर्माणका लागि राहत उपलब्ध गराउने नीति ल्याएको उनले जानकारी दिए।

रातिमा उपत्यका प्रवेशमा रोक, पास नै भएपनि प्रवेश गर्न नपाईने

काठमाडौँ । काठमाडौँ उपत्यकामा साँझ ७ बजेपछि बिहान ७ बजेसम्म प्रवेश रोक गरिएको छ। गृह मन्त्रालयले कोरोना संक्रमणलाई नियन्त्रण गर्न सोही समयमा उपत्यका प्रवेशमा रोक लगाएको हो।

नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको हो।

गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने छन् । ‘साँझ ७ बजेदेखी बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पुर्ण रुपमा बन्द गर्न गरिएको छ’ सह–प्रवक्ता अधिकारीले भने–‘दिउँसो चाहिँ पास लिएका यात्रु आउन जान पाउँछन्।’

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ। निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले ‘विशेष निर्देशन’ दिएको छ।